कमल पन्थी
‘राम्रो थियो हाम्रो सम्बन्ध, पैसा सापटी दिए पछि बोलचाल हरायो ! पैसा सापटी लगेपछि साथी हरायो, पैसा सापटी लगेपछि भेटघाट हरायो !’ गायक बद्री पंगेनी र रचना रिमालको कर्णप्रिय स्वर रहेको उक्त सन्देशमूलक गीत केही समय अघी बजारमा आयो । वर्तमान नेपाली समाजमा देखिएको जल्दोबल्दो समस्यालाई उजागर गर्न खोजिएको, आफ्नै जीवनको वास्तविक घटना जसरी सामाजिक सञ्जालमा भाइरल पनि बन्यो । जानेर फिर्ता नदिने, ढाट्ने, धम्काउने, हातले दियो खुट्टालाई दुःख, प्रहरी केसमा प्रमाण नपुग्ने, आफन्त, साथीभाइसँगको पैसा सापटी लैजादाको सुमधुर सम्बन्ध पछि फिर्ता माग्दा तिक्ततापूर्ण व्यवहारमा परिणत भएर कानुनीप्रकृयामा जानुपर्ने वाध्यतात्मक परिस्थिति बनेको मार्मिक कुरालाई गीतमा उठान गरिएको छ ।
‘पैसा छैटौँ इन्द्रिय हो, जसको अभावमा पाँचवटा इन्द्रियहरु चल्दैनन्’ फ्रान्सेली लेखक Somerset: Augham को यो भनाइलाई सकारात्मक र नकारात्मक दृष्टिकोणले व्याख्या गर्न सकिन्छ । ‘पैसा देखेपछि महादेवका पनि तीन नेत्र’ भन्ने प्रचलित नेपाली उक्तिको अर्थमा र अर्कोतर्फ पैसा कुनै पनि व्यवसाय वा उद्यमको लागि इन्धनको रुपमा । इन्धन नभरेसम्म गाडी नचलेझै पैसाबिना कुनै पनि व्यवसाय संचालनको कल्पना गर्न सकिँदैन । आफ्नो व्यवसायमा भएको पुँजीको कमीलाई पूरा गर्न ऋणको सहारा लिने गरिन्छ । आफ्नो पैसामा ऋण मिसाएर लगानी गरेमा ऋणले उत्तोलकको काम गर्ने र सहज भई प्रतिफल प्राप्त हुने गर्दछ । अर्थशास्त्रमा ऋण भन्नाले उद्यमशीलता परिपूर्ति गर्ने माध्यम हो । ऋण सधैँ उत्पादनशील क्षेत्रमा लगानी गरी आफ्नो व्यवसायमा भएको पुँजीको कमीलाई पूरा गर्नु हो भन्ने मान्यता हुनु पर्दछ । मानिस समाजमा वस्दा लेनदेन गर्नु व्यवहारिक जीवनको नियमित प्रकृया हो । मानिसको आवश्यकता तथा आर्थिक हैसियतका आधारमा धेरथोर लेनदेन सवैले गरेका हुन्छन् । सबै कारोवार माथिको गीतले भने जस्ता पनि हँुदैनन् ।
यहाँ उल्लेख गर्न खोजिएको विषय व्यक्तिगत सापटी कारोबार र सहकारी संस्थाहरुको सापटी (कर्जा) कारोबार बिचको फरक हो । ऋणमा व्याज लिने वा नलिने गरी भएका सापटी कारोबारहरु व्यक्तिगत लेनदेनमा तिक्ततापूर्ण व्यवहार पनि हुन सक्दो रहेछ भनेर माथि उल्लेख गरियो । व्यक्तिगत लेनदेनमा व्याजको लोभमा साँवा पनि फुत्कने र सम्वन्ध पनि पानी बाराबारको स्थितिमा पुग्न सक्ने तर सहकारी संस्थाहरुको ऋण कारोवारमा कस्तो मित्रतापूर्ण व्यवहार हुन्छ कानुनी, व्यवहारिक र सामाजिक सम्बन्ध सन्दर्भलाई हेरौँ ।
