घनश्याम कोइराला
आज सरस्वती पूजा हो । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा गर्ने प्रचलन रहिआएको छ । यस दिनलाई वसन्त पञ्चमी वा वसन्तोत्सवका रूपमा पनि मनाइन्छ । मनाउने तरिका भिन्नभिन्न भए पनि यो उत्सवको दिन हो । यो पञ्चमीलाई ‘वसन्त’ सँग जोडिएको हुनाले यससँग वसन्त ऋतुका आयामहरू स्वतः जोडिन्छन् र यस दिनको महत्वलाई थप महत्वपूर्ण बनाउँछन् । विद्यार्थीहरूले सरस्वतीको पूजा गर्दछन् र यस्तो मन्त्र उच्चारण गर्दछन्ः
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती । तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी ।।
पञ्चमन्तु जगन्माता षष्ठं वागीश्वरी तथा । सप्तमञ्चैव कौमारी चाष्टमं वरदायिनी ।।
नवमं सिद्धिदात्री च दशमं बह्मचारिणी । एकादश्यां चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।
(भावार्थः पहिलो नाम भारती हो, दोस्रो नाम सरस्वती । तेस्रो नाम शारदादेवी र चौथो हंसवाहिनी हो । जगन्माता पाँचौँ नाम हो, छैठौँ वागीश्वरी हो । सातौँ नाम कौमारी र आठौँ वरदायिनी हो । सिद्धिदात्री नवौँ नाम र ब्रह्मचारिणी दसौँ नाम हो । एघारौँ चन्द्रघण्टा र बाह्रौँ नाम भुवनेश्वरी हो ।)
१. भारतीः भारती नाममा ‘भा’ र ‘रती’ दुईवटा पक्ष छन् । भा भनेको प्रकाश हो र रती भनेको त्यसमा संलग्न देवी हुन् । भाषा मानिसको प्रमुख शक्ति हो । भाषाकै कारण मानिसले अरु प्राणीका तुलनामा धेरै उन्नति गरेर आजको अवस्थामा पुगेको हो । भाषिक शक्तिलाई हाम्रा पूर्वीय दर्शनका पुर्खाले यसै रूपमा ठम्याएका हुनाले भाषाका माध्यमबाट उज्यालो पहिल्याउनका लागि भारती देवीको पूजा एवं सम्मान गरेका हुन् ।
२. सरस्वतीः सरस्वती नाममा ‘सरस्’ र ‘वती’ दुई पक्ष नै छन् । सरस भनेको रसिलो हो र वती भनेको भएकी हो । त्यसैले गुणवती भन्नाले गुण भएकी पुत्रवती भन्नाले पुत्र भएकी भन्ने अर्थ लाग्छ । त्यसका आधारमा रसले सम्पन्न भाषाकी देवी भन्ने अर्थ लाग्छ । शब्दकोशमा भाषाकी अधिकारिणी देवी भन्ने अर्थ दिइएको छ । भाषा सरस भएका मानिसले अरुलाई आफ्नो प्रभावमा पार्न सक्छ । त्यसो त सरस्वती नाम भएकी नदीको उल्लेख पनि वेदमा छ । रस शब्दले पानीलाई पनि जनाउने हुनाले सरस्वती नदीलाई पानीकी धनी भनिएको हो । पानी जीवनको आधार भएझैँ रसिलो भाषा पनि जीवनलाई सहज बनाउने हुनाले भाषाको सौन्दर्य वृद्धिका लागि पुर्खाले सरस्वती नाम राखेर भाषाकी देवीको पूजा गर्ने प्रचलन चलाएका हुन् । भाषाकी देवीका बाह«वटै रूपलाई यही सरस्वती नामले प्रतिनिधित्व गरेको छ ।
