हिन्दू संस्कृति संरक्षण र विकासमा छुवाछूत प्रथा बाधक

मेचीकाली संवाददाता

१८ भाद्र २०७८, शुक्रबार
1136 shares

घनश्याम कोइराला
सबै निमिट्यान्न हुनुभन्दा केही जोगिएको राम्रो हो । नीतिशास्त्रमा भनिएको पनि छ–सर्वनाशे समुत्पन्ने ह्यर्धं त्यजति पण्डितः । अर्धेन कुरुते कार्यं सर्वनाशो हि दुःसहः यसको भावार्थ हो–सबै सखाप हुने अवस्था देखापरेमा विद्वान्हरू आधा त्यागिदिन्छन् । आधाले नै काम चलाउन सकिन्छ भने सबै सखाप हुँदाको दुःख किन सहने ?

नीतिशास्त्रको यो विषय सबै क्षेत्रमा लागू हुन्छ । तर, यहाँ हिन्दू सनातन संस्कृतिमा रहेका केही प्रावधानलाई टपक्क टिपेर जातीय विभेदलाई मलजल गरिएको देखिन्छ । हिन्दू सनातनको नामले परिचित संस्कृतिका आधार ग्रन्थहरू एकै ठाउँमा, एकै समयमा एकै जनाले बसेर लेखिएको होइन । वेदका मन्त्रद्रष्टा ऋषिहरू त्यहाँ ती मन्त्रका देवताहरूको उल्लेख देख्दा धेरै समयमा, धेरै ठाउँमा, धेरै जनाले तयार पारिएको हो भन्ने बुझ्न गाह्रो पर्दैन । त्यहाँ फरक फरक पेसा–कर्मको विषय छ । त्यहीँ उल्लेख गरिएका ऋषिहरू नै ती विविध काममा संलग्न रहेको देखिन्छ ।

वेदमा पेसागत विविधताको विषय छ, तर छुवाछूत जस्तो विभेद छैन । सिंगो हिन्दू संस्कृतिको संरक्षण र विकास गर्न जातीय विभेद र छुवाछूत प्रथा अन्त्य गर्नै पर्छ । यहाँ परम्पराको अन्धानुकरण त्याग्न सक्दा हिन्दू संस्कृति सर्लक्क रहन सक्दछ । यो जातीय विभेद वैदिक या शास्त्रीय कारणबाट सुरु भएको विषय होइन ।

जतिजति मानिसको संख्या बढ्दै गयो, मानिसका समूहहरू विकसित भए, बासस्थान र पहिचान गरिएका खाद्य आदि वस्तुको सीमितता देखापर्दै गयो, अनि प्रबन्ध गर्नुपर्ने भयो । समूह–समूहका बीचमा हुने संघर्ष र त्यसबाट हुने परिणाम पनि व्यवस्थापनको एउटा महत्वपूर्ण पक्षका रूपमा देखा प¥यो । भिन्न समूहसँग जितेर प्राप्त गरिएका वस्तुको संग्रह, तिनीहरूको उचित व्यवस्थापन गर्नुपर्ने अवस्था भयो । समूह बीचको संघर्षबाट कब्जामा लिइएकाहरूको व्यवस्थापन तथा तिनीहरूको तह निर्धारणको विषय महत्वपूर्ण भयो ।

यी र यस्ता घटनाक्रमहरूले मानिसहरूलाई एक आपसमा जोड्ने काम भयो । जिम्मेवारी तोक्ने काम भयो । दण्ड आदिको प्रावधान बन्यो । यस्तै–यस्तै हुँदै विभिन्न प्रकारका विभेदहरू सिर्जना भए । यी सबै एकाएक भएनन् । मानव समाजको विकासका क्रममा भएको हुनाले पछिल्ला विभाजन र विभेदहरूका लागि अमुक धर्म, अमुक संस्कृतिलाई दोष लगाउनु उचित होइन । अहिले हामीले उचित व्यवस्थापन गर्न नसकिएको यथार्थ हो, तर यी सबै विकास र व्यवस्थापनसँग आएका विषय हुन् ।

कतिपय मानिसहरूले मानिस जन्मदै विभेदसहित जन्मेको तर्क गर्दछन् । कोही मुखबाट भए, कोही पाखुरा, कोही जाँघबाट र कोही गोडाबाट उत्पन्न भए भन्ने वेदको भनाइलाई एक मात्र र अन्तिम सत्यझैँ गर्दछन् । यसो भनेर लाभान्वित हुनेहरूले त यसो भन्नु स्वाभाविकै हो । तर जसलाई यसले शोषण र उत्पीडन गर्न सहयोग पु¥याउँछ, उनीहरूले पनि त्यही नै भन्दै हिँड्नु उचित हुन्छ र ? कसैले कुनै जातविशेषलाई तिमी शूद्र हौ, तिमी अछूत हौ भन्यो भने आपूmलाई त्यही नै ठानिरहनु उचित हुन्छ र ? हुँदैन । मानिसको उत्पत्तिका सम्बन्धमा वेदमा एउटा मात्र भनाइ छैन ।
वेदको यो मन्त्रले के भनेको छ ?