अहिले नयाँ आर्थिक वर्ष सुरु भएको छ । आर्थिक वर्ष सुरु भएको तीन महिनाभित्र सबै सहकारी संस्थाहरुले आर्थिक कारोवारहरुको लेखापरीक्षण सम्पन्न गराई पौष मशान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गराउनुपर्ने कानुनी प्रावधान रहेको छ । धेरै सहकारीहरुले साधारण सभाको मितिसमेत घोषणा गरिसकेका छन् । आफू आबद्ध सहकारीले कति लाभांश दिने हो भन्ने चासो रहनु स्वाभाविक नै हो । परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई दृष्टिगत गरी नियमनकारी निकायले केही समयका लागि कर्जा पुनर्तालिकीकरणसमेत गरेको छ ।
सहकारी संस्थाको हकमा ऋण जोखिममा आधारित सम्पत्ति हो । संस्थावाट ऋण बाहिरिनेबित्तिकै जोखिम सुरु हुन्छ । सहकारी संस्थाले आफूलाई जोखिम रहित ढंगले प्रतिस्पर्धीरुपमा सक्षम, सवल र सफल संस्थाको पहिचान बनाउँदै आफ्ना शेयर सदस्यहरुको आर्थिक, सामाजिक र सांस्कृतिक हित अभिवृद्धि गर्नुपर्ने मुख्य लक्ष्य रहेको हुन्छ । सहकारीहरुले आफ्ना शेयर सदस्यहरुको हितलाई दृष्टिगत गरी ऋण लगानी किस्तावन्दीमा गर्ने गर्छन् । सामान्यतया एक वर्षदेखि पाँच वर्षसम्मको किस्ता अवधि सदस्य अनुकूल बनाएको पाइन्छ ।
सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको निश्चित उद्देश्य एवं आवश्यकता पूरा गर्न निश्चित समयभित्र एकमुष्ट वा पटकपटक गरी व्याजसहित फिर्ता गर्न सर्तमा सदस्यलाई लगानी गरिएको रकम ऋण हो । ‘धन जमानी वा धितो धरौटी राखेर आफ्नो व्यक्तिगत वा पारिवारिक वा व्यावसायिक कार्य प्रयोजनका लागि ऋण लिने व्यक्ति सहकारीको ऋणी हो ।’
साक्षी जमानीको बुझाइमा अन्यौलता
वर्तमान सन्दर्भमा सहकारीमा साक्षी र जमानीको वारेमा बुझाइको कमीले पनि समस्या सिर्जना भएको पाइएको छ । साक्षी र जमानीको वारेमा कानुनी व्याख्या र विश्लेषणको जानकारी लिनु अनिवार्य हुन्छ । साक्षी भन्नाले ऋणीले ऋण लिदाको बखतमा संस्थामा उपस्थित भएर ऋण लिएको हो भनी प्रमाणित गर्ने व्यक्तिलाई बुझ्नुपर्छ । साक्षीलाई भोलि कानुनी प्रयोजनका लागि सम्बन्धित संस्था वा कार्यालयमा उपस्थित गराएर सोधपुछ हुन सक्छ ।
जमानी भन्नाले ऋणीले ऋण आफूले चलाए पनि यदि संस्थामा नियमित तिर्नुपर्ने किस्ता व्याज नतिरेको खण्डमा स्वतःसो ऋणको बाँकी दायित्व वहन गरेर आफ्नो घरसम्पत्तिबाट ऋणीले लिएको ऋण चुक्ता गरिदिनुपर्ने कानुनी दायित्व भएको व्यक्ति भन्ने बुझिन्छ । जमानी बस्दा सम्बन्धित ऋण लिन चाहने व्यक्तिको बारेमा राम्रोसंग बुझेर मात्र बस्नु पर्छ । जमानी बस्नु सामान्य कुरा हुँदै होइन ।
असल ऋणीलाई सहकारीबाट उपलब्ध हुने अतिरिक्त आर्थिक लाभ
आर्थिक वर्षको अन्त्यमा सहकारी संघसंस्थाको खुद मुनाफाको २५ प्रतिशत रकम जगेडा कोषमा छुट्याइन्छ । जगेडा कोषमा छुट्याइसकेपछिको रकमलाई शत प्रतिशत मानी कम्तिमा २५ प्रतिशत रकम संरक्षित पुँजी फिर्ता कोषमा अनिवार्य छुट्याउनुपर्ने हुन्छ । संरक्षित पुँजी फिर्ता कोषमा छुट्याइएको रकम सदस्यले गरेको वार्षिक कारोबारको आधारमा बाँडफाँट गरिन्छ ।
