प्राकृतिक मनोरमस्थल रेसुङ्गा तपोभूमि

मेचीकाली संवाददाता

९ भाद्र २०७८, बुधबार
1113 shares

टेकराज पन्थी
हरेक मानिसले भ्रमण गर्दा नयाँ स्थान, नयाँ स्वाद र अन्यत्रभन्दा फरक परिस्थिति खोजेको हुन्छ । कुनै कुनै स्थानको भ्रमण गरेपछि फेरि पनि जाऊँ जाऊँ जस्तो लाग्ने हुन्छ भने कुनै स्थानको भ्रमण गरेपछि पुनः जान नचाहने पनि हुन्छ । तर रेसुङ्गाको एकपटक भ्रमण गरेपछि अर्कोपटक जाऊँजाऊँ नै हुन्छ । यो बिषय रेसुङ्गा क्षेत्रको भ्रमण गरेका धेरै व्यक्तिहरूबाट निस्किएको शब्दहरू हुन् ।

गुल्मी जिल्लालाई बाग्लुङ्ग, पर्वत, स्याङ्जा, अर्घाखाँची, प्यूठान, पाल्पा जिल्लाका सीमानाले छोएको छ । रूरूक्षेत्रबाट पश्चिम ४० किमी दूरीमा रेसुङ्गा क्षेत्र रहेको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारको शिर एवं समुन्द्र सतहदेखि २३४७ मिटर उचाइमा करिब ३४ सय हेक्टरमा फैलिएको रेसुङ्गा क्षेत्र गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा पर्दछ । तमघास बजार रेसुङ्गाको काखमा अवस्थित रहेको छ ।

उच्च क्षेत्र हुनाले यहाँको हावापानी शीतल छ । प्राचीन युगमा ऋष्यशृंङ्ग ऋषिले तपस्या गरेको कारण यसको नाम रेसुङ्गा रहन गएको विश्वास गरिन्छ । ऋष्यशृंङ्ग ऋषि जसले अयोध्याका राजा दशरथको सन्तान नजन्मेपछि पुत्रेष्ठी महायज्ञ गराएका थिए र बल्ल भगवान् रामलगायतका उहाँका भाइहरू जन्मनुभएको थियो । यहाँ भगवान् राम र लक्ष्मण पनि ऋष्यशृंग ऋषिको दर्शन गर्न आएर यहाँ के को समस्या छ भनि सोध्दा पानीको समस्या ऋषिले बताएपछि आफ्नो धनुबाणले हानेर पानी निकालीदिएको रामकुवा पोखरी पनि छ । सिद्धबाबा, विष्णु, शिव, गणेशलगायतका विभिन्न देवीदेवताका मन्दिरले पनि यो ठाउँको धार्मिक महत्त्वलाई बढाएका छन् ।

हिउँदमा उच्च भागतिर यदाकदा हिउँ पर्दछ । गर्मीयाममा यहाँको वातावरण मनोरम र अनुकुल हुन्छ । यो क्षेत्र शान्त, एकान्त, शीतल र मनोरम छ । रेसुङ्गा क्षेत्रमा अनेकथरी बोटवृक्षहरू, वनस्पतिहरू, जीवजन्तुहरू र बहुमूल्य जडिबुटीहरू पाईन्छन् । प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरूले विशिष्ट छ । रेसुङ्गा क्षेत्र भन्नाले यहाँको सबै वनक्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, पाटीपौवा, यज्ञशाला, भग्नावशेषहरू बुझिन्छ । यस क्षेत्रमा २०९ प्रजातिका चराहरूको साथै चितुवा, मृग, घोरल, खरायो, बाघ आदि जनावरहरू पाइन्छन् ।
रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजीकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरी, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन् । सूर्यास्तको बेला धवलागिरीको छायाँ त रेसुङ्गामै पर्दछ ।

