बुबा रघुनाथ शर्मा, आमा देवी शर्माको कोखबाट वि.सं. २०४५ सालमा बागलुङको जैमिनी नगरपालिका–७ जैदीमा जन्मनुभएका अर्जुन शर्मा सानैदेखि हुने बिरुबा चिल्लो पात भनेझै अध्ययन अनुसन्धान, लेखन, संगीत र साहित्यप्रति अधिक मात्रामा रुचि राख्ने गर्नुहुन्थ्यो । शर्माले भौतिकशास्त्रमा स्नातकोत्तर, दक्षिण कोरियाबाट जनप्रशासनमा स्नातकोत्तर, कानुनमा स्नातक डिग्री हासिल गरी २०७० सालमा निजामती सेवा प्रवेश गरी देशका अधिकांश स्थानीय तह र वित्त आयोगमा सेवा प्रदान गरिसक्नुभएको छ । उहाँ केही महिना अगाडि अर्घाखाँचीको शीतगंगा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई कार्यरत हुनुहुन्छ । उहाँसँग शीतगंगा नगरपालिको आगामी योजना र रणनीतिलगायतका विषयमा केन्द्रित रहेर मेचीकालीकर्मी अनिल नेपालीले गरेको कुराकानीको सम्पादकीय अंशः
स्थानीय सरकारलाई जनताको नजिकको सरकार भनेर चिनिन्छ, शीतगंगा नगरपालिकाले विकास निर्माण र सेवाप्रवाहलाई कसरी अघि बढाइरहेको छ ?
शीतगंगा नगरपालिकाले संविधानले दिएको अधिकार प्रयोग गर्दै स्थानीय पूर्वाधार विकास, सेवाप्रवाह र अनुगमन तथा नियमनलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको छ । स्थानीय पूर्वाधार विकासका सन्दर्भमा नगरपालिकाले तर्जुमा गरेको दशवर्षे आवधिक विकास योजनाअनुसार वार्षिक बजेटमा पूर्वाधारका आयोजनाहरु समावेश गरी कार्यान्वयन गर्दै आएका छौं । सेवाप्रवाहतर्फ १४ वडा कार्यालयबाट प्रशासनिक काम हुँदै आएको छ । नगरका १०९ वटा सामुदायिक विद्यालय र २ वटा सामुदायिक सिकाई केन्द्रबाट शिक्षासम्बन्धी सेवा र ३७ वटा स्वास्थ्य संस्थाबाट स्वास्थ्यसँग सम्बन्धित विविध सेवाहरु प्रदान गर्दै आएका छौं ।
त्यसैगरी नगरपालिकाका १४ वटा विषयगत शाखाबाट समेत आ–आफ्नो विषयगत क्षेत्रअनुसार नीतिनिर्माण र कार्यान्वयन हुँदै आएको छ । विकास निर्माणलाई तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्नगर्न नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायत आवश्यकताअनुसार अन्य कर्मचारीहरुबाट समेत अनुगमनको काम गर्ने गरिन्छ । कामको गुणस्तर कायमगर्न प्राविधिक कर्मचारीहरुलाई विशेष सचेत गराइएको छ भने अनुगमनका चरणमा समेत गुणस्तर माध्यान दिइएको छ । यसरी नगरपालिकाबाट प्रदान गरिने सबै किसिमका सेवाहरु सरल तथा प्रभावकारी ढंङ्गबाट प्रदानगर्न नगरपालिकाले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी कार्य सम्पादन गर्दै आएको छ ।
बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयन गर्न के–कस्ता योजना बनाउनुभएको छ ?
जनताका प्रत्यक्ष सरोकार कार्यक्रम तथा योजनालाई नै नीति तथा कार्यक्रममार्फत सम्बोधनगर्ने गरेका छौं । आगामी आर्थिक वर्षबाट आवधिक योजनाका आधारमा जनताका सरोकारका योजनाहरुलाई विधिसम्मत् ढंगबाट अगाडि बढाउने गरी टुक्रे योजना अन्त्यका लागि योजनाबनाएका छौँ ।
शीतगंगालाई नमुनायोग्य नगर बनाउन विशेष कुनै कार्यक्रम ल्याउनुभएको छ ?
