ओझेलमा हाम्रा सांस्कृतिक बिम्ब: चौपारी

मेचीकाली संवाददाता

२८ कार्तिक २०८१, बुधबार
174 shares

कमल पन्थी

हाम्रा पूर्वजहरुले आफ्नो ज्ञान, सिप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका थुप्रै सिर्जनाहरुको जीवनशैली नै मानव संस्कृति हो । मानवले निर्माण वा रचना गरेका सिर्जनाहरु भौतिक र अभौतिक गरी दुई किसिमका हुन्छन् ।

हामीहरु सवैले जानेको चिरपरिचित पाटी, पौवा, सत्तल र चौतारा गाउँको सम्पदा र संस्कृति हुन् । हाम्रा पूर्वजहरुले पैदल हिँड्दा थकाइ मेटाउन, गाउँबेसी हिँड्दा भारी बिसाउनको लागि, पुण्य मिल्ने धार्मिक आस्था र विश्वासले बग्रेल्ती चौतारी वनाउने गरेको पाइन्छ । भूगोलअनुसार कतै चौपारी त कतै चौतारो वा चौतारी पनि भन्ने गरिन्छ । जनजिब्रोअनुसार पृथकपृथक बोलिएता पनि बुझाइमा भने पक्कै एकरुपता छ ।

हामीहरु इतिहास अध्ययन गर्ने क्रममा चौतारीमा राजा भेटिन्थे । तत्कालीन अवस्थाको न्यायप्रणालीअनुसार बन्दइजलासमा नभएर खुला चौर र चौतारीमा बसेर राजाले इन्साफ गर्दथे । न्यायप्रेमी गोरखाका राजा रामशाह यसका उदाहरण हुन्, अहिले पनि न्याय नपाए गोरखा जानु भन्ने भनाइ प्रचलित नै छ । रामशाहको नाममा स्थापित चौतारो विम्वकोरुपमा रहेको त छ तर संरक्षण र न्यायको तराजुको रुपमा ठिङ्ग उभिएर संरक्षणको पर्खाईमा रहेको छ । सायद टोलटोलका दलै पिच्छेका सहीद गेट र भ्यूटावरले गर्दा पालो नआएर होला ।

आदिकवि भानुभक्त आचार्यले चौतारीमा भेट भएका घाँसीसँगको वार्तालापबाट प्रभावित भएर काव्य रचनामा लागेको पाइन्छ । कवि, गायक तथा सर्जकहरुले चौपारीलाई जोडेर कला र गलाको माध्यमवाट निकै लोकप्रिय गीत संगीतको रचना पनि गरेका छन्, जसले निकै प्रसिद्धि पनि कमाएका छन् । कुनै समस्या समाधानका लागि बस्ने गाँउलेहरुको बैठक (कचहरी) र गाउँघरमा भद्र भलाद्मीहरुको बैठक चौतारोमा बसेर न्याय निरुपण गरेको प्रत्यक्षदर्शी म पनि हुँ । बिचारी चौतारा, अर्जुन चौपारी, कटुवा चौपारी, राजाको चौपारी, दोहोरो चौपारी जस्ता प्रख्यात स्थानहरुको पहिचान पनि चौपारीको विगतको इतिहाससंग जोडिएका छन् ।

नेपाली समाजमा प्रचलित रहेको ‘चोरलाई चौतारो साधुलाई सुलीले’ व्यंगात्मक अर्थ दिएको छ । हुनुपर्ने नभएर नहुनुपर्ने भएको अवस्थामा यसको प्रयोग गरिन्छ । यसबाट चौतारोको गरिमा र महत्वको सहजै अनुमान गर्न सकिन्छ । आज त्यहि सांस्कृतिक बिम्बका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।

चौतारी वा चौतारा गाउँभरिका मानिसहरु भेला भएर कुनै पनि छलफल अथवा मनोरञ्जनका लागि रमाइलो नाचगान गरिने स्थान हो । चौतारीमा छाँयादार वृक्ष जस्तै पिपल, वर आदि लगाइएको र वस्नकालागि ढुंगा तथा इँटाको गारो बनाइएको हुन्छ । विशेष गरेर पहिले पहिले मानिसहरु लामो पैदल यात्रा हिँड्ने क्रममा लामो थकान र आराम लिनका ेलागि चौतारीको प्रयोग तथा त्यही प्रयोजनका निम्ति निर्माण गरिन्थ्यो । (विकिपिडिया)

