जुनसुकै बेला आउन सक्छ विपत्ति: पूर्वतयारी र उद्धारको सामथ्र्य बढाऔं

मेचीकाली संवाददाता

१३ आश्विन २०८१, आईतवार
2609 shares

अमृत गिरी

तीन दिनको वर्षाले बाढी, पहिरोमा परेर आइतबार बेलुकासम्म एक सय ७० जनाको मृत्यु भएको छ भने कैयौं बेपत्ता छन् । संघीय राजधानी काठमाडौँ जोड्ने अधिकांश नाकाहरु बन्द छन् । पहिरोले यात्रुसहित बस पुरेको छ । पुल बगाएको छ, फुटबल सिक्न गएका किशोरहरुलाई बगाएको छ, विदेशमा प्रतिस्पर्धा जान लागेका कलिला विद्यार्थीलाई पुरेको छ । समग्रमा ठूलो आपत् आइलागेको छ ।

तत्काल उद्धारका प्रभावकारी संयन्त्र नहुँदा बचाउन सकिनेहरु पनि मर्नुपरेको कारुणिक क्षण छ ।
बुटवल ट्राफिकचोकबाट शुक्रबार बिहान छुटेको लु १ ज ४५७८ नम्बरको वीङ्गर बस काठमाडौँदेखि करिब १५ किमी नजिकै धादिङको झ्याप्ले खोलामा आएको लेदो पहिरोले पु¥यो । अनेक सपना बोकेर काठमाडौँ हिँडेका र पुग्नै लागेका १४ जनाको एकै ठाउँमा अवसान भयो । त्यसमध्ये तीन परिवारका तीन/तीन जना छन् । कलिला मुनाजस्ता सन्तानसहित आमा, शिशु र ससुरासहित आमा, पत्नी र बिहनीसहित पतिको एकैठाउँमा निधन भयो ।

स्याङ्जाको गल्याङ नपा–३ का जुम्ल्याहा दीपेश, दीपिका र उनीहरूकी आमा सीता भट्टराई, गुल्मी मदानेबाट केही समयअघि बुटवल उपमहानगरपालिका–१६ सेमलारमा बस्दै आएका र दुई महिनाअघि मात्रै विवाह गरेका ३७ वर्षीय प्रकाश कुँवर, उनकी श्रीमती ३४ वर्षीया अनु मल्ल र बहिनी २८ वर्षीया सिर्जना कुँवर, गुल्मी दरबार गाउँपालिकाको चारपालाका ६३ वर्षीय जुद्धबादुर रायमाझी, उनकी बुहारी २८ वर्षीया प्रमिता रायमाझी र २ वर्षका नाती क्रिस रायमाझीको पहिरोले पुरेको बसमा परेर निधन भयो । सोही स्थानमा आइतबार बेलुकासम्म ३५ वटा शव फेला परेको प्रहरीले बताएको छ । उद्धारकार्य जारी छ र अवस्था कारुणिक र दर्दनाक छ ।

पहिरोमा पुररिएर ज्यान गुमाएका बायाँबाट क्रमशः दीपेश, दीपिका र सीता भट्टराई/सिर्जना, अनु र प्रकाश कुँवर/जुद्धबादुर, क्रिस र प्रमिता रायमाझी ।

को को कहाँ कहाँ के के भए, कुन अवस्थामा छन् सूचनासमेत नपाउनेगरी सबैक्षेत्र केही बेरमै ध्वस्त हुन पुगेको छ । उद्धारका काम जारी रहेकाले क्षतिको यकिन विवरण अझै सबै आइसकेको छैन । यो प्राकृत्तिक विपत्तिको एउटा ठूलो आपत् हो । यसमा सबैले हातेमालो गरेर विपत्तिको पूर्वतयारीमा जुट्नुपर्ने छ ।

यो विपत्तिमा नेपालको उद्धारको संयन्त्र र जोखिमको पूर्वतयारीको विषयलाई लिएर धेरै नै टिप्पणीहरु भएका छन् । सरकारले आफ्नो सीमित सामथ्र्यले केही पहल गरेको भएपनि पूर्व सूचना प्रवाह गरेपछि जोखिमयुक्त ठाउँमा निगरानी नगर्दा एकैछिनमा ठूलो क्षति भोग्नुपरेको छ । रात्री बस नचलाउन सूचना जारी गरेपनि पहिरोमा रात्री बस नै यात्रुसहित पुरिए । को कति यात्रुहरु कहाँबाट चढेका हुन् भन्नेसमेत पछिसम्म पत्तो लागेन । नदी किनारमा नबस्न भने पनि भाग्न सकिने अवस्थामा नभागिकन टिनमाथि चढेर बसिरहे र पछि बगेपछि उद्धार भयो, एकजना वेपत्ता छन् । नदी किनारमा नजान भनेपनि जानेहरुलाई रोक्ने पहल भएन ।