योजना निर्माणको चरणमा नै आफ्नो अधिकार सूचीको विषय माध्यान दिई उक्त सूचीमा उल्लेख भएबमोजिम आवधिक, वार्षिक, क्षेत्रगत योजनाहरु बनाउने गरिएको छ । साथै, संघ र प्रदेश सरकारको नीति, लक्ष्यतथा उद्देश्यसँग तादाम्यता कायम गर्दै वातावरण संरक्षण तथा जलवायु परिवर्तन, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन, सुशासन आदि विषयहरुलाई समेत ध्यान दिँदै नगर गौरवका योजना र वडागत योजनाका रूपमा वर्गीकरण गरी नमुनाका रूपमानगर विकास गर्ने लक्ष्यका साथ अघि बढेको अवस्था छ ।
जनप्रतिनिधि विकास निर्माण, सेवाप्रवाह र सुशासन स्थापित गराउन कत्तिको संवेदनशील भएको पाउनुभएको छ ?
हालको नगर नेतृत्व विकास निर्माण लगायत समग्र नगर विकासको पक्षमा अत्यन्त सकारात्मक रहेको पाएको छु । उहाँहरु शिक्षित हुनुहुन्छ र नगरका शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापनलगायत सबै किसिमका पूर्वाधार विकासमा गुणस्तरीयतासहितको विकासका कार्यमा रणनीतिक योजनासहित कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै संवेदनशील भएर काम गरिरहनुभएको छ ।
जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध परिपूरक र सुमधुर हुनुपर्दछ । हामीहरुको साझा लक्ष्य नगर विकासको हो । जनप्रतिनिधिहरुबाट ल्याइएका योजना, नीति तथा कार्यक्रमलाई नेपालको प्रचलित कानुनका आधारमा पूरा गर्ने दायित्व कर्मचारी वर्गको हो । यसर्थ यो विषयको गाम्भीर्यताअनुसार अगाडि बढ्दा दुवै पक्षबिचको सम्बन्धमा कुनै पनि किसिमको असमझदारी हुनेछैन र भएको पनि छैन ।
विकास निर्माणमा जनसहभागिता कस्तो पाउनुभएको छ ?
यहाँको विकास निर्माणमा जनसहभागिता राम्रो रहेको छ । बजेट तर्जुमाको चरणमा समेत नागरिकहरुसँग पर्याप्त छलफल र परामर्श हुने गरेको छ । नगर र वडाले आयोजनागर्ने यस्ता छलफलमा नागरिकको उल्लेख्य सहभागिता हुने गरेको छ । बजेट कार्यान्वयनको चरणमा समेत पर्याप्त जनसहभागिता हुने गरेको छ । थुप्रै कार्यहरु उपभोक्ता समितिमार्फत भएका छन् । जनतासँग प्रत्यक्ष सम्बन्धित र उहाँहरुको मागमा आधारित योजनाहरु नगरसभाबाट स्वीकृत भएबमोजिम कार्यान्वयन हुने गरेका छन् ।
जनसहभागिता जुटाउन के–कस्ता कार्यक्रम ल्याउनुभएको छ ?
आगामी आर्थिक वर्षदेखि जनचाहनाबमोजिमका योजना तथा कार्यक्रमलाई अझै प्राथमिकता दिनेछौं । आवधिक योजनाले तय गरेको मार्गदर्शनबमोजिम वार्षिक बजेट बन्ने गरेको छ । बजेट तर्जुमाको चरणमा नागरिकका जायज माग र आवश्यकताअनुसार आयोजना र कार्यक्रम छनोट गर्न टोल र बस्तीबस्तीमा जनप्रनिधिहरु खटाई नागरिकलाई बजेट तर्जुमा प्रक्रियामा प्रत्यक्ष सहभागी गराउन जोड दिने गरिएको छ ।
शीतगंगामा बेरुजु र सार्वजनिक खरिदको अवस्था कस्तो छ ?
गत आवमा हाम्रो बेरुजु रकम धेरै थियो । अहिले बेरुजु घटेको छ । बेरुजु फस्र्यौटका लागि हामी सक्रिय रहेका छौँ । सार्वजनिक खरिदको कार्य हालको प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीको परिधिभित्र रहेर मात्र गर्ने गरिएको छ ।
शीतगंगा भौगोलिक हिसाबले पनि ठुलो छ, खासगरी नगरपालिकामा काम गर्दै जाँदा आएका समस्या के छन् ?