चिसो हावापानी, घना वन र जैविक विविधताले त्यत्तिकै आकर्षित गर्छ । यो क्षेत्रको भ्रमणका लागि मङ्सिरदेखि जेठसम्मको समय उपयुक्त मानिन्छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारदेखि करिब एक घण्टाको उकालो चढेपछि सजिलै रेसुङ्गा पुगिन्छ । यो हिँडाइ पनि बढी लाग्छ भने रेसुङ्गाको नजिकसम्म मोटर बाटो पुगेको छ त्यहाँसम्म गाडी जानसक्छ, त्यस पछि करिब २० मिनेट हिँडेर रेसुङ्गा पर्वतको शिखरमा पुग्न सकिन्छ । एकैदिनमा रेसुङ्गा घुमेर बास बस्न साँझ तम्घास फर्किन सकिन्छ । यहाँ हालै मात्र होटल पौवा प्रालिले रिसोर्ट सुरु गरेको छ । मनोरम स्थानमा रिसोर्ट बनेपछि रेसुङ्गाको भ्रमण गर्नेहरुका लागि झन सहज बनेको छ । रेसुङ्गामा अब आध्यात्मिक पर्यटन प्रवद्र्धन गर्न सघाउ पुग्ने देखिन्छ ।

रेसुङ्गामा निर्माण गरिएको भ्यू टावर, रेसुङ्गामा भएको महापोखरी, सिद्धस्थान, रेसुङ्गा मठ, सानो रेसुङ्गा, साउने मठ, गौशाला, जुद्ध शम्शेरका समयदेखि बलेको अग्नी, धेरै जडिबुटीको खानी मानिएको रेसुङ्गा वन, रेसुङ्गाको चुचुरोमा पुगेपछि तराईसम्मको दृश्यावलोकन गर्न सकिने मनोरम स्थल, विशेष गरी श्रावण महिना भरिनै धार्मिक मेला लाग्ने र एकपटक रेसुङ्गाको पोखरीमा नुहाएमा मनोकांक्षा पूरा हुने, समयमा बच्चाको बोली नफुटेमा महापोखरीको जल उठाएर नबोली बच्चालाई खुवाएमा बोली फुट्ने, सन्तान नहुनेहरूले यस पोखरीमा नुहाएर बरमागेमा सन्तान प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको पनि छ । जनैपूर्णिमा, एकादशी, अमावश्य तिथि, माघे संक्रान्ति, कात्तिकएकादशीलगायत सूर्य, चन्द्र ग्रहण आदिमा पोखरीमा स्नान गर्दा पुण्य प्राप्तिका साथै आत्मसन्तुष्टि मिल्छ भन्ने विश्वास छ । साथै यस पोखरीमा स्नान गरेपछि मानसिक रोग, चर्म रोग पनि निको हुन्छ भनिन्छ । त्यसैले यस पोखरीमा स्नान गर्नेको निकै भिड हुने गर्दछ । एकातिर धार्मिक पर्यटकीय स्थल र अर्कातिर पर्यटकीय गन्तव्यको महत्वपूर्ण स्थानका रूपमा परिचित रहेको छ ।

बुटवलबाट करिब ३६ किमी सिद्धार्थ लोकमार्ग हुँदै पाल्पाको सदरमुकाम तानसेन पुगिन्छ । तानसेनबाट ७२ किमी रिडी बजार हुँदै गुल्मीको सदरमुकाम तम्घास पुगिन्छ । तम्घास बजारबाट प्राकृतिक मनोरम दृश्य हेर्दै एकघण्टा उकालो चढेपछि महापोखरीमा पुगिन्छ । फेरि २०÷२५ मिनट मोटरमा चढेर रेसुङ्गाको चुचुरोका नजिक महापोखरीमा पुग्न पनि सकिन्छ । महापोखरीबाट एकहजार सिँढी चढेपछि यज्ञशालामा पुगिन्छ । माथि चुचुरोमा पुगेपछि चिसो हावाको साथमा मनोरञ्जन लिँदै प्राकृतिक सुन्दरतासँग रम्न सकिन्छ ।

