सहकारीले उद्यमी र प्रशिक्षक बनेकी पार्वती

मेचीकाली संवाददाता

२० चैत्र २०८०, मंगलवार
232 shares

अमृत गिरी

बुटवल । तिलोत्तमा नगरपालिका–१ शंकरनगरकी पार्वती गिरी अहिले यसक्षेत्रकी सफल महिला उद्यमी र उद्यमी बन्न चाहने महिलाका लागि प्रशिक्षक हुन् । कृषि उपजबाट विभिन्न प्रकारका अचारहरु उत्पदान गरी मुलुकका विभिन्न ठाउँमा र विदेशमा समेत पठाइरहेकी अचार उद्यमी गिरीलाई यसक्षेत्रकी सफल उद्यमी भनेर चिनिन्छ ।

केही न केही गरौं भन्ने मनमा थियो तर उनीसँग मनको हुटहुटी पूरा गर्ने सहज माध्यम थिएन । एकातिर उद्यमी बन्ने ठूलो रहर र अर्कोतिर आर्थिक अभाव । हुटहुटी र अभावलाई एकै पटक समाधान हुनेगरी उनलाई यसक्षेत्रको नमुना सहकारी संस्था सामूहिक विकास साकोसले साथ थियो । सहकारीले तालिम दियो, तालिम मार्फत सिकेको सीपलाई व्यवसायमा ढाल्न वित्तीय साथ दियो र व्यवसायलाई उद्यमका रुपमा फस्टाउन थप लगानी गरिदियो ।

उद्यमी बन्ने उपाय खोजिरहेकी उनलाई सामूहिक विकास साकोसले सिप सिकाउने मात्रै होइन सिकेको सिपलाई व्यवहारमा उतारेर उद्यमी बन्ने सफल बाटो पनि पहिल्याइदियो । केही समयको अन्तरालमै उनी यसक्षेत्रकी सफल महिला उद्यमी बनेर परिचित भएकी छिन्, ठाउँठाउँमा सफल र उत्कृष्ट उद्यमीका रुपमा पुरस्कृतसमेत भएकी छन् ।

सहकारीले देखाएको बाटो
शंकरनगरमा रहेको सामूहिक बहुउद्देश्यीय बचत तथा ऋण सहकारीले पार्वतीको जीवनयापन नै बदलिदियो । पार्वतीजस्ता त्यसक्षेत्रका कैयन् गृहिणी महिलाहरुलाई सिपयुक्त बनाउने मात्रै होइन उद्यम व्यवसायमा समेत सामेल बनाउने काम सहकारीले गरेको छ ।
‘मलाई त यो सहकारीको कार्यालय परिसरमा प्रवेश गर्दा नै कस्तो कस्तो गौरवको अनुभूति हुन्छ, मनैदेखि उर्जा बढेर आउँछ,’ सहकारीले देखाएको बाटोबाट उद्यममा जमेपछिको खुशीयाली साट्दै पार्वतीले भनिन्,‘सहकारीले जीवन बदलिदिएको कुुराले जहाँ गएर पनि उदाहरणका रुपमा बताउने गरेकी छु ।’

सामूहिक विकास सहकारी संस्थाबाट पार्वतीले २०७४ को असार २ र ३ गते अचार बनाउने प्रारम्भिक तालिम लिएकी थिइन् । त्यसबेला उनीसँगै अरु छ जनासाथीहरुले पनि तालिम लिएका थिए । उनीहरुकै सहकार्यमा शुभलाभ अचार उद्योग सुरु गरिन् र २०७४ सालको चैतसम्म सँगै रहेर कामसमेत गरिन् । शुभलाभ अचार उद्योग अहिले पनि दुईजना उनका साथीहरुले सञ्चालन गरिरहेका छन् भने पार्वतीले त्यसको केही समयपछि आफ्नै अलग्गै उद्योग सुरु गरिन्–लकासी अचार उद्योग । यसबीचमा उनलाई एड्भान्स तालिम लिने समेत अवसर जुट्यो ।

सहकारी संस्थाले महिला सदस्यहरुका लागि उद्यमशिलता वृद्धि गर्नका लागि दिएको व्यावासायिक अचार बनाउने तालिममा सहभागी भएकी उनलाई सिपअनुसारको उद्यम गर्न आवश्यक वित्तीय सहयोग पनि सोही सहकारीले नै गरेपछि सपना साकार हुने बाटो बन्यो ।

