‘समृद्ध समाज र सुखी मानव’का लागि योग !

मेचीकाली संवाददाता

८ असार २०८१, शुक्रबार
726 shares

घनश्याम कोइराला
आज जुन २१, विश्व योग दिवस । सन् २०१५ देखि औपचारिक रूपमा अन्तर्राष्ट्रिय स्तरमा मनाउन थालिएको योग दिवस हरेक वर्ष जुन महिनाको २१ तारिखमा पर्दछ । यसै त नेपाल, भारतलगायत भारतीय उपमहादीपमा योगको प्रचलन रहँदैआएको छ । तर, संयुक्त राष्ट्र संघले योग दिवस मनाउने प्रस्ताव पारित गरेपछि यसले औपचारिक रूपमा अन्तर्राष्ट्रिय मान्यता पाएको हो । यसलाई अन्तर्राष्ट्रिय योग दिवस पनि भनिन्छ । कतिपय मानिसहरूले यसलाई योगा भनेको पनि सुनिन्छ । तर, योगा नभई योग शब्द सही हो । मानसिक तथा शारीरिक अशुद्धि हटाउन गरिने ‘योग’लाई नै ‘योगा’ भनेर उच्चारण गर्नु उपयुक्त हुँदैन, होइन ।

योगका विधि र प्रकार धेरै छन् । योग के हो भन्ने विषयमा पनि धेरैथरि भनाइहरू पढ्न पाइन्छ । यसै त योग शब्दको अर्थ ‘जोड्नु—जोड्ने’ भन्ने हुन्छ । योगदान, योगफल, कुल योग आदि शब्दहरूबाट योगका व्यावहारिक पक्षबारे बुझ्न सकिन्छ । हाम्रो गाउँघर—समाजमा पहेँला, गेरुवा लुगा लगाएर ‘अलख्’ भन्दै घर घरमा भिक्षा मागी हिँड्नेहरूलाई जोगी भन्ने चलन छ, वास्तवमा जोगी शब्द योगी शब्दको अपभ्रंश हो । यस अर्थमा योगी शब्दले वैराग्य जनाउँछ । उनीहरूका तर्कमा आत्मालाई परमात्मासँग जोड्ने भएको हुनाले योगी वा जोगी भनिएको हो । आत्मा—परमात्मा मान्ने दृष्टिकोण र मान्यता अनुसार यो कुरा सही हो । तर संसारका सबै मानिसहरू, सबै दृष्टिकोण, सबै मान्यताले आत्मा—परमात्मालाई यही रूपमा स्वीकार गर्दैनन् ।

कतिपय मानिसहरू आँखा चिम्लेर अज्ञातको, निराकारको, साकारको ध्यान गर्नुलाई योग मान्दछन् । प्राचीन ऋषिमुनिहरूले वनमा बसेर गरेका ध्यान र तपस्यालाई नै योग मान्ने पनि गरिन्छ । ती प्रक्रियाहरूबारे अनुमान गर्दा त्यसरी ध्यानमग्न हुनु ज्ञातलाई अज्ञातसँग र अज्ञातलाई ज्ञातसँग जोड्ने प्रयास हो । तर योगको अभ्यास एकान्तमा, वनका झाडी र गुफामा मात्र भएको छैन । धेरैलाई थाहा छ, कौरव र पाण्डवबिच भएको महाभारत युद्धका क्रममा अर्जनको सारथि बनेका श्रीकृष्णले लड्न डराइरहेका अर्जुनलाई दिएको उत्प्रेरणालाई योग भनिएको छ । श्रीमद्भगवत्गीतामा आवश्यकता अनुसारका योगको शिक्षा छ । अट्ठार अध्याय रहेको श्रीमद्भगवत्गीतामा अध्यायभन्दा बढी योगको चर्चा गरिएको छ । यसरी हेर्दा योग भनेको चित्त(मन)लाई वृत्ति(कर्म)सँग जोड्ने विषयका रूपमा बुझ्न सकिन्छ ।

श्रीकृष्णले अर्जुनलाई उपदेश दिँदा विभिन्न प्रकारका योगको कुरा गरेको पाइन्छ । कर्मयोग, भक्तियोग, ज्ञानयोग, राजयोग जस्ता विभिन्न योगका कुरा गरे पनि कृष्णले अर्जुनलाई युद्ध गर्नका लागि बारम्बार उक्साइरहेकाले पनि कर्मयोगलाई विशेष महत्व दिएको पाइन्छ । हुन त युद्ध जस्तो ‘जघन्य अपराधज’मा पनि योग कसरी हुन्छ भन्ने शंका लाग्नु स्वाभाविकै हो । तर गहिराईमा गएर हेर्ने हो भने जुनसुकै कर्म गर्दा पनि यदि कुशलता पूर्वक गर्ने हो भने त्यहाँ योग हुने करा बुभm्न सकिन्छ । यहाँ कुशलता भनेको निष्कामभाव, आशक्तिरहित, समर्पित भावलाई बुझाउँछ । आपूmलाई अकर्ता सम्झी अहंकाररहित भएर गरेको कर्मले बन्धनमा पार्दैन, बरु बन्धनबाट छुट्कारा मिल्छ । त्यसैले श्रीकृष्णले पनि कुशलता पूर्वक गरिएको हरेक काम कर्मयोग हो र कुशलता पूर्वक युद्ध गर भनेका छन्, ‘बुद्धियुक्तो जहातीह उभे सुकृतदृष्कृते तस्माद्योगाय युज्यस्व योगः कर्मसु कौशलम् अर्थात् बुद्धिमान मानिस जीवितै अवस्थामा धर्म र पाप दुवैलाई छोडेर योगमा लाग्दछन् । तिमी पनि योगमा लाग, किनभने कर्ममा कुशलता नै योग हो ।’

