डा.नन्दुको सम्झना शक्ति र औषधी

मेचीकाली संवाददाता

५ जेष्ठ २०८१, शनिबार
364 shares

ओम बानियाँ

नाम सुनेको थिएँ तर भेट भएको थिएन । २०७२ सालको कात्तिकमा लुम्बिनी प्रदेशकै चर्चित चिकित्सक डा.नन्दु पाठकसँग उनकै घरमा भेट भयो । मैले आफ्नो परिचय दिएँ, बसोबासको ठाउँ बताएँ । डा. नन्दु मुसुक्क हाँस्दै बोले, ए, म त हजुरको घरमा गएको छु नि २० वर्ष पहिला साइकल चढेर ।

तपाईको घर चोकबाट पूर्वपट्टि, बाटोको बायाँतर्फ छ है भन्दै नन्दुले मेरो घरको लोकेसन, घरको रंग, कोठा तथा सिढी फेहरिस्त लगाए । त्यसताका नन्दु पाठक बुटवल बहुमुखी क्याम्समा आइएससी पढ्दै रहेछन् र उनी मेरो मामाको छोरा, राम भाइका सहपाठी रहेछन् । त्यसबेला म चाहिँ काठमाडौं पढ्दै थिएँ भने राम भाइ हाम्रो घरमा बसेर आइएससी पढ्दै थियो । राम भाइसँग उनी हाम्रो घरमा आएका रहेछन् ।

हो, २०/३० वर्ष पहिला गएको गाउँठाउँ याद गर्न सक्ने खुबी प्रायः सबै सामान्य मानिसमा हुन्छ । तर कुराकानीको दौरानमा मैले डा. नन्दु पाठक अद्भूत स्मरणशक्तिको धनी भएको संकेत पाएँ । विगत ८ वर्षको दौरानमा उनीसँग मेरो प्रत्यक्षपरोक्षरुपमा सम्पर्क भइरहेको छ । मैले उनलाई भनेको छैन तर उनको मानिस चिन्ने, भावना बुझ्ने, नआत्तिने र अविश्राम काममा खटिने खुबी मलाई अद्भूत लाग्छ । उनको स्मरण शक्ति पनि औसत मानिसको भन्दा तेज छ । यही तेज स्मरण शक्तिका कारण नै उनले आफ्नो पढाइलेखाइ मात्र होइन कि आफ्नो चिकित्सकीय सेवालाई पनि सफल बनाएका छन् ।

डा. नन्दु पाठक बुटवलको आसपासमा मात्र होइन कि लुम्बिनी प्रदेशमा नै निकै चर्चित छन् । उनको चिकित्सकीय परामर्श लिन रुपन्देहीका बिरामीहरु मात्र होइन, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, दाङ, कपिलवस्तु तथा नवलपरासीबाट समेत विरामीहरुको ओइरो लाग्ने गर्छ । त्यसैले बुटवल हस्पिटलको ओपीडीमा मात्र होइन, लुम्बिनी प्रादेशिक अस्पतालमा समेत बिरामीहरुको ठुलो घुइँचो हुन्छ । छोटो समयमा नै उनी यति लोकप्रिय हुनुको प्रमुख कारण नै उनको स्मरण शक्ति, दक्षता, चिकित्सकीय सीप तथा उचित परामर्श नै हो ।

हुन पनि सफल चिकित्सा परामर्श विज्ञान मात्र होइन, एक कला पनि हो । सीप पनि हो । बिरामीहरुलाई विश्वास जगाउन सक्ने खुबी हो । यही कारणले पनि सबै चिकित्सकहरु डा. नन्दु पाठक जस्तो चर्चित हुन सक्दैनन् । डा. पाठकको मनोविज्ञान बुझ्दा उनले चिकित्सक बनेर उनले आफ्नो सही प्रतिभा चिनेको भन्न सकिन्छ । वास्तवमा उनले चिकित्सक नबनेर अन्य क्षेत्र रोजेको भए यति ठुलो सफलता साहेदै प्राप्त गर्न सक्थे । यस कुरालाई उनी सहर्ष स्वीकार्छन् ।