३. शारदादेवीः हामी शारदा देवीको पूजा गर्दै छौँ । शारदा देवीलाई पनि शब्दकोशमा भाषाकी देवी भनिएको छ । शारदाको सम्बन्ध शरद् कालीन पूर्णिमाका चन्द्रमा सँग रहेको प्रतीत हुन्छ । शरद्को आकाश सफा हुन्छ र त्यस बेलाको पूर्णिमाको चन्द्र उज्यालो हुन्छ । मनलाई आकाश र भाषालाई चन्द्रमाका रूपमा कल्पना गरिएको अनुमान गर्न सकिन्छ । सफा मनले स्पष्ट भाषाको प्रयोग गर्ने मानिसका जीवनमा आपद् पर्दैन र परिआएको आपद्विपद् पनि हटेर जान्छ । त्यसैले सफा मन र सफा वाणी प्राप्त हुने विश्वास गरिन्छ । शब्दकोशमा एक प्रकारका लिपिको नाम पनि शारदा लिपि भन्ने छ । लेख्य भाषा जति सरल र सफा हुन्छ उति नै पाठकले बुझ्न सजिलो हुन्छ । सुस्पष्ट लेख्य भाषाको अभ्यास होस् भनेर शारदादेवीको पूजा गर्ने प्रचलन प्रारम्भ भएको हुनुपर्छ ।
४. हंसवाहिनीः हामी अहिले हंसवाहिनी देवीको पूजा गर्दै छौँ । हंसवाहिनी भनेको हाँसको वाहन भएकी देवी हुन् । हाँस विवेकको प्रतीक हो । दुध र पानी छुट्याउने अर्थात् क्षीरनिरविवेकी भनिन्छ । भाषाको प्रयोगमा न्यायअन्यायको विवेक रहोस् भन्ने उद्देश्यले सरस्वतीका यस रूपको आराधना गरिन्छ । मानिसको बोलीमा विवेक रह्यो भने नै व्यवहारमा विवेक रहन्छ र मानिसको व्यक्तित्वले उच्चतम अवस्था प्राप्त गर्दछ । भाषाकै विवेकले मानिस अन्यायमा पर्नबाट सुरक्षित रहन्छ । भाषाको प्रयोगकै विवेकले मानिस हानिनोक्सानीबाट सुरक्षित रहन सक्छ । भाषा प्रयोगमै विवेक पुर्याउनाले मानिस राजा, शत्रु, दैवका प्रकोपबाट सुरक्षित हुन्छ । त्यसैले हंसवाहिनी देवीका रूपमा सरस्वतीको पूजा गर्ने अन्वेषण हाम्रा पूर्वीय वाङ्मयका पूर्वजहरुले गरेका हुन् ।
५. जगन्माताः जगन्माता नामबाट हामी सरस्वतीको पूजा गर्दै छौँ । आमा शक्ति हुन् र जगन्माता शब्दको अर्थ लगाउँदा जगत्की माता भन्ने लाग्छ । वास्तवमा बोलीले नै बिग्रेको काम बनाउन सकिने हुनाले बोलीकै प्रभावले संसार जित्न सकिन्छ । बोली नै संसार जित्ने साधन हो र सरस्वतीका नाममा वाणीलाई नै पूजा गर्ने हाम्रा पितापुर्खाको बुद्धिमत्ता कति धेरै यहाँ देखिएको छ । त्यसलाई नै सुन्दर संसारको सृजना भन्न सकिन्छ । जसले आफूलाई जान्दछ, उसले संसारका धेरै कुरा जानेको हुन्छ । जान्ने र जानेको कुरा सिकाउने माध्यम ने भाषा हो । संसार गतिशील छ त्यसैले यसलाई जगत् भनिएको हो । संसारको यस गतिशीलतालाई जानेका मानिसले वाणीमा संयम राख्न सक्छ भन्ने भावमा नै सरस्वतीको जगन्माता रूपको पूजा गरिएको हो ।
