तुलसीराम पौडेल
फर्साटिकर, पौष २२
फर्साटिकर युवा क्लबको आयोजनामा पौष २० गतेदेखि संचालित शुद्धोधन गाउँपालिका १२औँ फर्साटिकर कप २०८१ अन्तरगत तेस्रो दिन सोमबारको खेलमा देवदह ब्वाइजले शुन्यका विरुद्ध ४ गोलको अन्तरले लिस्नु युवा क्लब कोटिहवालाई पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ।
खेलको मध्यान्तर अघि सुरज चौधरीले खेलको १२औ मिनेटमा गोल गर्दै खाता खोलेको थिए, सत्ताईसौँ मिनेटमा सुमित मल्लले अर्को गोल गर्दै टिमलाई २–० ले अगाडि बढाएका थिए। मध्यान्तरपछि ५ मिनेटमै सन्दीप चौधरीले अर्को गोल गरी टिमलाई ३–० ले अग्रता दिएका थिए भने मध्यान्तरपछिको ८२ औँ मिनेटमा अर्जुन चौधरीले अर्को गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
सोमबारको खेल प्रतियोगितामा देवदह ब्वाइजका खेलाडी सुरज चौधरी म्यान अफ द म्याच घोषित भए।
यज्ञदोय दूधनाथ थारु बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष एवं युवा उद्यमी रमेश खनालले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो। कार्यक्रममा समाजसेवी एवं क्लबका आजीवन सदस्य गणेश खनाल , बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
आउँदो माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार ५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराईले जानकारी दिनुभयो ।
शुद्दोधन गाउँपालिका १२ औँ फर्सा टिकट कप २०८१ मा यही पौष २३ गते मंगलवार गोरखा ब्वाइज रूपन्देही भर्सेस न्यु युथ युनियन पाल्पा बिच प्रतियोगिता हुने आयोजकले जानकारी दिएका छन् ।
शुद्धोधन गाउँपालिका १२ औ फर्साटिकर कप अवलोकन गर्न आएका दर्शकहरूले खेल सँगसँगै विभिन्न स्वादिलो खानेकुराको परिकारहरूको पनि आनन्द लिइरहेका छन् । थारु समुदायहरूको महान पर्व माघी खिचडी नजिकिँदै गर्दा घुंगीको स्वाद लिने पारखी सँगसँगै दर्शकहरूको भिड पनि दिनप्रतिदिन बढिरहेको क्लबका सचिव विष्णु पंगेनीले बताएका छन् ।