महर्षि पतञ्जलीले भनेका छन्, ‘योगः चित्तवृत्तिनिरोध’ योग भनेको चित्तको वृत्तिलाई रोक्नु हो । यसको भाव हुन्छ— मनलाई चञ्चल हुन नदिनु । सनातनका सबै धर्मशास्त्रहरूले मनलाई अत्यन्त चञ्चल हुने र चञ्चल मनबाट कुनै काम सफल नहुने कुरामा जोड दिएका छन् । योगका लागि सबैभन्दा महत्वपूर्ण भूमिका मनको हुन्छ । ‘मन एव मनुष्याणां कारणं बन्धमोक्षयो’ अर्थात् सुख र दुःखको, बन्धन र मोक्षको कारण नै मन भएकाले मनको उचित व्यवस्थापन नगरेसम्म योग सफल हुँदैन अर्थात् योगको प्रतिफल प्राप्त हुँदैन ।

यसरी हेर्दा योगले मनको चञ्चलतालाई रोक्न र काममा एकाग्र हुन सहयोग गर्दछ । महर्षि पतञ्जलिले योगबाट प्राप्त हुने सफलता आठ खण्ड(अङ्ग) मा विभाजित गरेका छन्, त्यसलाई अष्टाङ्ग योग भनिएको छ । ती हुन्— यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि । यमबाट सुरु गरेर समाधिसम्म पुग्ने प्रक्रिया नै योग हो । यसलाई सही अर्थमा बुझ्न आवश्यक छ । एकपछि अर्को अङ्गलाई व्रmमिकरूपले अवलम्बन गर्दै अघि बढे सहज र सरल तरिकाले योग प्राप्त गर्न अर्थात् योगस्थ हुन—उद्देश्यमा सफल हुन सकिन्छ ।

योगलाई आसनसँग जोडेको पाइन्छ । योगासन शब्द प्रचलित छ । शारीरिक, मांसपेशी, नाडीहरू र ग्रन्थीहरूलाई सुन्दर र स्वस्थ बनाएर प्रयोगमा ल्याउनका लागि योगासनको विकास भएको मानिन्छ । यी आसनहरूले शरीरलाई रोगबाट मुक्त पारेर आयु बढाउँदछ । त्यसैले, आसन स्थूल शरीरमाथि विजय प्राप्त गर्ने मुख्य साधन हो भनिन्छ । योग जो जहाँ छ, त्यहीँ काम लाग्ने विषय हो ।

भनिएको छ, ‘योगो भवति दुःखहा अर्थात् योगले दुःखलाई मार्दछ, हराउँदछ ।’ दुःख हराउनु भनेको सुख प्राप्त हुनु हो भनेर बुझ्न आवश्यक छ । योगका जानकार विद्वान्हरूका अनुसार नियमित रूपमा योग गर्नाले मनलाई शान्त पार्दछ अर्थात् मानसिक स्वास्थ्य राम्रो हुन्छ । यसलाई जीवनशैलीका रूपमा अपनाएर स्वस्थ दीर्घजीवन हुन्छ अर्थात् स्वस्थ जीवन र दीर्घ जीवन दुवैसँग योगको सम्बन्ध रहेको छ । निरन्तर—नियमित योग गर्नाले मानसिक तनाव कम हुन्छ । अनियमित दिनचर्याका कारण हुने रक्तचाप, मधुमेह आदि रोगबाट बच्न सकिन्छ । योगका माध्यमबाट शरीरका आन्तरिक विकार हटाउन र जीवनदायी तत्व बढाउन सहयोग पुग्छ ।

शरीरका जोर्नीहरू, हाड, मांसपेशीलाई लचिलो बलियो बनाउन योगको महत्वपूर्ण भूमिका हुन्छ । शरीरको सबै भागहरू चलायमान हुने हुँदा शारीरिक र मानसिक दुवैको व्यायाम हुन्छ । योग गर्नाले मन र मस्तिष्कलाई शान्त पार्दछ । एकाग्रता बढाउँछ । यी सबै हुँदा मानिसको काम गर्ने क्षमता समेत बढ्दछ । मानसिक शान्ति र शारीरिक स्वास्थ अवस्था राम्रो भएमा मात्र सामाजिक आर्थिक विकास तथा समृद्धि सम्भव हुन्छ । योगको अभ्यासबाट मानसिक शान्ति, स्व—नियन्त्रण, चित्त शुद्धि हुन्छ । यी सबैबाट योगाभ्यासीहरूमा सकारात्मक तथा सिर्जनात्मक सोच विकास भई सफलता प्राप्त हुन्छ । यी सबै भएपछि दुःख हुँदैन ।

यी सबै अध्ययनबाट योग भनेको कुनै एउटा मात्र प्रयोजन सिद्ध गर्ने विषय होइन, यो बहुआयामिक विषय हो । हामी जो, जहाँ, जे गर्दैछौँ, हाम्रो उद्देश्यसँग जोड्ने काम योग हो । अब हामीले ‘सामाजिक योग’मा ध्यान दिन आवश्यक छ किनभने अहिले पनि समाजमा विभेद छ, बेमेल छ, अविश्वास छ । यी सबैलाई जोड्ने कार्य सामाजिक ‘योग’ हुनेछ । पुर्खाहरूले खोज, अनुसन्धान, अध्ययन, आविष्कार, सिर्जना गरेका विषय सम्पूर्ण मानवजातिको हितका लागि सदुपयोग गर्नुपर्दछ । समृद्ध समाज र सुखी मानवका लागि योगको महत्व रहेको छ । योग दिवसले हामीलाई यही सन्देश दिन्छ । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)