बुटवलको ज्योतिनगरमा लगातार पहिरोः ७ घर पुरिए, सिङ्गो बस्ती नै जोखिममा

मेचीकाली संवाददाता

१४ भाद्र २०७८, सोमबार
1331 shares

बुटवल, भदौ १४ । अबिरल वर्षासँगै खसेको पहिरोले बुटवलमा ७ वटा घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुंगासहितको पहिरो खस्दा ७ घर पुरिनुका साथै ५० भन्दा बढी घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

पहिरोबाट मानवीय क्षति भने अहिलेसम्म भएको छैन । वर्षासँगै पहिरो निरन्तर बगिरहेकोले स्थानीय त्रसित छन् । यस क्षेत्रमा अहिले पनि भारी वर्षा भइरहेको छ । आइतबार पनि पहिरोले एक दर्जन बढी घरमा क्षति पु¥याएको थियो ।

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिएका छन् । बिस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । आईतबार बिहानबाटै नेपाली सेना, शसस्त्र र नेपाल प्रहरी सँगै स्थानिय यूवाहरु उद्दारमा खटिरहेका छन् ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पु¥याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ । २०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिमा पहिरो खस्दा ५० भन्दा बढी घर बिस्थापित भएका थिए ।

ज्योतिनगरमा गएको पहिरोको लेदो बगेर बुटवलको मुख्यबजार क्षेत्रसम्म आइपुगेको छ । ज्योतिनगरबाट आएको लेदोसहितको पहिरो बुटवलको अस्पताललाइनसम्म आएको छ । पहिरोको जोखिम बढिरहेकाले स्थानीय सामान लिएर सुरक्षित स्थानतर्फ सरिरहेका छन् ।

यो पनि पढ्नुहोस
बुटवल–पाल्पा सडक एकतर्फी खुल्यो