१० वैशाख २०७५ बाट पार्वतीले ४० हजार स्थीर र ६० हजारको चालू पूँजी रहने गरी एक लाख रुपैयाँ लगानीबाट लकासी अचार उद्योग सुरु गरिन् । यस अवधिमा उनको अचार उद्योग यसक्षेत्रमै उत्कृष्ट बनिसकेको छ भने लगानी लाखौंको पुगिसकेको छ । एक लाख रुपैयाँ लगानी गरेर पाँच क्विन्टल काँचो आँपबाट काम सुरू गरेको अचार उद्योगले अहिले वार्षिक ४० लाखसम्मको कारोबार गर्ने भइसकेको छ र यसक्षेत्रका धेरैले उदाहरण दिने उद्यम बनेको छ ।

२२ थरी अचार: जहाँ औषधीय गुणका सामग्री मिसाइन्छ
लसुन, मुंग्रिलो, ज्वानो, मेथी, कागती, तील, सुर्बुजोलगायतका सामग्रीलाई औषधीय गुण भएका मानिन्छ । यी मिसाएका २२ थरिका अचार पार्वतीका उत्पादन हुन् । सिजनमा आँप, लसुन, मेथी करेला, च्याउ, लप्सी, अकबरे खोर्सानी, कागती, अमलालगायतका अचारको उत्पादन धेरै हुने गरेको छ । उनको उद्योगमा प्रतिकिलो कम्तीमा दुईसयदेखि बढीमा हजार रुपैयाँसम्मको अचार पाइन्छन् । उनको अचारलाई विदेश जानेहरुले पनि लैजाने र मगाउने गरेका छन् ।

पार्वतीका अनुसार दैनिक कम्तीमा १० हजार रुपैयाँको अचार बजार जान्छ । सिजनमा बजारमा पाइने आँप, कागती, अमला इत्यादि किनेर भण्डारण गरी वर्षभरि अचार बनाउन सकिने पार्वतीको भनाइ छ । ‘अचार बनाउने कच्चा पदार्थ बाक्लो प्लास्टिकको ड्रममा नुनमात्रै राखेर भण्डारण गर्नुपर्छ । हावा छिर्ने भयो भने बिग्रिन्छ,’ पार्वती भन्छिन्, ‘अफ सिजनमा त्यसैबाट अचार बनाउन सकिन्छ ।’ आफँैले तयार पारेको मसला राखेर तयार भएको अचार भने ससाना बट्टामा राखेर बजार पठाइँदै आएको छ ।

उनले मासिक तीन लाख रुपैयाँसम्म कमाउने गरी उद्योगको विकास भइसकेको छ । प्रदेशका विभिन्न ठाउँमा लाग्ने मेला, प्रदर्शनी, महोत्सवहरुमा उनको अचारको खुबै माग हुने गर्छ । प्रदर्शनी र उद्योगहरुमा उनको अचारले पुरस्कारसमेत पाइरहेको छ । मेलाहरुमा प्रायः भेषराज जाने गर्छन् । तिलोत्तमा नपाको वडा नं.३, शंकरनगर चोकको पश्चिमतिर सामूहिक सहकारी जाने बाटोकै मुखमा लकासी अचारको विक्री कक्ष सञ्चालनमा छ । तिलोत्तमा, बुटवल, सैनामैना, देवदह, पश्चिम ४ नम्बर जीतपुरका साथै मेला, महोत्सव लाग्ने स्थानहरुमा लकासी अचार उद्योगको विक्री र प्रवद्र्धन हुँदै आएको छ ।

दम्पत्ति नै उद्यममा
सहकारीको प्रेरणा र सहयोगबाट पार्वतीले सुरु गरेको अचार उद्योगले निरन्तर फड्को मार्दै गएपछि विदेशमा रहेको पार्वतीका पति भेषराज साथ दिन आइपुगेका थिए । पार्वतीको उद्यममा जोडिएपछि भेषराजले विदेशको कष्टपूर्ण जागिर छाडेर स्वदेशमै बस्ने निधो गरेका थिए । अहिले यी दुवै जना उद्यममा रमाएका छन् ।

सुरुमा बिहेलगत्तै विदेश गएका भेषराज करिब १० वर्षपछि स्वदेश फर्किएर पत्नीलाई काममा सघाए । विस्तारै उनीहरु दुबै जना उद्यममा समाहित भएका छन् । ‘खाडीमुलुक दुबईमा गएर कमाएको पैसाले परिवार चलाउने अवस्था थियो, भएको खेत बेच्ने कुरा हुँदैन्थ्यो जब घरबाटै अचार उद्योग सुरु गरियो त्यसले घरखर्च चलाउन सहज भयो,’पार्वतीको भनाइ छ ।

