रविको धमिलिएको राजनीतिक छवि

मेचीकाली संवाददाता

७ आश्विन २०८१, सोमबार
143 shares

हरि ज्ञवाली

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा रवि लामिछाने दोषी ठहरिएपछि उनको राजनीतिक भविष्य अन्योलग्रस्त बन्न लागेको छ ।

टेलिभिजनमा धेरै बोलेर गिनिज बुकमा नाम लेखाएपछि चर्चा कमाएका रवि लामिछाने समयान्तरमा भने विवादित र आलोचित बन्दै गएका छन् । विदेशिएका नेपाली युवाका पीडा र समस्यालाई प्रस्तुत गर्दै टेलिभिजनमा ख्याति कमाएका रवि झन्पछि झन् समस्यामा फस्दै गएका छन् । उनको चर्चा र ख्याति यतिबेला बदनामीमा परिणत हुन थालेको छ ।

नेपाली राजनीतिमा प्रवेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पहिलो मन्त्रीकालमा नागरिकता र राहदानीको गम्भीर कसुरमा दोषी ठहरिएपछि उनको पद नै खारेज भएको थियो ।

त्यसअघि वि. सं २०७६ मा टेलिभिजनमा कार्यरत पूर्वसहकर्मी शालिकराम पुडासैनी हत्या आरोपमा केही समय थुनामा परे यद्यपि उनले सो आरोपमा अदालतबाटै सफाइ पाएपछि अन्ततः राजनीतिमा होमिए । राजनीतिमा आएपछि आफ्नै ड्राइभरले छतबाट हाम फाल्दा भने उनका बारेमा त्यति धेरै प्रश्न उठेनन् । आफ्नै पार्टीका सांसद घूस प्रकरणमा मुछिनु, पार्टीका महासचिवले नै उनीमाथि विभिन्न आरोप लगाएर छानबिनको माग गर्नु र सहकारी प्रकरणमा दोषी देखिनुले रवि शंकास्पद र विवादित प्रवृत्तिका भएको आशंका हुन्छ ।

मूलतः सञ्चारकर्मीका रुपमा कार्यरत रवि लामिछाने खाडी मुलुकमा दुःख पाएका नेपालीहरूको विषय उठान र राजनीतिक बेथितिमाथि खरो रुपमा उत्रिएपछि निकै चर्चित भएका हुन् । त्यही कार्यक्रमबाट उनले नाम र दाम दुबै कमाउन सफल भएका हुन् । तर, उनी कालान्तरमा एकपछि अर्को झमेलामा फस्दै गएका छन् । आफ्नै पार्टीका महासचिव मुकुल ढकालले उनीमाथि दोहोरो नागरिकता प्रयोग र सहकारी रकम दुरुपयोग गरेको आरोप लगाउँदै आएका छन् । आखिर किन रवि लामिछाने पटकपटक विवादमा फसिरहन्छन् ? नेपाली राजनीतिलाई उनले दुरुपयोग गर्न खोज्दैछन् कि उनी फगत स्टन्टबाज हुन् ? गम्भीर विश्लेषण गर्नुपर्ने भएको छ ।

रवि लामिछाने यतिखेर सहकारी मुद्दामा गम्भीर नैतिक प्रश्नको घेरामा परेका छन् । हुन त यस्ता मुद्दाहरु विगतमा पनि उनले पटकपटक भोग्दै आएका हुन् । विगत र हालको विषयमा उनलार्ई कसैले फसाएको देखिँदैन । उनीविरुद्ध कसैलै षड्यन्त्र गरेको पनि पाइँदैन । उनी आफैँ एकपछि अर्को गर्दै विवादमा फस्दै गएपछि उनको राजनीतिक भविष्य संकटमा परेको हो । नेपाली राजनीतिमा लामिछानेको आगमन र बर्हिगमन हेर्दा उनमा अपरिपक्वता, लहडीपना, फगत मनोगत महत्वकांक्षा पाइन्छ । उनी राजनीतिक क्षमता र आफ्नो मनोगत महत्वकांक्षाबीचको अन्तर्विरोधमा अडकिएका देखिन्छन् ।

