विशेषज्ञ सेवाले अस्पतालमा आउने बिरामी बढे

मेचीकाली संवाददाता

१२ भाद्र २०७८, शनिबार
515 shares

कपिलवस्तु । बिरामीले विशेषज्ञसहितको सेवा पाउन थालेपछि दाङको लमही अस्पतालमा बिरामीहरुको संख्यामा पनि वृद्धि हुँदै गएको छ । लमही अस्पतालले प्रभावकारी स्वास्थ्य सेवाप्रदान गर्न थालेपछि त्यस क्षेत्रका बिरामीलाई सामान्य उपचारका लागि अन्यत्र जानु पर्ने बाध्यता टरेको छ ।

पछिल्लो समयमा अस्पतालले विशेषज्ञ डाक्टरको सेवासँगै नियमित स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित बनाउँदै लगेको छ । देउखुरी क्षेत्रकै केन्द्र विन्दु मानिने एक मात्र पन्ध्र शैयाको लमही अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा प्रदान दिन थाले पछि त्यहाँका नागरिकहरुले देउखुरीमै प्रभावकारी स्वास्थ्य सेवा पाउन थालेका छन् ।

अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा दिँदै आएकोमा सो सेवा अहिलेसम्म निरन्तर रहेको अस्पतालले जनाएको छ । स्वास्थ्य सेवा प्रवाह गर्दा बिरामी र उपचारमा संलग्न चिकित्सकलाई सहज होस् भनेर थप आधुनिक उपकरणसहितको सेवा थप गरिँदै आएको लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. रञ्जिता महतोले बताइन् । अस्पतालको व्यवस्थापनदेखि आधुनिक उपकरणसहितको सहज र सरल स्वास्थ्य सेवा प्रवाह गर्न आफ्नो टिम कटिबद्ध रहेको उनले बताइन् । बिरामीको अवस्था हेरेर अस्पतालले सहुलियत रुपमा सेवा प्रदान गर्दै आएको समेत उनले बताइन् । हामीले दिँदै आएको अन्य स्वास्थ्य सेवाहरु नियमित नै छन् ।

वर्षौँदेखि सुत्केरी सेवामा समस्या देखिएपनि जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने अवस्था भएका बिरामीलाई सेवा तथा उपकरण विस्तारसँगै अस्पतालले शल्यक्रियाद्वारा सुत्केरी सेवा प्रदान गर्न थालेपछि उक्त सेवा लिन बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ । बिरामीको स्वास्थ्य अवस्था र आर्थिक समस्याका कारण बिरामीहरुलाई जोगाउनुपर्ने दायित्व बोध गर्दै जटिल समस्या भएका बिरामीलाई समेत सेवा दिँदै आएको निमित्त मेडिकल सुपरिटेण्डेन डा.महतोले बताइन् । अस्पतालमा भर्ना भई उपचार लिएका करिब ९५ प्रतिशत बिरामीहरु निको भएर घर फर्कने गरेको अस्पतालले जनाएको छ ।

लमही नगरपालिकासँग समन्वय र सहकार्य गरी डिजिटल मेशिन र ल्याब शाखामा फुल्ली अटोमेटिक बायोकेमिष्ट्री तथा इलेक्ट्रोलाइट एनलाइजरको व्यवस्था गरी संचालनमा ल्याएको छ । साथै गत जेठ दुई गतेदेखि चौबीसै घण्टा एक्सरे सेवा लमही अस्पतालमा सञ्चालनमा आएको छ । यस्तै साउनदेखि डिजिटल एक्सरे ( डिआर) सञ्चालनमा आएको र हालसम्म करिब ४ सय जना सेवाग्राहीलाई डिजिटल एक्सरे (डिआर ) मार्फत सेवा प्रदान गरिएको छ ।

विगतको समयमा रोकिएको स्वास्थ्य बिमा कार्यक्रम समितिको निर्णयअनुसार गत जेठ महिनादेखि प्रभावकारी रूपमा सञ्चालनमा आएको छ । उक्त कार्यक्रमको फोकल पर्सन तोकी प्रभावकारी रूपमा अभिलेखिकरण गरिएको र मिति ०७८ जेठ देखि ०७८ साउन ४ गतेसम्म १ सय १२ जनालाई स्वास्थ्य बिमा कार्यक्रममार्फत सेवा प्रदान गरिएको छ ।

केही समयसम्म रोकिएको मेडिको लिगल सेवा ०७८ जेठ देखि संचालनमा ल्याएर विभिन्न केसहरूको चेकजाँच गरी उचित ढंगले अभिलेखिकरण भइरहेको छ । ०७८ जेठ २० गतेदेखि ०७८ भदौ ५ गते सम्मको तथ्यांक हेर्दा अहिलेसम्म २९ जना घाउ जाँच, ५४ जनाको पोष्टमार्टम र १७ जना जबर्जस्ती करणीको स्वास्थ्य परिक्षण गरिएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

अस्पतालले थप सेवा सुविधा र कतिपय २४ सै घण्टा सेवा सञ्चालन गर्न कठिनाइ भएकोले सेवा प्रवाहमा छिटोछरितो ल्याउनका लागि करारमा केही जनशक्तिको व्यवस्थापन गरेको छ । अन्य थप आवश्यक जनशक्तिको व्यवस्थापन आर्थिक वर्ष ०७८÷०७९ मा गर्ने योजनामा रहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । नगरपालिकाबाट केही जनशक्तिको व्यवस्थापन गरिएको छ ।

सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएदेखि नगरपालिकाबाट खटाइएका थप जनशक्ति र अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नगरपालिकाले दुईदिने तालिमको व्यवस्था गरी सर्पको टोकाइबाट आएका बिरामीलाई उपचारमा उचित तरिकाले चेकजाँच तथा व्यवस्थापन गर्दै आएको छ ।

सर्पदंश उपचार केन्द्रको भवनमा अन्तरङ्ग सेवा छुट्टै जनशक्तिबाट सञ्चालन गरी सेवाग्राहीलाई उचित व्यवस्थापन तथा सेवा प्रवाहमा छिटो छरितो ल्याइएको छ भने कोभिड–१९ विरुद्धको खोप केन्द्रको समेत सञ्चालन गरिएको छ ।