बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले शुक्रबार संयुक्त रूपमा फुड फेस्टिबल र पुस्तक फेस्टिबल कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीमा पाक कलाको विकास गर्न र पठन सस्कृतिको विकास गर्ने उद्देश्यले खाना महोत्सव र बुक प्रदर्शनी आयोजना गरिएको हो ।
विद्यालयका प्राचार्य भुवन अधिकारीले विद्यार्थी पढदै कमाउँदै गर्न सकून भनेर खाना महोत्सवलाई प्रोत्साहित गरिएको जानकारी दिए । सो अवसरमा विद्यार्थीले विभिन्न परम्परागत परिकारहरु पस्केर आफ्ना अभिभावक, शिक्षक र विद्यार्थीलाई विक्री गरेका थिए । फुड फेस्टिबलको सबै सामानहरु विद्यार्थी आफैले जुटाएका थिए ।
फुड फेस्टिबलमा १७ वटा स्टल राखेर विद्यार्थीहरुले परम्परागत खानाका परिकार पस्केका थिए । विद्यालयले हरेक हस्ता केही न केही सिकाई सम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ । ‘पछिल्लो समय बालबालिका डिजिटल लत बसेको छ’ प्राचार्य अधिकारीले भने भने, ‘त्यसबाट विद्यार्थीहरुलाई टाढै राख्नको लागि हामीले पुस्तक पढने बानीको विकास गर्न थालेका छौं । अभिभावकले पनि बालबालिकाको अगाडि मोबाइल नहेर्ने र बालबालिकासँगै पढनुपर्छ ।’
विद्यालयका निर्वतमान अध्यक्ष रणबहादुर थापाले स्थापनाको छोटो समयमा अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको बताए । गुणस्तरीय शिक्षामा विद्यालय सधै प्रतिबद्ध रहेको निर्वतमान अध्यक्ष थापाको भनाइ छ । विद्यालयका अध्यक्ष झविन्द्र अधिकारीले अभिभावक शिक्षक र कर्मचारी मेहेनतले विद्यालयले सफलता हासिल गरेको बताए । साथै सोही अवसरमा दोस्रो त्रैमासिक परीक्षाको नतिजा पनि प्रकाशन गरिएको छ । २०६८ सालमा स्थापित विद्यालयमा अहिले २ हजार २०० विद्यार्थी अध्ययनरत रहेका छन ।