मेचीकाली सन्देश राष्ट्रिय दैनिकले मनायो रजत महोत्सव

मेचीकाली संवाददाता

३० मंसिर २०८१, आईतवार
238 shares

बुटवल । मोफसलबाट निरन्तर प्रकाशित हुँदै आएको मेचीकाली सन्देश राष्ट्रिय दैनिकले आफ्नो रजत महोत्सव मनाएको छ । मेचीकाली सन्देश प्रकाशन प्रालिद्वारा प्रकाशित पत्रिकाले आइतबार एक विशेष कार्यक्रम गरी रजत महोत्सव मनाएको हो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले व्यवसायिक, जनपक्षीय र स्वतन्त्र पत्रकारितालाई आत्मसात् गर्दै अगाडि बढ्न सुझाव दिए ।

पत्रिकाले समुदायलाई सुसुचित गर्दै समाज रुपान्तरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनले विशिष्टिकृत विषयका सामग्री थप गर्न आग्रह गरे । लुम्बिनी प्रदेश सञ्चार परिषद् अध्यक्ष मिलन गाहाले पछिल्ला वर्ष मिडिया हाउसहरु कमजोर भएको बताउँदै राज्यले सहयोग गर्न आवश्यक रहेकोमा जोड दिए । मेचीकाली दैनिकका संस्थापक अध्यक्ष नन्दीकिशोर ढकालले पत्रिकालाई अझै पठनीय र स्तरीय समाचारहरु बढाउदै लैजानुपर्नेमा बताए ।

प्रालिका अध्यक्ष होमराज बस्यालले संस्थाका नयाँ योजना, लक्ष्य र कार्यक्रमलाई साधारणसभामा पेश गर्दै अझ सुदृढ, सशक्त र गतिशील बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । मेचीकाली दैनिकका संस्थापक प्रधान सम्पादक भरतकुमार पोखरेलले समयअनुसार पत्रिका परिमार्जन हुनुपर्ने बताए । पत्रिकाका प्रधानसम्पादक बसन्तराज खनालले प्रविधिको विकाससँगै पत्रिकालाई ‘अपग्रेड’ गर्दै अगाडि बढ्ने बताए । कार्यक्रममा संस्थापक सम्पादक डिआर घिमिरे, पत्रिकाका सञ्चालक तथा संविधानसभा सदस्य आदित्यनारायण कशौधन, पूर्व अध्यक्ष प्रा.डा.कृष्णचन्द्र शर्मा, संस्थापक कार्यकारी सम्पादक सिद्धिचरण भट्टराई, सञ्चालक बाबुराम भट्टराई, गोपाल रानालगायतले बोल्दै मेचीकालीले लिएका लक्ष्य र आगामी योजनालाई कार्यान्वयन गर्न सबैसँग समन्वय, सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

रजत महोत्सव तथा साधारण सभाको अवसरमा मेचीकाली सन्देश प्रकाशन प्रालिले संस्थापक अध्यक्ष नन्दिकेशर ढकाल, संस्थापक प्रधान सम्पादक भरतकुमार पोखरेल, संस्थापक सम्पादक डिआर घिमिरे, संस्थापक प्रमुख व्यवस्थापक हिराध्वज शाह, संस्थापक कार्यकारी सम्पादक सिद्धिचरण भट्टराई, संस्थापक प्रबन्ध सम्पादक बद्रिनाथ पाण्डे, संस्थापक व्यवस्थापक यमलाल लोहनी, संस्थापक प्रतिनिधि नारायणप्रसाद गौतमलाई सम्मान गरेको छ ।

यस्तैगरी कर्मचारीहरुतर्फ थानेश्वर पौडेल, निशा श्रेष्ठ, मीना भुसाल, सीता गैरे, गुल्मी संवाददाता टोपलाल अर्याल, नियमित स्तम्भकार ओम बानिया, मर्चवार प्रतिनिधि राजकुमार धवल, धनबहादुर कोइरालालाई सम्मान गरिएको थियो ।

वि.सं. २०५७ मंसिरमा सहकारीमार्फत स्थापना भएको मेचीकाली सन्देश २०६१ असारदेखि प्रालिमा रुपान्तरण भएको हो । प्रालिअन्तर्गत रङ्गीन कलेभरको मेचीकाली सन्देश राष्ट्रिय दैनिक नियमित प्रकाशन हुँदै आएको छ । संघीय राजधानी काठमाडौं बाहिरबाट निरन्तर र नियमित प्रकाशनका रुपमा मेचीकाली स्थापित छ । संस्थापना कालदेखि नै पत्रिका ‘क’ वर्गमा सूचीकृत रहँदै आएको छ । कार्यक्रमको सञ्चालन प्रालिका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गैरेले गरेका थिए ।