सैनामैना ब्यापार संघको साधारण सभा सम्पन्न

मेचीकाली संवाददाता

२३ माघ २०८१, बुधबार
21 shares

सैनामैना । सैनामैना व्यापार संघ रुपन्देहीको आठौं साधारण सभा बुधबार सम्पन्न भएको छ । त्यसअघि साधारण सभाको एक समारोहका बीच बुधबार उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले संगठनको हकहितका साथसाथै मुलुक निर्माणमा समेत उद्योगी व्यवसायीले योगदान दिन आग्रह गरे । उनले आठौं साधारण सभा सम्पन्न भैरहँदा अर्को बर्ष हुने नवौं साधारण सभाले नयाँ योजनाहरु र नयाँ नीतिहरु लिएर आउने छ भन्ने शुभकामना दिए । निजी क्षेत्रको सहकार्य र समन्वयमा समृद्ध नगरको संकल्प साकार पार्न लागिने उनको भनाइ थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै सैनामैना नगरपालिकाका प्रथम नगर प्रमुख चित्रबहादुर कार्कीले व्यवसायीहरुका समस्याको समाधानका लागि सार्वजनिक र निजी सहकार्यको माध्यम उपयुक्त हुने बताए । उनले अत्यन्त सहजरुपमा व्यवसाय नविकरण गर्ने वातावरण वनाउने गरि व्यवसायीको मन जित्ने काम गर्न व्यापार संघ र उद्योग वाणिज्य संघहरुलाई सुझाव दिए । उनले व्यवसायीहरुको धैरै खालको समस्याहरु रहेकोले ती व्यवसायीका समस्यालाई मसिनो ढंगले बुझेर सम्वन्धित स्थानमा व्यवसायीका मुद्दाहरु पु¥याउने र समाधान गर्ने सफलता मिलोस भन्ने शुभकामना दिए ।

लुम्बिनी चेम्बर अफ कमर्सका महासचिव शिव ज्ञवालीले व्यवसायिक हक हीत र सम्बर्द्धनका लागि चेम्बर अफ कमर्सले आवधिक र दीर्घकालीन महत्त्वका योजना बनाएको बताउँदै कार्यान्वयनमा सबैको सहकार्यको खाँचो रहेको बताए ।

सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिका वडा नं ४ का वडा अध्यक्ष रामप्रसाद अधिकारी, सैनामैना उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष लोकनाथ अधिकारी, सैनामैना व्यापार संघका पूर्व अध्यक्ष जीवनाथ पाण्डे, तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र न्यौपानेलगायतले बोलेका थिए ।

संघका अध्यक्ष सुरेन्द्र पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै मेला महोत्सव सञ्चालन गर्ने, कर र राजस्वको विषयमा प्रशिक्षण सञ्चालन गर्ने, व्यवसाय अभिवृद्धिका योजना बनाउनेलगायतका कार्यक्रम तय गरिने बताए । महासचिवको प्रतिवेदन भने संघका उपमहासचिव गोविन्द पोखरेलले प्रस्तुत गरेका थिए ।

बार्षिक साधारण सभाको अवसरमा संचार क्षेत्रबाट योगदान पु¥याएको भन्दै साझा टेलिभिजन एचडीका प्रवन्ध निर्देशक भुवन जिसी र रेडियो टाईम्सका प्रवन्ध निर्देशक नरेश चौधरीलाई नगदसहित सम्मान र पुरस्कृत गरिएको थियो । त्यसैगरी खेल क्षेत्रबाट योगदान पु¥याएको भन्दै कृष्ण श्रेष्ठ (काले कृष्ण) लाई पनि साधारणसभाकै अवसरमा सम्मान गरिएको थियो ।

त्यसैगरि कोषाध्यक्षको प्रतिवेदन पुष्पा आचार्यले प्रस्तुत गरेकी थिइन् । कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष देवीदत्त सुबेदीको स्वागत तथा सचिव चामबहादुर क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।