जितगढी विजय उत्सव दिवस: नेपालले विश्वविजेता अंग्रेजलाई पराजित गरेको दिन

मेचीकाली संवाददाता

७ बैशाख २०८१, शुक्रबार
802 shares

अमृत गिरी

बुटवल। आजभन्दा दुई सय ९ वर्षअघि आजकै दिन अर्थात् विसं. १८७२ वैशाख ७ गते विश्वविजेता तत्कालीन अंग्रेजसंगको युद्धमा नेपालले विजय हासिल गरेको थियो । बुटवलस्थित जितगढी किल्ला परिसरमा भएको नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको आज वैशाख ७ गतेको दिनलाई विजय उत्सव दिवसका रुपमा मनाइँदै आएको छ ।

जितगढीमा अंग्रेजलाई हराएको नेपाल अरु किल्लाहरुमा भने आफैँ हारेको थियो । जितगढीमा भएको वि.सं. १८७२ वैैशाख ७ गतेको लडाइँमा नेपालसँग हारेपछि अंग्रेज सेना नेपालबाटै फर्किएको इतिहासका जानकार निर्मल श्रेष्ठको भनाइ छ ।
इतिहासका बारेमा लामो समयदेखि सोधखोज र लेखन गर्दै आएका पाल्पाका नागरिक अगुवा श्रेष्ठले जितगढी, नुवाकोट, स्यूराजलगायतका यसक्षेका ऐतिहासिक स्थलहरुका बारेमा मिहीन ढंगले सामग्री तयार पारेर पुस्तकसमेत प्रकाशन गरेका छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. १ स्थित जितगढी किल्ला नेपाल–अंग्रेज (इष्ट इण्डिया कम्पनी) युद्धमा (वि.स.१८७१–७२) वीर नेपालीले विजय हासिल गरेको ऐतिहासिक स्मारक स्थल हो । बुटवल गढी कब्जा गरी पाल्पा हान्ने र तिव्बतसम्म पुग्ने उद्देश्यकासाथ अंग्रेज गर्भनर लर्ड हेस्टिङ्ग्सको निर्देशन र अंग्रेज सेनाका मेजर जनरल सुलीभान ऊड र कमाण्डर क्रोकरको नेतृत्वमा रहेको हतियारधारी अंग्रेज सेनालाई नेपाली वीर योद्धाले लडेर पराजित गरेका थिए ।

हतियारले सुसज्जित अंग्रेज फौजसँगको युद्धमा कर्णेल उजिरसिंह थापाको कमानमा अदम्य साहस, रणकौशलता, पौरख एवं वीरताका साथ युद्ध गरी नेपालीले विजय हासिल गरेको भूमि हो जितगढी ।

यसरी फेरियो सम्पदा परिसर
केहीसमय अघिसम्म ओझेलमा थियो जितगढी किल्ला । त्यसैमा केही वर्षअघि तिनाउ नदीमा बनेको पुलको एउटा भाग किल्ला नजिकै बनेपछि किल्ला परिसर चेपुवामा प¥यो । किल्लाका सम्पदा स्थल केटाकेटी खेल्ने मैदान जस्तै बन्यो । नजिकै कभर्ड हल निर्माण भयो, सार्वजनिक भवन निर्माण भयो र तीन तीरबाट अतिक्रमण तीव्र भयो ।

ओझेलमा परेको वीरताको जीवित गाथा सम्झाउने किल्ला क्षेत्रको स्वरुप फेरिएको छ । २०७४ मा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यसको गुरुयोजना बनाएर संरक्षण र संवद्र्धनको काम सुरु भएको हो । तत्कालीन जिविस सदस्य हुँदा भागमा पर्ने केही हजार विकास बजेटलाई जितगढी संरक्षण र संवद्र्धनमा लगाएर उजागार गर्न कोसिस गरेका शिवराज सुवेदी बुटवलको मेयरमा निर्वाचित भएर आएपछि उनैको पहलमा जितगढी सम्पदा स्थलको संवद्र्धनले सार्थकता पाएको हो । सुवेदी ०५४ मा जिविस सदस्य हुँदा प्राप्त गरेको केही बजेटले जितगढीको संरक्षण र संवद्र्धनका काम सुरु गरेका थिए ।

यसमा पछि विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछि जितगढी केन्द्रित योजनाका काम प्रभावकारी भए । प्रदेश सरकारका तर्फबाट त्यसबेलाका मुख्यमन्त्री शंकर पोखरेल, पर्यटन मन्त्री लिला गिरीलगायतका यसक्षेत्रका जनप्रतिनिधिको पनि साथ रह्यो र जितगढी सम्पदा स्थलको संवद्र्धनको काम प्रभावकारी बन्यो ।

