

कमल पन्थी
विषय प्रवेशः
आज माघ शुक्ल पूर्णिमा ! पौष शुक्ल पूर्णिमाको दिनबाट सुरु भएको श्री स्वस्थानी व्रत आजबाट नै समापन गरिँदैछ । प्रत्येक महिनामा पर्ने पूर्णिमाका आआफ्ना महत्व रहेको पाइन्छ । पूर्णचन्द्र भएको दिन पूर्णिमा हो । वैज्ञानिक हिसाबले पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने बताइन्छ ।
चन्द्रमा मनसोजातःअर्थात् मनको चन्द्रमासंग सम्बन्ध हुन्छ । चन्द्रमालाई सौन्दर्य र शीतलताको प्रतीक मानिन्छ । यसको शीतलताले मनलाई शान्त बनाउने र दर्शनले पुण्य मिल्ने धार्मिक विश्वास छ । पूर्णिमाको दिन धेरै धार्मिक अनुष्ठानहरु हुने गर्छन् । जसमध्ये चौरासीपूजा अर्थात् दीर्घजीवी मानिसहरुको ८४ औँ जन्मोत्सव मुख्य रहेको छ ।
वार्षिकरुपमा जन्मदिन मनाउने प्रचलन अहिले बढ्दो छ । आफू जन्मेको दिनको स्मरण गर्नु, मातापिता प्रति कृतज्ञ हुनु, शुभकामना प्राप्त गर्नु, आशीर्वाद लिनु, भेला हुनु, रमाइलो गर्नु, सामाजिक कार्यमा सहयोग गर्नु राम्रा पक्षहरु हुन् तर आयातित पश्चिमा संस्कृतिको असान्दर्भिक तडक भडकले भने समाजमा नकारात्मक असरको बारेमा चिन्ता र चासो बढ्दो छ ।
विगतमा फाट्टफुट्ट हुने गरेका चौरासी पूजा अहिले धेरै हुन थालेका छन् । समाजमा सकृय जीवनयापन गरेको जेष्ठ नागरिकहरुले पनि चौरासी पूजा गरेको पाइन्छ । स्वस्थ, सकृय र दीर्घजीवी नागरिक हुनु व्यक्ति, परिवार, समाजलाई मात्र होइन राज्यलाई पनि खुसीको विषय हो । मेरो आमाको पनि चौरासी पूजा भएको पाँच वर्ष पूरा भसकेको र समाजका दीर्घजीवीहरुको ८४ औँ जन्मोत्सवका आत्मिक निमन्त्रणाले मेरा दिमागमा खुसी हुने रसायन डोपामिन उपन्न गरायो र यस विषयमा लेख्न मन लाग्यो । विषय निकै सामान्य जस्तो छ तर यसको महत्व, अवसर र मान्यता भने निकै संवेदनशील छ । सबैलाई यस्तो अवसर नजुर्न पनि सक्छ । अवसर जुरेका भाग्यमानी ज्येष्ठ नागरिकहरु प्रति समर्पित आजको यो आलेख । पारिवारिक एकता, सम्मान, अन्तरपुस्ता सम्वन्ध, सामाजिक मेलमिलाप, समाजमा प्रेरणा दिने परम्परा जस्ता सामाजिक महत्व वोकेको चौरासी पूजाका समसामयिक पक्षमा चर्चा गर्ने प्रयास रहेको छ ।
चौरासी पूजा किन ?