गाउँका खेतबारी बाँझो हुने र अवैध आयात बढ्ने मुख्य चुनौती
स्वदेशी कच्चा सामग्रीमा आधारित अचार हो लकासी अचार । तर, पछिल्ला दिनमा गाउँमा यस्ता कृषि उपज पाउन मुस्किल हुन थालेको छ । युवाको विदेश पलायनले गाउँमा खेतबारी बाँझै हुने र उत्पादन कम भइरहेको छ । यसको प्रभाव अचार उद्योगमा पनि परेको छ । गाउँमा उत्पादन हुने अकबरे खुर्सानी, कागती, गाउँकै लसुन, अमलालगायतका सामग्रीको अभाव हुँदा उत्पादनमा पनि प्रभाव परेको उनको भनाइ छ । यसका साथै छिमेकी भारतीय बजारबाट अवैध रुपमा आयात गरिने अचारको विगविगी अर्को मुख्य चुनौती रहेको पार्वतीको भनाइ छ ।

महिलालाई उद्यम र उत्पादनमा जोड्ने अभियान
पार्वतीले आफ्नो उद्योग र उत्पादनको प्रवद्र्धनका अतिरिक्त विभिन्न टोलाम महिलाहरुलाई उद्यम र व्यवसायमा जोड्ने अभियानसमेत सञ्चालन गरेकी छन् । विभिन्न सामाजिक संघसंस्था, टोल विकास संस्था र वडा कार्यालयसमेतका आयोजनामा हुने कार्यक्रममार्फत पार्वतीले आफूजस्तै उद्यमीहरुलाई लगेर अनुभव सुनाउने, उद्यम व्यवसायमा सरिक हुन प्रेरणा दिने गर्छिन् । उनले आफ्नो अचार उद्योगमा स्थानीय महिलाहरुलाई सिजनमा दुईजना महिलाहरुलाई रोजगारी समेत दिँदै आएकी छिन् ।
पार्वतीले घर छेउमा र करेसाबारीमा खाली रहेको ठाउँमा कुनै न कुनै कृषि उपज लगाउन सुझाव दिँदै हिँड्छिन् । पार्वतीले महिलाहरुलाई सेनेटरी प्याड बनाउने, फुलखेती गर्ने र खाली जमिनमा लसुन र खुर्सानी लगाउन सिकाउँदै आएकी छिन् । खाली नबस्न र स्थानीय कच्चा सामग्री उत्पादनमा लाग्न महिलाहरुलाई जोड दिने गर्छिन् । गृहिणी भनेर त्यसै टोलाएर बस्ने होइन आँट, हिम्मत र शाहसले उद्यमको विकास गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन्–पार्वती ।

सहकारीले गर्व गर्न सक्ने उद्यमीहरु
तिलोत्तमा नगरपालिका–३ मा मुख्य कार्यालय र रुपन्देही भर कार्यक्षेत्र रहको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रकुमार बर्माले सहकारीको साख बढाउने गरी उद्यमीहरुको विकास भएकोमा औधी खुशी छन् । ‘सहकारीले बचत र ऋणको मात्रै काम गर्दैन उद्यमी बनाएर जीवनयापन नै बदल्न सघाउँछ,’ भन्ने कुरालाई प्रमाणित गर्न सकिएको छ । अध्यक्ष बर्मा भन्छन्,‘पार्वती जस्ता सफल उद्यमी र अरु कैयन् उद्यमी व्यवसायीहरुलाई सहकारीले जसरी सुरुआत गरायो त्यो संस्थाले गर्व गर्ने माध्यम बनेको छ ।’

सहकारीले बचत र ऋण प्रवाह मात्र गर्छन् भन्नेहरू र सहकारीहरु जोखिममा छन्, बचत रकम नै खाइदिन्छन् भन्नेहरुका लागि सामूहिक विकास बचत तथा ऋण सहकारीबाट ऋण लिएर सफmल उद्यम गरेकाहरुलाई हेरे पुग्ने सहकारीका सूचना अधिकारी ईश्वरी मरासिनीको भनाइ छ । ‘हामीले उद्यममा सदस्यलाई जोडेका छौँ, कमभन्दा कम ऋण दिएर आय आर्जनमा जोड्न सफल भएका छौँ,’मरासनीको दाबी छ ।