कमल पन्थी
मानिसको जीवनलाई सामाजिक, धार्मिक र अध्यात्मिक रुपमा सन्तुलन बनाउन पूर्विय दर्शनले मानिसले बाँच्ने समययलाई चार आश्रममा विभाजित गरेको छ । ब्रम्हचर्य, गृहस्थ, वानप्रस्थ र सन्यास यथास्थितवादी नभै समयसापेक्ष रुपमा यहाँ यी आश्रमहरुको मैले यसरी अर्थाउने प्रयास गरेको छु ।
ब्रम्हचर्यः बाल्यकालदेखि युवावस्था (२५वर्षसम्म) अध्ययनको समय हो । संयम, अनुशासन र अविवाहित छात्रजीवन हुने गर्छ । गृहस्थः २५ देखि ५० वर्षको समय हो । विवाह गर्ने, सन्तान जन्माउने, सामाजिक र आर्थिक जिम्मेवारी पूरा गर्ने समय हो । वानप्रस्थः ५० देखि ७५ वर्षको समय हो । पहिला यो समयलाई जंगल जाने भनिन्थ्यो तर त्यो होइन । यो समय भनेको एकान्तमा बस्ने, आफूले आफैँलाई चिन्ने समय हो । जीवनमा आफूले आर्जन गरेको अनुभवलाई मनन गर्दै विभिन्न सामाजिक, धार्मिक, हितकारी कार्यमा लगाउने समय हो । सन्यास अर्थात् मोक्षको खोजीः ७५ वर्ष माथिको उमेर हो । हिंसा नगर्ने, कसैमाथी रिसराग नगर्ने, क्रुर नहुने हो । मन भित्र र बाहिर पवित्र रहनु, सहनशील हुनु हो । जीवन सारै छोटो छ, संसार छाड्ने निश्चित छ, कसैको चित्त नदुखाई उत्तरार्धमा सजिलोसँग बाँच्नु भन्ने नै हो ।
आजको मेरो आलेख ब्रम्हचर्य बाल्यअवस्थादेखि २५ वर्षसम्म अध्ययनको समयको सेरोफेरोमा रहेर प्राचीन गुरुकुल शिक्षादेखि आधुनिक युगको आवश्यकता पूरा गर्दै नयाँ सम्भावनाहरुको ढोका खोल्ने र यसले ल्याउन सक्ने क्रान्तिकारी परिदृश्यमा कृतिम वौद्धिकता (एआइ) मा केन्द्रित रहेको छ । मेरो प्रारम्भिक अध्ययनको सुरुका दिनहरु गुरुकुल त हैन अनौपचारिक गुरुबाट नै आधुनिक शिक्षाको थालनी गरेको नाताले विगतदेखि वर्तमानसम्मको विषयलाई सामन्यरुपमा खोतल्न मन लाग्यो । यसआलेखमा जाँचकीको रुपमा एआइको पहिलोपटक सहारा लिएको छु ।
गुरुकुल शिक्षा प्रणालीः
प्राचीन समयमा भारतीय उपमहाद्वीपमा प्रचलित हिन्दू शिक्षा प्रणाली हो । जहाँ गुरुको सेवासुश्रुषा गरी विद्या आर्जन गरिन्थ्यो । यो प्रणालीमा शिक्षा मात्र होइन, पाठ्यपुस्तकमा मात्र सीमित होइन । संस्कार, आत्मनिर्भरता, नैतिकता, अनुशासन र जीवन जिउने कला पनि सिकाइन्थ्यो । गुरुकुलमा पढ्ने विद्यार्थीलाई भोजन र आवासको निःशुल्क व्यवस्था हुने गर्दथ्यो । महाभारतमा गुरु द्रोणाचार्यले पाण्डव र कौरवहरुलाई युद्धकला सिकाएका थिए । रामायणमा विश्वमित्र र वशिष्ट जस्ता ऋषिहरुले भगवान रामलाई धर्म, राजनीति र युद्धकला सिकाएका कुराहरु शास्त्रमा अध्ययन गर्न पाइन्छ । राजपरिवारमा पनि विभिन्न विधाका गुरुहरुद्वारा सदस्यहरुलाई दिक्षित वनाइने गरिन्थ्यो ।
कुनैबेला नेपालीको ज्ञानको केन्द्र भारतको वनारस थियो । नेपालीहरु त्यहाँ पढेर शिक्षित र दिक्षित हुने गर्दथे । नेपाल फर्केर आउथे । गुरुकुल पाठशालाहरुमा पढाउने गर्थे । अझै पनि वनारसवाट पढेर फर्केकाहरु यजमानी, अध्यापन र सरकारी सेवामा कार्यरत बग्रेल्ती भेटिन्छन् । तर अहिले हाम्रा युवा युवतीहरुमा वर्षौँदेखि अध्ययन भीसामा विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने लहर चलेको छ । कति पढे, अहिले के गर्दै होलान, कहिल्यै नेपाल फर्कने होलान कि ? सबै भविष्यको गर्भमा नै छ ।
