ओली क्याबिनेटः ९ नयाँ, १२ पुराना मन्त्री

मेचीकाली संवाददाता

१ श्रावण २०८१, मंगलवार
155 shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले लैनचौरस्थित सहिद स्मारकमा रहेका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए । साथै पार्टी केन्द्रीय कार्यालय च्यासला पनि पुगेका थिए । ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्का दुई उपप्रधानमन्त्री तथा १९ जना मन्त्रीहरुले पनि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित विशेष समारोहमा उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ गराएका थिए ।

ओली नेतृत्वको मन्त्रिपरिषद्मा ९ जना नयाँ र १२ जना पुराना मन्त्री बनेका छन् । मन्त्रिपरिषद्मा नयाँ र पुरानाको समिश्रण देखिएको छ । पुराना मन्त्रीहरूमा भने दोस्रोपटक बन्नेदेखि १३ औं पटकसम्म दोहोरिनेसमेत छन् । ओली नेतृत्वको यो मन्त्रिपरिषद्मा दुई जना उपप्रधानमन्त्री बनेका छन् । कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटकपटक मन्त्री भएका व्यक्ति हुन् । एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पौडेलले सोमबारबाट आठौंपटक मन्त्रीका रूपमा सिंहदरबारको यात्रा सुरु गरेका छन् । पाँचौंपटक अर्थ मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णु पौडेल एमालेबाट पटक–पटक मन्त्री बन्ने नेतामा पर्छन् ।

यस्तै यो मन्त्रिपरिषद्मा दुई जना महिला मन्त्री बनेका छन् । कांग्रेसबाट आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् । एमालेबाट विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी छन् । दुवै जना पहिलोपटक मन्त्री बनेका हुन् । राणा प्रतिनिधिसभामा समानुपातिकबाट सांसद हुँदै हाल कृषि समितिको सभापति बनेकी थिइन् । भट्टराई कास्की–२ बाट निर्वाचित सांसद हुन् । राणासँग विगतमा सामाजिक क्षेत्रमा काम गरेको अनुभव छ । भट्टराई त्रिविकी पूर्वउपप्राध्यापक हुन् ।

कांग्रेसबाट ५ र एमालेबाट ४ नयाँ मन्त्री
यसपटक कांग्रेस र एमालेले मन्त्रिपरिषद्मा ९ जना नयाँ अनुहार पठाएका छन् । कांग्रेसबाट परराष्ट्रमन्त्री आरजु राणा, वनमन्त्री ऐनबहादुर शाही, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे र कृषिमन्त्री रामनाथ अधिकारी पहिलोपटक मन्त्री बनेका हुन् ।

ऊर्जामन्त्री दीपक खड्का र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी यसअघि राज्यमन्त्री बनेका थिए । राज्यमन्त्री बनिसकेकाले सरकारमा उनीहरू पहिलोपटक नभएपनि क्याबिनेट मन्त्रीको रुपमा पहिलोपटक छिरेका हुन् । कानुनमन्त्री अजय चौरसिया २०५८ सालमा स्थानीय विकास सहायक मन्त्री बनेका थिए । क्याबिनेट मन्त्रीको रुपमा चाहिँ उनी पनि पहिलोपटक छिरेका हुन् । एमालेबाट रक्षामन्त्री मनवीर राई, शिक्षामन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला मन्त्री राजकुमार गुप्ता पहिलोपटक मन्त्री बनेका हुन् ।

प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद्मा लोसपाका सांसद शरतसिंह भण्डारी श्रममन्त्रीमा नियुक्त गरेका छन् । योसँगै ६९ वर्षीय भण्डारी पञ्चायतदेखि गणतन्त्रसम्म आइपुग्दा १३ औं पटक मन्त्री बनेका हुन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा अब ३ राज्यन्त्रीको पदमात्रै खाली छ । ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जसपा र लोसपागरी ४ वटा दल सहभागी भएका छन् ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।