बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

मेचीकाली संवाददाता

८ पुष २०८१, सोमबार
25 shares


नेत्र गैरे

पाल्पा । बगनासकाली गाउँपालिकाले आ.ब. २०८१÷०८२ को प्रथम चौमासीकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको आयोजना र बगनासकाली पत्रकार समूहको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को प्रथम चौमासिकमा गाउँपालिकाले सम्पादन गरेका काम तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । छिनालले गाउँपालिका, वडा कार्यालय र पालिका अन्तरगतका विभिन्न विषयगत समितिले सम्पादन गरेका कामहरु र आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।


सेवाग्राहीहरुको जिज्ञासाको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले जनतालाई सहज रुपमा सेवा प्रवाह गर्ने विषयमा गाउँपालिका संवेदनशील रहेको बताइन । उनले गाउँपालिकाले सिमीत स्रोत र साधनका बाबजुद पनि बिकास र्निमाणका काममा सबैको साथ र सहयोगमा कामगर्ने बताईन । गाउँपालिकालाई कृषिमा आत्मर्निभर बनाउन मकै, अदुवा बिउ उत्पादन, मौरी, सुन्तलाको पकेट क्षेत्रको रुपमा बिस्तार गरेको उनले बताईन । उनले नागरिकलाई सहज सुविधा दिने कुरामा गाउँपालिका निरन्तर लागिपरेको समेत बताइन । अध्यक्ष चिदीले सार्वजनिक सुनुवाईमा उठेका विषय र आएका सुझावहरुलाई आत्मसात् गर्दै आगामी दिनमा अगाडि बढ्ने समेत प्रतिबद्धता जनाइन ।


गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले जनताका गुनासोलाई यथासिघ्र संवोधन गरिने बताए । उनले आफूहरु साझा जनप्रतिनिधिको रुपमा रही जनताको असल सेवकको रुपमा लागिपरेको बताए । उपाध्यक्ष पाठकले गाउँपालिकाका विकास निर्माणलाई थप प्रभावकारी बनाउन भूमिका खेल्ने बताए ।


कार्यक्रममा सहभागी राजनैतिक दलका नेता, पत्रकार तथा सेवाग्राहीहरुले बगनासकाली गाउँपालिका र वडा कार्यालयको सेवा प्रवाह, नागरिकका अपेक्षा लगायतका विषयमा जिज्ञासाहरु राखेका थिए । हाल गाउँपालिकामा स्वास्थ्यको अवस्थामा सुधार, असारे बिकासको अन्त्य, जन प्रतिनिधिहरु घर घर मै पुगेर जनताको सेवा गरेको पाइएको राम्रो पक्ष रहेको बताउँदै सेवाग्राहीहरुले गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन अल्पकालिन र दिर्घकालिन योजना बनाई काम गर्नुपर्ने, बाँदर समस्या बढ्दै गएको, कृषि तथा पशुपालनका कार्यक्रमहरुमा युवाहरुको आकर्षण बढ्न नसकेको, नदीजन्य पदार्थहरुको निकासीमा भएको प्रक्रिया, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा जनताले सोचेजस्तो प्रगति नदेखिएको, सडक बत्तीको व्यवस्था गरिनुपर्ने, रैथाने बाली संरक्षण गर्नुपर्ने जस्ता सवालहरुको उठान गरेका थिए ।


सेवाग्राहीहरुले उठान गरेका विषयहरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, बिषयगत शाखाका प्रमुखहरुले जवाफ दिएका थिए ।

कार्यक्रममा बगनासकाली पत्रकार समूहका सचिव दयाराज न्यौपानेद्धारा सार्वजनिक सुनुवाईका क्रममा संकलन गरिएको नागरिक अभिमत र सेवाग्राहीहरुको अभिमत्रपत्रको सार प्रस्तुत गरिएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बगनासकाली पत्रकार समूहका अध्यक्ष भोजराज तिमिल्सिना र उपाध्यक्ष नेत्र गैरेले गरेका थिए ।