रोहिणी गाउँपालिकामा ‘क्लोथ बैंक’ सञ्चालन

मेचीकाली संवाददाता

१६ बैशाख २०८१, आईतवार
59 shares

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा क्लोथ बैंक सञ्चालनमा आएको छ । शनिवार गाउँपालिका अध्यक्ष बिद्याप्रसाद यादव, उपाध्यक्ष शिवकान्ति चमार र प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले क्लोथ बैंकको उद्घाटन गरे । क्लोथ एण्ड फुड बैंक नेपालले गाउँपालिकासँगको सहकार्यमा क्लोथ बैंक स्थापना गरेको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यादवले कपडाविहीनलाई कपडा दिने र कपडाविहीन मुक्त गर्ने पुण्य कार्यमा जोडिन सबैलाई आग्रह गरे । कपडा बैंकमा जम्मा हुने कपडाले दुःखी र विपन्न वर्गहरुलाई धेरै सहज हुने उनको विश्वास छ । समाज परिर्वतनका लागि युवाले सुरु गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु जोडिन पाउँदा खुसी व्यक्त गरे । आगलागीको कारण पीडित बनेका परिवारलाइ कपडा बितरण गर्न पनि सहयोग पुग्ने उनले बताए ।

गाउँपालिका उपाध्यक्ष चमारले कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरूलाई आवश्यक पर्ने भन्दै घरमा प्रयोगमा नआएका आफूलाई आवश्यक नपर्ने कपडा क्लोथ बैंकमा जम्मा गरिदिन सबैलाई आग्रह गरीन् । विपन्न तथा गरिव वर्गको हितका लागि गाउँपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै उनले गरिबीका कारण शरीर ढाक्न समेत मुस्किल पर्ने समुदायलाई लक्षित गरी सञ्चालन गरिएको कपडा बैंकलाई व्यवस्थित गराउन पालिकाले सघाउने प्रतिवद्धता जनाइन् ।

क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न उनले आव्हान गरे । ‘मानव सेवाका लागि पुरानो कपडालाई पुनः प्रयोग’ भन्ने मुल नाराका साथ नितान्त सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकतम सेवा लिन समेत उनले आग्रह गरे ।

प्रयोगमा नआएका पुराना लत्ता कपडा संकलनका लागि पालिकाका विभिन्न उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरुलाई पुनः प्रशोधन रि–साइकल गरी आवश्यकताका आधारमा मौसमअनुसार कपडा निःशुल्क वितरण गरिने अध्यक्ष जिसीले बताए । आगामी दुई वर्षमा कपडाविहीन मुक्त बनाउने र २०८२ देखि देशभर फूड एम्बुलेन्ससमेत सञ्चालन गर्ने योजना बनाएको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम, वडा नं ६ का वडा अध्यक्ष इन्द्रमान चौधरी, संजय गुप्ता लगायतले बोल्दै आफ्नै देशमा केही नयाँ परीवर्तन गर्नका लागि युवाशक्ती एकजुट हुनुपर्नेमा जोड दिदै यो अभियानमा सबैले हातेमालो गर्न जरुरी रहेको बताए ।

क्लोथ बैंक नेपालले हाल देशका विभिन्न स्थानमा आगलागिका कारण पीडित भएका परिवारहरुलाइ लक्षित गरी स्थानीय तहको सहकार्यमा पुनः प्रशोधन गरी तयार गरिएका लत्ताकपडा बितरण गर्दै आएको छ । क्लोथ बैंकका अध्यक्ष जिसीका अनुसार अहिलेसम्म १६० भन्दा बढी स्थानीय तह यो अभियानमा जोडिएका छन् । कार्यक्रम दिप्लव क्षेत्रिको स्वागत तथा सञ्चारकर्मी आबिस्कार खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।