बुटवल । बुटवल–१२ तामनगरस्थित रम्भादेवी सेकेण्डेरी स्कुलमा बिहीबारदेखि खेलकुद सप्ताह २०८१ सुरु भएको छ । संस्थाका अध्यक्ष तथा वरिष्ठ समाजसेवी सूर्यबहादुर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा प्रबन्ध निर्देशक मनोजकुमार बस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो ।
उद्घाटन समारोहमा विद्यार्थीहरुले मार्चपास, विभिन्न कला र संस्कृतियुक्त गीतमा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका प्राचार्य केशव श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि अध्ययक्षलगायतले संयुक्त रुपमा विद्यालयको व्यानरसहित बेलुनका गुच्छाहरु आकाशमा उडाइँ, दीप प्रज्वलन तथा बलिङ र व्याटिङ गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा संस्थाका अध्यक्ष सूर्यबहादुर भट्टराईले विद्यार्थीहरुले प्रस्तुत गरेका विभिन्न प्रतिभाहरुको प्रशंसा गर्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमासमेत प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनमा लाग्नका लागि सुझाव दिए । त्यस्तैगरी प्रवन्ध निर्देशक मनोजकुमार बस्नेतले स्वस्थ र सरल जीवनका लागि खेलकुद अपरिहार्य भएकाले सबै पक्षले यसमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा तेक्वान्दो खेलाडीहरुले आआफ्ना कला र कौशल प्रस्तुत गरेको उद्घाटन समारोहमा विभिन्न झाँकीसहित विद्यार्थीहरुले विभिन्न सांस्कृतिक मूल्य र मान्यतालाई उजागर गर्ने उद्देश्यले प्रस्तुत गरेका थिए ।
विद्यालयका सहायक प्राचार्य कमल खनालले स्वागत मन्तव्य व्यक्त गर्दै स्वस्थ जीवनका लागि खेलकुद, सार्थक जीवनका लागि खेलकुद भन्ने मान्यतालाई जोड दिँदै समयसापेक्ष शैक्षिणक क्रियाकलापसँगै खेलकुदलाई पनि विशेष महत्व दिनुपर्ने र हाम्रो विद्यालयले राष्ट्रको आवश्यकतालाई पूरा गर्ने खेलाडी उत्पादन गर्ने बताए ।
यस्तै विद्यालयका प्राचार्य केशव श्रीसले खेलकुद जीवनको अपारिहार्य अंग भइसकेकोले हाम्रो विद्यालयले पनि उत्तिकै महत्व दिएको बताउँदै उद्घाटन सत्रलाई समापन गरे । करिब ११०० विद्यार्थी अध्ययनरत यस विद्यालयमा विभिन्न समूहमा सप्ताहव्यापी रुपमा विभिन्न खेलहरु सञ्चालन हुनेछन् ।
बिहीबारको पहिलो खेल भलिबलमा रेड हाउस र एलो हाउसबिच भएको खेलमा एलो हाउस फाइनल प्रवेश ग¥यो भने ब्लु हाउस र ग्रीन हाउसबिचको खेलमा ब्लु हाउस फाइनलमा प्रवेश गरेको छ । प्राथमिक तहका संयोजक प्रकाश भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।