राजनीति: सिद्धान्त आवश्यक, व्यवहार अनिवार्य !

मेचीकाली संवाददाता

२ कार्तिक २०८१, शुक्रबार
64 shares

घनश्याम कोइराला

राजनीतिलाई कसैकसैले फोहरी खेल भनेका छन् । कसैले यसलाई समाज र राज्य व्यवस्थापनको अनिवार्य आवश्यकता भनेका छन् । कसैले यसलाई वर्गसङ्घर्ष र यसको माध्यम भनेका छन् । राजनीति मानिसले गर्ने हो, यो जस्ता मानिसले गर्छन्, त्यस्तै हुन्छ । फोहोरीले गरे फोहोर पनि हुन सक्छ । राजनीतिका अरु पनि धेरै मान्यता हुनन् । राजनीतिका अरु परिभाषा पनि गरेका हुनन्, गर्लान् । मान्यता र परिभाषा फेरिँदै जान सक्छ । राजनीतिक प्रणालीहरूमा परिवर्तन हुँदै जान सक्छ । तर, राजनीति राज्य सञ्चालन गर्ने सिद्धान्त, प्रणाली र व्यवस्थापनको समष्टि हो । राज्यहरू रहेसम्म जुनसुकै रूपमा भए पनि राजनीति हुन्छ ।
राजनीति शासनको सुखभोगको माध्यम होइन । राजनीतिको काम मानिसलाई अधीन बनाएर राख्नु होइन । राजनीति विचारको माध्यमबाट गरिने सेवा हो । राजकीय मामिलामा राजनीति शासन हो । तर राजनीति शिक्षा पनि हो, किनभने शासन शब्दको अर्थ अधीन र शिक्षा दुबै हो । राजनीति र राजनीतिज्ञ—राजनीतिकर्मीहरूका व्यवहार अनुकरणीय हुन आवश्यक छ । अहिले यस्तो हुन सकिरहेको छैन ।

राजनीति राष्ट्रको नेतृत्व गर्ने ‘नीति’ हो । यहाँ ‘नीति’ भन्नाले यसलाई मार्गदर्शन गर्ने सिद्धान्त, परिचालित हुने—गर्ने प्रणाली, सबैलाई समेट्ने कार्यक्रम, स्पष्ट गन्तव्य, गन्तव्यमा पुग्ने रणनीति, आवधिक रूपमा अनुमोदित हुने विधि आदि बुझ्नुपर्छ । सिंगो देशको सामाजिक, आर्थिक, सांस्कृतिक उत्थानका योजना यसैभित्र समाहित हुन्छन् । राजनीतिको वास्तविक सार यस्तो हो । राष्ट्रको कुनै क्षेत्र, विधा असल राजनीतिभन्दा बाहिर हुँदैन । ज्ञान आर्जन, ज्ञानको सदुपयोग, अवसर सिर्जना, अवसरको सदुपयोग; समृद्धि, सेवा, सुरक्षा, सम्मान राजनीतिका क्षेत्र हुन् । यी राजनीतिका आमविषय हुन् । फरक दार्शनिक धारका तदनुसारका विशेषता त हुन्छन् नै । राजनीति सिंगो राज्यको न्यायपूर्ण व्यवस्थापन हो । राजनीति सामाजिक अवस्थाको ऐना हो । राजनीति बहुआयामिक विषय हो । राजनीति राज्य व्यवस्थालाई मानिससँग र मानिसलाई राज्य व्यवस्थासँग जोड्ने माध्यम हो ।

