आदिकवि भानुभक्त आचार्य: कुमारीचोकको हिसाबकिताब फरफारख

मेचीकाली संवाददाता

३० असार २०८१, शनिबार
320 shares

कमल पन्थी

आज आदिकवि भानुभक्तको २११ औँ जन्मजयन्ती । वि.सं.१८७१ साल असार २९ गते तनहुँमा जन्मिएका भानुभक्तको जन्मजयन्ती सरकारी तथा गैरसरकारी क्षेत्रबाट योगदानको स्मरण गर्दै श्रद्धापूर्वक भव्यरुपमा मनाइँदै छ । तत्कालीन समयमा संस्कृत भाषाको एकाधिपत्य रहेको अवस्थामा संस्कृतका काव्य रचनाहरु सरलरुपमा नेपाली भाषामा अनुवाद गरेर सर्वसाधारण सबैले बुझ्ने र अर्थाउन सक्ने बनाए । यसो गर्दैगर्दा उनलाई देवताको भाषा मानिने संस्कृत भाषाको अपमान गरेको भनी आरोप नलागेको पनि होइन । त्यतिबेला संस्कृत भाषाको अधिक प्रचलन र नेपाली भाषा गौण मानिन्थ्यो । संस्कृतका पण्डितहरुको बोलवाला र रवाफ भिन्दै हुन्थ्यो जसरी अहिले नेपाली बोल्ने भन्दा अंग्रेजी बोल्नेको रवाफ बेग्लै छ । आदिकवि भानुभक्त पनि यस्तै संस्कृतका पण्डित सुसभ्य ब्राम्हण परिवारमा जन्मेका थिए । हजुरवुवा श्रीकृष्ण आचार्य प्रतिष्ठित, प्रकाण्ड विद्वान् थिए ।

उनकै असल संस्कारयुक्त हुर्काइ र शिक्षा आर्जनसमेत गरे । संस्कृतभाषामा रहेको रामाययणलाई नेपाली भाषामा उल्था गरेर सबैको पहुँचमा पुराउनका साथै विभिन्न साहित्यिक कृतिहरुको रचनाका कुराहरुले हामीलाई लगाएको गुनको विषयमा जताततै बहसका विषयहरु बन्छन् ।

पहिलोपल्ट युवा कवि मोतीराम भट्टको कलमबाट ‘कवि भानुभक्त आचार्यको जीवन चरित्र’ भन्ने कृति निस्कियो र भानुभक्तलाई आदिकविको सम्मान दिए । तत्पश्चात क्रमशः शम्भुप्रसाद ढुंग्याल, नरनाथ आचार्य, भानुभक्तकै पनाति मुक्तिनाथ आचार्य र व्रतराज आचार्यले श्रुति परम्पराका आधारमा ‘आदिकवि भानुभक्त’ को जीवनी लेखेका छन् । कालान्तरमा नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यका बारेमा अन्य धेरै लेखकहरूले पनि कलम चलाइरहेका छन् । तिथिमितिहरु तलमाथि र जीवनमा घटित घटनाहरु काहीँकतै बाझिएका लेखहरुमा पाइन्छ । सर्वप्रथम मोतीरामले भानुभक्तको जीवनी नलेखेको भए, भानुभक्तका जीवन रचनाहरु हरायर जाने थिए ।

भानुभक्त आचार्यले राणाकालमा आएर मात्र आदिकवि उपाधि पाए । ‘साहित्य, कला, दर्शन, नाट्यजस्ता अनेक विधाको उद्गम मानिएको यो हिमवतखण्डमा भानुभक्तले भाषाका माध्यमबाट अनेकै समुदाय र मनहरूलाई जोड्ने काम गरे भने मोतिराम भट्टले त्यसलाई उजागर गरे।चौतारीमा भेट भएका समान्य घाँसीसँगको प्रेरणादायी अभिव्यक्तिबाटसमेत प्रभावित भई काव्य रचनामा तल्लीन भएका आदिकवि भानुभक्तलाई सम्झने आजको पावन दिनमा उत्प्रेरक घाँसी र युवक कवि मोतिराम भट्टलाई समेत श्रद्धापूर्वक स्मरण र कृतज्ञताको साथै उच्च सम्मान !

मैले यस आलेखमा उठान गर्न खोजिएको विषय अलिक फरक छ । विषय सामान्य प्रकृतिको जस्तो देखिए पनि यसको गाम्भिर्यता र सान्दर्भिकता अहिले पनि झन पेचिलो बन्दै गएको छ । अव केहि दिनमा आर्थिक वर्ष समाप्ती भएर नयाँ अर्थिक वर्षको शुरुवात हुदै छ । किसानलाइ मानो खाएर मुरी फलाउने धान खेती गर्नु छ भने देशभरि आर्थिक कारोवारको सरकारी तथा गैरसरकारी सबै क्षेत्रमा खातावन्दीको चटारो छ । फेरि श्रावण लागेपछि उक्त कारोवारको फरफारख र परीक्षण समेत गराउनु पर्ने हुन्छ । यो आलेख आदिकवि भानुभक्त आचार्यको सरकारी रकम हिसाब मिलान फरफारखको सेरोफेरोमा केन्द्रित रहेको छ ।

