कहिले पूरा हुन्छ लुम्बिनीको गुरुयोजना ?

मेचीकाली संवाददाता

१० जेष्ठ २०८१, बिहीबार
162 shares

– ४५ वर्षमा ८० प्रतिशत मात्रै काम
– बाँकी कामलाई पाँच अर्ब रकम र चार वर्ष समय लाग्ने
– तीन महत्वपूर्ण कम्पोनेन्ट नै बाँकी

अमृत गिरी

बुटवल । विश्व शान्तिको मुहान अर्थात् विश्वमा नेपाललाई चिनाउने एउटा महत्वपूर्ण सम्पदा स्थल हो लुम्बिनी । लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले गुरुयोजना बनाएर काम थालिएको आज ४५ वर्ष पूरा भएको छ । सामान्ययता गुरुयोजना १० वर्षमा पूरा गर्नेगरी बनाइन्छ । तर, लुम्बिनीको गुरुयोजना त्योभन्दा झण्डै पाँच गुणा धेरै समय बितिसक्दा पनि पूरा हुन सकिरहेको छैन । लुम्बिनीको बहुआयामिक महत्वलाई प्राथमिकतामा राखेर गुरु योजना बनाइएको थियो । सन् १९७८ मा लुम्बिनीको गुरुयोजना बनेको थियो ।

गुरुयोजना अनुरुपका ८० प्रतिशत मात्रै काम पूरा भएको विकास कोषको तथ्यांक छ । बाँकी २० प्रतिशत कामका लागि झण्डै पाँच अर्ब बजेट र चार वर्षको समय लाग्ने अनुमान छ । कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा.हरिध्वज राईका अनुसार गुरुयोजनामा हालसम्म बढिमा ८० प्रतिशत मात्रै काम पूरा भएको छ । बाँकी तीन महत्वपूर्ण कामका लागि पाँच अर्बभन्दा धेरै रकम र चार वर्षभन्दा धेरै समय लाग्ने अनुमान गरिएको डा.राईको भनाइ छ ।

गुरुयोजनाअनुरुपका महत्वपूर्ण तीनवटा कम्पोनेन्ट बाँकी छन् । जसअन्तर्गत कल्चर सेक्टरका भवन निर्माण, नदी डाइभर्सन र आधुनिक सरसफाई तथा प्रशोधन केन्द्रका काम बाँकी छन् । कल्चर सेक्टरका छ वटा भवनमध्ये हालसम्म दुई वटा मात्रै निर्माण भएका छन् । नदी डाइभर्सन र बृहत्त सरसफाइ केन्द्र निर्माणका कामलाई एकैसाथ अगाडि बढाउने योजना रहेको कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा.राइको भनाइ छ ।

सन् १९७८ मा बनेको थियो लुम्बिनीको गुरुयोजना
संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा लुम्बिनीको विशेष भ्रमण गरे । ऊ थान्तले लुम्बिनीबाट काठमाडौं फर्केर बर्मा फर्किनुअघि नेपाल सरकारसमक्ष ‘लुम्बिनी गुरुयोजना’ बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए । उनको प्रस्ताव नेपाल सरकारले स्वीकार गरेसँगै सन् १९७२ मा जापानी वास्तुविद् प्रोफेसर केन्जो टाङ्गेलाई बुद्ध जन्मस्थल लुम्बिनी गुरुयोजना बनाउने जिम्मा दिइएको थियो ।

तत्कालीन अवस्थामा संसारमै प्रख्यात वास्तुविद्को रुपमा चर्चामा रहेका टाङ्गेले सन् १९७८ मा सरकारलाई आधुनिक लुम्बिनीको गुरुयोजना हस्तान्तरण गरेका थिए । उनले बनाएको गुरुयोजना स्वीकृत गर्दै नेपाल सरकारले योजनाबद्ध लुम्बिनी विकास आरम्भ सुरु गरेको हो । गुरुयोजनाअनुरुपका काम समयमै नभएको र व्यवस्थित नभएको भन्दै जापानी प्रोफेसर टांगे निराश बनेका थिए र उनले दिक्क लागेको भन्दै नेपालमा भ्रमण नगर्ने समेत बताएका थिए । उनको केही वर्षअघि निधन भयो ।

सरकारले गुरुयोजना स्वीकृत गरेदेखि नै लुम्बिनी परियोजनालाई राष्ट्रिय गौरवका परियोजना बनाउँदै आएको छ । सन् १९७८ मा सुरु लागत ५५ मिलियन अमेरिकी डलर रहेको यो परियोजना सन् १९९५ मा सम्पन्न हुने लक्ष्य राखिएको थियो । गौरवको योजनामा राज्यको उदासिनता र लुम्बिनीका नाममा हुने अस्वभाविक र पूर्वाग्रही राजनीतिक हस्तक्षेपले गुरुयोजना प्रभावित हुँदै आएको छ । त्यसबेला गरिएको लागत अनुमानको हालसम्म पूनमूल्यांकनसमेत भएको छैन ।