केही समय भयो आपूm सहरतिर बस्न थालेको । तर, आधार गाउँ हो र गाउँको साह्रै मायाँ लाग्छ । सानोसानो समयको अन्तरालमा गाउँ गइरहन मनलाग्छ । केही समयअघि गाउँ गएको थिएँ । पहिले सँगसँगै राजनीतिमा सामेल भएका, अहिले पनि निष्ठाको राजनीतिमा दृढ रहेका दमालीहरूसँग वर्तमान राजनीतिक अवस्थाबारे कुराकानीमा बसियो । एकजना साथीले आफ्नो अनुभव बडो रोचक पाराले सुनाउनुभयो । वहाँले सुनाउनुभएको अनुभव यस्तो छ, ‘गाउँमा कसैका घरमा आजा—पूजा हुँदा छरछिमेकीहरूलाई कथा सुन्न, भजन—कीर्तन गरी जाग्राममा सहभागी हुन र प्रसाद (नैवेद्य) खान निम्तो गर्ने चलन हुन्छ । त्यति बेलाको केही घटना सम्झना हुन्छ । हामी सानै थियौँ । पूजा र कथातिर त के ध्यान जान्थ्यो र ? पूजा—कथा भइरहँदा साथीहरूसँग लुकामारी खेल्न र पूजा सकिएपछि ‘जय ! जय !!’ चिच्याउने मजा लिइन्थ्यो । मन भने पञ्चामृत, नैवेद्यमा हुन्थ्यो । अझ नैवेद्य बाँड्ने मानिस सकेसम्म आफन्त र आफन्त नै नभए आपूmलाई राम्ररी चिनेको परिदिए हुन्थ्यो भन्ने लाग्थ्यो । यसो हुँदा अलि मुट्ठीभरि नैवेद्य हात पथ्र्यो, नत्र हुलहालमा एक टुक्रा केरा, एउटा सानो गिँड उँखु या एउटा सुपारी जत्रो मनभोग वा अपुङ्गोमा मन थाम्न पथ्र्यो । बाँड्नेका आफन्त या चिनजानका साथीहरूले भने अँजुलीभरि प्रसाद पाउँथे । यो देखेर मनमा नैवेद्य बाँड्नेप्रति, पूजा लाउनेप्रति, पूजाप्रति, भगवानप्रति र आफ्नै बा—आमाप्रति समेत झन्का छुटेर आउँथ्यो । यस्तो सन्दर्भ एक पटक होइन, अनेकौँ पटक दोहोरिन्थ्यो र पनि हरेक पूजामा नगई मनले मान्दैथ्यो । आज मलाई र अन्य कतिपय साथीहरूलाई राजनीति र पार्टी जीवनमा त्यस्तै अनुभव भइरहेको छ ।’ यो दृष्टान्त सुनेर हामी एकछिन् हाँस्यौँ, तर विषय गम्भीर थियो ।

सबैतिर एउटै र उस्तै अवस्था नहोला, तर पार्टीमा जिम्मेवारी बाँडफाँटमा यस्तो पनि नदेखिने होइन । कतिपय पुराना कार्यकर्ताहरू यसरी मन थामेर पार्टीका पक्षमा सतीसालझैँ ठिङ्ग उभिइरहेका छन् भने कतिपय भने उछिनापाछिना र छिनाझपटीमा लागेको पनि देखिन्छ । पार्टी र जनप्रतिनिधिहरूबिच अन्तर्विरोध फराकिला छन् । पार्टी नेतृत्वमा रहेकाहरू पार्टीकै आदेशमा जनप्रतिनिधि चलून् भन्ने चाहन्छन् भने जनप्रतिनिधिहरू आपूmहरू पार्टी घेराभन्दा ‘साझा—सार्वजनिक’ भएको दाबी गर्दछन् । कुरा दुबै सही हो, जनप्रतिनिधिहरू न पार्टीको निर्देशनभन्दा बाहिर हुन सक्दछन्, न त पार्टीकै लक्ष्मणरेखामा सीमित रहन सक्दछन् । यसमा समन्वय र समझदारीको खाँचो भने टड्कारो देखिन्छ ।

पार्टीको उच्च तहमा खासगरी सरकारको नेतृत्वमा रहेकाहरूका सम्बन्धमा धेरै कुरा उठ्ने गरेको छ र यस्तो दोहोरिइरहेको छ । त्यसरी उठ्ने कुराकानीमा विकास निर्माणका काम नभएको, भएका पनि गुणस्तरीय छैनन् । भ्रष्टाचार घटेको छैन । स्वरूप फेरिएको छ, तर भ्रष्टाचार रोकिएको छैन । नेतृत्व साँगुरो घेरामा सीमित छ । सल्लाहकार र सचिवालयमा रहेकाहरू ठिक छैनन् आदि । यिनै र यस्तै छन् विषयहरू !
सचिवालयमा बस्नेहरू र सल्लाहकारहरू सधै उही र उस्तै हुँदैनन्, तर मानिसहरूको मनोविज्ञान उही छ । आफ्नै साथी सत्तामा पुग्दा अर्कै र सत्ताबाहिर हुँदा अर्कै हुने कार्यशैली फेर्नु भने पर्नेछ । आखिर सत्तामा पु¥याउनेहरूप्रति थोरै भए पनि अहो भाव, कृतज्ञता त रहनुपर्ने हो नि !