६. वागीश्वरीः वाक् र ईश्वरी शब्दको मेलबाट वागीश्वरी नाम निर्माण भएको छ । वाक् भनेकै वाणी हो । ईश्वरी भनेको अधिकार भएकी देवी भन्ने हो । ईश्वरी शब्दको अर्थ ऐश्वर्य भएकी भन्ने पनि हो । वाणीमा ऐश्वर्य रहेको हुन्छ । वाणीमा दरिद्रता भएका मानिसले उसका हातमा भएको पनि गुमाउँछ भने वाणीलाई ऐश्वर्यशाली बनाउन सक्ने मानिसका अधीनमा सम्पूर्ण विश्व छ । वाणीको सम्मान गर्न सक्नेलाई संसारले सम्मान दिन्छ भने आफ्नै मुखले दुर्वाच्य बोल्नेलाई अरुले पनि हेला गर्दछन् । हाम्रा समाजमा वाणीको सदुपयोग र सम्मान गर्ने बालबालिका र युवा समुदाय कति छ आज त्यो विचारणीय कुरो हो । हामी वागीश्वरी देवीको पूजा गर्दै छौँ । वाणीबाट ऐश्वर्य प्राप्त होस् । वाणीले नै ऐश्वर्य हो, यसको सदुपयोग गरौँ जस्ता भावहरु यसबाट पाइन्छ ।
७. कौमारीः कुमारीत्वको भाव नै कौमारी हो । हामी अहिले कौमारीका नाममा सरस्वती देवीको पूजा गर्दै छौँ । कुमार वा कौमार अवस्थाका मुख्य विशेषताहरुमा एक परित्रतासम्पन्न हो भने अर्को उदीयमान अवस्था हो । कुमार अवस्था जीवनका विषयमा जानबुझ गर्न सक्ने सबैभन्दा सानो उमेर हो । यस पवित्रतासँगै जीवनको र वाणीको विकास गर्न सकेमा मानिसले जीवनमा अपार उन्नति गर्दछ । धन, मान र बौद्धिकताले सम्पन्न भएपछि मानिसको जीवन त्यसै पनि आनन्दमय हुन्छ । आनन्दमय जीवनको खोजीका लागि कौमारी देवीको पूजा गर्ने प्रेरणा हामीलाई पुर्खाबाट प्राप्त भएको छ ।
८. वरदायिनीःवरदायिनीको आशय जीवनलाई वरदान दिने हो । उत्कृष्ट भाषाको प्रभाव जीवनको सफलता हो । सफल जीवन मानिसको सर्वश्रेष्ठ वरदान हो । जीवनलाई वरदान प्राप्त बनाउने वा अभिशाप ग्रस्त बनाउने भन्ने पनि मानिसको आफ्नै हातमा छ । हामी यस बेला वरदायिनी देवीका रूपमा सरस्वतीको पूजा गर्दै छौँ । सरस्वतीको यस रूपले मानिसको जीवन शिक्षित, उच्च स्तरीय बनाउँछ भन्ने हाम्रा पुर्खाले ठम्याएको अति वैज्ञानिक र सान्दर्भिक छ । किनभने शिक्षित र शिक्षाअनुसार विवेकी जीवनलाई नै वरदान पाएको जीवन भन्न सकिन्छ । शिक्षा र शिक्षाको सदुपयोगबाट वर्तमान जीवनको अवस्थालाई परिवर्तन गराउँदै नयाँ सोचमा पुग्न सक्नु र त्यसबाट नयाँ कुरा पत्ता लगाएर सुखी हुन सक्नु नै वरदायिनी देवीको वरदान हो ।