पुस्ताहरुको वर्गीकरणः
पूर्वीय दर्शनले माथि भनेझै चार आश्रममा विभाजित गरेकोमा पश्चिमाहरुले पुस्ताको वर्गीकरण र व्याख्या यसरी गरेको पाइन्छ ।
–सन् १९२८ देखि १९४५ सम्मको पुस्ता साइलेन्ट जेनेरेशन जो विश्वयुद्ध र आर्थिक मन्दीको प्रभावका कारण कठोर परिस्थितिवाट गुज्रीएकाले पुराना मूल्य मान्यता मान्ने गर्दथे ।
–सन् १९४६ देखि १९६४ सम्मको पुस्ता वेवी वुमर्श जेनेरेशन यिनीहरु दोस्रोविश्वयुद्ध पछि जन्मिएका पुस्ता हुन् । सामाजिक आन्दोलन र सांस्कृतिक परिवर्तनका साक्षीका रुपमा रहे ।
–सन् १९६५ देखि १९८० सम्मको पुस्ता जेनेरेशन एक्स प्रविधि जस्तै कम्प्युटरको प्रारम्भिक प्रयोगकर्ता ।
–सन् १९८१ देखि १९९६ सम्मको पुस्ता जेनेरेशन मिलेनियल्स जो डिजिटल युगमा हुर्किएका, सामाजिक सञ्जाल र प्रविधिमा आधारित जीवनशैली ।
–सन् १९९७ देखि २०१२ सम्मको जेनेरेसन जेट (जेनजी) पुस्ता जो इन्टरनेट प्रयोग गर्न पाउने भाग्यमानी पुस्ता हुन । यिनैको पालामा इन्टरनेटको आविष्कार भयो ।
–सन् २०१३ देखि हाल सम्मको जेनेरेसन अल्फा सबैभन्दा नयाँ पुस्ता हुन् । यिनीहरु स्मार्ट फोन र Artificial Intelligence-AI अर्थात बौद्धिक कृत्रिमता प्रयोगकर्ता हुन् ।
कृत्रिम बौद्धिकता के हो ?
पन्चतत्वले बनेको मानव शरीरको दिमागका अलावा मानव निर्मित उपकरणद्वारा विचार वा निर्णय प्रदर्शन गर्ने प्रकृया कृत्रिम बौद्धिकता हो । यो यान्त्रिक वुद्धि मानव वा जनावरले प्रदर्शन गर्ने प्राकृतिक वुद्धिको विपरीत यन्त्र र मेशिनले प्रदर्शन गर्ने बौद्धिकता हो । कम्प्युटर प्रणाली वा मेशिनले मानिसको जस्तै बौद्धिक कार्यहरु सम्पन्न गर्ने क्षमता हो । यसको प्रयोग स्वास्थ्य, शिक्षा, व्यापार मनोरन्जन जस्ता विभिन्न क्षेत्रहरुमा मानव जीवनलाई सहज र प्रभावकारी बनाउन प्रयोग गरिन्छ ।
एआइलाइ मुख्यतया सामर्थ र कार्यपद्धतिको आधारमा विभाजन गर्न सकिन्छ । विशिष्ट कामहरु गर्न डिजाइन गरिएको, सीमित दायरा र क्षमतामा मात्र काम गर्न सक्षम हुन्छ भने मानवजस्तै सोच्न र सबै प्रकारका समस्याहरु समाधान गर्ने र मानव क्षमता भन्दा धेरै माथि भने विकास भइसकेको छैन, विकासको चरणणमा रहेको भनिएको छ । विगतका अनुभव वा भविष्यका सम्भवनाहरुलाई विचार नगरी केवल वर्तमान अवस्था र जानकारीका आधारमा मात्र प्रतिक्रिया दिन्छ ।
एआइको प्रयोगमा अग्रणी मुलुकहरुः
अनुसन्धान र विकासलाई प्राथमिकता दिँदै ठूलो मात्रमा डेटा पहुँच सुनिश्चित गर्दै यस प्रविधिमा लगानी गर्ने देशमा संयुक्त राज्य अमेरिका, चीन अग्रस्थानमा पर्दछन् । जसअनुसार संयुक्त राज्य अमेरिकाले Google, Microsoft, Amazon,Tesla का स्वचालित कारहरु, चीनले Alibaba Baidu, Tencent जस्ता कम्पनीहरु, युरोपियन युनियनले स्वास्थ्य सेवा वित्तिय प्रविधि र जलवायु परिवर्तन, भारतले स्वास्थ्य, कृषि, शिक्षा र सरकारी सेवा, जापानले स्वचालित कारखाना प्रणाली, वृद्धको हेरचाह गर्ने रोबोट र स्मार्ट निर्माण साथै दक्षिण कोरियाले स्मार्ट फोन, स्वचालित सवारी र ठूला प्रविधि कम्पनी जस्तै सामसुङ, एलजी कम्पनी र इजरायल साइबर सुरक्षा (ड्रोन) रहेका छन् । अन्य देशहरुले पनि यसको प्रयोग गरिरहेका छन् ।
एआइ वरदान कि अभिशाप ?
