मोफसलमा ठूलो पुरस्कार राशिको फुटसल प्रतियोगिता

मेचीकाली संवाददाता

४ पुष २०८१, बिहीबार
232 shares

बुटवल । बुटवलमा ठुलो धनराशिको फुटसल प्रतियोगिता हुने भएको छ । मण्डे एफसी, बुटवलको आयोजनामा शुक्रबारदेखि दुई दिने मण्डे एफसी दोस्रो खुल्ला फुटसल प्रतियोगिता–२०८१ हुने भएको हो ।

स्वर्गीय मानबहादुर विश्वकर्माको स्मृतिमा शिव श्रीराम गुल्मेली सुनचाँदी पसलद्वारा प्रयोजित गरिएको प्रतियोगिताको बिहीबार पत्रकार सम्मेलन गरी कप अनावरण तथा टाइसिट सार्वजनिक गरेको छ । प्रतियोगिता तयारी पूरा भएको क्लबका अध्यक्ष रवि विश्वकर्माले बताए । फुटसलको लोकप्रियतालाई मध्यनजर गरि प्रतियोगिता गर्न लागेको विश्वकर्माको भनाइ छ ।

रुपन्देही फुटबलको उर्वरभूमि भएको प्रमाण यहाँ हुने खेल गतिविधिको निरन्तरताले दिने उनको बताए । प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ५० हजार १११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सुरज थापाले बताए । यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर र उत्कृष्ट गोलकिपरलाई नगद ५–५ हजार, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । योगिकुटीस्थित स्वर्णिम फुटसल एरियामा हुने प्रतियोगितामा काठमाण्डौको एक टिमसहित रुपन्देही, नवलपरासीको गरी २० टिमले भाग लिएका छन् ।

कार्यक्रममा कोषाध्यक्ष हरि पोखरेलले लामो समयपछि प्रतियोगिता आयोजना गर्न लागेको बताए । करिब साढे ४ लाख रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताबाट बचेको रकम पूर्वखेलाडी विक्रमसिह ठकुरी आर्थिक सहयोग र युवाहरुलाई खेलकुद सामग्री वितरण गरिने उनले बताए । प्रतियोगितामा सहभागी बाहिर टिमलाई आवासीय सेवासमेत दिइने उनले बताए ।