सैनामैना । सैनामैना व्यापार संघको आठौं साधारणसभाको मिति तय भएको छ । संघले यही माघ २३ गते बुधबार आठौं साधारणसभा गर्ने भएको छ । साधारणसभाका लागि विभिन्न समितिहरु गठन गरि तयारीका काममा जुटेको संघका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।
साधारणसभामा पेश गरिने अध्यक्ष, महासचिव, कोषाध्यक्ष, लेखा समितिका प्रतिवेदनहरुको लेखन र सुझाव संकलनका काम जारी रहेको बताउँदै अध्यक्ष पौडेलले यसपटकको साधारणसभामार्फत विशेष कार्यक्रमहरु तय गरिने बताए ।
संघले व्यवसायिक समस्या समाधान, नीति निर्माणमा सहभागिता र व्यवसाय प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै अध्यक्ष पौडलले आठौं साधारणसभामार्फत विशेष कार्यक्रमको खाका बनाइने बताए ।
सैनामैना नगरपालिकामा अवस्थित एक सामाजिक संस्था हो, जसले स्थानीय व्यापारीहरूको हक र हितमा काम गर्दै आएको छ । संघको स्थापना २०७१ साल भदौ २३ गते भएको हो । संघले स्थानीय उद्योगी, व्यापारी र उपभोक्ताहरूको हितमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको महासचिव भिमलाल सुवेदीले बताए ।
संघले व्यापार मेला, कर सम्बन्धी प्रशिक्षण, राजस्वका प्रावधानहरुबारे जानकारी र अन्य व्यवसायिक कार्यक्रमहरू आयोजना गर्दै आएको महासचिव सुवेदीले बताए । साधारणसभा माघ २३ गते बुधबार पर्रोहा सामुदायिक वनको कार्यालय, सैनामैना–४, मुर्गियामा हुनेगरी तयारी भइरहेको छ । यसका लागि संघको सचिवालय, कार्यसमिति बैठकमार्फत प्रतिवेदनमा सुझाव लिने र अन्तिम रुप दिनेलगायतका तयारीका काममा जुटेको उनको भनाइ छ ।