कपिल लामिछानेको ‘राराको डिलमा’ रमाउँदा

मेचीकाली संवाददाता

४ असार २०८१, सोमबार
145 shares

हरि ज्ञवाली

प्रा.डा. कपिल लामिछाने नेपाली आख्यान क्षेत्रका चर्चित एवम् मूर्धन्य व्यक्तित्व हुन् । उनी सफल समालोचक, कवि, निबन्धकार, कथाकार, बालकथाकार, बालउपन्यासकार, अनुसन्धाता मात्र नभएर एक महत्वपूर्ण र चर्चित लघुकथाकार हुन् । आख्यान विधामा पोख्त र चर्चित उनी अहिले गैरआख्यानको नियात्रा विधामा प्रवेश गरेर आफूलाई एक सफल र सिद्धहस्त नियात्राकारका रूपमा समेत उभ्याउने प्रयास गर्दैछन् ।

लघुकथाकारको पहिलो पाइलो नियात्रा
लघुकथाको क्षेत्रमा चर्चित र सिद्धहस्त मानिने लामिछाने ‘राराको डिलमा’ नियात्रा (२०८०) मार्फत नियात्राकारका रूपमा देखा परेका छन् । यसलाई उनी आफँैले पहिलो पाइलो भनेका छन् । ‘राराको डिलमा’ नियात्रा लामिछानेका साहित्यिक कृतिहरूमध्ये ५६ औँ कृति हो । हालै भुँडीपुराणबाट प्रकाशित यस नियात्रामा लामिछानेले आफूभित्र अहिलेसम्म लुकेर बसेको ‘नियात्राकारिता’लाई अत्यन्तै कलात्मक र सुन्दर शैलीमा प्रस्तुत गरेका छन् ।

‘राराको डिलमा’ मूलतः यात्रासंस्मरणात्मक निबन्धहरूको सङ्ग्रह हो । यसलाई नियात्रा भनिएको छ । उनका साहित्यिक कृतिहरूमध्ये नियात्रालेखन पहिलो कृति हो । लेखकले यसलाई पहिलो पाइलो भन्दै आफू शिशु कक्षामा रहेको बताएका छन् । नौ वर्षको उमेरमा नै पोखराबाट आसाम पुगेका लामिछानेले जिन्दगी आफैँमा एउटा यात्रा रहेको र आफू पल्टेङ् खाइरहने पत्थर बन्दै जिन्दगीको यात्रामा निरन्तर हिँडिरहेको सन्दर्भ आफ्नो भनाइ अर्थात् ‘पहिलो पाइलो’मा नै उल्लेख गरेका छन् ।

नियात्राको ऐतिहासिक पृष्ठभूमि
साहित्यका विविध विधाहरूमध्ये नियात्रा अर्थात् यात्रासाहित्य आजभोलि नेपाली साहित्यको लोकप्रिय र पूर्ण साहित्यिक सामग्रीका रूपमा स्थापित भइसकेको छ । नेपाली नियात्राको इतिहासलाई हेर्ने हो भने वि.सं. १५५० तिरको मानिएको ‘राजा गगनीराजको यात्रा’ सम्म पुग्न सकिन्छ । कृतिका लेखक अज्ञात भए पनि यसले तत्कालीन कर्णाली क्षेत्रका राजा गगनीराजले स्वदेश भ्रमणलाई मुख्य विषयवस्तु बनाएको देखिन्छ । ‘जङ्गबहादुरको बेलायत यात्रा’ (१९१०) अको महत्वपूर्ण यात्रा वर्णन हो । ‘राजा गगनीराजको यात्रा’ बाट हेर्दा ५२५ वर्षभन्दा बढीको र ‘जङ्गबहादुरको बेलायत यात्रा’ बाट हेर्दा १६५ वर्षभन्दा बढीको सिर्जनात्मक यात्रा नियात्राले पार गरिसकेको छ ।