रेसुङ्गाको चुचुरोबाट गुल्मी जिल्लाका साविकका ७९ गाविस (हालका सवै स्थानीय तह) सवै र बाग्लुङ्ग, पर्वत, स्याङ्जा, अर्घाखाँची, प्यूठान, पाल्पा जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ । चुचुरोमा जादा छिनछिनमा मौसम परिवर्तन भइरहन्छ । फरक प्रकारको चिसो हुन्छ । चुचुरोबाट फर्कदा तम्घास बजारका अर्जुन होटल, झरना होटल, रेसुङ्गा होटल जस्ता थुप्रै होटल तथा लजहरू छन् । भोलिपल्ट फर्केर तानसेनतिर आउँदा गैडाकोट, राजारुंखा, बलेटक्सार हँुदै डेढघण्टा जतिमा कालीगण्डकी र रिडी खोलाको सङ्गम रिडी आइपुगिन्छ । धार्मिक दृष्टिले नेपालका बराहक्षेत्र र मुक्तिक्षेत्रको समकक्षमा आउने रूरूक्षेत्रको रिडीमा ऋषिकेशव, रूरू कन्या, भृगुतुङ्गेश्वरलगायत ४० भन्दा बढी मन्दिर घुम्न करिब दुई घण्टा लाग्छ । माघे संक्रान्ति, कात्तिक एकादशीलगायतमा रिडी मेला हुन्छ र कालीगण्डकीमा स्नान गर्दा पुण्य प्राप्तिका साथै आत्मसन्तुष्टि मिल्छ भन्ने विश्वास छ ।

एकपटक नयाँ ठाउ जाने धेरैको सोच रहेको हुन्छ । घुमफिर गर्ने, प्राकृतिक सुन्दरतासँग रमाउने जस्ता इच्छा सबैको हुन्छ । पर्यटकीय गन्तव्यहरूमा जाने, भेटघाट गर्ने स्थानहरू रोज्नु पर्दा रेसुङ्गा अत्यन्त महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । एकपटक भ्रमण गरेका व्यक्तिमध्ये धेरै जसो अर्को पटक दोहा¥याएर जाने यस पर्यटकीय क्षेत्रको विशेषता रहेको पाइन्छ । उकालो चढ्न अप्ठ्यारो हुनेहरूका लागि सवारी साधनबाट जान सकिने र उकालो चढ्दै मनोरञ्जन लिनेहरूका लागि एकघण्टाको समय बितेको पत्तै नहुने एवं जति उकालो चढ्यो त्यति रमाईलो लाग्ने रेसुङ्गा क्षेत्रको अचम्म लाग्न सक्ने विशेषता पाइन्छ ।

बुटवल, पाल्पा, स्याङ्जा, बाग्लुङ्ग, प्यूठान र अर्घाखाँचीबाट सजिलै पुग्न सकिने यस क्षेत्रको भ्रमण गर्न सकेमा अलि फरक प्रकारको मनोरञ्जन पाईनेमा विश्वास गर्न सकिन्छ । आन्तरिक पर्यटनलाई बढवा दिन र पर्यटन प्रवर्धन गर्न अति महत्वपूर्ण पर्यटकीय क्षेत्र रेसुङ्गाको भ्रमण गर्दा लेखमा समेटिन नसकेका विषय भन्दा धेरै वस्तु र बिषय प्राप्त हुन सक्छन् । नेपाल सरकारले दश दिन कर्मचारीलाई पर्यटन काज दिने व्यवस्था गरेको छ । एक पटक रेसुङ्गा क्षेत्रको भ्रमण गरेर प्राकृतिक मनोरमको रसस्वादन गर्न उपयुक्त स्थान हुन सक्छ ।

वस्नका लागि तम्घास बजारका रेसुङ्गा होटल, अर्जुन होटल, निलगिरी, झरना होटललगायत थुप्रै होटल छन् भने रेसुङ्गामा बस्नका लागि सुविधा सम्पन्न पौवा होटल रहेको छ । साच्चै प्राकृतिक मनोरञ्जन लिनका लागि एकपटक रेसुङ्गा भ्रमण गरी नयाँ गन्तव्यको पहिचान गर्न सकिनेमा विश्वास गर्न सकिन्छ । पर्यटन विकासमा जोड दिँदै रेसुङ्गा क्षेत्रको भ्रमण गर्नुहुने सबैको यात्रा फलदायी बनोस् शुभयात्राको कामना गर्दछु । (लेखकः नेपाल सरकारका उपसचिव एवं सैनासैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)