हेल्थ फस्ट

डा.नन्दु पाठक
एक पटक डा. नन्दु पाठक भारतको पटना गएका थिए । पटना घुम्दै गर्दा चोकमा एउटा बोर्ड देखे, ७ दिन में चश्मा हटाएं, ग्यारेन्टि के साथ । डा. ठगलाल (बिएएमएस) । त्यो देखेर उनलाई निकै खुल्दुली लाग्यो । अनि उनले ५ सयको टिकट काटेर डा. ठगलाल भेट्न भित्र पसे । नन्दुलाई देखेपछि डा. ठगलालले नजिकैको कुर्सीमा बस्ने ईशारा गर्दै भन्यो, बैठो । कुर्सीमा बस्दै नन्दुले भने–मै अपना चश्मा उतारना चाहता हूँ । क्या यह सम्भव है ? डा. ठगलालले चश्मा मिलाउँदै भन्यो, बिलकुल सम्भव है ग्यारेन्टि के साथ । नन्दुले भने–कितने दिन मे चश्मा हटेगा ? और खर्चा कितना लगेगा ? डा. ठगलालले गर्वसाथ भन्यो, ७ दिन मे हटेगा । खर्चा २० हजार लगेगा । नन्दु आश्चर्य पर्दै बोले, ७ दिन ! यह तो बहुत ज्यादा हो गया । मै तो सिर्फ ७ सेकेण्ड मे चश्मा हटा देता हुँ एक छोटा एक्सरसाइज से, बिना मेडिसिन ग्यारेन्टि के साथ । डा. ठगलालले नन्दुको शिरदेखि पाउसम्म हे¥यो र मनमनै बोल्यो, यह नेपाली कसै हटा सकता है ७ सेकेण्ड मे चश्मा ? मुझें इशका यह एक्सरसाइज हात लग गया तो मै रातो रात करोडपति बन जाउगाँ । नन्दु बोले, आप क्या सोच रहे हो ? झस्यांग पर्दै डा. ठगलाल बोल्यो, कुछ नही, कुछ नही । यह बात है तो ७ सेकेण्ड मे मेरा चश्मा हटा दो, मैं आपको २० हजार दुंगा । नन्दु बोले, पहिले २० हजार दे दो । डा. ठगलालले नन्दुलाई २० हजार दियो । पैसा समाएर नन्दु मुसुक्क हाँस्दै उठे र उसको आँखाको चश्मा निकाल्दै बोले, लो हटा दिया । डा. ठगलाल ठाउँका ठाउँ विहोश । (सटाएर फर हेल्थ । लफ्टर इज द बेस्ट मेडिसिन)

डा. नन्दु पाठक सानैदेखि नै मेधावी थिए । २०५० सालमा एसएलसी गरेका नन्दु पाठकले ५२ सालमा बुटवल बहुमुखी क्याम्पसबाट प्रथम श्रेणीमा आइएसी उत्तीर्ण गरे । अनि बंगलादेशबाट एमबीबीएस र इन्ष्टिच्युट अफ मेडिसिन टीयुबाट गोल्ड मेडलका साथ एमडी गरेका हुन् । इन्टरनल मेडिसिनमा एमडी गरेपछि आफ्नो जन्मथलो बुटवलमा आई इमान्दारीपूर्वक बिरामीहरुको सेवामा दिनरात लागिरहेका छन् । समयसँगै उनीप्रति बिरामीहरुको आस्था र विश्वास पनि झनै बढ्दै गएको छ ।