सहकारीमा बचत र ऋण दुवै कारोबार हुन्छ । सदस्यले जम्मा गरेको बचत रकमलाई ४० प्रतिशत र लिएको ऋणमा तिरेको व्याजलाई ६० प्रतिशत भार दिइ गणना गरिन्छ । ऋणमा तिरेको व्याजको ६० प्रतिशत हिस्साबाट त्यो आर्थिक वर्षभित्रमा ऋणको कारोवार गर्नेको अनुपातमा रकम वितरण गरिन्छ संरक्षित पुँजी कोषमा छुट्टिएको रकमलाई सदस्यहरुको कूल कारोबारले भाग गर्ने र सम्बन्धित व्यक्तिको कारोबारलाई गुणन गर्दा आउने रकम अतिरिक्त रकमको रुपमा प्राप्त हुन्छ । जति धेरै ऋणको कारोबार उति धेरै रकम पनि फिर्ता प्राप्त हुने र असल ऋणीको लिष्टमा नाम समावेश गरी सामाजिक सम्मानसमेत प्रदान गरिन्छ ।
खराब ऋणीको समाजमा नकारात्मक प्रभाव
सहकारीको ऋण भनेको संस्थागत ऋण हो । यो संस्थागत पैसा हो । सबै शेयरसदस्यहरुको निक्षेप रकम हो । कसैको ढिकुटी बुझेर भागे जस्तो वा व्यक्तिगत सापट लिएर भुक्तान नगरे जस्तो हुँदै होइन । यो काउँसो बराबर हो । यो ऋण तिरीएन भने कानुनी हिसाबले जति समस्या हुन्छ त्योभन्दा सयौँ गुणा बढी सामाजिक हिसाबले समस्या सिर्जना गर्छ ।
भनिन्छ मानिस चार किसिमले स्वस्थ्य हुनुपर्छ, पहिलो शारीरिक, दोस्रो मानसिक, तेस्रो आत्मिक र चौथो सामाजिक । समाजका धेरै मानिसहरु सहकारीका सदस्य हुने हुँदा ऋण नतिरेमा खराब ऋणको विषयमा बढी चासो राखेका हुन्छन् । यसले घरपरिवार, आफन्तजन, छिमेकी सबैलाई पिरोल्छ । संस्थाको ऋण नतिर्ने हो भने सम्वन्धित वडा कार्यालयबाट सम्पादन हुने कामहरु समेत प्रभावित हुन सक्छन् । संस्थाको क्षमता भएमा मात्र साधारण सभाको निर्णयले सदस्यको दायित्व मिन्हा हुने हो । साधारण सभामा समाजका सबै मानिसहरु शेयर सदस्यको रुपमा उपस्थित हुने हुँदा ऋणीको समाजिक प्रतिष्ठा गुम्न जान्छ । कानुनी उल्झनले प्रहरी र अदालतसमेत धाउनुपर्ने हुन जान्छ ।
मानिसको आवश्यकता र चाहना फरक फरक हुन्छन् । यो फरक बुझेर आफूसंग भएको सीमित स्रोतलाई प्राथमिकतामा खर्च गर्नु पर्छ । व्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या देखिनु स्वाभाविक नै हो । जुन उदेश्यले ऋण लिएका हुन सोही प्रयोजनमा नलगाई बिलासी जीवन, फजुल खर्च, अधिक तथा शीघ्र लाभको लोभमा घरजग्गा, शेयरमा ऋणको उपयोग र ‘ऋणं कृत्वा घृतम पिवेत’ (ऋण गरेर भए पनि घ्यू खाऔँ) जस्ता व्यवहारले पनि वर्तमान अवस्थामा ऋण भुक्तानीमा समस्या परेको देखिन्छ ।
सहकारी क्षेत्रमा पछिल्लो समय देखा परेको समस्याका कारण सहकारी संघ संस्थाहरु तथा सदस्यहरुको व्यवसायसमेत प्रभावित भएको छ । नेपालको सहकारी अभियानमा देखिएको समस्या सहकारीको असफलताको कारण नभएर यसको गलत प्रयोग र सहकारी सिद्धान्त विपरीतको अभ्यासको नतिजा हो । सहकारीहरुले आफ्ना सदस्यहरुसँग नियमित समन्वय र सम्पर्क गर्दै वित्तिय साक्षरता अभिवृद्धि र सदस्य केन्द्रित सेवा प्रवाहमार्फत सदस्यहरुको विश्वास आर्जनमा केन्द्रित हुनुपर्छ ।