

टेकराज पन्थी
व्यापार, मनोरञ्जन, शिक्षा, अनुसन्धान वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । आफ्नो क्षेत्रबाट बाहिर चौबीस घण्टाभन्दा बढी तर एक वर्षभन्दा कम समय बस्ने गरी मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयस्रोत हुने क्रियाकलापबाहेक अरू उद्देश्यका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । जब यात्रालाई व्यवस्थित र व्यवसायिक रूप दिइन्छ त्यसलाई पर्यटन ब्यवसाय भनिन्छ । नेपालमा पर्यटन सबैभन्दा ठूलो उद्योग हो र पर्यटन विदेशी मुद्रा र राजस्वको सबैभन्दा प्रमुख स्रोत हो । संसारको ८००० मिटर माथिका उच्च हिमाल नेपालमा पर्दछन् । नेपाल पर्वतारोहण र रक आरोहीहरूको लागि प्रमुख गन्तव्य रहेको छ । विविध धार्मिक स्थलहरू, विभिन्न जातजाति, भेषभुसा, रहनसहन, कला र सांस्कृतिक, प्राकृतिक, भौगोलिक तथा वातावरणीय विविधता रहेको महत्वपूर्ण आकर्षणहरू हुन् ।

धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, जंगल पर्यटन, शैक्षिक पर्यटन, जल पर्यटन, पर्या पर्यटन, ट्रेकिङ, हाइकिङ, पर्वतारोहणलगायत धेरै प्रकारका पर्यटनहरू छन् । पर्यटकहरू विशेष गरेर भारत, श्रीलंका, संयुक्त राज्य अमेरिका, थाइल्याण्ड, संयुक्त अधिराज्य बेलायत, क्यानडा, चीन, जापान, जर्मनी, फ्रान्सलगायत धेरै देशहरूबाट आउछन् । सन् २०११, सन् २०१२, सन् २०१७, सन् २०१८ र सन् २०२३ मा पर्यटकहरू नेपालमा प्रसस्त मात्रामा आएको पाइन्छ । तर सन् २०२० र सन् २०२१ मा पर्यटक आगमनमा अत्यन्तै कमी आएको पाइन्छ । विश्वब्यापी कोभिड महामारीका कारण पर्यटक आगमन घटेको हो । पर्यटनलाई व्यवस्थित गराउन विभिन्न कानुनहरू निर्माण भएका छन् । पर्यटन ऐन, नेपाल नागरिक उड्ययन ऐन, नेपाल पर्यटन बोर्ड ऐन, अध्यागमन ऐन, नेपाल नागरिक उड्ययन प्राधिकरण ऐन, नेपाल वायुसेवा निगम ऐन, लगायत धेरै ऐन, कानुन, नीति, रणनीतिहरू बनेका छन् ।
पर्यटन र पर्यटक आन्तरिक र बाह्य दुवै प्रकारका हुन्छन् । आफ्नै देशमा घुमफिर गर्ने पर्यटक आन्तरिक र अर्को देशको भ्रमण गर्ने बाह्य पर्यटक हुने गर्दछन् । पर्यटनको मुख्य कार्य देशभित्र विदेशी मुद्रा भित्र्याउनु हो । यसबाट ज्यादा फाइदा होटल व्यवसायीलाई हुन्छ । पर्यटनले देशको अर्थव्यवस्थाका विविध पक्षमा प्रभाव पारिरहेको हुन्छ । पर्यटनबाट आर्थिक गतिविधि चलायमान हुने भएकाले पर्यटनलाई उद्योगका रूपमा लिने गरिएको हो । पर्यटकहरूले टेलिभिजन, रेडियो, विज्ञापन, ट्राभल एजेन्सीहरू, होटल, गाइडबुक, लेख रचना, आफन्त, साथीभाइ र यातायात माध्यमबाट त्यस्ता ठाउँका बारेमा जानकारी पाउने र तिनीहरूको भ्रमणका गर्ने गर्दछन् । होटल, बार र रेस्टुरेन्ट, मेला, प्रदर्शनी, सम्मेलन, किनमेल गर्ने स्थानहरू पर्यटकलाई तान्ने तत्वहरू हुन् । कुनै पनि स्थानका मानिसहरूको अतिथि सत्कार, परम्परा, शान्ति सुरक्षाको अवस्था र अन्य परिस्थितिले समेत पर्यटकहरूलाई प्रभाव पार्ने गर्दछ । पर्यटन व्यवसायलाई व्यवस्थित बनाउन होटल व्यवसायको ठुलो भुमिका रहन्छ ।