भानुभक्तलाई मुद्दा र जागिरको सन्दर्भः
आफ्ना पिता धनञ्जय आचार्यको देहावसानपछि भानुभक्तलाई छिमेकी गिरिधारी रानाभाटसँग बगर खेतको साँधसीमा सम्बन्धी मुद्दा पर्छ । यस मुद्दामा भानुभक्त पहाडतिरका अड्डामा पनि केही समय झुलाइए । वि.सं.१९०६ मा यो मुद्दा लिएर भानुभक्त पहिलोपटक काठमाण्डौ गए । काठमाण्डौको बसाइमा सुन्दर कान्तिपुरी नगरीको विषयमा कविता पनि लेखे । पछि उक्त मुद्दाको फैसला भानुभक्तको पक्षमा नै भयो । यसै समयमा तत्कालीन दरबारमा पनि सम्पर्क भयो । मुख्तियार जंगबहादुर राणाको भाइ कृष्णबहादुरसँग राम्रो सम्बन्ध बनेका कारण वि.सं.१९०६ मा सरकारी जागिर पाएर मधेशतिर कामकाज गर्न गए ।

हुन त उनका बुवा धनन्जय पनि सरकारी जागिरे खरिदार पदमा काम गरिसकेका थिए । सरकारी तहका कर्मचारीको काम गराइको आधारमा प्रत्येक वर्ष खारेजी, सरुवा, थमौती, बढुवा अदि गर्ने कामलाई पजनी भनिन्थ्यो । आदिकवि भानुभक्त आचार्य पजनीमा परे । उनले जागिर खाएको दुई वर्ष पछि सरकारी जागिर खोसियो । हिसााबकिताब र आफू जिम्माका कागजपत्र बुझाउन भनी काठमाण्डौ कुमारी चोक आए । त्यसैबेला कुमारी चोकमा आई आफ्नो कार्यकालको सबै प्रकारका कागजपत्र र आम्दानी खर्चको स्याहा बुझाउनु पर्दथ्यो । खर्च विवरण राख्न भुल्दा बहीबुझारथ र कागजपत्र बुझाउन नसक्दा बरबुझारथ गर्न सकेनछन् ।

कुमारीचोक अड्डा र यसको पृष्ठभूमिः
मल्लकालदेखि प्रति वर्ष राज्यको आम्दानी र खर्चको विवरण जीवित देवी कुमारीलाई सुनाउनु पर्ने परम्परा थियो। पृथ्वीनारायणशाहको कालमा ६ वैशाख १८२८ मा कुमारी चोक अड्डा स्थापना भएको थियो । राज्यको हिसाब बढ्दै गएपछि तिनै कुमारी बस्ने घरको चोकमा कार्यालय नै स्थापना भयो र यसै अड्डाको नाम कुमारीचोक भयो । कुमारी चोक राज्यको हिसाबकिताब केन्द्रीय रूपमा जाँच गर्ने सरकारी अड्डाको नाम थियो । अहिलेको महालेखा परीक्षकको कार्यालय जस्तो तत्कालिन सरकारी अड्डा खानाको हिसाव बुझ्ने अर्थ मन्त्रालयअन्तर्गत कुमारी चोक अड्डाले हिसाबकिताब जाँच्ने काम गर्दथ्यो ।

कुमारी चोक अड्डा निकै शक्तिशाली थियो । उसले निर्मम कारबाही गर्दथ्यो । कुमारी चोकले समाएछ भनेपछि अहिलेको अख्तियारले समायभन्दा बढी अर्थ राख्थ्यो । राणाकालसम्म पनि उसले त बही बुझाएछ भनिन्थ्यो । (कर्मचारी मरेपछिमात्र उन्मुक्ति पाउँछ भन्ने सन्दर्भमा) कुमारीचोकले राज्यको आम्दानी खर्च जाँची कुनै अनियमितता पाए सम्बन्धित कर्मचारीलाई पक्रने, थुन्ने, कारागारमा हाल्ने र सम्पत्ति लिलामसमेत गरी सरकारी बाँकी असूल गर्नेसमेतको अख्तियारी प्राप्त अड्डा थियो ।
अनियमित तरिकाबाट खर्च गर्नेलाई मात्र होइन, आम्दानी गर्ने कर्मचारीलाई पनि सो अड्डाले जरिवाना गर्ने, जागिरबाट बर्खास्त गर्ने र निज वा निजको सन्तानलाई समेत भविष्यमा सरकारी कामको लागि अयोग्य घोषित गर्ने र कैद गर्ने जस्ता सजाय दिन सक्थ्यो– विकिपिडिया ।