कसरी बन्यो लुम्बिनी विकास कोष ?
विकास कोषको अवधारणा भने विक्रम् संवत् २०४२ (सन् १९८५) मा मात्र तयार भएको थियो । सन् १९७८ मा विकास समिति गठन ऐन २०१३ बमोजिम लुम्बिनी विकास समिति गठन गरिएको थियो । विकास कोषको अवधारणा भने विक्रम् संवत् २०४२ (सन् १९८५) मा मात्र तयार भएको थियो । तत्कालीन पञ्चायती सरकारले विक्रम् संवत् २०४२ (सन् १९८५) मा मात्र लुम्बिनी बिकास कोष ऐन बनाएर लुम्बिनी विकास कोषको गठन गरेको थियो ।

कोषलाई लुम्बिनी गुरुयोजनाको कार्यान्वयन र वृहत्तर लुम्बिनी क्षेत्र नवलपरासीका रामग्रामदेखि बुद्ध भगवान्को जन्मस्थल लुम्बिनी र प्राचीन कपिलवस्तु शाक्यमुनी सिद्धार्थ गौतमबुद्धको गृहनगर तथा क्रकुछन्द, कनकमुनीलगायतका पूर्वबुद्धको भूमि समग्र बुद्धको भूमिको विकास, धार्मिक, ऐतिहासिक, पुरातात्विक अध्ययन, उत्खनन, संरक्षण, वैज्ञानिक विधिको अध्ययनका माध्यमबाट थप पुष्टि, प्रमाणीकरण आदि कार्य गर्ने जिम्मेवारी तोकिएको थियो ।
लुम्बिनी गुरुयोजनामा उत्तर–दक्षिण तीन वर्गमाइल र पूर्व–पश्चिममा १ वर्ग माइल (७ सय ७७ हेक्टर ) क्षेत्रमा फैलिएको छ । जसमा उत्तरबाट मध्यभागमा एक वर्ग माइलको तीन खण्डलाई क्रमशः पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्राष्ट्रिय बौद्ध बिहार क्षेत्र र नयाँ लुम्बिनी गाउँसमेत गरी मुख्यतया ३ क्षेत्रमा विभाजन गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा तीन सय ५० किलोवाट क्षमताको सोलार पावरप्लान्ट जडान भएको छ । यस्तै पाँच हजारजना अटाउने अन्तर्राष्ट्रिय बुद्धिष्ट सम्मेलन तथा ध्यान केन्द्र पनि निर्माण भएको छ ।

महत्वपूर्ण क्षेत्रका काम नै अधुरा
गुरुयोजनाले महत्व दिएका अधिकांश काम नै अधुरो छन् । कहिले बजेट अभाव, कहिले कोरोना कहर त कहिले के भन्दै काम प्रभावित भएको विकास कोषको दाबी छ । कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानीन राईका अनुसार बजेटको अभावमा यसअघि अलपत्र परेका योजनाहरुलाई प्राथमिकतामा राखेर काम भइरहेको र कोषको उपाध्यक्षमा डा.ल्हारक्याल लामा नियुक्त भएसँगै पहिलो चरणमा अधुरा कामको पूर्णतालाई नै प्राथमिकतामा राखिएको छ ।

लुम्बिनीमा मंगलबार आयोजित सार्वजनिक कार्यक्रममा उपाध्यक्ष डा.लामाले लुम्बिनीको गुरुयोजना पूरा गर्नका लागि आवश्यक बजेटको प्रबन्ध मिलाउने, निरन्तर चासो लिने गरेको भन्दै एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सार्वजनिक रुपमै सलूट गर्ने प्रतिक्रिया दिएका थिए । उपाध्यक्ष डा.लामाले गुरुयोजना बनेको ४६ वर्षसम्म पनि सम्पन्न हुन नसक्नु संसारभरिका बौद्धमार्गीहरुका लागि लज्जाको विषय भएको प्रतिक्रिया दिएका छन् ।

