

अमृत गिरी
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई मध्यनजर गर्दै आद्योगिक तथा व्यापारिक नगरी बुटवलमा स्थापना भएको शाइन रेसुङ्गा बैंक अहिले मुलुकको एउटा सफल बैंकका रुपमा परिचित बनेको छ । मर्जर भएर पनि मोफसलको अस्तित्व बचाइराखेको बैंक हो, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक । बुटवलमा खुलेको शाइन डेभलपमेन्ट बैंक र गुल्मीमा खुलेको रेसुङ्गा बैंकसँग मर्जर भएपछि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक बनेको हो । त्यसपछि भने निरन्तर यो बैंकले मात्र अहिले आफ्नो अस्तित्व रक्षा गरेको छ । बुटवलमै सुविधासम्पन्न भवनमा यसले आफ्नो प्रधान कार्यालय बनाएको छ, सेवा प्रदान गर्दै आएको छ । वित्तीय साक्षरतासहित समृद्ध मुलुक निर्माणको लक्ष्यलाई आत्मसात् गर्दै यो बैंंक निरन्तर अघि बढिरहेको छ ।
विसं. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ कारोबार सुरु गरेको यस बैंक २०६९ चैत ४ गते स्थापना भएको गुल्मीको रेसुंगा विकास बैंकसँग मर्ज भएका (गाँभिएका) थिए । त्यसपछि २०७३ जेठ २९ गते प्युठानको गौमुखी विकास बैंक, २०७६ असोज २७ मा नेपालगञ्जको भार्गव विकास बैंक र मंसिर १० मा भैरहवा केन्द्रित व्यवसाय गरिरहेको पूर्णिमा विकास बैंकलाई समेत सामेल गरेर अर्को खुड्किलो उक्लिन सफल भयो । अहिले राष्ट्रियस्तरको अब्बल विकास बैंकका रुपमा शाइन रेसुङ्गा बैंक स्तरोन्नति भएको छ, अवार्डसमेत प्राप्त गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र अध्यक्ष थानेश्वर पौडेलसहित यसमा आबद्ध सञ्चालक, कर्मचारीहरुको मिहिनेत र ग्राहकको विश्वासले बैंक प्रदेशस्तरमै पहिलो बन्न पुगेको हो । अरू बैंकलाई मर्ज गराएर आफ्नो अस्तित्व रक्षा गर्दै बुटवलमा केन्द्रीय कार्यालय रहेको यस बैंकले शहरी र ग्रामीण दुवै क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै आएको छ र अलग पहिचान बनाइरहेको छ ।
‘वित्तीय पहुँचसँगै साक्षरता पनि विस्तार गरेका छौं’

प्रकाश पौडेल
प्रमुख कार्यकारी अधिकृत (सीइओ)
हामीले वित्तीय साक्षरतालाई उच्च प्राथमिकतामा राखेका छौं । व्यक्तिगत वित्तीय योजना, बचत, लगानी, ऋण व्यवस्थापन, बिमा र डिजिटल बैंकिङजस्ता विषयको ज्ञान र त्यसको प्रयोगका बारेमा हामीले हाम्रा ग्राहकहरुलाई अवगत गराउँदै आएका छौं । हामीले वित्तीय पहुँच बढाउने मात्रै होइन साक्षरता पनि बढाइरहेका छौं । वित्तीय सेवाहरूको पहुँच र ज्ञान विस्तार गर्ने हाम्रो प्रयासलाई अहिले अरु धेरै संस्थाहरुले अनुसरण गरिरहेको अवस्था छ ।
हामीकहाँ कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि र पूर्वाधारमा ठूलो सम्भावना छ । पछिल्ला वर्षहरूमा सेयर बजार, म्युचुअल फन्ड र डिजिटल स्टार्टअपमा लगानीप्रतिको चासो बढेको छ । तर, लगानीकर्ता शिक्षाको कमी, बजारको पारदर्शितामा सुधारको आवश्यकता र कानुनी संरचनाको कमजोरीले चुनौती थपेका छन् । हामीले यस्तो चुनौती आउँछ भनेर पहिल्यै आँकलन पनि गरेका थियौं र आफ्नो सामथ्र्यको विकासमा ध्यान दिएर दीर्घकालीन योजना बनाएका पनि छौं । व्यक्तिहरूलाई जिम्मेवार लगानी गर्न र आर्थिक विकासमा योगदान पु¥याउन सघाउने पनि हाम्रो अभियान हो । साथै प्रभावकारी नीति र सार्वजनिक–निजी साझेदारीले यस क्षेत्रमा थप सुधार गर्न सकिन्छ भन्ने हामीले ठानेका छौं ।