चिकित्सा सेवाको एउटा मनोविज्ञान तथ्य के हो भने औषधीले भन्दा पनि चिकित्सकप्रति बिरामीको आस्था र विश्वासले प्रभावकारी काम गर्दछ । एकपटक मेरा एक परिचित पेटमा समस्या देखिएपछि डा.नन्दु पाठकलाई चेक गराउन बुटवल हस्पिटल गए । नन्दु विदामा बसेकाले एक अर्को चिकित्सकलाई चेक गराएर आए । तर हप्ता दिन औषधी खाँदा पनि उनको रोग बिसको उन्नीस भएन । अनि नन्दु आएको थाहा पाएपछि उनी पुनः बुटवल हस्पिटल गई नन्दुलाई चेक गराए । नन्दुले दिएको औषधी खाएको तीन दिनमै उनी ठिक भए । यहाँ गजबको कुरा के भने भने पहिला अर्को चिकित्सकले दिएको औषधी र नन्दुले दिएको औषधीमा खासै फरक थिएन । दुवै चिकित्सकहरुको अध्ययन र चिकित्सकीय अनुभव पनि उस्तै उस्तै थियो ।

डा. नन्दु भन्छन्–मैले अहिले दिनको १०० देखि १५० जना बिरामीहरु हेर्ने गर्छु । यस हिसाबमा मैले मेरो २१ वर्षीय चिकित्सकीय कार्यकालमा ८ लाखभन्दा बढी बिरामीहरुको उपचार गरेको छु । म कहाँ खास गरी मधुमेह, थाइराइड, पेटका रोगहरु तथा आत्तिने समस्या भएका बिरामीहरु आउने गर्छन् । म कहाँ बिरामीको अध्याधिक चाप छ । तर पनि मैले हेरक बिरामीहरुलाई सन्तोषजनक सेवा दिइरहेको महसुस गरेको छु ।

डा. नन्दु पाठकको सानो परिवार छ । आमाबुबा, श्रीमती, एक छोरा र एक छोरी । उनी आमाबुबासँग बुटवल गोलपार्कमा बसोबास गर्छन् । साथीहरुसँग घुम्ने । क्रिकेट तथा फुटबल खेल्ने तथा हेर्ने उनको रुची हो । उनी कलेज पढ्ने बेलामा क्रिकेट तथा फुटबल खेल्ने गर्थे । अहिले पनि मौका मिल्यो भने क्रिकेट तथा फुटबल हेर्ने गर्छन् ।

सानोमा डा. नन्दु पाइलट बन्न चाहन्थे । उनले पाइलट भएको सपना देख्थे । तर एसएलसी पास गरेपछि डाक्टर बन्ने सपना देख्न थाले । उनी भन्छन्– यदि म चिकित्सा शास्त्र पढ्न नसकेको वा नपाएको भए, वाणिज्य शास्त्र पढ्थेँ र व्यावसायमा लाग्थेँ ।
डा.नन्दु पाठकको परामर्श लिन आउनेहरुमा आत्तिने तथा मुटुको ढुकढुकी बढ्ने विरामीहरु पनि थुप्रै आउने गर्छन् । पहिला माओवादी द्वन्द्व तथा महाभूकम्पका कारण यस्ता रोगीहरुको संख्या निकै बढेको उनी बताउँछन् । त्यसमाथि वैदेशिक रोजगार, जनसंख्याको तीव्र वृद्धि, बढ्दो शहरीकरण, शहरकेन्द्रित बसाइसराइ, आधुनिकरण, फैसन, साँघुरो बाटोघाटो, कठिनाइपूर्ण यात्रा, उपभोग्य वस्तुहरूको अभाव तथा राजनीतिक उथलपुथलले गर्दा नेपाली समाजले दिनहु प्रशस्त चाप (स्टे«स) तथा तनाउ (स्टे«न) मा परेको हुँदा यस्ता समस्याहरु बढेका छन् ।