नियात्रा लेखनमा स्रष्टाले यात्रा गरेको हुन्छ, त्यो यात्रा भाषिक अभिव्यक्तिका माध्यमबाट सिर्जनामा रूपान्तरण हुन्छ अनि त्यो सिर्जना पढ्दा पाठकले पनि सँगसँगै यात्रा गरेको अनुभूति गर्न थाल्छ । यो दिनानुदिन लोकप्रिय पनि बन्दै गएको छ । शायद यही कारण लघुकथाकारका रूपमा चर्चित रहेका कपिल लामिछानेले नियात्रा विधामा आफ्नो पाइलो अघि सारेका छन् । पहिलो पाइलोमै उनले आफूलाई सफल र सिद्धहस्त नियात्राकारका रूपमा पुष्टि गरेको उनको ‘राराको डिलमा’ नियात्राका आधारमा भन्न सकिन्छ ।

‘राराको डिल’ भित्र विचरण गर्दा
‘राराको डिलमा’ नियात्रा स्वदेश तथा विदेशमा गरिएका १९ ओटा नियात्राहरू सँगालिएको कृति हो । कभर पेजसहित यो नियात्रा १७६ पृष्ठमा सजिएको छ । ‘भैरहवादेखि आबु रोडसम्म’, ‘माउन्ट आबु र अक्षरधामको आनन्द’, ‘छानामाथि रेल’, ‘चीन यात्रामा देकोटाको सम्झना’ , ‘यार्चाः भिल्लका देशमा मणि’, ‘ग्रेटवालमा उभिएर’ यी ६ वटा नियात्रा देशबाहिरका नियात्रा हुन् भने बाँकी १३ वटाचाहिँ स्वदेशकै ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थानका ।

धेरैजसो साहित्यिक कार्यक्रममा सहभागी हुने क्रममा गरिएका नियात्रा छन् भने केही धार्मिक र सांस्कृतिक यात्राका वृत्तान्त छन् । उद्देश्य जे भए पनि यस कृतिमा स्तरीय र लोभ्याउने नियात्राहरू प्रस्तुत छन् । उनको नियात्राले नेपालको प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गरेको छ ।

कृतिको सुरूमा नियात्रा नेपालका अध्यक्ष प्रतीक ढकाल र प्रतिभा निकुञ्ज नेपालका अध्यक्ष होम सुवेदीका शुभकामना छन् भने कभर पृष्ठको पछाडि वरिष्ठ साहित्यकार रूद्र ज्ञवालीको सटिक विचार राखिएको छ । यी तीन जनाको विचारले यस कृतिको ओज झनै बढाइदिएको छ । ‘फापरथुमको आनन्द’ शीर्षकको पहिलो निबन्धबाट सुरु भएको नियात्राक्रम १९ औँ अध्यायको ‘जङ्गलभित्र बालसाहित्यको चिन्तन’ मा गएर समाप्त भएको छ । हरेक निबन्धका आरम्भमै प्रसिद्ध साहित्यकारहरूका शुभेच्छा र टिप्पणीले आँखीझ्यालको काम गरेका छन् । तिनले हरेक निबन्धलाई थप रोचक र पठनीय बनाएका छन् ।

नियात्राको पहिलो अध्याय ‘फापरथुमको आनन्द’ मा वि.सं २०८० सालमा सुपरिचित साहित्यकार त्रिलोचन ढकालले स्याङ्जाको फापरथुममा आयोजना गर्नुभएको विराट् साहित्यिक जमघटमा सहभागी हुँदाको यात्रा अनुभव र अनुभूतिको प्रसङ्ग छ । ताप्लेजुङ्देखि बैतडीसम्मका करिब दुई सय स्रष्टाहरूको त्यो कुम्भमेलामा सहभागी हुन भैरहवादेखि स्याङ्जाको आनन्दधामसम्म पुग्दाको रमणीय यात्रालाई लामिछानेले अत्यन्तै लालित्यपूर्ण र अनुप्रासयुक्त शैलीमा व्यक्त गरेका छन् ।

