परम्परागत सञ्चार प्रणाली: कटुवाल प्रथा

मेचीकाली संवाददाता

२५ बैशाख २०८१, मंगलवार
239 shares

कमल पन्थी

हाम्रा पूर्वजहरु प्राचीन समयबाट नै समाजमा मिलेर बस्ने, सामाजिक कार्यहरु गर्ने, समाजका अगुवाहरु प्रतिनिधिमूलक हिसाबले भेला हुने आफ्नो गाउँसमाजका लागि गरिएका सामूहिक निर्णयहरु सबै स्थानीय बासिन्दाहरुलाई जानकारी गराउनु पर्ने प्रचलन थियो । तत्कालीन समयमा पनि सूचनाको महत्व बुझिसकेको तर सूचना संप्रेषणका लागि सञ्चार प्रविधिको विकास भई नसकेकाले कुनै व्यक्ति विशेषलाई जिम्मवार बनाउन आवश्यक ठानियो । सो जिम्मवारी कसैलाई तोक्ने र उसको पारिश्रमिकस्वरुप तत्कालिन अवस्थामा नगदको प्रयोग नहुँदा वार्षिकरुपमा बाली (अन्न) दिने गरी सुरु भएको हुन सक्छ कटुवाल प्रथा ।

यो प्रथा निरन्तर रुपमा समय सन्दर्भअनुसार परिष्कृत हुँदै आएको पाइन्छ । पञ्चायतकालको अन्त्यसम्म नेपालमा यो प्रथा व्यापक प्रचलनमा थियो । बहुदलीय व्यवस्थाको प्रारम्भ भएपछि विगतका स्थानीय शासनका इकाइ (पञ्चायतहरु) गाउँ विकास समितिमा परिणत भए । तत्पश्चात क्रमशः कटुवाल प्रथाको औचित्य समाप्त भएझै गरी हराउँदै जान थाल्यो । सञ्चार प्रणालीमा आएको नवीनतम र तीव्र विकासले प्राचिनकालदेखि तत्कालीन विशेष आवश्यकताअनुसार स्थापित नेपाली परम्परागत रैथाने सञ्चार प्रणाली कटुवाल प्रथा आजभोलि विस्तारै लोप हुँदै गइरहेको, काहीँ कतैमात्र अस्तित्वमा रहेको सुन्न पाइन्छ । आज सोही पहाडी भेगको कटुवाल प्रथा को विषय उठान गर्ने प्रयास गरेको छु ।

‘पहिलेको पहाडी मौजामा सरकारी उर्दी कुर्लेर जनतालाई सुनाउने व्यक्ति रगाउँघरमा उर्दीपुर्दी सुनाउने कामको निम्ति राखिएको गैर सरकारी कर्मचारी’ भनि नेपाली शब्दकोषमा कटुवालको परिभाषा गरिएको छ । तत्कालीन सामाजिक र प्रशासनिक आधिकारिकता पाएको व्यक्तिले अह्रायअनुसार सार्वजनिक स्थलमा भेला, बैठक, श्रमदान, झारा, सूचना, जानकारी जस्ता विषयवस्तुहरु सबैलाई जानकारी गराउन चर्को स्वरमा सूचनाको सार्वजनिक उद्घोषण गर्न हाँक हाल्ने ( कतै घोक हाल्ने) व्यक्तिलाइ नेपाली परम्परागत समाजमा कटुवाल भनिन्थ्यो र त्योसंग संबद्ध प्रथालाई कटुवाल प्रथा भनिएको देखिन्छ । (डा. निर्मलमणि अधिकारि सह–प्राध्यापक काठमाडौ वि.वि.)

कटुवालहरु सूचनाका संवाहक हुन् । कटुवालले अग्लो डाँडा, टाकुरा, थुम्कोमा उभिएर निश्चित गाउँलाई केन्द्रविन्दु मानी हाँक हाल्ने गर्दथे । गाउँलेहरुले के विषयमा हाँक प¥यो भनी आफूले गर्दै गरेको काम रोकेर कान ठाँडो पारीपारी ध्यानपूर्वक सुन्ने गर्दथे । कटुवालले हाँक हाली जानकारी गराएको विषयलाई आधिकारिक मानिन्थ्यो । गाउँलेहरु पनि सोही सूचनालाइ आधार मानेर जे गर्न पर्ने हो सोहीअनुसार गर्दथे ।

तत्कालीन समाज कृषिमा निर्भर हुनाले सबै मेलापातबाट घर फर्किसकेको अवस्था पारी प्रायः गोधुली साँझ र उषा काल (मिरमिरे बिहानी) मा हाँक हाल्ने गरिन्थ्यो । एकपटक मात्र नभएर दोहोराएर गाउँलेहरुलाई सम्बोधन गर्दै विषयवस्तु माथि सटिक प्रकाश पार्दै अन्त्यमा सुन्न पाएनौँ भन्न पाउने छैनौ भनी हाँकको बिट मार्ने प्रचलन थियो । कटुवाल काम गरेवापत बाली प्रथा थियो । प्रत्येक घरधुरीबाट एक, दुई पाथीका दरले अन्न र दशैँ–तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा स्थानीय मिष्ठान्न परिकारहरु र अतिरक्त भाग उठाउने प्रचलन थियो ।

वर्तमान समयमा सूचना तथा सञ्चार क्षेत्रको तिव्र विकासले सिंगो विश्व नै एउटा गाउँ जस्तै भएको छ । स्थानीय एफएम रेडियो र टेलिभिजनले सुचना सम्प्रेषण गरिरहेका छन् । टेलिफोन, एसएमएस, च्याट, भिडियोकल जस्ता स्मार्ट प्रविधिबाट क्षणभरमा नै विश्वमा खबर आदान प्रदान हुन सक्छ । हाल कटुवाल प्रथाको औचित्य समाप्त भई इतिहासका पानामा सीमित रहेजस्तो देखिन्छ । कटुवाल प्रथाको रुपमा नभई समय सन्दर्भअनुसारको पेशाको रुपमा जीवन्त राखेमा परम्परा धानिन्थ्यो कि ?