यो दुई धार भएको तरबार हो । जसमा वरदान र अभिशाप दुवैको क्षमता छ तर यसको विकास कार्यान्वयन र नियन्त्रणमा निर्भर रहने कुरा हो ।
सकारात्मक पाटाहरुः
आधुनिक युगको आवश्यकता पूरा गर्दै नयाँ संभावनाहरुको ढोका खोलेको छ । समयको बचत र कार्यक्षमतामा वृद्धि, मानवीय त्रुटिहरु न्युन गर्ने, स्वास्थ्य, शिक्षा, व्यावसाय क्षेत्रमा सुधार, मानव रहित जोखिमपूर्ण कार्यहरुमा प्रयोग, यातायात एवं स्वचालित प्रणाली, वातावरण र मनोरञ्जन क्षेत्रमा मानव जीवनलाई सहज, प्रभावकारी र उन्नत बनाउन एआइले महत्वपूर्ण योगदान गरेको छ । अबको शिक्षाको एआइ अभिन्न भाग हो । यसलाई शिक्षबाट हटाउन सकिँदैन । एआइविनाका विद्यार्थिहरुको भविष्य अशिक्षितसरह हुनेमा दुई मत छैन ।
नकारात्मक पाटाहरुः
सही तरिकाले उपयोग नगरिएमा समाज र व्यक्तिमा दीर्घकालीन नकारात्मक असर पार्ने कुरालाई कसैले नकार्न मिल्दैन । स्वचालित हुने हुँदा धेरै रोजगारी गुम्ने खतरा, रचनात्मक र समस्या समाधान क्षमतामा ह्रास, सुरक्षासम्बन्धी जस्तो साइबर हमलाको चुनौती, व्यक्तिगत गोपनियता खतरामा पर्न सक्ने, आत्मनिर्णयको ह्रास, आर्थिक असमानता बढ्न सक्ने र धेरै ऊर्जा खपत हुने भएकाले वातावरणीय प्रभावसमेत पर्न जाने हुन सक्छ ।
एआइमा अत्यधिक निर्भरता भएमा सिर्जनशीलता र आलोचनात्मक सोच निरुत्साहित गर्ने र मौलिकता नष्ट हुने खतरा हुन सक्छ । विद्यार्थीहरुले कार्य सम्पादन गर्दा उसले गर्नुपर्ने बौद्धिक परिश्रम एआइबाट गराइयो भने उसको वौद्धिक अभ्यास कम भई वास्तविक उपलब्धीमा ह्रास आउने जोखिम हुन सक्छ ।
अन्त्यमाः भौतिक शास्त्री स्टीफन हकिङ, माईक्रोसफ्टका संस्थापक विलगेट्स र वर्तमान विश्व धनाढ्य तथा एक्सका संस्थापक एलोन मास्कले यसको विकासबाट हुन सक्ने संभवनाको वारेमा चिन्ता व्यक्त गरेका छन् । सिर्जनात्मक क्षमताको महत्वलाई उजागर गर्न खोजिएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको यी दुई पङ्तिहरु निकै सान्दर्भिक देखिन्छन् ।
‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल,
सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल’
एआइको प्रयोग मानिसले गर्ने हो मानिसलाई यसले प्रयोग गरिनुहुँदैन । एआइले मानवको सिर्जनात्मक शक्तिलाई विस्थापित नगरोस्, समयसापेक्ष सही सदुपयोग हुनु आवश्यक छ । नैतिकता, सुरक्षा र मानव हीतलाई प्राथमिकतामा राखेर व्यवस्थापन गर्नु आवश्यक छ ।