यस्ता छन् गुरुयोजनाका आधार स्तम्भ

सेक्रेट गार्डेन अर्थात् पवित्र उद्यान
पवित्र उद्येयान (सेक्रेड गार्डन) गुरु योजनाको केन्द्रबिन्दु हो । यसले भगवान् शाक्यमुनी बुद्धको पवित्र जन्मस्थान प्रतिनिधित्व गर्दछ । यस क्षेत्रमा अवस्थित ऐतिहासिक स्मारकहरू र उच्च पुरातात्विक, धार्मिक र आध्यात्मिक मूल्यका वस्तुहरूमा मायादेवी मन्दिर, अशोक स्तम्भ, मार्कर स्टोन, जन्म मूर्तिकला, पवित्र पोखरी (पुस्करिणी) र बौद्ध विहार र स्तूपहरूसहित धेरै संरचनात्मक भग्नावशेषहरू समावेश छन् । सेक्रेड गार्डन परिदृश्य गोलाकार पोखरी र गोलाकार लेभीले घेरिएको छ, जसले ब्रह्माण्डको रहस्यमय प्रतीक मण्डलाको शुद्धता र सरलताको प्रतीक हो । सन् २०१३–१४ सम्मका युनेस्को जेएफआइटी परियोजनाले पुरातात्विक उत्खनन्, अध्ययनले वैज्ञानिक रुपमा नै शाक्यमुनीबुद्धको जन्मस्थल लुम्बिनीको प्रमाणीकरण भइसकेको छ ।

बौद्ध बिहार क्षेत्र (मठ क्षेत्र)
गुरुयोजनाको बिचमा १ वर्ग माइलको क्षेत्रफल रहेको मोनास्टिक जोनलाई १.६ किलोमिटर लामो पैदलयात्रु पदयात्रा र बिचमा एउटा नहरद्वारा दुई जोनमा विभाजन गरिएको छ ।
क) पूर्वी मठ क्षेत्रले बौद्ध धर्मको थेरवाद (हिनायन) विद्यालयलाई प्रतिनिधित्व गर्दछ जहाँ विहार निर्माणको लागि १३ भूखण्डहरू निर्धारण गरिएको छ ।
ख) पश्चिम मोनास्टिक जोनमा २९ प्लटहरू छन्, प्रत्येक महायान गुम्बाहरू निर्माणका लागि निर्धारण गरिएको छ । हाल यस क्षेत्रमा तीनवटा ध्यान केन्द्रहरू सञ्चालनमा छन् । विहार क्षेत्रमा खडा रहेको बेबी बुद्धको मूर्ति, केन्द्रीय नहर र त्यसमा रहेको डुङ्गाको सुविधा, इटरनल पिस फ्लेम, द पिस बेल आदि पर्यटकको चासोको विषय हो ।

सांस्कृतिक केन्द्र र नयाँ लुम्बिनी ग्राम
सांस्कृतिक केन्द्र र नयाँ लुम्बिनी गाउँले ‘सांसारिक’ गतिविधिहरूको प्रतिनिधित्व गर्दछ र तीर्थयात्री र आगन्तुकहरूको लागि जानकारी, आवास र उपयोगिता सुविधाहरू प्रदान गर्दछ । होटल, आगन्तुक सूचना केन्द्र, लुम्बिनी संग्रहालय, लुम्बिनी अन्तर्राष्ट्रिय अनुसन्धान संस्थान, प्रशासनिक परिसर आदि यहाँ अवस्थित छन्। नयाँ लुम्बिनी गाउँमा पर्यटकहरूको चासोका अन्य महत्वपूर्ण साइटहरूमा जापानको विश्व शान्ति प्यागोडा र लुम्बिनी क्रेन अभयारण्य समावेश छ । लुम्बिनीलाई विश्वको शान्ति सहरका रुपमा विकास गर्नेगरी बुद्धसँग सम्बन्धित सबै साइटहरुलाई एउटै सर्किटमा जोड्नेसमेत योजना छ ।

आज २५६८ औँ बुद्धजयन्ती
आज २५६८ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस । विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रुपमा लिने गर्छन् । बुद्ध जयन्तिको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आइसकेका छन् ।
बिहीबार बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्राथनासभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ । लुम्बिनीमा जेष्ठ १० गते बिहान नेपाल, भारत र श्रीलंकासम्म पुग्नेगरी त्रिदेशीय मोटरसाइकल यात्रासमेत शुभारम्भ हुने कार्यक्रम रहेको कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।

बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत अस्तीधातु रहेको रामग्राममा पण्डितपुरदेखि रामग्रामसम्म अस्तु यात्रा, प्राचिन तिलौराकोट दरबारमा र देवदहमा पनि बुद्धजयन्तीमा कोष र स्थानीय तहहरुले सहकार्य गरेको जनाइएको छ । कोषले भगवान् बुुद्धको महत्व दर्शाउनका लागि देवदह नगरपालिकामा, नवलपरासीको रामग्राम नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न यसै अपिल गरेको छ ।