श्रद्धाञ्जली तथा समवेदना कार्यक्रमः सुधारको आवश्यकता

मेचीकाली संवाददाता

२१ बैशाख २०८१, शुक्रबार
815 shares

कमल पन्थी

विषयप्रवेशः
आयु, भाग्य, सम्पत्ति, विद्या र मृत्यु यी पाँच कुरा मानिसले आमाको गर्भवाट जन्मदै लिएर आएको हुन्छ भन्ने मान्यता छ । सबैले बुझेको कसैले पनि अनुभूति नगरेको रहस्य हो मृत्यु । मृत्यु अन्तिम सत्य हो । साश्वत सत्य पनि हो । मृत्यु भनेको चेतनाशून्य, हृदय शून्य अनि अनुभूति शून्य हुनु हो । जन्मले भन्दा मृत्युले बढी महत्व राख्छ । मृत्यु अवश्यम्भावी र पीडादायी हुन्छ, चाहे त्यो स्वाभाविक होस वा अस्वभाविक ।

हाम्रो हिन्दू सनातनी संस्कारमा कसैको मृत्यु हुनासाथ ढिला नगरी सकेसम्म छिटो नै निकटका व्यक्तिहरुले शवलाई यथाशिघ्र घाट लगेर विधिवतरुपमा दाहसंस्कार गरिदिनुपर्छ भन्ने मान्यता छ । जति चाँडो दाहसंस्कार हुन्छ प्रेतात्मा त्यति सहज पितृत्वमा हुने विश्वास गरिन्छ । विधिवत दाहसंस्कार भएन भने परिवारजनलाई मृतकको आत्माले सताइ रहन्छ भन्ने सामजिक मान्यता तथा विश्वास रहेको पाइन्छ । मृतकको मुक्ति नै परिवारजनको परमधर्म पनि हो ।

कोही कसैको पनि मृत्युको खवर पाउनासाथ छिमेकी, साथीभाइ, नातेदार तथा शुभचिन्तकहरु मृतकको घरमा जम्मा भई अन्त्यष्टिमा शरिक हुने र क्रमशः दिवङ्गत व्यक्तिमा श्रद्धा अभिव्यक्त श्रद्धाञ्जली, शोकाकुल परिवारलाई समवेदना प्रकट गर्ने आत्मियता सहितको व्यक्तिगत र सामाजिक दायित्व पूरा गर्ने अनुकरणीय र लोभलाग्दो प्रचलन हामी कहाँ रहेको छ । दिवङ्गत व्यक्तिका शोकाकुल परिवारलाई तिमीहरु शोक र दुःखमा पयौँ, यस कठिन, संवेदनशील घडीमा हामीहरु तिम्रो साथमा छौँ, सबै प्रकारका सहयोगकालागि पनि तयार छौँ भनी सामाजिक सन्देश प्रवाह गरिरहेको हुन्छ । जीवित रहँदा व्यक्तिका अवगुण र कमजोरी भए पनि मरणोपरान्त सबैकुराहरु बिर्सेर गुणमात्रै सम्झने हामी नेपाली समाजको चरित्र पनि छ । आज यस लेखमा श्रद्धाञ्जली तथा समवेदनासम्बन्धी विविध पक्ष र सुधार गर्नुपर्ने विषयका सम्वन्धमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

श्रद्धाञ्जली तथा समवेदनाः
मृतक र शोकाकुल परिवारलाइ यी दुई शब्दबाट सम्बोधित गर्ने गरिन्छ । कुनै आफन्तको भौतिक देहवासनमा शोकमग्न परिवारप्रति प्राञ्जल भाषामा प्रकट गरिने समवेदना र श्रद्धाञ्जली शब्दहरुमा नै श्रद्धा र सामथ्र्य हुन्छ । जति दुःखकष्ट स्वजनलाई परेको छ त्यति नै पीडा मलाई पनि परेको छ भन्ने तात्पर्यमा समवेदना व्यक्त गरिन्छ भने श्रद्धाले परिपूर्ण अञ्जलीवाट मैले मृतक व्यक्तिमा श्रद्धा प्रकट गरेको छु भन्ने तात्पर्यमा श्रद्धाञ्जली दिने गरिन्छ ।