कुमारी चोक अड्डा र भानुभक्त आचार्यलाई मुद्दा
कविजीले कुमारी चोकमा सही हिसावकिताव बुझाउन सकेनन् । अर्थात् हिसाब फरफारख (लेनदेनमा बुझाउनुपर्ने रकम, कागज आदिबाट छुटकारा, सबै किसिमको चुक्ता, फार्से, फस्र्यौट) हुन सकेन । सरकारी रकम बाँकी अशुलउपर हुन सकेन । यिनलाई थुनामा राखेर मुद्दाको कारवाही अगाडि बढाइयो । तसर्थ यिनी पाँच महिनासम्म कुमारी चोकमा थुनिएछन् । मुद्दा छिनिन लामो समय लाग्यो । थुनामा परेका बखत पनि उनी साहित्य साधनामा लागिरहे । कारागारमा लामखुट्टे, उडुस र उपियाँको टोकाइ खेप्नुपरेको कुराका अतिरिक्त तत्कालीन प्रशासनिक ढिलासुस्तीलाई उनले कविताको विषय बनाए । यससंग सम्वन्धित कविता जस्ताको तस्तैः

बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोलि ।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।

त्यतिवबला डिट्ठा विचारी न्याय सम्पादन गर्ने उच्च व्यक्तित्व र ओहोदाका न्यायमूर्तिहरु हुन् । अदालत न्यायको मन्दिर र न्यायमूर्तिहरु पूजारी हुन् । अदालतमा न्यायको ढोका ढकढकाउने मानिसहरु भक्तजन हुन् । मानिसहरु अप्ठारो परेमा अदालत जान्छु भन्छ र जान्छ पनि । कविजी पनि यसैका आधारमा न्यायको लागि अदालत जान्छन । तर अदालतले कविको मुद्दा छिन्न ढिलाई गर्छ । डिट्ठा विचारीले खाली भाका मात्र सार्दै भोलिभोलि मात्र भन्छन् । उनीहरुको भोलि कहिल्यै आउँदैन । समयमा मुद्दाको किनारा नलाग्दा जेल जीवनको कष्टकर क्षेणलाई कवितामा व्यंग प्रहार गर्छन् । ढिलो गरी न्याय दिनु पनि अन्याय गर्नु सरह हो भन्ने मान्यता पनि रहेको छ । जसरी हाँसले दुध र पानी छुट्याउँछ त्यसैगरी अदालतले न्याय अन्याय छुट्याउनुपर्छ । पछि कविजीले ढिलो भए पनि न्याय पाउनुभएछ । उहाँकै पक्षमा फैसला आएछ ।

वर्तमान प्रशासनिक अवस्था
आदिकवि भानुभक्त आचार्यले तत्कालीन प्रशासनिक ढिलासुस्तीलाई व्यंग्य प्रहार गरेर लेखेको उक्त कविताको सान्दर्भिकता अहिले पनि यथावत नै छ । यसलाई सुशासन भनिएला तर आशय भने उही नै हो । अहिले सुशासनको अवस्था निकै कमजोर रहेकोछ । स्थायी सरकार मानिने निजामती सेवालाई समस्या समाधान होइन गुजुल्टाउने प्रवृत्ति, कर्मचारीले मालिक भएको दम्भ, टेबुलमा फाइलसंगै नमस्तेको किश्ती चढाउनु पर्ने, एकले अर्कोलाई शंकाले हेर्ने स्थायी मनोविज्ञान र अयोग्यहरुको भिडबाट योग्यहरु हराउँदै जान लागेका जस्ता गहन आरोपहरु नागरिक समाजवाट लाग्ने गर्छन् ।

जिम्मवार व्यक्तिले गर्नु पर्ने निर्णयहरु नगरेर पन्छिने प्रवृत्ती हावी भएको छ । हालै स्थायी सरकारका प्रमुख बहालवाला मुख्य सचिव नै भ्रष्टाचारको मुद्दामा आरोपित हुनु नेपालको इतिहासमा पहिलो घटना भएको छ । केही सचिवहरु भानुभक्तझै जेल जीवन बिताइरहेका छन् । दर्जनौँ सचिवहरुले मुद्दा खेपीरहेको अवस्था छ । सचिव तथा मुख्य सचिव माथि लागेका आरोप अदालतबाट प्रमाणित भएको अवस्थामा कर्मचारीले गलत काम गर्नुअघि केही हदसम्म भए पनि डर पैदा हुने र प्रमाणित नभएको अवस्थामा कर्मचारीतन्त्रमा विनाकारण फसिने भन्दै निर्णय नगर्ने परिपाटी झन बढ्न सक्ने खतरा देखिने भन्दै विश्लेषकहरुले चिन्ता व्यक्त गरेका छन् ।

देवीभक्तवाट रामभक्त हुँदै नेपाली भाषाको भक्त साहित्य फाँटमा आदिकवि भानुभक्त बनेर उँदाएका राष्ट्रिय विभूतिले हामीलाई लगाएको गुनको सदैव हामी सदैव ऋणी छौँ । उनीप्रति श्रदापूर्वक स्मरण र कृतज्ञताको साथै उच्च सम्मान !!