बुटवलमा शिक्षामा प्रविधिको आवश्यकता र सम्भावनाबारे सम्मेलन हुँदै

मेचीकाली संवाददाता

१६ माघ २०८१, बुधबार
22 shares

बुटवल । बुटवलमा शिक्षामा प्रविधिको भूमिका, चुनौती र सम्भावनाहरूबारे छलफल गर्न ‘बुटवल कन्फरेन्स–२०२५’ आयोजना हुने भएको छ । नेपाल स्टीम एलायन्सको आयोजना तथा कोडिङ ओलम्पिक्स नेपाल, लुम्बिनी वल्र्ड स्कूल र जिनियस टकको सहकार्यमा यही माघ १९ गते शनिबार दियालो फुडल्याण्ड, कालिकानगरमा ‘स्कूल शिक्षामा किन प्रविधि’ सम्मेलन हुने भएको हो ।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी शिक्षामा प्रविधि, एआई, कम्प्युटर साइन्स र डिजिटल सिपहरूको समावेश अनिवार्य बन्दै गइरहेका बेला शिक्षामा रूपान्तरणसम्बन्धी बहस पैरवी र दिशानिर्देश गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको नेपाल स्टीम एलायन्सका संस्थापक/सिइओ सुशिल बुढाथोकीले जानकारी दिए ।

‘विद्यार्थीहरूलाई आधुनिक प्रतिस्पर्धात्मक बजारमा सक्षम बनाउन, शिक्षामा प्रविधिको उचित प्रयोग आवश्यक छ ।’ बढ्दो प्रविधि विकासको यस युगमा, नेपालको शिक्षालाई डिजिटल रूपान्तरणतर्फ उन्मुख गर्नु अनिवार्य छ ।’, उनले भने ।
उक्त सम्मेलनमा विज्ञहरु डा.रामहरि लामिछाने, मङ्गोलिका चक्रवर्ती र सुशिल बुढाथोकीले सहजिकरण गर्ने उनले बताए । सम्मेलनमा शिक्षक, कक्षा १० देखि १२ सम्मका विद्यार्थी, अभिभावक तथा नीति निर्माताहरू सहभागि हुन सक्नेछन् । सहभागिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

कार्यक्रममा डिजिटल शिक्षा र प्रविधि समावेशीकरण, अभिभावक र शिक्षकहरुलाई सशक्त बनाउने पहल, विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणित क्षेत्रमा करियर मार्गचित्र, नीति निर्माताहरुसंग डिजिटल युगमा नेपालको शैक्षिक रणनीतिबारे छलफल हुनेछ ।

बुटवल कन्फरेन्स–२०२५ शिक्षामा प्रविधि समावेश गर्ने प्रयासमा एक महत्वपूर्ण कोसेढुङ्गा हुने लुम्बिनी वल्र्ड स्कूलका प्राचार्य विष्णु ढकाले बताए । ‘यो सम्मेलनले विद्यार्थी, शिक्षक, र नीति निर्माताहरूलाई प्रविधि–आधारित शिक्षाको नवीनतम जानकारी उपलब्ध गराउनेछ ।’, उनले भने ।