होटलभित्र विभिन्न प्रकारका स्वादिष्ट भोजन, खाजा, पेयपदार्थ, मिष्ठान्न, फलफूल आदिको व्यवस्था र पर्यटक वा यात्रीहरुलाई आवश्यकताअनुसारको दिवा या रात्रीकालीन विश्रामको सुविधा रहेको हुन्छ । पर्यटकहरुलाई एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाँदा त्यसठाउँको भाषा, खान र बस्नका लागि सुरक्षित वातावरणको आवश्यकता पर्दछ । होटल तथा पर्यटन व्यवसाय पनि सेवा र अर्थसँग सम्बन्ध राख्दछ । विभिन्न ठाउँबाट आएका पर्यटकहरुलाई विभिन्न किसिमका जानकारी र त्यस ठाउँको घुमफिरका क्रममा सुरक्षित आवास र खानपिनको आवश्यकता पर्दछ । पर्यटकहरूलाई मिठो बोली, असल व्यवहार, मिठो खाना, सुरक्षित आवास मन पर्दछ । त्यसैगरी नयाँ ठाउँमा आएका मानिसहरुलाई सही मार्गदर्शकको पनि आवश्यकता पर्दछ । होटल व्यवसाय भएकाले सरकारी र सम्बन्धित निकायमा दर्ता भएर सञ्चालन भएको हुँदा बढी विश्वसनीय हुन्छ । त्यसैले होटल सार्वजनिक संस्था हो । होटलले यात्रु तथा अथितिहरुको सत्कार गर्ने र सही जानकारी दिने उसको कर्तव्य हुन्छ ।
संसारको कुनै पनि ठाउँमा राम्रा नराम्रा मानिसहरु हुने भएकाले अन्य व्यक्तिबाट सहयोग लिदा कतै नराम्रो नियतको मानिसको फेला परेमा उसले ठग्ने तथा लुट्ने समस्या पनि उत्तिकै रहन्छ । यसकारण यस्ता क्रियाकलापबाट बच्नका लागि पनि पर्यटक तथा यात्रुहरु होटललाई एक सुरक्षित स्थानका रुपमा लिने गर्दछन् । यसकारण होटेल पर्यटकहरुको वासस्थानका लागि सुरक्षित स्थान हो । जब होटल व्यवस्थित, सफा, सुन्दर, सफा, जब होटल व्यवसायमा सफा, सुरक्षित र मूल्यमा एकरूपता कायम गर्न सकिन्छ तब मात्र पर्यटनका माध्यमबाट होटल ब्यवसायको विकास हुन्छ । पर्यटकले चाहेको ठाउँमा घुमाउने, यातायातको व्यवस्था गरिदिने तथा उपयुक्त गाइडको व्यवस्था गर्ने काममा पनि होटेलहरुको महत्वपूर्ण भूमिका रहन्छ । पर्यटन व्यवसायका लागि होटेल व्यवसाय र होटेल व्यवसायका लागि पर्यटन व्यवसाय एकै सिक्काका दुई पाटा हुन् भन्ने हेक्का होटल व्यवसायीले बिर्सनु हँुदैन । नेपालमा होटल तथा रेष्टुरेण्टहरू गरेर करिब १४२२२३ को संख्यामा रहेको र सो मध्ये स्टार होटलहरू ७८ वटा रहेको एक तथ्याङ्कमा उल्लेख गरेको पाइन्छ । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ५२१२३ र सवै भन्दा कमी कर्णाली प्रदेशमा ७११० वटा होटल तथा रेष्टुरेण्टहरू रहेका छन् । कोशीमा प्रदेशमा २५८८७, लुम्बिनी प्रदेशमा २०१५८, गण्डकी प्रदेशमा १६९७६, मधेश प्रदेशमा ११७४०, सुदूरपश्चिम प्रदेशमा ८२२८ का होटल तथा रेष्टुरेण्टहरू रहेका छन् ।