सबै मानिसहरू वेद, पुराण, मुन्धुम, कुरान, त्रिपिटक, बाइबल पढेर ती ती धर्ममा लागेका होइनन् । यी सबै जानेबुझेका अनुयायीका भरमा कुनै मठ, मन्दिर, गुम्बा, मदरसा, चर्च टिकेका होइनन् । राजनीतिमा पनि यस्तै अवस्था रहेको देखिन्छ ।
माक्र्सवाद, लेनिनवाद पढेर कम्युनिष्ट भएका पनि होइनन् । प्रजातान्त्रिक समाजवादका सिद्धान्त पढेर वा उदारवाद, नवउदारवादबारे जानेर त्यस्ता दार्शनिक, राजनीतिक आधार बुझेर राजनीतिमा लागेका कति होलान् ? अहिलेको चुनावी प्रतिस्पर्धाको राजनीतिमा सिद्धान्त नबुझेकाहरूलाई प्रवेश निषेध गर्ने हो भने सबै पार्टीका मूलद्वार बन्द नै रहने छन् ।
राजनीति होस् वा धर्म सम्प्रदाय, सबैका अनुयायीहरू अगुवाहरूको बानीव्यवहार र शक्तिमाथि विश्वासका कारण तिनीहरूमा लागेका हुन् । धर्म होस् वा राजनीति, सिद्धान्त, विषय बुझेकाहरू सत्तामा र अन्य समर्थनमा रमाउने हो । त्यसैले अगुवाहरूले सिद्धान्त अनुसारको व्यवहार गर्नैपर्ने हुन्छ । त्यही भएर त श्रीमद्भगवद्गीतामा भनिएको छ नि, ‘यद्यदाचरति श्रेष्ठो तत्तद्देवेतरोजनः, स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते अर्थात् अगुवाहरू जस्तो जस्तो व्यवहार गर्दछन्, अरुले पनि उसैअनुसार गर्दछन् । तिनले जेलाई दृष्टान्त बनाउँछन्, लोक(जन)ले उनैलाई पछ्याउँछन् ।’ सिद्धान्त जरुरी छ, व्यवहार अनिवार्य छ ।

विकास निर्माणको वहस ठेक्का—पट्टाका विषयमा हुन्छ । यसको कानुनी प्रक्रियाका सम्बन्धमा कमै हुन्छ । योजना—आयोजनाको वहस हुन्छ । तर, यसको केन्द्रबिन्दु निर्वाचन क्षेत्र आधारित हुन्छ । संवैधानिक निकायका काम कारबाहीका विषयमा वहस हुन्छ । कामको गतिविहीनताको विषयमा वहस हुन्छ, तर यसको कारणको बारेमा वहस हुँदैन । यस्ता विषयमा बैठकको माग पनि हुँदैन । धेरैजसो नेताहरूसँग यस्ता सूची देखिँदैन । नियुक्ति, भागबण्डा, वरियता…यिनै विषयमा रडाको मच्चाइन्छ । योगदान र इतिहासका आधारमा मूल्याङ्कनका विषय उठ्छन्, कार्यकर्ताका ताली बज्छन् तर ती एक दर्जनभन्दा कम नेताका विषयमा केन्द्रित वा सीमित हुन्छन् । बजेटमा धेरै विषय समेटिएको हुन्छ, सड्घीयदेखि स्थानीय तहसम्म कहीँ पनि राजनीतिक सहमति विकास, सहमतिका प्रयासका विषयमा न कुनै नीति, न कुनै कार्यक्रम हुन्छ, न चासो नै । तर, मुलुकको विकास, सुशासन र समृद्धिका लागि सबैभन्दा महत्वपूर्ण विषय राजनीतिक सहमति र सहकार्य हो । राजनीतिक सहकार्य, सहमति, समन्वयका लागि बजेट र कार्यक्रम चाहिने होइन र ?

मानिसहरूलाई लाग्दो हो, राजनीति अहिले देखिएको जति मात्रै हो । यस अघि हामी नभएको समयमा पनि राजनीति थियो र यसपछि हामी नरहँदा पनि राजनीति रहन्छ । राजनीति, राजनीतिकै लागि शिक्षा हुन्छ । राजनीति राजनीतिबाटै अघि बढ्छ वा पछि हट्छ । राजनीतिले राजनीतिबाटै धेरै कुरा सिक्छ, ज्ञान सञ्चय गर्छ, त्यसको प्रयोग गर्छ र अघि बढ्छ । राजनीति सधै मीठो, सर्वप्रिय, सर्वहितकारी हुँदैन । राज्यलाई पर्ने प्रभावको सकारात्मक वा नकारात्मक भाग सबैले भोग्नु पर्ने हुन्छ । यो कुरा अझ वर्गीय राजनीति गर्नेहरूले नबुझेको मान्न सकिन्छ र ? राजनीति सबै वर्गीय भए पनि सर्वसाधारणको सोच वर्गीय हुँदैन । सर्वसाधारण त जुनसुकै वर्गीय भनिएको राजनीतिक पार्टीमा भोट दिएका भए पनि राज्यबाट प्राप्त हुने अधिकारमा समानता चाहन्छन् । राजनीति वर्गीय होस्, तर जनताले पाउने सेवा—सुविधा कानुन बमोजिम हुन्छ, यसमा राज्य चुक्नु हुँदैन ।

