सामूहिक सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मेचीकाली संवाददाता

१७ माघ २०८१, बिहीबार
21 shares

तिलोत्तमा । सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३२ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । क्रिमसन अस्पताल मणिग्रामको प्राविधिक सहयोगमा बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

उक्त शिविरमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी चेकजाँच तथा परामर्श सेवा तथा इसिजी एवं सुगर चेकजाँच गरिएको थियो । कार्यक्रममा क्रिमसन अस्पतालबाट स्त्री तथा प्रशुति रोग विशेषज्ञ डा.रुक्साना हकको नेतृत्वमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.कृष्णचन्द्र गोदार, मेडिकल अधिकृत डा.रक्षा पाण्डेसहित १० जनाले स्वास्थ्य सेवा प्रदान गरेका थिए । स्वास्थ्य शिविर कार्यक्रममा २ सय बढी सदस्यहरुले स्वास्थ्यसम्बन्धी विभिन्न सेवा लिएका थिए ।

कार्यक्रममा बोल्दै संस्थाका संस्थापक अध्यक्ष माधवप्रसाद पाठकले केही सहकारी संस्थाहरुमा मात्रै समस्या देखा परेको बताए । समुदायमा आधारीत संस्थाहरु सबै कुरामा सक्षम र वलिया रहेको उनले दावि गरे । उहाँले सामुदायिक उत्तरदायित्वअन्तर्गत संस्थाले गरेका कामको प्रशंसा गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुरेन्द्रकुमार बर्माले संस्थाले स्थापना दिवसको अवसर पारेर विभिन्न सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको जानकारी गराउँदै सामुदायिक उत्तरदायित्वअन्तर्गतका कार्यहरुको दायरा बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मिन प्रसाद पोख्रेलले गरेका थिए । वि.सं २०५० सालमा स्थापना भएको सामूहिक विकास साकोसमा हाल १२ हाल ३५ जना शेयर सदस्य र वासलात ३ अर्व ५८ करोड रहेको छ । यो सहकारी रुपन्देही जिल्लामै ठूलो र उत्कृष्ट सहकारीको रुपमा परिचित छ ।