फापरथुममा आफूहरूले पाएको न्यानो आतिथ्यता, साहित्यिक कार्यक्रमको गहनता र तत्क्षेत्रका प्राकृतिक छटाहरूको रोचक वर्णन यति प्रभावकारी र मिठासपूर्ण तरिकाले गरेका छन् कि पाठक पनि उनीसँगै आनन्दमय यात्रामा विचरण गर्न थाल्छ ।
नियात्राको दोस्रो अध्याय ‘राराको डिलमा’ निकै अर्थपूर्ण र सारगर्भित छ । यसैको शीर्षकलाई नै कृतिको नाम ‘राराको डिलमा’ राखिएको छ । रारा नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । रारालाई स्वर्गकी अप्सरा पनि भनिन्छ । नियात्रामा लामिछानेले राराको परिवेशको जीवन्त चित्रणमात्र गरेका छैनन्, प्रतिकात्मकरूपमा नेपालको कर्णाली प्रदेश र ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक जनजीवन र जीवनपद्धतिको सजीव तस्बिरसमेत उतारेका छन् ।

तालनजिकैका चङ्खेली, रिमिनच्छ्य र छायाँनाथ हिमालको सौन्दर्यको वर्णन र रारातालका लोभ्याउने प्राकृतिक छटा र तालको पानीमा देखिने रङ्गीबिरङ्गी छायादृश्यको यति मीठो वर्णन छ कि पाठक कति बेला पाटनको प्राकृतिक सौन्दर्यमा रमाउँछ त कतिबेला रारा किनारमा पुग्दानपुग्दै राराको प्राकृतिक सौन्दर्यपानले मन्त्रमुग्ध हुन पुग्छ ।

रारा तालको प्राकृतिक सौन्दर्यपानमा लठ्ठ पर्दै उक्त स्थानमा नियात्राकार लामिछानेकै ‘अणिमा’ लघुकथासङ्ग्रहको विमोचन गरिएको र सोको समाचार तत्कालै देशैभरि प्रकाशित भएको प्रसङ्ग पनि यस निबन्धमा उल्लेख छ । ‘दोलखा दौडाहा’मा दोलखा जिल्लाको चरिकोटमा नेपाल बाल साहित्य समाजद्वारा आयोजित सम्मेलनमा सहभागी हुँदाको मीठो संस्मरण र त्यस क्षेत्रको प्राकृतिक सौन्दर्यको कलात्मक वर्णन छ ।

यसैगरी ‘सिन्धुली गढी घुमेर हेर्दा’मा नेपालको ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण सिन्धुलीगढीलाई अत्यन्तै मीठो भाषामा चिनाइएको छ । यो पढ्दा सिन्धुलीगढीको दरबार, युद्ध सङ्ग्रहालय,गढीको बनावटको विषयमा आफैँ पुगेर अवलोकन गरेको अनुभूति हुन्छ । सिस्नोघारी र अरिङ्गालको गोलालाई पनि युद्धमा प्रयोग गरिएको तथ्य बुझ्दा नेपाली वीर पुर्खाहरूको रणकुशलतामा गर्व लाग्छ ।

‘पाल्पाली तरङ्ग’ ले पाल्पा जिल्लाको भौगोलिक,सामाजिक ,सांस्कृतिक र ऐतिहासिक महत्वलाई उजागर गरेको छ । ‘रून्टीगढीमा रमाउँदै’ नियात्रामा रोल्पा जिल्लाको राजनीतिक पृष्ठभूमि र त्यहाँको सामाजिक–प्राकृतिक पक्षको वर्णन गर्दै त्यस क्षेत्रमा नवीन खोज र अन्वेषण हुनुपर्ने कुरा लेखिएको छ । ‘मुस्ताङ यात्रा’मा लेखक मुस्ताङको बोली, रहनसहन, भेषभूषा अनि खाना र स्नेहमा रमाएका देखिन्छन् ।