उनी भन्छन्– करिब ४०/५० लाख युवाहरु वैदेशिक रोजगारमा छन् । यी युवाहरुको परिवारमा प्रत्यक्षपरोक्षरुपमा कुनै न कुनै किसिमको चिन्ता तथा तनाव छ । बाबुआमालाई छोराको चिन्ता, पत्निलाई पतिको चिन्ता । विदेशमा गएको युवालाई आमा बा, पत्नि तथा छोराछोरीहरुको चिन्ता । यस्ता कुराहरुले पनि मानसिक समस्याहरु बढिरहेका छन् ।

डा. नन्दु पाठक एक मेडिकल चिकित्सक भएता पनि सकारात्मक सोच र प्राकृतिक जीवनशैलीलाई निकै महत्व दिन्छन् । उनी अगाडि भन्छन्– जीवनशैलीसँग सम्बन्धित रोगहरुमा योगध्यानले चिकित्सकीय कार्य गर्छ । मधुमेह तथा पेटका रोगहरुमा योगासन निकै उपयोगी छ । म बिरामीहरुलाई उनीहरुको रोगहरु अवस्था हेरेर योगासन गर्ने सल्लाह दिन्छु । चिकित्सकको सल्लाहअनुसार ध्यान, प्रणायाम तथा योग आसन गर्ने हो भने जीवनशैलीसँग सम्बन्धित रोगहरु जस्तै मधुमेह आदि जस्ता रोगहरु छिटो ठीक हुन्छन् ।
नेपालको स्वास्थ्य क्षेत्रले केही वर्ष केही प्रगति गरेको भएता पनि स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सुधारका थुप्रै कामहरु गर्नु पर्ने उनको भनाइ छ । यसका लागि सबैभन्दा पहिला नेपाल सरकारले स्वास्थ्य नै विकासको आधार हो भन्ने कुरा मनन गरी स्वास्थ्य नीति परिवर्तन गर्नुपर्छ । दक्ष जनशक्तिको उत्पादन गरी ठीक ठाउँमा लगानुपर्छ । अहिलेको अवस्थामा ७ प्रदेशमा बीर अस्पताल जस्ता ७ वटा अस्पतालहरु खोल्नु नेपालको आवश्यकता हो । यसका साथै स्वास्थ्य बिमालाई हरेक नागरिकको पहुँचमा पु¥याइ प्रभावकारी बनाउने हो भने नेपालको स्वास्थ्य सेवाले ठुलो फड्को मार्ने थियो ।

अन्त्यमा मानिसले स्वस्थ र निरोगी जीवन जिउन के के गर्नु पर्ला भन्ने प्रश्नको जवाफमा डा. नन्दु पाठक भन्छन्– मानिसको आहारबिहार तथा जीवनशैली नै मानिसको स्वास्थ्यको आधार स्तम्भ हो । मानसिक तनाव हटाउने वा कम गर्ने । कामअनुसार विश्राम गर्ने । ६ देखि ८ घण्टा गहिरो निद्रा सुत्ने । कम्तीमा पनि हप्ताको ५ दिन ४० मिनेट व्यायाम गर्ने । जस्तैः दिनको ४० मिनेट छिटोछिटो हिँड्ने वा दौडिँने । प्रशस्त पानी पिउने । वनस्पतिजन्य आहारमा बढी जोड दिने । स्थानीय खेतबारीका हरियो सागपात, मौसमी फलफुल तथा गेडागुडीहरु सेवन गर्ने । फास्ट फुड्स, जंक फुड्स, बढी चिल्लो, पिरो तथा मसालेदार तथा बासी खानेकुराहरु नखाने । सुर्ती, खैनी तथा चुरोट सेवन नगर्ने । इमान्दारीपूर्वक आफ्नो पेशाव्यावसाय गर्ने, सकारात्मक सोच राख्ने तथा कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकसँग सम्र्पक गर्ने हो भने स्वस्थ जीवन जिउन सकिन्छ । सबैले ख्याल राख्नु पर्ने कुरा के भने स्वास्थ्य जीवन नै समृद्धिको आधार हो । स्वास्थ्य छ त जीवन छ । स्वास्थ्य छैन भने केही पनि छैन ।