सप्त वीरासो अधरादुदायन्नष्टोत्तरात्तात् समजग्मिरन्ते । नव पश्चातात्स्थिविमन्त आयन्दश प्राक्सानु तिरन्त्यश्नः अर्थात् प्रजापतिका नाभीबाट सातवीर उत्पन्न भए । त्यसपछि तल्लो भागबाट आठ वटा उत्पन्न भएर पछिल्ला भागबाट नौ र अघिल्लो भागबाट दस वटाको उत्पत्ति भयो । यी सबैले भोजन गर्दै द्युलोकबाट उत्पन्न क्षेत्रलाई बढाउन थाले ।’ (ऋग्वेद दशम मण्डल, २८ औँ सूक्त, मन्त्र १५) यसबाट के देखिन्छ भने सृष्टिका विषयमा वेदकालीन ऋषिमुनिका बीचमा पनि मतैक्यता थिएन । यी त्यतिबेला छलफल, विचार विमर्श, तर्क, अनुमानका विषय थिए भन्ने बुझिन्छ ।
त्यस्तै मनुस्मतिको यो श्लोकले पनि केही गतिलो अर्थ खोजेको देखिन्छ–

‘द्विधा कृत्वात्मनो देहमर्धेन पुरुषो’ भवत् । अर्धेन नारी तस्यां स विराजमसृजत्प्रभुः अर्थात् ब्रह्माले आफ्ना शरीरलाई दुई भागमा बाँडेर आधा पुरुष र आधालाई नारी बनाए । अनि त्यसैमा मैथुन कर्मले युक्त विराट् पुरुषको सृष्टि गराए ।’ यसबाट पनि के स्पष्ट हुन सकिन्छ भने जातपातका विषय जन्मैदेखिको कुरा होइन । सम्पूर्ण चराचर जगतका सृष्टिकर्ता मानिएका एउटै ब्रह्माले आफ्नै शरीरलाई दुई भाग गरेर सृष्टिअघि बढाएको उल्लेख भएबाट जातहरू फरक होइनन् भन्ने कुरा स्पष्ट हुन आउँछ । यस्ता विषय अघि नसार्नुका पछाडिको कारणबारे अनुमान लगाउन सकिन्छ, तर यही मनुस्मृतिकै नाममा उत्पीडन भोगिरहनु परेकाहरूले त यी कुरा बुझ्न आवश्यक छ नि !

जातीय विभेदका विरुद्धमा सर्वत्र सचेतनाका स्वरहरू चर्कै रूपमा सुनिँदै आएको छ । विभिन्न कारणले छुवाछूतजन्य विभेद कम हुँदै पनि छ । यो विभेदका कारण धर्मान्तरणका विषय पनि सुन्नमा आइरहेका छन् । धर्मान्तरण समस्याको वास्तविक समाधान होइन । विभेदका विरुद्धमा संघर्षको दायरा बढाउनु पर्नेमा त्यहाँबाट भाग्नु उचित होइन । जातीय विभेदका विरुद्धमा बोल्नेहरू सबै धर्मान्तरणको पक्षमा छैनन् र हुँदैनन् भन्ने कुरा सबैले बुझ्न आवश्यक छ ।

सनातनदेखि हिन्दू धर्म–अवलम्बन गर्दै आएका ‘दलित’ समुदायको रूपमा परिचितहरूको पीडा अकल्पनीय छ । पूजाआजा गराउने अधिकार ब्राह्मणले पाएका छन् । ती अधिकार प्राप्त ब्राह्मण त सबैका हुन्, हुन पर्ने हो । ब्राह्मणको काम नै यज्ञ गर्नु–गराउनु, दान लिनु–दान दिनु, पढ्नु–पढाउनु हो भनिन्छ, शास्त्रमा यो कुरा छ । तर, दलित समुदायले श्राद्ध गर्दा, पूजा गर्दा, हवन आदि यज्ञ गर्दा, गृह प्रवेश, वास्तु आदि गर्दा ब्राह्मण नपाउने कारण के हो ? दलितहरूलाई यी कामबाट वञ्चित राखेर नै हिन्दूमत÷हिन्दूको बहुमत जोगाउन सकिन्छ ? एउटा हिन्दूले अर्को हिन्दूसरह धार्मिक व्रतकर्म गर्न पाउँदैन भने ती दलित हिन्दूमै गनिइरहन सक्छन् ? सक्नु पर्छ ? अब यस्तो सम्भव छैन ।