सञ्चारकर्मी रहँदा रविले नेता र राजनीतिक दलको चर्को आलोचना गरेका हुन् । तमाम बेथितिहरुको भण्डाफोर पनि गरेका हुन् । भ्रष्टाचार र अनियमितताविरुद्ध बोलेर लोकप्रियता पनि प्राप्त गरेका हुन् । सुशासन कायम गर्ने अठोट, भ्रष्टाचारको जरो उखेल्ने प्रतिबद्धता र राजनीतिको फोहोर सफा गर्ने दृढताले वाहवाही पनि पाएका हुन् । फलस्वरुप पार्टी खोलेको छ महिनामै विशाल जनमत बटुल्न पनि सफल भए । तर, त्यो लोकप्रियता, त्यो जनमत उनकै शंकास्पद व्यवहार र गतिविधिका कारण बालुवाको घरजस्तै बन्न लागेको छ ।

विगतमा रवि लामिछानेले आफ्नो पुरानै नागरिकता देखाएर राष्ट्रिय स्वतन्त्र पार्टी नामको नयाँ पार्टी दर्ता गरे । देशमा व्याप्त राजनीतिक र प्रशासनिक बेथिति अन्त्य गर्न आफू राजनीतिमा आएको दाबी गर्ने उनले देशको संविधान, कानुन र नियमको उलङ्घन गरेर नै आफ्नो उम्मेदवारी दिए । पुराना राजनीतिक दलहरूको कमजोरीको परिणामस्वरूप उनले लहलहैको लोकप्रियतामा चुनाव जितेर दुईपटक गृहमन्त्री पनि बन्न सफल भए । टेलिभिजनको पर्दा अगाडि बसेर देशमा मौलाएको बेथितिबारे सरकार, राजनीतिक दल र कर्मचारी प्रशासनमाथि ठूल्ठूला स्वरमा प्रश्न गर्ने उनले कानुनको सामान्य प्रक्रियालाई नजर अन्दाज गर्दा राजनीतिमा आएको छोटो समयमै उनलाई ठूलो धक्का लागेपछि सबै राजकीय पद गुमाएका थिए ।

त्यसो त रवि लामिछाने यतिखेर सक्रिय राजनीतिमै छन् । उनले स्थापना गरेको पार्टीले छोटो समयमै उच्चतम लोकप्रियता पायो तर त्यस लोकप्रियता र जनताको भरोसालाई भने उनले दिगोरुपमा टिकाइराख्ने अवस्था भने देखिँदैन । जनताको आशा र भरोसा निराशा र शंकामा बदलिन थालेको छ । मूल राजनीतिमा आएर पार्टीको अध्यक्ष भइरहँदा र मुलुकको सार्वजनिक सम्मानित पदमा रहँदासमेत उनले पत्रकार भएर टेलिभिजनमा बोल्दाको धङधङी हटाउन भने अझै सकेका छैनन् । उनका कमजोरी र गल्तीहरुले उनी असफल राजनीतिक खेलाडी भएको सङ्केत गर्दछन् ।

गतदेखि अहिलेसम्म रविले अन्जानवश भन्दै नेपालको कानुन र नियमविपरीत गम्भीर त्रुटि गर्दै आएका छन् । सहकारी प्रकरणमा पनि उनले त्यही गरेका छन् । उनका यस्ता त्रुटिहरुलाई सामान्यरुपमा लिन सकिँदैन । उनले अन्जानबस यसो गरेका पनि छैनन् । कानुन, नियम र विधिका बारेमा दुनियाँलाई प्रश्न गर्न सक्ने एउटा चर्चित पत्रकारले नेपालको कानुनको बारेमा मलाई जानकारी भएन भन्नु कत्ति पनि पत्याउन सकिने कुरो होइन ।