प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले सबैको मेहनत, समर्पण र ग्राहकको सन्तुष्टिले नै सफलता प्राप्त गरेको बताउँछन् । आफूहरु दीर्घकालीन सोंचमा केन्द्रित रहेको उनको भनाइ छ । केन्द्रीय र राजधानीको मानसिकताले हीनताबोध गरेर होइन, बलियो आत्मबल र अठोटले अब्बल बन्न सकिन्छ भन्ने कुरालाई प्रकाश पौडेलको सफल नेतृत्वले स्थापित गरेको छ ।
संस्थामा आएका चुनौतीलाई सबै टिमले मेहनत गरेर अनेक प्रकारका चुनौतीहरुको सामना गरिएको र पार भएकै कारण आज बैंक एउटा उदाहरणीय स्थानमा पुग्न सफल भएको पौडेलले दोहोराए । बैंकका सबै आर्थिक सूचक उत्कृष्ट छन् । राष्ट्रियस्तरका जुनसुकै बैंकको तुलनामा आफूहरुले टक्कर दिइरहेको छ ।
‘विश्वमा प्रविधिको धेरै विकास आइसकेको छ, अब गार्ड राखेरभित्र भएको रकम सुरक्षित छ भनेर बस्ने अवस्था छैन, भरखरै सहकारीहरुको बेहालको नजीर देखिएको छ, वित्तीय संस्थाहरुप्रति एकप्रकारले आशंका देखिएका छन् तर हामीले यस्ता सबैखाले समस्यालाई उतिबेलै आंकलन गरेर योजना बनाएका थियौं,’ सीइओ पौडेल भन्छन्,‘विश्वको जुनसुकै कुनाबाट पनि प्रभावित हुनसक्ने चुनौतीलाई हामीले चिर्नेगरी संयन्त्र बनाएका छौं ।’
बैंकले डिजिटल बैंक बनाउन मोबाइल बैंकिङ्ग एपलाई आधुनिक बनाएको छ । ग्राहकलाई बैंकिङ्गसम्बन्धी कुनै समस्या परेमा शाखा कार्यालय धाउनु नपर्ने सीइओ पौडेलले बताए । ग्राहकलाई डिजिटल बैंकिङ्गसँगै जोखिमका बारेमा पनि सचेतना कार्यक्रम गर्दै आएको उनको भनाइ छ । ‘ग्राहकलाई बैंकसँग अन्तक्र्रिया गर्नुपरेमा ‘डिजिटल च्याटबट’ बाट गर्न सकिन्छ, डिजिटल बैंकिङ्गमा प्रवेश गरेको हुँदा सचेतना फैलाउने काम भइरहेको छ, डिजिटल बैंकिङ्गको जोखिमका बारेमा पनि सचेतना दिन जरुरी भइसक्यो,’ उनले भने ।
बैंकले आन्तरिक र बाह्य सेवालाई डिजिटलाइजेसन गरिरहेको छ, आन्तरिक कामहरू पेपरलेस भइरहेका छन्, बैंकले कर्जादेखि अन्य सेवाहरू पेपरलेस बनाएको छ ।’ बैंकले क्रेडिट कार्डलगायतका सेवा पनि सुरु गरिसकेको छ भने ग्राहकलाई डिजिटल बैंकिङसँगै जोखिमबारे पनि सचेतना जगाइरहेको छ । वित्तीय साक्षरता र सुरक्षालाई बैंकले प्राथमिकतामा राखेको छ ।
उपत्यका बाहिर पनि बैंकिङ व्यवसाय गरेर सफल हुन सकिन्छ भन्ने उदाहरणको रुपमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रमाणित गरेको नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु बताउँछन् । ‘मोफसलमा रहेर पनि राम्रो पर्फमेन्स गरेर राष्ट्रिय स्तरका बैंकलाई टक्कर दिइरहेको छ, उपत्यका बाहिर पनि यो लेभलको संस्था चलाउन सकिन्छ भन्ने उदाहरण ज्वलन्त छ, उपत्यका बाहिर पनि यो लेभलको बजार छ ? बैंक सञ्चालन गर्न सकिन्छ भन्ने सोच अधिकांशको छ, यसको बावजुत पनि केन्द्रिय कार्यालय मोफसल बाहिर रहेर काम गर्न सक्छ भन्ने प्रमाणित गरेका छौं,’ उनले भने ।

६ करोडबाट सुरु भएको बैंकको चुक्तापुँजी झण्डै ५ अर्ब
विभिन्न पाँचवटा विकास बैंकलाई मिलाएर बनेको यो बैंकले स्थापना कालमा ६ करोड पुँजीबाट कारोबार सुरु गरेको थियो । हाल बैंकको पुँजी ४ अर्ब ७३ करोड, ३८ लाख रुपैयाँभन्दा बढी छ । यो गत असोज मसान्तसम्मको मात्रै रेकर्ड हो । बैंकको जगेडा कोष २ अर्ब २ करोड १६ लाख रुपैयाँ छ । बैंकले ६६ अर्ब ७१ करोड ६८ लाख ५६ हजार २ सय ५० रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५३ अर्ब १३ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा २ प्रतिशतको हाराहारिमा रहेको छ । बैंकले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम मेशिनबाट बैंकिङ सेवा दिइरहेको छ । कोशी र मधेश प्रदेशबाहेक सबै प्रदेशमा बैंकको पहुँच पुगेको छ ।