मानव जीवनमा गरिने विभिन्न संस्कार मध्येको चौरासी पूजा पनि एक हो । व्यक्तिको उमेर चौरासी वर्ष पुगेपछि गरिने पूजा अर्थात् हजार चन्द्रमा दर्शनका उपलक्ष्यमा गरिने पूजा चौरासी पूजा हो । चौरासी वर्ष आफैँमा लामो समय हो । लामो जीवनको यात्रा पूरा गर्नु ठूलो उपलव्धी हो । तसर्थ उनीहरुका सम्मानमा र आशीर्वाद लिन यो पूजा गरिन्छ । मुख्यतःदीर्घायु र मोक्षप्राप्तिको लागि कूलदेवताहरुको कृपा प्राप्त गर्ने कामना गरिन्छ । यसले समाजमा अग्रजहरुको सम्मान गर्नुपर्छ भन्ने भावना जागृत गराउँछ, सन्देश पनि प्रवाह गर्छ । पारिवारिक मूल्य, मान्यता, परम्पराको नयाँ पुस्तालाई जानकारी पनि गराउँछ ।
वैदिक परम्पराअनुसार ८४ संख्या पुनर्जन्म चक्रसंग अर्थात् चौरासीलाख योनीहरुसंग पनि सम्बन्धित मानिन्छ जसलाई मोक्षप्राप्तिको कर्मको रुपमा पनि लिने गरिन्छ । कर्मको पूजाको रुपमा र भगवान्को दर्जा प्राप्तीको रुपमा पनि हेर्ने गरिन्छ ।
चौरासी पूजा कहिले ?
यसमा खासै सबैको मतऐक्यता देखिँदैन र पहिलो प्रचलन अनुसार–सहर्ष चन्द्र दर्शन पश्चात यो पूजा गर्ने भनिन्छ । सहर्ष शव्द संस्कृतवाट आएको हो । जसको अर्थ हजार हुन्छ । आयुभरि हजार चन्द्रमा दर्शन गरेपछि पुण्य पनि मिल्ने भएकाले चौरासी पूजा गर्न मिल्ने मान्यताअनुसार गरेको पनि पाइन्छ । दोस्रो प्रचलन अनुसार–एक वर्षमा १२ वटा पूर्णिमा पर्छन् । यसरी ८४ लाई १२ ले गुणन गर्दा १००८ चन्द्रमा हुन आउँछ । १००८ चन्द्रमा आफ्नो आयु भित्र परेको हुनु पर्छ भन्ने मान्यता पनि छ ।
आधिकारिक संस्था ज्योतिष विज्ञान परिषद् नेपालको मिति २०५४÷०७÷१९ मा सहस्र चन्द्र दर्शन सम्वन्धमा यस्तो परिपत्र भएको पाइयो ।
‘असी वर्ष दस महिना ५.४ दिन पूरा भएपछि एक हजार चन्द्रमास पूरा हुन्छ । अतः ८१ वर्ष पूरा हुँदा एक हजार चन्द्रमाको दर्शन भई सक्ने हुनाले त्यसपछिको कुनै पनि पूर्णिमामा सहस्र चन्द्रदर्शन व्रतोद्यापन गर्न हुन्छ ।’ यसबाट के प्रष्ट हुन्छ भने ८१ वर्षको उमेर पूराभएपछि चौरासीपूजा गर्ने कुनै रोकतोक नभएकोले खासै विवाद गर्नु नपर्ने देखिन्छ ।
चौरासीपूजा गर्नेको संख्या बढ्नुको मुख्य कारणहरु
बढ्दो औसत आयु
कुनै व्यक्तिको औसत बाँच्ने अवधि नै औसत आयु हो । राष्ट्रिय जनगणना २०७८ ले नेपालीको औसत आयु ७१ वर्ष रहेको देखाएको छ । जसमध्ये पुरुषको६८.२ वर्ष र महिलाको ७३.८ वर्ष रहेको छ । नेपालमा मात्र होइन संसारभरि जैविक कारणले पुरुषभन्दा महिलाको औसत आयु बढी हुने पाइएको छ । आधुनिक स्वास्थ्य सेवा, पोषिलो तागतिलो खानपिन, शिक्षा क्षेत्रको व्यापक सुधार, जीवनशैलीमा आएको परिवर्तनले नेपालीहरु लामो आयु बाच्न थालेका छन् । अहिले संक्रामक रोगका कारण मानिसको मृत्युमा कमी आएको छ । स्वास्थोपचारमा पहुँच, सरसफाइ, खानेपानीको गुणस्तरमा सुधार, बाल र मातृ मृत्युदर घट्नाले पनि नेपालीको आयु वढी रहेको छ । तसर्थ शतक आयु भएका नागरिकहरु पनि प्रसस्त भेटिन थालेका छन् ।