उता आफ्नै पार्टीका महासचिव मुकुल ढकालले उठाएका तमाम सबालबारे पार्टीमा व्यापक छलफल र चिन्तनमनन हुनुपथ्र्यो । दोहोरो नागरिकता र सहकारी अपचलनबारे पार्टीमा छलफलको एजेण्डा बन्नुपथ्र्यो । तर त्यसो हुन सकेन । बरु उल्टै पार्टीभित्र तमाम समस्याहरु छन् भन्ने ढकाल नै कारवाहीमा परे । यो लोकत्रान्त्रिक आचरण र व्यवहार होइन । पार्टीका पूर्व सांसद् ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो टेप सार्वजनिक भएपछि सांसद् ढाकाकुमार कारबाहीमा परे तर उनको अडियो टेपलगायतका यस्ता अनेकन प्रवृत्तिबारे उनको पार्टीमा कुनै छलफल र चिन्तन भएन । मुकुल ढकालको प्रतिवेदनबारे पार्टीमा न कुनै एजेण्डा बन्यो न त प्रश्न उठाउने हिम्मत नै कसैले गर्न सक्यो । यसबाट रवि लामिछानेले पार्टीभित्र अलोकतान्त्रिक तरिकाले एकछत्र राज गरिरहेको र उनी फगत महात्वाकांक्षा र स्वार्थको राजनीतिमा केन्द्रित रहेको पुष्टि हुन्छ ।

रविको आफ्नै बोली र विवादित छविका कारण उनीमात्रै होइन, सिङ्गो राष्ट्रिय स्वतन्त्र पार्टीसमेत चारैतिरबाट आलोचित बन्दै गएको छ । उनी आफ्नै पार्टीभित्र पनि निरन्तर एक्लिँदै जान थालेका छन् । रविको विगतको चर्चित छवि र ‘क्रेज’ निरन्तर ऋणात्मक बन्दै शंकास्पद व्यक्तिमा परिणत हुँदै गएको छ । यतिबेला रविको राष्ट्रिय स्वतन्त्र पार्टीपंक्तिले उनै रवि लामिछानेको विकल्प सोच्नुपर्ने अवस्था आएको छ । शायद उनी केही समय पार्टी सभापतिबाट बाहिरिनुपर्ने अवस्था छ । तर पनि उनको स्वर भने चर्कै हुने गरेको छ । यो अझ गम्भीर रहस्यमय विषय हो ।

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ दल त खोले तर पुराना अन्य दल र रविको पार्टीमा भने कुनै तात्विक भिन्नता प्रमाणित गर्न भने सकेका छैनन् । रविको स्वतन्त्र पार्टीमा न कुनै खास राजनीतिक एजेण्डा र कार्यक्रम पाइन्छ न त कुनै सिद्धान्त र दर्शन नै । पुराना पार्टीहरुलाई गाली गर्ने, विरोध गर्ने र हामी फरक हौँ भन्नेबाहेक व्यावहारिक रुपमा रवि लामिछाने र उनको पार्टीको न कुनै स्पष्ट भिजन देखिन्छ न त दर्शन र व्यवहार नै ।

अन्त्यमा, रवि लामिछाने एक कुशल र सक्रिय सञ्चारकर्मी पनि हुन् । देशमा व्याप्त राजनीतिक र प्रशासनिक बेथिति अन्त्य गर्न उनको सञ्चारकर्मको भूमिका महत्वपूर्ण छ । विदेशिएका नेपाली युवाका पीडा र समस्याको समाधानमा उनले खेलेको भूमिका उल्लेख्य छ । तर, नेपाली राजनीतिको क्षेत्रमा भने उनी कच्चा र लहडी देखिन्छन् । उनमा अपरिपक्वता, लहडीपना, फगत मनोगत महत्वाकांक्षा भेटिन्छ । आफ्नो शंकास्पद व्यवहार र गतिविधिका कारण उनको छवि नराम्रोसँग धमिलिएको छ । राजनीतिक क्षमता र आफ्नो मनोगत महत्वाकांक्षाबीचको अन्तर्विरोधमा अड्किएका रवि लामिछानेले धमिलिएको आफ्नो राजनीतिक छवि सफा नगर्दासम्म उनको राजनीतिक यात्रा झन् जटिल बन्ने देखिन्छ । (ज्ञवाली रुपन्देहीका शैक्षिक अगुवा हुन् ।)