शाखा विस्तारको रणनीति
तीन जिल्लाबाट बैंकिङ्ग सेवा सुरु गरेको यस बैंकले हाल साढे ४ लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । बैंकको पहुँच सातै प्रदेशमा नपुगेको भएपनि आगामी दिनमा भने आफ्नो सञ्जाल विस्तार गर्ने रणनीतिमा बैंक अघि बढेको छ । बैंकले हाल ८९ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर, काठमाण्डौंमा कर्पोरेट कार्यालय, काठमाण्डौंमै आठ वटा ब्रान्च र १६ वटा एटिएम मेशिनबाट बैंकिङ्गसेवा दिइरहेको छ । अहिले कोशी प्रदेश र मधेश प्रदेशबाहेकका सबै प्रदेशमा बैंकको पहुँच विस्तार भएको छ । ग्राहकहरु आकर्षित भएका छन् ।
लुम्बिनी प्रदेशको बुटवलमा केन्द्रीय कार्यालय रहेकाले अधिकांश शाखा सञ्जाल लुम्बिनी प्रदेशमा नै केन्द्रित छन् । बैंकले उपत्यकामा पनि आफ्नो सेवा विस्तार गरिसकेको छ । गत वर्ष मात्रै बैंकले दर्जन बढी शाखा कार्यालय काठमाडौं उपत्यकामा सञ्चालनमा ल्याएको हो । बैंकले ४ लाख ७० हजार भन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ ।
गुणस्तरीय सेवा र उत्कृष्ट व्यवस्थापन
नायव प्रमुख कार्यकारी अधिकृत पनेरुका अनुसार अहिले बिजनेसको भोलुमलाई मात्रै नम्बर वानका रुपमा हेर्ने चलन छ । तर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले भोलुम बेसभन्दा पनि गुणस्तरीयतामा नम्बर वान बन्ने लक्ष्य लिएको छ । बैंकको उद्देश्य ग्राहको पहिलो रोजाइको विकास बैंक बन्ने रहेको बैंकका सञ्चालकको दाबी छ । ‘भोलुममा मात्रै नम्बर वान हुने हो कि ओभरल पर्फमेन्समा बेटर बनाएर नम्बर वान हुने भन्ने हो, बैंकको सेवा उपभोग गर्दा ग्राहकमैत्री र ग्राहकको आवश्यकता पुरा गर्न तिर जोड दिन्छौं,’ सीइओ पौडेलले भने ।
सचेतना र सामाजिक कार्यमा पनि अग्रसर
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि राम्रो काम गर्दै आएको छ । बैंकका विभिन्न सामुदायिक विद्यालयमा ई–कक्षा सञ्चालन गरेको छ । पहाडी र तराइका विभिन्न सामुदायिक विद्यालयमा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटरलगायतका सामाग्री दिएर डिजिटल कक्षा बनाउने योजनालाई साकार पारिरहेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न ठाउँमा १४ हजार बिरुवाहरु समेत रापेको थियो । हरेक वर्ष वृक्षारोपणलाई निरन्तरता दिने र विस्तार गर्दै जाने बैंकको रणनीति छ । बैंकले नयाँ उद्यमशीलता विकासको योजनालाई साकार पार्नेगरी काम गरिरहेको छ ।
पुस १९ गते साधारणसभा तथा बुक क्लोज
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले साधारणसभा र बुक क्लोज मिति तय गरेको छ । बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा गत आव २०८०/८१ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल ८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने बैंकले जानकारी दिएको छ ।
यस्तै, अन्य विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरिने भएको छ ।
सभामा गत आवको सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८०/८१ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरिनेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।