९. सिद्धिदात्रीः सिद्धिदात्रीको अर्थ सिद्धि प्रदान गर्ने हो । भाषामा सफलता पाएका मानिसले जुनसुकै काममा सफलता प्राप्त गर्न कुनै असुविधा हुँदैन । त्यसो त शास्त्रमा आठ प्रकारका सिद्धिको चर्चा गरिएको छ । ती सिद्धिहरु जीवनका प्रत्येक क्षेत्रमा आवश्यक हुन्छन् । सिद्धिको अर्थ सफलता हो । सृष्टिमा मानिस नै एउटा त्यस्तो प्राणी हो, जसले आफ्नो वाणी र कर्ममा सफलता वा सिद्धिको अन्वेषण गर्छ । त्यसैले सिद्धिदात्री देवीको आराधना जोसुकैले गरेको हुन्छ । मानिसले ठूलो स्वरले कराएर होस् वा सानो स्वरले फकाएर होस् आफ्नै भनाइलाई सही सिद्ध गर्न खोजेको हुन्छ । सरस्वती विद्याकी देवी हुनाले विद्वान्ले गरेका कुरामा तर्क र प्रमाण हुन्छ । उसले समाजको चित्त बुझ्ने कुरा गर्न सक्छ । वाणीकी देवीको आराधनाबाट वाणीमा सफल भएर जीवन सिद्ध हुन्छ ।
१०. ब्रह्मचारिणीः अध्यात्म दर्शनमा ब्रह्म भनेको संसारको सञ्चालक परब्रह्म हो । अक्षरं ब्रह्म भन्ने शास्त्रका भनाइले लिखित अक्षर पनि ब्रह्म हो र कहिल्यै नाश नहुने पनि ब्रह्म नै हो । त्यसो त मौखिक रूपमा अभिव्यक्त भएको भाषा बिर्सिने र हराउने सम्भावना हुन्छ भने लिपिबद्ध भएको विचार स्थायी रहन्छ । अत्यन्त प्राचीन कालदेखि वेदको सत्ता समाजमा विद्यमान छ । वेदलाई पनि ब्रह्म भनिन्छ । वेद, ज्ञान, अक्षर, भाषालाई अक्षय मानेर ब्रह्म भन्न भनिएको छ । उही ब्रह्म यहाँ मातृशक्तिका रूपमा पूजित छ र ब्रह्मचारिणी भन्ने नाम प्रदान गरिएको छ । ज्ञानदाता पुरुष शक्तिलाई पनि ब्रह्म भनिन्छ । मानवीय समाजमा प्राथमिक ज्ञानको सम्प्रेषण मातृशक्तिबाट नै हुने भएकाले ब्रह्मचारिणी भनेर सरस्वतीको पूजा भएको प्रतीत हुन्छ । ब्रह्मचर्य हाम्रा समाजमा प्राचीन कालदेखि चलिआएको एक आश्रम पनि हो । यो आश्रम संयम र शिक्षा ग्रहण गर्ने रूपमा परिचित छ । त्यसै आश्रममा रहेर शिक्षा आर्जन गर्ने शक्ति प्राप्तिका लागि ब्रह्मचारिणी सरस्वतीको पूजन हामी गर्दै छौँ ।
११. चन्द्रघण्टाः सरस्वतीका चन्द्रघण्टा रूपको सम्बन्ध चन्द्रमा र घण्टासँग रहेको अनुमान हुन्छ । चन्द्रमाले उज्यालो दिनुका साथै शीतलता प्रदान गर्दछ । अमृतको वर्षा चन्द्रमाले गराउँछ, औषधीमा फल चन्द्रमाकै कारण लाग्छ भन्ने हाम्रो शास्त्रीय मान्यता छ । वास्तवमा भाषाकै कारण मानिस अज्ञानको अँध्यारोबाट निस्केर तमसो मा ज्योतिर्गमय भनेझैँ उज्यालोतर्फ उन्मुख हुन्छ । घण्टा सूचना र गतिशील समयको प्रतीक हो । चन्द्रघण्टा नामले सरस्वतीको पूजन गर्दा समय अनुसार सुसूचित हुने पक्षमा सङ्केत गरेको देखिन्छ । संसार विशाल छ र यो परिवर्तनशील पनि छ । समाजमा