त्यसअघि सम्म झारले ढाकिएको, एक एक वर्षमा तत्कालीन सेनाले सलामी दिने र सरसफाई गरी वार्षिकी मनाउने गरिन्थ्यो । यस स्थलमा अहिले आकर्षक संरचना बनेका छन् । उतिबेलाको लडाइँ ताकका सेनाको झल्को दिनेगरी सालिकहरु निर्माण गरिएको छ । जितगढीलाई राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थलका रुपमा विकास भइरहेको छ । अहिले उबेलाको किल्ला परिसरको स्वरुप व्यवस्थित र आकर्षक बनेको छ ।

जितगढीमा नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराइरहेको छ । अंग्रेजलाई हराउने कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक दक्षिणतिर फर्किएर शानका साथ उभिएको छ । नजिकै १३ जना वीर योद्धाका सालिक ठडिएका छन् । किल्लाको वास्तुकला, इतिहास, नेपाल–अंग्रेज युद्धका बारेमा जानकारी दिने डिजिटल बोर्ड तयार भएको छ । हरियाली गार्डेन तयार भएको छ र राष्ट्रधुनसहितको जलफोहोरा तयार भएको छ ।

जितगढी सम्पदाको गुरुयोजना बनाएर काम गरेपछि जितगढी सम्पदाको कायापलट भएको स्थानीय अगुवा रवीन्द्रगोपाल लाकौलको स्मरण छ । इच्छाशक्ति र दृढता भयो भने काम सफल हुनेरहेछ भन्ने उदाहरण जितगढी बनेको नागरिक अगुवा लाकौलको भनाइ छ ।

अझै विस्तार र संवद्र्धन खोजेको सम्पदा स्थल
जितगढी गुरुयोजनाअनुसार २ बिगाहा २ कठ्ठा ८.५२ धुरमा पहिलो चरणमा विभिन्न संरचनाहरु निर्माण भएका हुन् । गुरुयोजनाअनुसार नै जितगढी बटौली युद्ध संग्रहालयको समेत निर्माण भइसकेको छ भने सम्पदा परिसरमा सरायँ नाच स्थल, थ्रिएटर, अबलोकन पुल, सालिक, हरियाली उद्यानलगायतका संरचना निर्माण भइसकेका छन् । यसका साथै अब किल्ला परिसरसँगै जोडिएका र सम्पदा स्थललाई नै ढाक्नेगरी ठडिएका विभिन्न संरचनाहरुलाई स्थानान्तरण गर्नुपर्ने छ ।

तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोडेर पर्यटकीय आकर्षणको स्थल बनाउने बुटवलको योजनामा निजी क्षेत्रको समेत सहकार्य गरेका छन् । अहिले जितगढी सम्पदा नजिकैबाट ऐतिहासिक नुवाकोट गढी जोड्नेगरी केबल कारसमेत निर्माण भएको छ । सिद्धार्थ केबलकारका अध्यक्ष राजेन्द्र गुरुङले ऐतिहासिक सम्पदा स्थल, हरियालीको संरक्षण र संवद्र्धन गर्दै पर्यटन संरचना निर्माण गरिएको बताए ।

किल्लाको आसपासमा पर्खाल लगाएर संग्रहालय, पार्क, स्मारकहरु, पुरानो बुटवललाई सांस्कृति सहर बनाउने र तिनाउ किनारमा रात्रीकालीन बजार बनाउनेसम्मका योजना अधुरै छन् भने तिनाउमा जलपर्यटनको योजना पनि साकार पार्न बाँकी नै छ । बाँकी रहेका सबै कामलाई सरोकारवाला सबैको सहकार्यमा योजनाबद्ध रुपमा साकार पार्दै जाने गरी योजना बनाइएको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेको भनाइ छ ।

अंग्रेज सेनालाई हराउने नेपाली वीरहरु
१.कर्णेल उजिरसिंह थापा (सबुज) (निर्माण पूरा भएर पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा अनावरण भएको) । २.काजी वीरभञ्जन पॉडे (गुरुबक्स कम्पनी) । ३.कुम्भेदान कृपासुर थापा । ४.दलखम्ब थापा । ५.समशेर राना मगर । ६.सरदार सूर्जे थापा । ७.लेफ्टिनेन्ट अम्बर अधिकारी । ८.कुम्भेदान वृषसुर थापा । ९.जमदार भीमसेन देउजा । १०.जमदार शूरवीर बोहरा । ११.हवल्दार रणशूर बानियाँ । १२ सिपाही हंशवीर अधिकारी । १३. थरघर नकुल बानियाँ । १४.जुठे बस्नेतका शालिक तयार भएका छन् ।