सामाजिक सुरक्षा भत्ताको प्रभाव
नेपालमा जेष्ठ नागरिक ऐन, २०६३ ले ६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिक मानेको छ । जीवनको लामो यात्रा पार गरेका, परिवार, समाज र देशकालागि योगदान गरेका, मार्गदर्शकको रुपमा रहेका व्यक्तिहरु नै ज्येष्ठ नागरिक हुन् । ज्येष्ठ नागरिक उमेरले पाको व्यक्ति हो । राज्यको वृद्ध नागरिक हो ।
ज्येष्ठ नागरिकलाई सम्मानपूर्वक बाँच्न आर्थिक स्वतन्त्रता र सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन कुनै पनि लोककल्याणकारी राज्यले सामाजिक सुरक्षाको व्यवस्था गरेको हुन्छ । उमेर बढेसंगै काम गर्ने क्षमता घट्ने भएकाले आधारभूत आवश्यकता पूरा गर्न सहयोग पुगोस्, पर निर्भरता कम होस् भन्ने हेतुले नेपाल सरकारले २०५१ सालदेखि ७० वर्ष पूरा भएका नागरिकहरुलाई ज्येष्ठ नागरिक भत्ता उपलव्ध गराउँदै आएको छ । मासिक एक सयबाट शुरु भएर अहिले चार हजार पुगिसकेको छ । सरकारी स्तरबाट आफ्नै नाममा नियमित रकम पाउनाले नागरिकहरु सरकारको यो लोकप्रिय कार्यक्रमलाई पाल्ने जेठो सन्तान भन्छन् भने अरु सन्तानलाई त्यसपछिको दर्जामा गणना गर्छन वृ बृद्धभत्तावाट नागरिकहरु आत्मसम्मानले बाँचीरहेका छन । मासिक पेन्सनको रुपमा रकम पाउने भएवाट ज्येष्ठ नागरिकहरु पारिवारिक वोझ हैन ओज भइरहेका छन् ।
आर्थिक अवस्थामा सुधार आउनु
पहिलाको तुलनामा अहिले नेपालीको प्रतिव्यक्ति आयु पनि बढेको छ भने प्रायः सबै घर–घरमा वैदेशिक रोजगारवाट नगद आउने गरेबाट पारिवारिक अवस्थामा सुधार आएकोले आफ्ना सन्ततिहरुले चौरासीपूजा गराएको पाइन्छ ।
लैंगिक विभेद हट्दै जानु
समाज परिवारमा अहिले छोराछोरी विचको विभेद क्रमशःकम हुदै गएको छ । छोरी र नातिनातिना पुस्ताले बाबुआमालाई वढी मायाँ र रेखदेख गरेको पाइन्छ ।
सामाजिक सञ्जालको बढ्दो प्रभाव
अहिले सवैका हाताहातमा स्मार्ट फोन हुन्छन् । सूचना प्रविधिले सामाजिक संजालको पहुँच वढ्दो छ । यसले मानिसलाई एक अर्कोमा निकै नजिक बनाएको छ।निमेष भरमा सबै गतिविधिहरु सुन्न र देख्न सकिने भएको छ ।
समाजमा धार्मिक भावनाको पुनः जागृत हुँदै जानु