निरन्तर आइरहेका परिवर्तनको जानकारी जसले प्राप्त गर्न सक्छ वास्तवमा उसैलाई विद्वान् भन्नु उपयुक्त हुन्छ । हामी चन्द्रघण्टा देवीका रूपमा सरस्वतीको पूजा गर्दै छौँ । यसले हाम्रो ज्ञान र शिक्षा समयसँगै परिवर्तनमा आएका कुराबाट सूचित होस् र उज्यालोभन्दा झन उज्यालो खोजी गर्न हामी सफल हौँ भन्ने आशयलाई लक्षित गरेको छ ।
१२. भुवनेश्वरीः सरस्वतीको यस रूपलाई पृथ्वीलोक मात्रै होइन अन्य भुवनकी पनि अधिपति मानिएको छ । तीनवटा लोकहरुमा जम्मा चौध भुवन छन् भन्ने हाम्रो शास्त्रीय मान्यता छ । आफ्ना शरीरको, आफन्तको, समाजको, देशको र विश्वको ज्ञान भाषाबाटै सम्भव हुन्छ । त्यसै गरी भाषाबाट लिएका ज्ञानले पृथ्वीभित्र भएको समुद्र, भूगर्भ आदि अनेकौँ प्रकारका भूबनोट तथा यस पृथ्वीभन्दा पर रहेको अन्तरिक्षसम्मको ज्ञान लिन सकिन्छ । भाषिक सम्प्रेषणको अभावमा आफू र आफ्ना नजिकै भएका वस्तुको पनि जानकारी लिन वा दिन सम्भव हुँदैन । भुवन र ईश्वरी भन्ने दुई शब्दको बनोटबाट भुवनेश्वरी नाम भएकी सरस्वतीको हामी पूजा गर्दै छौँ । यसबाट भाषाको सामथ्र्य भएमा जहाँसुकैको ज्ञान लिन सकिन्छ भन्ने खोज भएको बोध हुन्छ ।
सरस्वती प्रार्थनामा यो श्लोकलाई निष्कर्षका रूपमा हेर्न सकिन्छः
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः । जिह्वाग्रे वसति तस्य ब्रह्मरूपा सरस्वती ।।
(भावार्थः यी बाह्रवटा नामलाई जुन मानिसले प्रत्येक दिनका बिहान, दिउँसो र साँझ तीनवटै सन्ध्याकालमा पाठ गर्छ उसका जिब्रामा ब्रह्मको रूप भएकी अविनाशी सरस्वती बास गर्दछिन् ।)
यो सरस्वती वन्दना हो । हामी सानो छँदा दुवै हात जोडेर, आँखा चिम्लेर यस्तो स्तुति गरिन्थ्यो । यो स्तुति हामीले सरस्वतीलाई प्रसन्न पारेर विद्याशिक्षा र ज्ञान प्राप्त गर्न माता सरस्वतीको कृपा प्राप्त गर्नु नै यो स्तुतिको मूलभूत उद्देश्य हुन्थ्यो । यो स्तुतिमन्त्रको अर्थ हामीलाई के थाहा ? अर्थ नै थाहा नभएपछि विस्तारै यो मन्त्र गाएर स्तुति गर्न पनि छोडियो । अर्थ, भाव, उद्देश्यमा स्पष्ट नभएपछि विस्तारै सबै कुरा यसरी नै छुट्दै जान्छ । छुट्दै जाने मात्र होइन, त्यसप्रतिको भावनात्मक लगाव पनि छुट्छ र विस्तारै त्यसप्रति नकारात्मक पनि बन्दै गइन्छ र पहिले अनजानमा अवलम्बन गरिएका सबै विषय वाहियात् र अन्धविश्वास लाग्दछन् । अहिले धेरै विषय यस्तै भइरहेको छ । त्यसैले जे गरिन्छ, त्यसबारे बुझ्न आवश्यक छ– जानेर गरे विज्ञान, नजानेर गरे अन्धविश्वास !