कुनै दिवङ्गत पूज्य व्यक्तिमा श्रद्धा अभिव्यक्त गर्दा गरिने गुणानुवाद श्रद्धाञ्जली हो भने आफन्त, मित्रवर्ग वा परिचित कसैलाई स्वजनको मृत्यु वियोग, विपद् आदि पर्दा आफूलाई पनि हुने त्यस्तै वेदनाको अनुभव, त्यस्तो वेदना वा पीडाको अनुभव हुँदा प्रकट गरिने भाव नै समवेदना हो भनी प्रज्ञा नेपाली बृहत् शब्दकोषमा उल्लेख गरिएको छ ।

RIP / श्रद्धाञ्जली शब्दको अर्थमा भिन्नता
Rest in peace अर्थात् RIP को अर्थ शान्तिसँग आराम गर्नु हो । इसाई तथा मुस्लिम धर्मावलम्वी समुदायहरुले शवलाई कब्रमा दफन गर्छन् । जजमेन्ट डे अथवा कयामतको दिन मुर्दा पुनः जीवित हुने र सो दिनको पर्खाइको लागि आरामसँग बस्नुको अर्थमा Rest in peace छोटकरीमा RIP लेख्ने गरिन्छ ।

हिन्दूहरुले शवलाई पायक पर्ने घाटमा लगेर जलाउँछन् । हिन्दू धर्मको मान्यताअनुसार शरीर नश्वर र आत्मा अमर छ । मान्छेको मृत्युपश्चात मृत शरीरबाट आत्मा निस्किएर कुनै दोस्रो नयाँ शरीर, जीवमा प्रवेश गर्ने र बाँकी शरीर पञ्चतत्वमा मिल्ने विश्वास गरिन्छ । जलाउने मृतकको आत्माको लागि Rest in peace को सवाल उठ्दैन ।

अहिले सामाजिक सञ्जालमार्फत अर्पण गरिने समवेदना तथा श्रद्धाञ्जलीमा प्रायः युवावर्गहरुले शब्द चयनमा ख्याल गरेको पाइँदैन । यसरी हामीले यी दुई शब्दहरुको सही प्रयोग आफ्नो धर्मअनुसार प्रयोग गर्ने गरेमा सच्चा श्रद्धा व्यक्त हुने छ ।

सामाजिक जिम्मेवारीः
मानिस समाजमा रहदा शस्दा अहिले विभिन्न संघ, संस्था, समूह, निकाय, राजनैतिक दलमा समेत आबद्धता हुन्छ । आबद्धता संस्थाहरुवाट औपचारिक कार्यक्रम गर्ने पनि संस्कारको विकास भएको छ । करिव दुई तीन दशक अगाडिसम्म यस प्रकारका कार्यक्रमहरु हँुदैनथे । सबै जिम्मेवारी बन्धुबान्धवहरुले निर्वाह गर्ने प्रचलन र परम्परा थियो।सायद त्यतिबेला मानिसले बसाइसराइ गर्ने प्रचलन निकै कम थियो । अहिले गाउँवाट सहरबजारतिर बसाइसराइले तिव्रता पाएको छ । हाम्रो समाजमाअहिले क्रमशः सूचना, प्रविधि, चेतना र सामाजिक सञ्जालले धेरै परिवर्तन ल्याएको छ । सबै शुभचिन्तकहरु जम्मा भई सबै प्रकारका सहयोगबाट शोकमा रहेका परिवारलाई सामाजिक मान्यताअनुसार सहयोग गर्नु सामाजिक र व्यक्तिगत दायित्व हो ।

वर्तमानमा देखिएका केही प्रसंगहरुः
अन्तष्टिकर्ममा वसेकाहरुलाई काजकृया अवधिभर श्रद्धाञ्जली र समवेदना प्रकट गर्ने जानेहरुको अहिले भिडभाड बढेको छ । विभिन्न संघ, संस्था, समूह, निकाय र सम्बन्धित परिवारको आस्थावान् राजनैतिक दलले समेत भव्य कार्यक्रम गरेर श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न गर्ने प्रचलन बढ्दो छ । मर्थन गर्ने दलले हामी भोट माग्न मात्र होइन, सुखदुखका पनि सहयात्री हौ है भन्ने सन्देश प्रवाह गरिरहेका छन् ।