यस्तै ‘भिक्षुका पाइला पछ्याउँदै’ भन्ने नियात्रामा नेपाली विषयमा अध्ययन गर्ने स्नातकोत्तर तहका विद्यार्थीहरूलाई कपिलवस्तु जिल्लाको तौलिहवा, तिलौराकोट, जगदीशपुर ताल क्षेत्रको भ्रमण गराएको वृत्तान्त छ । भ्रमणका सिलसिलामा त्यस क्षेत्रको सामाजिक जनजीवन,अशिक्षा,पछौटेपन र गरिबीले आक्रान्त समाजको सटिक वर्णन गर्दै त्यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको सजीव चित्रण छ ।
यसैगरी ‘रेसुङ्गा त रेसुङ्गा रैछ’ नियात्रामा गुल्मी जिल्लाका विभिन्न स्थानको वर्णनसँगै रेसुङ्गाको प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई कलात्मकरूपमा प्रकाश पारिएको छ । रेसुङ्गाको नामकरण, सन्त शशिधर स्वामी, लक्ष्मीनाराणलगायतका साधनास्थलका रूपमा परिचित अनि पौराणिक मिथकमा समेत मुखरित हुने रेसुङ्गाको महान् प्रभावलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ ।

‘भैरहवादेखि आबु रोडसम्म’, ‘माउन्ट आबु र अक्षरधामको आनन्द’, ‘छानामाथि रेल’, ‘चीन यात्रामा देकोटाको सम्झना’ , ‘यार्चा भिल्लका देशमा मणि’, ‘ग्रेटवालमा उभिएर’ यी ६ वटा नियात्रा देशबाहिरका नियात्रा हुन् । भारत र चीनका केही धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थानहरूको भ्रमणमा जाँदा त्यहाँको परिवेश, सिस्टम र विकास निर्माणका कामले आफू अत्यन्त प्रभावित भएको प्रसङ्ग यी नियात्रामा उल्लेख छ ।

त्यहाँको सरकारले पर्यटकीय विकासका लागि धार्मिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको कति हदसम्म संरक्षण र संवद्र्धन गरिरहेको छ भन्ने झलक यी नियात्रामार्फत बुझ्न सकिन्छ । हामीले माल भएर पनि चाल पाएका छैनाँै । हिराको खानीमाथि बसेर जिरा पोको पार्दै बसेका छौँ । न सरकार भएको अनुभूति जनतालाई हुन सकेको छ न त विकासनिर्माणका कुनै खास योजना र प्रतिबद्धता नै बन्न सकेका छन् । पर्याप्त साधन र स्रोत भएर पनि तिनको समुचित उपयोग र उपयुक्त परिचालन गर्न नसक्दा हामी नेपाली पिछडिइरहनुपरेको दुःखद अनुभूति यी नियात्राहरू पढ्दा हुन्छ ।

समग्रमा राराको डिलमा’ नियात्राले नेपालका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थानहरूलाई चिनाउने र तिनको महत्वलाई बढाउने काम गरेको छ । हामीले आफ्नै देशका महत्वपूर्ण स्थानलाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न सके नेपाललाई विश्वकै नमुना पर्यटकीय स्थल बनाउन सकिन्छ भन्ने सन्देश दिन पनि कृतिकार सफल भएका छन् । त्यसो त कृतिमा समेटिएका धेरैजसो निबन्धहरू यसअघि नै विधिन्न पत्रिका वा अनलाइनहरूमा छापिइसकेका नियात्राहरू हुन् । तिनलाई कृतिकारले यतिखेर एकमुष्ट पारेका हुन् । जेहोस् नियात्रात्मक कृति अत्यन्त स्तरीय, सारगर्भित र पठनीय छ ।

त्रुटि र कमजोरीमाथि सटिक व्यङ्ग्य
कृतिकारले नियात्रामा आफूले भ्रमण र अवलोकन गरेका स्थानको विकास र समृद्धिको सुझाव दिएका छन् । कतैकतै त्यहाँका त्रुटि र कमजोरीहरूमाथि सटिक किसिमले व्यङ्ग्यसमेत यस कृतिमा पाइन्छ ।
कृतिकारको कडा व्यङ्ग्य एउटा शीर्षकमै प्रकट भएको छ । ‘यार्चा ः भिल्लका देशमा मणि’ मार्फत । नेपालको हिमाली जिल्लामा पाइने बहुउपयोगी शक्तिबद्र्धक र बहुमूल्य जडिबुटी यार्चागुम्बाको उचित सङ्कलन, संरक्षण, प्रचारप्रसार र उपयोग गर्न नसकेको प्रति कृतिकारले दुःखमनाउ गरेका छन्

