तिमी साँच्चै सुन्दर छौ आमा

मेचीकाली संवाददाता

२६ बैशाख २०८१, बुधबार
898 shares

सीमा वन

आमा कहिलेकाहीँ तिमीसँग
धक फेरेर रोइदिऊँ लाग्छ अहँ सक्दिनँ
म हलुंगो हुनु भनेको तिमी बोझिलो हुनु हो
तिमीलाई हेरेर तिमीलाई पढेर
आजसम्म सम्हालिएकै छु आमा
सम्हालिँदा सम्हालिँदै पनि
तीनवटा एपिसोड त पूरा भएछन्
कहिले तिमीले धर्ती देखाउँदा रोएँ
कहिले डोली चढाएर अन्माउँदा रोएँ
कहिले तिमीले मंगलशुत्र खोलेर
बाबाको छातीमा चढाउँदा रोएँ
तर तिमी कहिले रोइनौ
तिमी रुन जान्दिनौ या तिम्रो मन दुख्दैन
तिमी कठोर छौ कि कुन्नी
थरथराउँदै ओंठहरु
पिरको जालोभित्र भित्रै बुन्नी
कति शहनशील छौ तिमी
कति धैर्य छौ तिमी
कठोर बनेर पहरा गछ्र्यौ
पटुकी कसेर भण्डार भछ्र्यौ
तिमी नर्स हौ तिमी डाक्टर हौ
तिमी सुरक्षा कवच हौ तिमी वकिल हौ
तिमी धाइआमा हौ तिमी गुरुआमा हौ
तिमी प्रेम हौ तिमी संस्कार हौ
तिमी ज्ञान हौ तिमी विज्ञान हौ
तिमी साधना हौ तिमी ध्यान हौ
आफू मरेर परिवार बचाउँछेऊ
कसौंडी रित्तिन्छ तर तिमी अघाउँछ्यौ
बा को गनगन हामीलाई लुकाउँछ्यौ
हाम्रो गनगन बालाई छुपाउँछ्यौ
तिम्रा गनगन त खै कसले सुन्नु र
नभिजाई परेली बह डिलभित्रै सुकाउँछे्यौ
अन्तिम सास फेर्नु अघि मेरो भोक देख्छ्यौ
तयार छौ विदाई हुन तैपनि मेरै शोक देख्छ्यौ
एउटै पटुकीले वर्षौं गुजार्दा
आफ्नै धोतीमा सन्तान सुसार्दा
कति सन्तुष्ट तिमी
कति फूर्तिली तिमी
तिम्रा व्यथा पढ्छु अचेल
तिमीलाई बुझ्ने भाकी छु अचेल
कहिले जन्माउने पिर कहिले हुर्काउने पिर
पहिले बाको डर अहिले सन्तानकै डर
डरैडर र पिरैपिरले होला
तिमी जवानी कहिल्यै भइनौ
जिउ थोत्रियो उमेरमै चाउरिए गाला
तिमी मेन्टेन भन्दै जिम कहिले गइनौ
त्यसैले तिमी चिटिक्क भइनौ
दिन बित्दै जाँदा बाले पनि नराम्री देख्न थाले
दाइले स्कुलमा तिम्रो साइन आफैँ गर्न थाले
समाजको त झन के कुरा
लाउन खान नजान्ने पाखे देख्न थाले
सन्तानलाई ठुला बनायौ कमाउने बनायौ
त्यसैले तिम्रो रेखदेख र
सुरक्षा गर्न पाले राख्न थाले
तर तिमीले पिर कति लिदिँनौ आमा
तिमी महान छ्यौ ।
तिमी दृष्टि हौ तिमी सृष्टि हौ
तिमी जुन हौ तिमी शीतल हौ
तिमी गंगा हौ तिमी सागर हौ
त्यसैले त तिमी ब्युटिफुल छ्यौ
आमा तिमी साँच्चै विश्व सुन्दरी छ्यौ ।।