सामाजिक र व्यक्तिगत दायित्वको नाममा एक प्रकारको होडवाजी, देखावटी, समवेदना दिन र बाँड्न प्रतिस्पर्धामा उर्लिएको भिड त भै रहेको छैन ? शक्ति र भक्तिको समवेदना, पहुच र प्रभावको समवेदना र कमर्सियल वा कस्मेटिक समवेदना त भभइहेको छैन भन्ने प्रश्न खडा भएको छ । यस सन्दर्भमा यी प्रसंगहरु व्यापकरुपमा सुनिने गरिन्छ ।

– घाटमा मृतकलाई दागबत्ती दिँदा भक्कानियर त्यही चिताग्निमा पसौ कि जस्तो अवस्थामा दल विशेषको झण्डा ओडाउन उछिनपाछिन गर्ने, भाषण दिने प्रचलन बढेकोमा शोकाकुल परिवार यसमा कति रुचिकर छ भनी सम्बन्धित पक्षले हेक्का राखिएको छ छैन ? हुलका हुल समूहले शोक र विलौनाको घडीमा यसरी जम्मा पार्दै लावालस्करसहित भाषण गर्दा र व्यवस्थापन पक्षमा हुने कठिनाइको समेत ध्यान नदिँदा शोकाकुल परिवारलाई थप पिडावोध भएको त छैन ?

– औपचारिक कार्यक्रमको नाममा मृतकको बारेमा जन्म मृत्युको कुण्डली कपी गर्दै शोकाकुल परिवारलाई भेला गराएर एक मिनेटको मौन धारणासहित समवेदना पत्र वाचन गरिनु । आकस्मिक, अल्पआयु, अपुरणीय क्षति, शोकलाइ शक्तिमा बदल्ने, पथको अनुशरण जस्ता आलङ्कारिक शब्दावलीले प्रशंसा गर्दै दिनमा धेरै समूहले सहभागिता जनाइ रहेका हुन्छन् । हुलका हुल समूहले शोक र विलौनाको घडीमा यसरी जम्मा पार्दै लावालस्करसहित भाषण गर्दा र व्यवस्थापन पक्षमा हुने कठिनाइको समेत ध्यान नदिँदा शोकाकुल परिवारलाई थप पिडावोध भएको त छैन ?

संवेदनशीलताको ख्याल गर्दै अबदेखि यसो गर्ने कि ?
– सम्बन्धित परिवारको सहमतिमा मात्र औपचारिक कार्यक्रम संचालन गर्ने ।
– सबै सहयोगी संस्थाहरुबिचको समन्वयमा अनावश्यक भीडभाड नगरी प्रतिनिधिमूलक उपस्थिति जनाउने ।
– स्थानिय व्यक्तिहरुबाट नै कार्य विभाजन गरी सहयोग गर्ने ।

– सामाजिक उत्तरदायित्व वहन गर्ने भनी कोष विभाजन गर्ने वित्तीय संस्थाले सोही समयमा नै आर्थिक उपलब्ध गराउने ।
– स्थानीय स्तरमा एउटा स्थायी राहत कोष खडा गरी सबैबाट सक्दो आर्थिक सहयोग संकलन गरी एकमुष्ट उपलब्ध गराउने ।
– क्रियाकर्म बसेकालाई भेट्न जानेले लैजाने फलफुलको व्यवस्थापनमा नै समस्या परिरहेको पाइएकाले सो को सट्टा नगद सहयोग गर्ने प्रचलन गरेमा केही राहत मिल्न जाने देखिन्छ ।

अन्त्यमाः भारतीय राजनीति शास्त्री भी.लालनीले भारतीय ग्रामिण समाजको अध्ययनबाट मतदाताले आफ्नो घरमा हुने विवाह, व्रतवन्ध, पूजाआजा, मृत्युजस्ता पारिवारिक कार्यक्रममा उपस्थित हुनेलाई अधिक मतदान गर्न रुचाउने निष्कर्ष निकाल्नुभएको सन्दर्भ पछिल्लो चरणमा हामीकहाँ पनि राजनैतिक दल र तिनका नेतृत्वले अनुशरण गरे जस्तो लाग्छ साथै निर्वाचनमा जित पनि निकालेको पाइन्छ । (लेखकः पन्थी नेपाल सरकारका अधिकृत हुनुहुन्छ ।)