आध्यात्मिक मूल्यमान्यताहरूलाई वस्तुका रूपमा छाम्न, सुँघ्न, गन्न, नाप्न, तौलन सकिँदैन । यिनीहरूलाई अनुभूति गर्न सकिन्छ । पूजाआजाका परम्परामा यही भेटिन्छ । सबैले यसको अर्थ नजानिएको होला वा अर्थ जानेकै भए पनि अन्तर्वस्तु थाहा नपाइएको हुन सक्दछ । यसको तात्पर्य बुझ्ने हो भने यसको आध्यात्मिक पक्ष स्पष्ट हुन सकिन्छ ।
सरस्वतीको सार हेर्दा यस्तो देखिन्छः भारती–भाषा हुन् । सरस्वती— भाषाकी अधिष्ठात्री देवी हुन् । शारदा देवी–भाषाको लिखित रूप हुन् । हंसवाहिनी–विवेक पु¥याएर भाषा प्रयोग गर्न प्रेरित गर्दछिन् । जगन्माता–भाषाका शक्तिले नै नयाँ संसारको निर्माण हुन्छ । वागीश्वरी–भाषाबाटै मानिसलाई ऐश्वर्य एवं सुख प्राप्त हुन्छ । कौमारी–पवित्र र उन्नतिशील भाषाको प्रयोग गरौँ । वरदायिनी–त्यस्तो भाषाले जीवनलाई सफलता प्रदान गर्दछ । सिद्धिदात्री–परिष्कृत भाषाले नै मानव जीवनको पुरुषार्थ सिद्धि हुन्छ । ब्रह्मचारिणी–भाषाको शक्ति अनन्त छ र विश्वब्रह्माण्डको ज्ञान प्राप्ति गराउँछ । चन्द्रघण्टाः भाषाबाटै हामी ज्ञान, सूचना र गति प्राप्त गर्दछौँ । भुवनेश्वरी–भाषाकै सिद्धिले संसारभित्र र संसारबाहिरका लोकहरुको ज्ञान र अधिकार प्राप्त हुन्छ ।
सरस्वती पूजाको अन्तर्वस्तु नबुझी पूजा मात्र गर्नुको खास अर्थ रहँदैन । हामी भाषाको सफल एवं सुन्दर प्रयोगका लागि सरस्वतीको पूजा गर्दछौँ । सरस्वतीको रूप मातृशक्ति वा महिलाको छ । वाणी वा सरस्वतीलाई मातृशक्तिका रूपमा हाम्रा पुर्खाले पूजा गर्नु अत्यन्त वैज्ञानिक लाग्छ । मानिसका जन्मअघिको कुरो गरेर साध्य छैन । जन्मनेबित्तिकै देखि उसले स्वावलम्बी बनेर आफ्ना खुट्टामा नउभिएसम्म हेरौँ पाइलैपिच्छे मातृशक्तिले नै उसलाई शिक्षित पार्दै ल्याएको हुन्छ । जन्मनेबित्तिकै उसले खान पनि जानेको हुँदैन । पेट भर्न र बाँच्न सिकाउने पनि मातृशक्ति नै हो । सरसफाइ, नियमअनुसाशन, आफन्तबिरानाको परिचयदेखि लिएर संस्थागत वा अनौपचारिक शिक्षादीक्षामा पनि मातृशक्तिले पहिले हात अगाडि सारेको हुनुपर्छ । त्यसैले त यी विद्यालयहरुमा शिशु कक्षा, नर्सरी गर्दै झन्डै पाँच कक्षासम्म सरहरु भन्दा बढी मिसहरुले जिम्मेदारी पाएको देखिन्छ । हाम्रा पुर्खाले शिक्षामा बाह्र प्रकारले मातृशक्तिले सहयोग गरेको बुझेर नै सबै क्षेत्रलाई समेट्ने गरी सरस्वतीका बाह्र रूपको पूजा गराएका हुन् ।
यस भनाइको तात्पर्य मातृशक्तिले बाह्रवटा रूप लिएर जुन उद्देश्यले मानिसलाई शिक्षित गराउनमा प्रयास गरेका छन् त्यसलाई कुनै दिन कुनै क्षण नबिर्सने मानिस ज्ञानबुद्धिले सम्पन्न हुन्छ र कहिल्यै नाश नहुने ज्ञान उसले संसारलाई दिन सक्छ भन्ने हो । भाषा नै मानिसको सबैभन्दा ठूलो शक्ति हो । सरस्वतीको पूजा भनेको नै भाषाको पूजा हो । माथि उल्लेख भएका बाह्र रूपमा भाषाको पूजा गर्नाले सरस्वतीको वास्तविक पूजा हुन्छ र सिङ्गो रूपमा सरस्वतीको प्रार्थना हुन्छ । सरस्वतीका रूपमा नारीशक्तिको पूजा गर्नुको सामाजिक औचित्य यसै प्रकारले विवेच्य छ । अल्बर्ट आइन्स्टाइनको The Word creat the world को आधार पनि यही हो जस्तो देखिन्छ । कुनै पनि विषयलाई सिर्जनात्मक ढङ्गले हेरियो भने सिर्जनशीलता बढ्दछ । सरस्वती पूजाको आसय यही नै हो ।