वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशद्वारा अन्तरक्रिया सम्पन्न

मेचीकाली संवाददाता

२५ चैत्र २०८०, आईतवार
179 shares

पार्वती आचार्य

कपिलवस्तु । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा तथा सव डिभिजन वन कार्यालय बडहरा तथा गोरुसिंगे, कपिलवस्तु अन्तरर्गत पर्ने बुद्धभूमि नगरपालिका १ का सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापन/सहजीकरणमा अन्तरक्रिया कार्यक्रम गोरुसिंगेमा सम्पन्न भएको छ ।

‘संमृद्धिको लागि वैज्ञानिक वन’, भन्ने नाराका साथ लुम्बिनी प्रदेशमा वन व्यवस्थापनको अवस्था, अवसर, असर, चुनौती एवं आगामी कार्यादेश सम्बन्धि बिषयहरुमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा वैज्ञानिक बन व्यवस्थापन राष्ट्रिय महासंघका अध्यक्ष रेनु सेनले वैज्ञानिक वन व्यवस्थापन गर्दा धेरै चुनौतिहरु भोग्नु परेको बताईन् । समस्याहरुलाई चिर्दै अगाडी बढ्न सके युद्ध जित्न सकिने बताउँदै दिगो वन भनेको एक सपना हो यसलाई पुरा गर्न वैज्ञानिक वनले नीती, कानुन बनाएर व्यवस्थापन गर्दै आएको बताईन् । राम्रो चिज प्राप्त गर्न धेरैको नजर लाग्ने भएको हुँदा वैज्ञानिक वनलाई व्यवस्थित रुपमा संचालनमा ल्याउन थुप्रै कठिनाईहरु भोग्नु परेको अध्यक्ष सेनको भनाई छ ।

वैज्ञानिक वन जन्मिए पश्चात नै संघर्षको थालनी भयो । २०७९ संघिय वन नियमावली संशोधन गर्दा वैज्ञानिक वनलाई संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन भनेर ल्याईएता पनि यसमा वैज्ञानिक वनले हामीले खोजेको रोजेको र हिंजो गर्दै आएको वन व्यवस्थापन वन नियमावलिमा राख्न सफल भई लुम्बिनी प्रदेशले कार्यान्वयन गरिसकेको बताईन् । देशको सातैवटा प्रदेशमा नियमावलि बनिसकेको र कार्यविधी निर्माण गर्न बाँकी रहेको समेत बताईन् । वैज्ञानिक वन २०७१ को कार्यविधी सरकारले नै ल्याई लागू गरिएको र पुन सो कार्यक्रमलाई सरकारले नै खारेज गरेको हुँदा आम उपभोक्ताहरुको माग भएको हुँदा राज्यलाई दवाव दिई संघिय वन नियमावलीमा नितीगत रुपमा ल्याउन सफल भएको बताईन् ।

तौलिहवा डिभिजनल वन अधिकृत बिजयराज सुबेदीले वन व्यवस्थापन सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन गर्दा रुख काट्ने मात्र नभएर पुनर उत्पादन गर्ने, खोला खोल्सी व्यवस्थापन, जैबिक विविधता, बन्यजन्तु संरक्षण गर्नुपर्ने बिषयमा आम उपभोक्ताहरुले ध्यान दिनु पर्ने बताए । यसैगरी जिल्ला महासंघले जिल्लामा , प्रदेश महासंघले प्रदेशमा र केन्द्रिय महासंघले केन्द्रिय स्तरमा बिभिन्न राजनितीक दलका व्यक्तित्वहरुसंग र सम्बन्धित सरोकारवालाहरुसंग अन्तरक्रिया तथा छलफल गरी सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन सम्बन्धि जानकारी गराउन आग्रह गरे ।

यसैगरी डिभिजन वन कार्यालय चन्द्रौटाका डिभिजनल वन अधिकृत बेसिन्द्र राज सुबेदीले वन सम्बन्धि कुनै पनि कार्यहरु गर्दा निती भन्दा बाहिर गएर गर्न नमिल्ने बताए । जोकोही पनि गलत नियत राखेर काम गरेमा कानुनी कारवाहीको भागेदार हुनुपर्ने भएको हुँदा वन क्षेत्रमा सबै सचेत हुनुपर्नेमा जोड दिए ।

यसैगरी तिलौराकोट साँझेदारी वन उपभोक्ता समूहका अध्यक्ष जय प्रकाश पाण्डेयले यो समय आगलागिको उच्च जोखिम रहेको हुँदा आगलागि बाट वन जोगाउन सबैलाई आग्रह गरे । यसैगरी जिल्ला महासंघका अध्यक्षहरुले आ आफ्नो जिल्लामा भएका कार्यविवरणहरु प्रस्तुत गर्दै आगामी दिनहरुमा अझ शसक्तरुपमा लाग्नुपर्नेमा जोड दिएका थिए ।

वैगानिक वन व्यवस्थापन राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष डिल्लिराज रेग्मीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । लुम्बिनी प्रदेशका १० जिल्लाका जिल्ला महासंघका अध्यक्षहरु, सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधि सदस्यहरु, साँझेदारी वन उपभोक्ता समूहहरुका अध्यक्षहरु, सहायक वन अधिकृत शन्त थिन, प्रशासन प्रमुख गोविन्द प्रसाद पाण्डे लगायतको उपस्थित रहेको थियो ।

वैज्ञानिक वन व्यवस्थापन लुम्बिनी प्रदेश अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता, प्रदेश सचिव टोप बहादुर खड्काको स्वागत तथा महासचिव होम बहादुर गुरुङको सञ्चालनमा कार्यक्रम भएको थियो ।