अहिले मुलुकको सिंगो राजनीतिको शिखरमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाली काँग्रेस रहेका छन् । ऐतिहासिक राजनीतिक कारणहरूले यी दुबै पार्टीहरू आजको ठाउँमा पुगेका हुन् । आजको यो ठाउँसम्म यी दुई पार्टीलाई पु¥याउन धेरै नेता कार्यकर्ताको अतुलनीय भूमिका छ । पार्टी र पार्टीका अन्य निकाय, विभाग, कमिटीहरूमा रहेकाहरू, साह्रै असजिलो समयमा पार्टीका लागि सहयोग गर्ने, मायाँ गर्ने, भरविश्वास गरेर भोट दिनेहरू केही होइनन् भन्न मिल्छ ? मिल्दैन । नियुक्ति, जिम्मेवारी, अवसरका विषयमा सबैसँग गुटका आधारमा बनाइएका लिष्टहरू छन् । नेताको नेत्रमा नपरेर छुटेका थुप्रै कार्यकर्ता पार्टीमा पिरोलिएर बसेका छन् ।

साँचो अर्थमा भन्ने हो भने यतिबेला राजनीतिक दलहरूका बिचमा होस् वा दलभित्र पनि वैचारिक प्रतिवाद घटेको छ, व्यक्तिगत अवसर र लाभका लागि मरिहत्ते गर्ने प्रवृत्ति फस्टाएको छ । विचार कमजोर र विवाद झाँगिँदै गएको छ । अध्ययनप्रति रुचि कम र अवसरप्रति रुचि बढ्दो छ । नेता रिझाउने र जनता बिझाउने काम पनि देखिन्छ ।
अहिले पार्टीहरूमा रहेका बनेका ‘गुट’ डरलाग्दो रोगका रूपमा देखिन्छ । यसका लागि सिद्धान्त, विचार छोडेर नेताको पछि लागे पुग्छ । प्रायः सबैले सबैलाई हेर्ने दृष्टिकोणमा ‘गुट’ अनिवार्य रूपमा उपस्थित हुन्छ । हरेकले हरेकलाई ‘गुट’ मा देख्ने अवस्था छ । समन्वय गर्नुपर्दा यही आधार मुख्य आधार बनेको हुन्छ । यस्तो अवस्था रहेसम्म मुलुकको व्यवस्थालाई सिद्धान्तले डो¥याउन सक्दैन, सिद्धान्तले डो¥याउने अवस्था नबनेसम्म न्याय स्थापित हुन सक्दैन । न्याय नभएको शासनलाई सुशासन मान्न सकिँदैन, यस्तो अवस्था रहिरहे विकास र समृद्धि सम्भव हुँदैन ।

अहिलेको नेपाली राजनीतिले जात चिन्छ, वर्ग चिनेको छैन । मान्छे चिन्छ, विचार चिन्दैन । महिला चिनेको छ, आमा चिन्दैन । मन्दिर, मस्जिद, गुम्बा चिन्दछ, धर्म चिन्दैन । विदेश चिन्छ, देश चिन्दैन । रोग चिन्छ, स्वास्थ्य भेट्दैन । यात्रा गरिरहन्छ, गन्तव्य भेट्दैन । विकास र सुशासनको भेट गराउँदैन । यस्तो अवस्थाले समृद्धिको आकाड्क्षालाई नजिक्याउन सक्दैन । यसमा सुधार आवश्यक छ ।

मुलुकलाई, जनतालाई चाहिएको विषय सुशासन, विकास, लोकतन्त्रसहितको समृद्धि हो । ठूला राजनीतिक दलहरूले पार्टीभित्रका समस्याको समाधानमा विशेष ध्यान र सिद्धान्त, वचारबाट निर्देशित हुने वातावरण बनाउनै पर्दछ । राजनीतिमा सिद्धान्त आवश्यक र व्यवहार अनिवार्य विषय हो ! (लेखक कोइराला नेकपा (एमाले) केन्द्रीय पार्टी स्कुल विभाग सचिव हुनुहुन्छ ।)