अन्य नगरपालिकामा जस्तै साझा समस्या यस नगरपालिकामा पनि छन् । त्यसबाहेक मूलतःभौगोलिक जटिलता, कर्मचारीको अभाव, प्राकृतिक स्रोतको अवैध चोरी निकासीलगायतका समस्या छन् । खास गरी स्रोतसाधनभनेको प्रायः सीमित नै हुन्छ । मागका आधारमा आपूर्ति पक्ष कम हुनु स्वाभाविक नै हो । जनप्रतिनिधि र जनताका असीमित चाहना सीमित स्रोत साधनबाट पूरा गर्न चुनौती छ । यस समस्याको समाधानका लागि आवधिक योजना तथा रणनीतिक योजनाबाट सम्बोधन गर्ने विचार गरिएको छ । जनसेवा प्रवाहका लागि सूचना प्रविधिको प्रयोगलाई महत्व दिई कार्यक्रम अगाडि बढाएका छौं ।
प्रदेश र केन्द्रीय निकायसँग अन्तरसम्बन्ध कस्तो बनाउनुभएको छ ?
स्थानीय, प्रदेश र संघसँगको अन्तरसम्बन्धतथा समन्वयको संयन्त्र कानुनद्वारा नै निर्धारण भएको छ । कानुनी र व्यावहारिक दुवै माध्यमबाट अन्तरतह समन्वय र अन्तरसम्बन्धको कार्य भइरहेको छ ।
प्रदेश र केन्द्रीय तहबाट के–कस्तो सहयोग र समन्वय पाउनुभएको छ ?
आवश्यकताअनुसार सहयोग र समन्वयको कार्य भएतापनि जुन तहमा हुनुपर्ने हो त्यो हुन सकेको छैन ।
शीतगंगाले भोग्नुपरेका मुख्य समस्या केके छन् ?
भौगोलिक हिसाबले नेपालको ठूलो नगरपालिका भएकोले सेवाप्रवाहको लागि भौलोगिक जटिलता चुनौतीको रुपमा रहेको छ । त्यसबाहेक काम गर्न कानुनी जटिलता, न्यून बजेट, कर्मचारीको अभाव, प्राकृतिको स्रोतको अवैध चोरी निकासी तथा चुहावट, आदि समस्या छन् ।
शीतगंगा नगरपालिकालाई देशभर चिनिने बनाउन विशेष कुनै योजना बनाउनुभएको छ ?
शीतगंगा नगरपालिकालाई नमुनाका रूपमाविकास गर्न नगर नेतृत्व क्रियाशील रहेको छ । यसकालागिनगरको आवधिक विकास योजनाका आधारमा वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा हुनेछन् । शिक्षाको जग दह्रो बनाउन सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि विशेष कार्यक्रमको आवश्यकता छ । यसका लागि नगर शिक्षा योजना तर्जुमा अन्तिम चरणमा रहेको छ ।
पालिकाको स्रोत वृद्धि गर्न के–कस्ता पहल गरिरहनुभएको छ ?
शीतगंगा नगरपालिकाका आन्तरिक आम्दानीका स्रोत भनेको खोलानाला, कबाडी कर, भूमिकर, व्यवसाय कर आदि हुन् । यिनलाई आन्तरिक रुपमा सुधार गरी करको दायरा बढाएर राजस्वमा सुधार गर्ने गरी अगाडि बढेका छौं । यसका लागि नगरको राजश्व सुधार कार्ययोजनालाई थप वस्तुगत बनाई अडाडि बढ्नेछौं ।
शीतगंगामा कति बजेट अभाव हुन्छ ?
शीतगंगा नगरपालिकामा संघ र प्रदेशको विभिन्न शीर्षकमा छुट्टाइएको वित्तीय समुनिकरणको बजेट नआउँदा करिब ४ करोड बजेटको अभाव हुन्छ । त्यसबाहेक राजश्व बाँडफाँडतर्फ प्रक्षेपण गरिएको मध्ये करिब २ करोड बजेट कम हुने अनुमान गरेका छौं ।
अन्त्यमा विशेष केही भन्नु छ कि ?
स्थानीय तहको विकासका लागि सबैको व्यवहार र आचरणमा सुधार आवश्यक छ । कानुनी राज्यको अवधारणालाई आत्मसात गरी कर्मचारी,जनप्रतिनिधि र नागरिकको आचरण तथा व्यवहारमा सुधार आए विकासले गति लिन सक्छ । तर, एकले अर्कोलाई दोषारोपण मात्र गर्ने हो भने अपेक्षा गरेअनुसार सफलता हासिल हुन सक्दैन ।