अहिलेको यो विपत्तिमा सरकारी संयन्त्र चुकेकै हुन् । गृहमन्त्री रमेश लेखकको अभिव्यक्तिलाई लिएर पनि टिप्पणीहरु भए । हो, उनी पनि चुकेकै हुन् । तीनदिन ठूलो आरीघोप्टे पानी पर्छ भनेर सूचना जारी गरेको सरकारले त्यस्ता अति जोखिममा क्षेत्रमा किन निगरानी बढाएन् ? यो प्रश्न जायज छ । यहीँ बेलामा प्रधानमन्त्री र प्रहरी प्रमुखसमेत देश बाहिर छन् । छिटो स्वदेश फर्किन गरिएको आग्रह पनि जायज छ । प्रचारमुखी र फजुल खर्चलाई रोकेर पूर्वतयारीका काम प्रभावकारी बनाउन सामथ्र्यको विकास गरौं । राज्य नै कमजोर र लाचार भएपछि आम नागरिकले कसलाई अभिभावक मान्ने ? कसरी सुरक्षाको अनुभूति गर्ने ?

विपत्तिको उच्च जोखिम, कमजोर पूर्वतयारी
नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देश हो । यहाँ विशेषगरी भूकम्प, बाढी, पहिरो, हिमपहिरो र डुबानजस्ता विपद्का घटना बारम्बार भइरहन्छन् । बुटवल पनि प्रकोपको उच्च जोखिम भएको सहर हो । एकातिर तिनाउ, दानव नदीका किनारको अतिक्रमण र अर्कोतिर चुरे पहाडको फेंदसम्मै जमिन उदिनेर बनेका संरचना । बाढी, पहिरो र डुबानको उच्च जोखिममा छ बुटवल र आसपासको बस्ती । यहाँ जोखिम कम गर्न नदी किनार मासेर बसेका हजारौं घर टहरालाई स्थानान्तरण गर्नुपर्ने छ, चुरेको फेंदमा रहेका बस्तीलाई पनि सुरक्षित गर्नुपर्ने छ ।

भौगोलिक अवस्थिति, कमजोर पूर्वाधार र प्रभावकारी उद्धार प्रणालीको अभावले गर्दा देशमा हरेक वर्ष विपद्का समयमा ठूलो जनधनको क्षति व्यहोर्नुपर्छ । यद्यपि सरकारले विभिन्न प्रयासहरू गरेको छ, विपद् व्यवस्थापन र उद्धार प्रणाली अझै कमजोर र सीमित देखिन्छ ।

सधैंजसो पूर्वतयारीकै अभाव
पहिले पहिले सूचनाका प्रयाप्त साधन थिएनन् । मौसमको पनि पूर्वानुमान गर्न सक्ने उपकरण थिएनन् । विश्वमा विकास भएका भएपनि नेपालमा भने एकदमै कमजोर अवस्था थियो । तर, अहिले पूर्वसूचना पाउने संयन्त्रको पनि विकास भएको छ । कतिबेला कहाँ कत्रो पानी पर्छ, कहाँ कहाँ बाढीको जोखिम छ भनेर सूचना पाइन्छ । हो, पहिरो यहीँनिर यतिबेला जान्छ भन्ने थाहा हुँदैन । तर, अग्ला र कमजोर धरतल भएका पहाडमा पहिरोको त सधैंजसो जोखिम नै हुन्छ । यस्ता ठाउँमा सूचना संयन्त्रसँगै उद्धारका संयन्त्रलाई तम्तयारीमा राख्नुपर्छ ।

हामीकहाँ विपद्को जोखिमको बावजुद पूर्वतयारीमा ठूलो कमी छ । जोखिम क्षेत्रमा सचेतनाको कमी, विपद् जोखिम न्यूनीकरणसम्बन्धी कमजोर योजना र उद्धार तालिमको अभावले गर्दा विपद् आउनासाथ तत्काल कदम चाल्न सकिँदैन । भूकम्प, बाढी र पहिरो जस्ता विपद्का उच्च जोखिम भएका क्षेत्रमा पनि स्थानीय जनता र निकायहरू पर्याप्तरूपमा सचेत र तयार छैनन् । विपद् आउनुअघि नै जोखिम क्षेत्रको पहिचान, जोखिम न्यूनीकरण योजना र पूर्वानुमान प्रणालीको विकास आवश्यक छ ।

सामथ्र्य र स्रोतसाधनको विस्तार
नेपालको उद्धार प्रणालीमा मुख्य चुनौती स्रोत–साधनको अभाव हो । केही महिना अघि त्रिशुली नदीमा दुईवटा यात्रु बस खसे । बसमा यात्रा गरिरहेका तीन जना हाल फालेर बाँच्न सफल भए, केहीका शव फेला परे भने बससहित अरु ६५ जनाभन्दा धेरैको अहिलेसम्म अत्तोपत्तो छैन । नदीमा पसेर खोज्ने, हेर्ने उपकरण छैन, दक्ष र उपकरणयुक्त गोताखर छैनन्, जोखिमयुक्त सडकको विकल्पसमेत बनिसकेको छैन । उद्धार कार्यका लागि अत्याधुनिक उपकरण, तालिम प्राप्त जनशक्ति र पर्याप्त वित्तीय स्रोतको अभाव छ ।