प्रज्ञा नेपाली बृहत् शब्दकोष अनुसार वरपीपल आदिका छहारी मुनि वरिपरि ढुगा वा इँटाले चिनेर त्यसमाथि पेटी बनाइएको ठाउँ । चारैतिर ढुंगा वा इँटाले छोपेको अग्लो पेटीमा मानिसहरु बस्ने र सुस्ताउनेसमेत व्यवस्था भएको ठाउँ । उत्कृष्ठ छिमेकी कथाका लेखक गुरुप्रसाद मैनाली (१९५७–२०२८) ले तत्कालिन नेपाली समाजमा रहेको छिमेकी छिमेकीबिचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाउदै नेपाली समाजको यथार्तलाई प्रस्तुत गर्दै गर्दा‘असारको महिना, दिउँसो टण्टलापुर घाम, किसानहरु मेलो छाडेर चौतारोमा बसेका, कुलो माथी चौतारो, कुलो मुनि पसल र ज्यामिरे बेँसीको मनमोहक फाँट’ को उललेख गरेका छन् । त्यसबेलाको समाज पूर्ण कृषिमा निर्भर रहेको र सबै मिलेर बनाइएको चौतारोको महत्व र अपरिहार्यतालाई दर्शाइएका छन् । यस्ता प्रकारका बस्तीहरुमा चौतारो जताततै थिए भन्न सकिन्छ ।

चौतारोको आडमा ढुंगेधारा, धारा मुन्तिर सोही धाराको पानी जम्मा हुने पोखरी, पोखरीको बिचमा गाँडिएको काठको मौलो, चौतारिको छेउमा नै ढुंगाको चुलोचम्को बनाई ढाक्रेले भातभान्सा गर्ने, रात बिताउने हाम्रा पहाडी जीवनका आफ्नै मौलिक पक्षहरु हुन् ।
वातावरणीय हिसाबले पनि चौपारीको महत्व झन बढी छ । चौपारीमा लगाइने वरपीपलले छहारी मात्रै प्रदान नगरेर सबैभन्दा बढी अक्सिजन पनि दिने गर्छन् । हानीकारक किराको नाश गर्ने, बाह्रै महिना स्वच्छ हावा दिने, सलह र अमेरिकी फौजी कीरा नियन्त्रणमा उल्लेखनीय भूमिका हुनाको साथै वरपीपलको बोक्रामा औषधीय गुण हुने जानकार बताउँछन् । खेतबारी नजिकै वरपीपलका ठुला प्रजातिका रुखहरु भएमा पानीको मुहान नसुक्ने र चिस्यान रहिरहने गर्छ ।

पहिला चौतारीमा भरिया सुस्ताउने, बटुवा बिसाई मार्ने, खेतिपाती घाँसदाउरा गर्ने थकाइ मेट्ने गरिँदै आएकोमा पछि गाउँमा विकास आयो । चौतारी भेला जम्मा भएर स्थानीय विकासको लागि विभिन्न प्रस्तावना योजना तथा विचारहरु सम्बन्धमा छलफल गरिन्थ्यो । मानिसका आनिबानी फेरिए । गाउँगाउँमा सडक पुगेपछि गाउँका चिनारी बोकेका चौपारी संकटमा परे । ओझेलमा परे ।

गण्डकी प्रदेश सभाले त २०७५/१०/२७ मा चौतारी संरक्षण सम्बन्धी कानुन पनि बनाइसकेको छ । प्रदेशको मातहतका कुनै पनि चौतारामा भौतिक क्षति पु¥याउनेलाई कानुनीरुपमा दण्डनीय हुने भनी परिभाषित गरेकोले संरक्षणमा टेवा पुग्न जाने र पुरानाको संरक्षण, संवद्र्धन र नयाँ निर्माणमा जोड दिएको छ । सबै स्थानीयतहले पनि यो कानुन बनाई कार्यान्वयनमा ढिलाई गर्नु हुँदैन । सांस्कृतिक अवशेषहरु आज हामीले विरासतको रुपमा पाएका छौँ । परम्परागत सांस्कृतिक धरोहरलाई आफ्नो पुख्र्यौली विरासतका रुपमा ग्रहणगरी संरक्षण र संवद्र्धन गर्नु हामी सबैको दायित्व हो ।

अन्त्यमा अहिलेका बहुचर्चित कवि अर्जुन पराजुलीको यो कविताः
केहीवर्ष पछि मेरो देशमा चौतारो हुने छ,
भारी बिसाउने कोही हुने छैनन्
वनपाखा हुने छन्,
भाका मिसाउने कोही हुने छैनन् ।
पूर्वजले बनाएका चौपारी सन्ततिले सिगारौँ, संरक्षण गरौँ
!!