नेपालमा यति धेरै होटल हुनु खुसीको विषय हो । सरकारले हालै जारी गरेको अध्यादेशले होटललाई उद्योगका रूपमा मान्यता दिने भएपछि होटल व्यवसायीहरू उत्साहित छन् । उनीहरूले पहिलेदेखि राख्दै आएको माग सम्वोधन हुने क्रममा पुगेको छ । अहिले आएको अध्यादेशमा होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा वर्गीकरण गरिएको छ । उद्योगका रूपमा मान्यता पाएपछि सेवा सुविधा र करको पक्षमा सहुलियत भएपनि होटल व्यवसायको तुरून्तै विकसित हुन सक्ने संभावना न्यून नै देखिन्छ । यसका लागि त पर्यटन पूर्वाधारको विकास हुनु अपरिहार्य छ । पर्यटन पूर्वाधारको अभावमा अहिले होटलहरू क्षमताको ३० प्रतिशत मात्र सन्चालन भइरहेका छन् ।
होटललाई उद्योगका रूपमा मान्यता दिदा बिजुली खपत गर्दा आम सर्वसाधारणले जसरी १२ देखि १७ रुपैयाँ युनिटसम्म शुल्क तिर्नु पर्ने अवस्था थियो । त्यस्तै अवस्था होटेलको पनि थियो । तर अब उद्योगको रुपमा स्थापित भए पछि जसरी उद्योगहरूले बिजुलीमा छुट पाउने गरेका छन् । त्यस्तो छुट पाउने सम्भावना पनि हुन्छ । उद्योगलाई सरकारी जग्गाहरू लिजमा लिने बिषयमा केही लचक हुने हँुदा होटलले पनि सहुलियत पाउन सक्ने भयो । यसरी सरकारले होटल ब्यवसायलाई क्रमश सुविधा दिँदै जाने भएकोले होटलहरूले पनि होटलको स्तर अनुसार कोठाको मूल्यमा र खानामा एकरूपता ल्याउनुपर्छ । त्यस्तै होटल भएका ठाँउअनुसार खाना र कोठाको मूल्य पनि नेपालभर एकै प्रकारको हुनुपर्दछ ।
मापदण्डबिनाका च्याउ उम्रेजस्तो गरी होटल खोलेर मात्र हुँदैन । त्यसले होटलको मापदण्ड पुरा गर्न सकेको छ छैन अनुगमन गर्न जरूरी छ । गुणस्तरीय खाना र बस्नका लागि उपयुक्त मापदण्ड पूरा गरे नगरेको प्रभावकारी अनुगमन हुनु पर्दछ । नेपाल होटल महासंघ, उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण कार्यालय, स्थानीय तह र पालिका तथा जिल्ला स्तरीय होटल ब्यवसायी संघहरूबाट प्रभावकारी अनुगमन तथा निरीक्षण गरेर मापदण्ड पूरा नभएका होटललाई समय दिएर मापदण्ड पूरा गर्न लगाउनुपर्दछ । मापदण्ड पूरा नगर्ने होटलहरूलाई बन्द गराउने र जरिवानासमेत गरेर होटललाई व्यवस्थित बनाउन सक्नुपर्दछ । पर्यटकहरूलाई आकर्षित गर्न र प्रभावमा पार्न गुणस्तरीय सुविधा उपलब्ध गराउन सक्नुपर्दछ । पर्यटकहरूलाई आफूतिर प्रभावित गरी पर्यटनका माध्यमबाट होटल व्यवसायको विकास गर्न र आर्थिक गतिविधि चलायमान गराउने भएकाले होटललाई उद्योगका रूपमा लिने गरिएको हो । जसले गर्दा होटल र पर्यटन व्यवसाय एक सिक्काका दुईपाटा हुन भन्न सकिन्छ ।
त्यसैले पर्यटन विकासका लागि होटल व्यवसायको महत्वपूर्ण भूमिका रहन्छ । जसले गर्दा पर्यटनको विकास हुने, होटल व्यवसाय सुरक्षित र आर्थिक चलायमान हुने, धेरै रोजगारी सिर्जना हुने, देशको राजश्व आम्दानीमा वृद्धि हुने, विदेशी मुद्रा प्राप्त हुने र समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने देखिन्छ । पर्यटन र होटल ब्यवसायका माध्यमबाट आर्थिक विकास हुन गई समृद्ध नेपाल हुन सक्नेमा विश्वास गर्न सकिन्छ ।