विशेषगरी ग्रामीण र दुर्गम क्षेत्रमा विपद्मा परेका व्यक्तिहरूसम्म समयमै पुग्न नसक्दा ठूलो मानवीय क्षति बेहोर्नुपरेका धेरै घटना छन् । हेलिकप्टर र उद्धार गाडीहरूको सीमितता, आधुनिक उपकरणको अभाव र उद्धारकार्यमा आवश्यक प्रविधिको प्रबन्ध नहुँदा कठै बरी भन्दै सुसेल्नुको विकल्प बनिसकेको छैन ।

टोलस्तरबाटै पूर्वतयारी, जनचेतना र समन्वय
नदी किनार अग्ला पहाडको फेंदमा रहेका प्राय बस्ती विपत्तिको जोखिममा छन् । विपद्को उच्च जोखिम भएका त्यस्ता क्षेत्रहरूको पहिल्यै पहिचान गरेर बस्तीलाई सुरक्षित राख्नेतर्फ ध्यान दिनुपर्ने छ । यस्त काम पालिकाहरुमार्फत टोलस्तरमै गर्न जरुरी छ । यस्ता काममा स्थानीय समुदायलाई नै उद्धारको तालिम दिनुपर्छ र विपद्को खतराबारे जनचेतना अभियानहरू सञ्चालन गर्नुपर्छ । प्राथमिक उद्धार तालिम, प्राथमिक उपचार तालिम र विपद्को पूर्वानुमानको जानकारी दिन सक्ने सरकारी तथा गैरसरकारी संस्थाहरु मिलेर पालिकाहरुको सहकार्यमा टोलस्तरमै यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।

साथै विपद् व्यवस्थापनमा समन्वयको खडेरी हटाउन संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट जिम्मेवारी तोकेरै परिचालन गर्नुपर्ने छ । सुरक्षा निकाय, उद्धारकर्ता, स्वयंसेवी संस्था र अन्य सरोकारवाला निकायबिच स्पष्ट कार्यविभाजन र तालमेल भयो भने मात्रै उद्धारका काम प्रभावकारी हुन्छन् । एकीकृत उद्धार योजना बनाएर तत्काल उद्धारका काम अगाडि बढाउन जरुरी हुन्छ । कतिपय अवस्थामा समन्वयन नहुँदा र स्पष्ट कानुनी समेत प्रबन्ध नगर्दा अलमल सिर्जना भएको पनि देखिन्छ । संविधानले विपद् व्यवस्थापनलाई स्थानीय तहको अधिकारको रूपमा तोकेको छ । यसलाई सुधारेर केन्द्र, प्रदेश र स्थानीय तहबिचको स्पष्ट जिम्मेवारी र समन्वय बनाउनुपर्छ ।

पूर्वानुमान र प्रभावकारी सूचना प्रणालीको विकास
समयमै पूर्वसूचना पाउने हो भने विपत्तिका बेला धेरै क्षति रोक्न सकिन्छ । सूचनाका संयन्त्रलाई हरदम चनाखो राख्ने, सावधान बनाइराख्ने, सचेत बनाइराख्ने र साधनस्रोतयुक्त बनाउनुपर्छ । विपद् व्यवस्थापनका लागि पूर्वानुमान र प्रारम्भिक चेतावनी प्रणालीको पूर्ण विकास गर्नेतर्फ राज्यको ध्यान जान आवश्यक छ । विशेषगरी बाढी, पहिरो र हिमपहिरोका लागि वैज्ञानिक उपकरणहरू जडान गरी जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्न सकिन्छ ।

स्रोत–साधनको अभाव, समन्वयको कमी र पूर्वतयारीको कमजोर अवस्थाले विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । जोखिम बहन गर्न सक्ने सामथ्र्य पनि हामीकहाँ साह्रै कमजोर छ । सरकार र सरोकारवाला निकायहरूले उद्धार प्रणालीलाई प्रभावकारी बनाउन दीर्घकालीन योजना निर्माण गर्नु जरूरी छ ।

नेपाल प्राकृतिक विपद्का दृष्टिकोणले संसारकै एक उच्च जोखिममा रहेको मुलुक हो । यहाँका भौगोलिक बनावट, जलवायु परिवर्तन र कमजोर पूर्वाधारले गर्दा विभिन्न किसिमका प्राकृतिक विपद् बारम्बार घट्ने गरेका छन् । भूकम्प, बाढी, पहिरो, हिमपहिरो, डुबान, खडेरी र आगलागीजस्ता विपत्तीहरुले हामीलाई सधैंजसो सताइरहेको छ । पूर्वतयारीमा भने सधैंको अलमल र निम्छरो अवस्था छ ।