विनाशकारी भूकम्प, कोरोना, आर्थिक शिथिलता, तनाव, अस्वस्थ प्रतिस्पर्धा जस्ता कठिन परिस्थितिवाट गुज्रिरहेको वर्तमान अवस्थामा धर्मले मार्गदर्शन गर्ने विश्वास बढ्दो छ । धेरै धार्मिक संघसंस्थाको स्थापना र सक्रियताले धार्मिक आस्था र पूजापाठमा मानिसहरु आकर्षित देखिन्छन् ।
चौरासी पूजा पश्चातको धर्म
धर्मशब्दको अर्थ धारण गर्नु वा पालन गर्नु हो । पूजा आफैँमा महत्वपूर्ण धार्मिक अनुष्ठान भएकाले अध्यात्मिक, नैतिक र सामाजिक दृष्टिकोणले पनि पवित्र आचरण गर्नु पर्ने हुन्छ । अबउप्रान्त कुनै व्रत बस्न नपर्ने, सत्य बोल्नु पर्ने, लोभ लालच नगरी सन्यासीको जस्तो आचरण गर्नु पर्ने सामाजिक मान्यता रहेको छ सबै प्रकारका दानहरु पूजामा गरिने भएकाले मोक्षप्राप्तिका लागि भनेर गरिने वैतरणी दानलगायत आतुरदान पनि गर्ने नपर्ने भनिन्छ ।
ज्येष्ठ नागरिकहरुको मनोविज्ञान
बढ्दो उमेरसंगै जीवनको उत्तरार्धमा अध्यात्मिक सोच र मोक्षप्राप्तिको झुकावले चौरासीपूजाको तीव्र इच्छा रहेको पाइन्छ । आफ्नो शरीर आफै सम्हाल्न सक्ने अवस्थासम्म बाँच्न सहज हुने तर अरुको सहारामा हो भने लामो आयु अभिशाप हुने गुनासो पनि सुनिन्छ । मायाँले हुर्काइएका आफ्ना सन्तानहरुलाई विरासत र पुस्तान्तरणको मनोविज्ञान हुने गरेको देखिन्छ । आफूमा रहेको अनुभव, ज्ञान, मूल्यमान्यता हस्तान्तरण गर्ने चाहना राख्दा रहेछन । आफू डाडाँमाथिको जुन जस्तो भएकोले कता कता मृत्यु भयको आभास पनि पाइन्छ ।
अन्त्यमा, ‘न कंचित शाश्वतम’ अर्थात कुनै पनि कुरा स्थायी छैन । बुढेसकाल कुनै श्राप होइन यो जीवनको एउटा पाटो हो । सबैले कुनै न कुनै दिन यही बाटो हिड्नु पर्छ । एक्लोपनले वृद्धवृद्धामा मानसिक एवं सामाजिक समस्या निम्ताउँछ । सन्ततीले बुढेसकाल र उनीहरुको संवेदनशीलतालाई बुझ्नु जरुरी हुन्छ । आफुलाई सक्षम, सवल एवं देशमामात्र होइन, विदेशमा समेत आफ्नो करियर बनाउन, ठूलाठूला सपना पछ्याउन सधै समर्पण भाव राखेर आफ्नो काँध थाप्ने बाबुआमालाई बुढेसकालमा श्रवणकुमारले जस्तो काँध थाप्ने हुनु पर्छ।सवैका सन्तानहरु बुढेसकालको लौरो बन्नुपर्छ ।
भुटानमा वृद्धाश्रम खोल्न प्रतिवन्धत छ । बृद्ध बाबुआमाको स्याहारसुसार सन्तानले नै अनिवार्य गर्नुपर्छ अन्यथा सजाय हुन्छ । चीनमा विवाह दर्ता गर्दा नै आफ्ना बाबुआमाको अनिवार्यरुपमा रेखदेख गर्ने सफथ लिनुपर्छ । नेपालमा पनि यस्तो व्यवस्था लागु गरिनु पर्छ।जसवाट कोही कसैलाई वृद्धाश्रम जान नपरोस् । ।जीवनको उत्तरार्धमा उत्तम आचार, निश्चल व्यवहार, जीवनकालमा जानी नजानी गरेका कर्मको प्रायश्चितबाट तमोरुप मार्गको अतिक्रमण गरी ज्योतिर्मय धर्मधामको मार्गदर्शन बनोस चौरासीपूजा!शुभकामना !! हरि ॐ तत्सत् ! श्रीकृष्णार्पणमस्तु !!