चीनको ल्हासा जाँदा यार्चाको ठूलो व्यापारिक कारोबार भइरहेको, विश्वभर उक्त शक्तिबद्र्धक औषधीको अत्यधिक माग भइरहेको, अनुसन्धान र प्रचारप्रसार भइरहेको तर नेपालमा भने कौडीको मूल्यमा खेर गइरहेकोमा हामी नेपालीहरूप्रति व्यङ्ग्य गर्दै ‘भिल्लका देशमा मणि’ को संज्ञा दिएका छन् । पहिलो नियात्रा ‘फापरथुमको आनन्द’ मा फापरथुममा नै फापर नपाएकोमा कृतिकारको यस्तो व्यङ्ग्य छ । ‘कुनै बेला खोरिया फाँडेर डाँडाको थुम्कोमा फापर खेती लगाएकाले यस ठाउँको नाम फापरथुम रहन गयो र चलनचल्तीमा आयो । ’ ‘…तर हामीले न फापर खायौँ न कतै फापर खेती नै देख्यौँ । फापर नभएको थुममात्र रहन गएछ अहिले ।’

अर्काे ठाउँमा यस्तो व्यङ्ग्य छ:
‘चरिकोट पुग्दा रातको साडे नौ बजिसकेको थियो । एक सहयात्रीले भने–खै कुन चरीले लगाएको छ कोट ? मैले भोलि बिहान हेरौँला भनेँ ।’
यस्तै ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढी दरबारको उचित संरक्षण हुन नसकेकाले खण्डहर बन्दै गएको प्रति व्यङ्ग्य छ । ‘सिन्धुलीगढी घुमेर हेर्दा …. ’ गीतका गायक कृष्णविक्रम थापालाई स्मरण गर्दै उनी व्यङ्ग्य गर्छन्–
‘कृष्णविक्रम थापाले २०३७ सालमा देखेको ‘कति पो राम्रो दरबार’ अहिले खण्डहर भएको रहेछ । अहिले उनले गाउने भए अर्कै शब्द राख्दा हुन्–कति पो राम्रो खण्डहर ।’ यस्ता थुप्रै व्यङ्ग्यहरू लेखकले ठाउँठाउँमा गरेका छन् ।

भाषाशैली र प्रस्तुति
भाषाशैली र प्रस्तुतिका हिसाबले कृति अत्यन्त उत्कृट छ । छोटा वाक्य र मीठो काव्यात्मक शैलीले सरस र पठनीय बनाएको छ । दुई चार ठाउँमा बाहेक भाषिक अशुद्धता भेटाउन सकिँदैन । तर, विषयसूची अर्थात् नियात्राक्रममा लेखिएको शीर्षक र भित्र रहेको शीर्षक फरक देखिँदा फापरथुम आनन्द हो कि फापरथुमको आनन्द ? अलिकति अलमल भने हुन्छ । नियात्राक्रममा को विभक्तिलाई किन हटाइएको होला ? शायद प्रिन्ट मिस्टेक हुनसक्छ ।

निष्कर्ष:
समग्रमा ‘राराको डिलमा’ नियात्रात्मक कृति अत्यन्त स्तरीय, सारगर्भित र पठनीय छ । आकर्षक रचनात्मक क्षमता, रैखिकीय लेखनशैली, आत्मकथनात्मकता, विम्बात्मक र प्रतीकात्मक कथनले कृतिकारमा अद्भूत लेखकीय क्षमता छ भन्ने कुरा प्रष्ट पार्छ । पहिलो पाइलोका थोरै अक्षरमा नै सारपूर्ण धेरै कुरा लेखेका नियात्राकारको ठेट नेपाली शब्दहरूको प्रयोग, चित्रात्मक प्रस्तुति र लेखनको रसिलो प्रवाहले पुस्तकलाई पठनीय र सङ्ग्रहणीय बनाएको छ । (ज्ञवाली रुपन्देहीका शैक्षिक अगुवा हुन् ।)