वेद तथा पुराणहरूमा जाति उत्थानको विषय छ । जाति पतनको विषय छ । तर, के आजका दलितलाई जाति उत्थानको अधिकार प्राप्त छ ? वेद तथा शास्त्रहरूको एकोहोरो, अवैज्ञानिक र परम्परागत अर्थ लगाएर आजको सचेत मानिसले पत्याउँछ ? यदि त्यस्तै हो भने अपमान र विभेदका विरुद्धमा उसले अर्को नहार्ने अर्को बाटो खोज्दैन ? ब्राह्मणहरूका लागि तोकिएका सबै कर्म नगरे पनि ब्राह्मण नै रहिरहने हो भने आचार बाँकी रहन्छ त ? ब्राह्मणलाई आचार उल्लंघन गर्न नरोक्ने संहिता या पद्धतिले अरुलाई नियन्त्रण गरिराख्नु उचित र सम्भव छ ? यस्तो किमार्थ सम्भव छैन ।

सबैले अत्यन्त आदरपूर्व मान्दैआएको शास्त्र–ग्रन्थ श्रीमद्भगवद्गीतामा लेखिएका यी पंक्तिले के अर्थ वहन गरेका छन् ? ‘विद्याविनयसम्पनने ब्राह्मणे गवि हस्तिनि । शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः समदर्शी ज्ञानीहरूले विद्या र विनयसम्पनन ब्राह्मण, गाई, हात्ती, कुकुर, चाण्डालका बीचमा कुनै भेद देख्दैनन् ।’ आजका ब्राह्मणहरू ‘पण्डिताः समदर्शिनः’ अर्थात् जातपातका दृष्टिले समदर्शी छन् ? यस्ता छैनन् । ब्राह्मण हुनुमा दोष होइन, क्षेत्रि, वैश्य र शूद्र हुनु पनि दोष होइन । हामी जे छौँ, त्यही रहन त्यस अनुसारको कर्म हुनुप¥यो, कर्मअनुसारको संज्ञा वा पहिचान हुनुप¥यो । नेपाली भाषामा लेखिएको कामल गीतामा यस्तो छ ः ‘गाई, हात्ती र चाण्डाल कुत्ता सर्वज्ञ ब्राह्मण । ज्ञानीका दृष्टिमा एकै ठहर्छन् बुझ अर्जुन !’ यसको आसय गुणदोष, विशेषता सबैका उस्तै हुन्छन् भन्ने होइन, हेर्ने दृष्टिमा समानताको हो । जब हाम्रा शास्त्रले यस्तो उदात्त चिन्तन दिएका छन् भने हामीले किन कसैप्रति भिन्न व्यवहार गर्ने ?

यहाँ जातीय छुवाछूतका विषयमा कुरा गर्दा दलित समुदायभित्रै रहेको विभेदको विषयमा पनि कुरा उठ्ने गरेको छ । आखिर ब्राह्मण र अरुका बीचमा होस् वा अरुअरुका बीचमा; जातका आधारमा हुने विभेद त उस्तै हो । ‘पहिले आपूmभित्र विभेद हटाऊ अनि हामी हटाउँछौँ’ भन्न मिल्दैन । यो जातीय विभेद अन्त्य हुँदा एकसाथ अन्त्य हुन्छ । अन्य विभेद छन्, अझ रहनेछन्, तर एउटा मानिसले आपूmजस्तै अर्को मानिसलाई छुनै नहुने विभेदको कहीँ, कसैसँग तुलना हुन सक्दैन ।

जातपातको चर्चा चल्दा कुनै नेता, उच्च पदस्थ व्यक्तिलाई देखाइन्छ, दलित समुदायको कुनै धनसम्पन्न व्यक्तिलाई देखाइन्छ । आरक्षणको विषयमा पनि यो कुरा बारम्बार उठिरहेको देखिन्छ । अहिले हेर्दा यी प्रश्न उठ्नु नाजायज देखिँदैन, तर विगतमा जातका आधारमा पढ्न–लेख्नबाट ती समुदायलाई वञ्चित राखिएको हुनाले आज पनि सम्बन्धित समुदायको समग्र अवस्था माथि उठ्न सकेको छैन भन्नेमा पनि ध्यान आवश्यक छ । सम्बन्धित समुदायका अगुवाहरूले पनि पछि रहेका आफ्नै समुदायका मानिसहरूलाई पछि पार्दै जातीय आरक्षण आदिको लाभमा हात थापिरहने विषय जायज ठहर्दैन ।

हिन्दूत्वको रक्षाका लागि अभियान चलाउने र दलित अधिकारका विषयमा भाषण तथा राजनीति गर्ने सबैले ध्यान दिनुपर्ने बेला आएको छ, ‘सर्वनाशे समुत्पन्ने ह्यर्धं त्यजति पण्डितः । अर्धेन कुरुते कार्यं सर्वनाशो हि दुःसहः यसको भावार्थ होसबै सखाप हुने अवस्था देखा परेमा विद्वान्हरू आधा त्यागिदिन्छन् । आधाले नै काम चलाउन सकिन्छ भने सबै सखाप हुँदाको दुःख किन सहने ?’ हिन्दू–हिन्दूभित्र छुवाछूतको विभेद कायमै राखेर सबै हिन्दू, हिन्दू नै रहिरहन्छन् भन्न सकिन्न । हिन्दूको संख्या घटाउनुभन्दा त विभेद हटाउनु नै उचित हो । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)