![](https://mechikalinews.com/wp-content/uploads/2023/01/eye-1.gif)
![](https://mechikalinews.com/wp-content/uploads/2025/02/Om-love.jpg)
ओम बानियाँ
आज फेब्रुअरी १४ । पश्चिमा मुलुकमा निकै ठुलो महत्व बोकेको भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस नेपालमा पनि विगत ३ दशकदेखि उत्तिकै उत्साहका साथ मनाइँदै आएको देखिन्छ । यो प्रेम पर्व विशेषगरी युवा पुस्तामाझ निकै लोकप्रिय हुँदै आएको छ । प्रेम दिवसको संक्षिप्त इतिहास के हो भने भ्यालेन्टाइन नाम गरेका पादरी (सेन्ट) ले रोमन साम्राज्यका सम्राट्को आदेशविपरीत प्रेमी जोडीको विवाह गराइदिएका कारण ती पादरीलाई मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि बलिदान दिएको यी सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्ष फेब्रुअरी १४ का दिन भ्यालेन्टाइन्स डे मनाइन्छ ।
संसारका प्रेमी–प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि एउटा विशेष उत्सवको दिन हो । हिजोआज आफूले माया गरेको, मनपराएको वा चाहेको व्यक्तिलाई आफ्नो भावना अभिव्यक्त गर्ने दिन पनि भएको छ, प्रणय दिवस ।
मानवीय जीवनमा प्रेमको ठुलो महत्व छ । प्रेम शब्द मात्र नै यति मीठो र श्रुतिमधुर छ कि यो शब्दध्वनी कानमा पर्नासाथ मनस्थिति तुरुन्तै परिवर्तन हुन्छ । र, मन प्रेम रसमा आह्लादित हुन पुग्छ । प्रेममा आनन्द छ । प्रेममा शितलता र शान्ति छ । प्रेममा शक्ति पनि छ । प्रेम नै यस्तो मनोभाव हो, जसले मानिसलाई शान्ति पनि दिन्छ, शक्ति पनि दिन्छ । वास्तवमा प्रेम जीवनको प्रेरक शक्ति हो, मस्तिष्कको अपार ऊर्जा हो, असीम सुखको पवित्र गंगा हो, परम शान्तिको अनन्त स्रोत हो । जब मानिस प्रेममय हुन्छ, तब ऊ आफ्नो वास्तविक स्थितिमा रूपान्तरित हुनपुग्छ । प्रेमको धारा व्यापक छ, समग्र छ, सर्वत्र र सार्वभौमिक छ । त्यसैले नै बेन्जामिन डिजरायलीले भनेका छन् ः ‘हामी सबै प्रेम गर्नका लागि उत्पत्ति भएका हौँ । यो नै अस्तित्वको सिद्धान्त हो । र, एक मात्र अन्त ।’
प्रेम र परमात्मा
एक पटक स्वामी रामानुजलाई एक जना मानिसले भन्यो,‘स्वामीजी, म परमात्माको दर्शन गर्न चाहन्छु ।’ मानिसको कुरा सुनेर रामानुजले भने,‘तिमीले कसैलाई प्रेम गरेका छौं ?’ स्वामीजीको कुरा सुनेर मानिसले भन्यो,‘स्वामीजी, म कहिल्लै यो प्रेम–स्रेमको चक्करमा परिनँ । प्रेमको होइन, मलाई त केवल परमात्मको दर्शन गर्नु छ ।’ रामानुजले प्रश्न गरे,‘साँच्चै तिमीले कसैलाई प्रेम गरेका छनौं ?’ ‘स्वामीजी, म एकदमै साँचो बोलेको छु ।’ रामानुजले फेरि सोधे,‘सोच, सोचेर बताऊ, तिमीले कुनै न कुनै बेला, कोही न कोहीलाई त केही न केही प्रेम अवश्य नै गरेका हौंला नि ?’ स्वामीजीको यस्तो कुरा सुनेर मानिस अलि रिसाएर बोल्यो,‘तपाईंले बारम्बार यही प्रश्न किन गर्दै हुनुहुन्छ ? मैले भने नि– मैले जीवनमा कसैलाई प्रेम गरिनँ, मैले प्रेमतिर कहिल्लै आँखा उठाएर हेरिनँ । मलाई त परमात्माको दर्शन गर्नु छ ।’ मानिसको कुरा सुनेर रामानुजले भने,‘मलाई माफ गर भाइ, तिमी परमात्मा खोज्न अन्त कतै जाऊ । म तिमीलाई परमात्माको दर्शन गराउन सक्दिनँ । त्यो किन भने यदि तिमीले कसैलाई प्रेम गरेको भए, त्यो प्रेमलाई बढाउन सकिन्थ्यो कि त्यो प्रेम परमात्मासम्म पुग्न सकोस् । तर तिमीले त कहिल्लै कसैलाई पनि पे्रम नै गरेका रहेनछौं, अब केलाई बढाउने ? बिउ नै भएन भने कसरी वृक्ष बन्छ र ? त्यसैले तिमी जाऊ, अन्त कतै खोज परमात्मा ।’
प्रेम मस्तिष्कमा पैदा हुने एक धनात्मक भावना हो । यो भावना मानिसमा बाल्यकालदेखि नै विकसित हुन्छ । सामान्यतया जब मानिसको मस्तिष्कमा कुनै व्यक्ति, पशुपंक्षी, स्थान तथा पदार्थप्रति आकर्षण विकसित हुन्छ, तब यस्तो संवेगात्मक स्थितिलाई प्रेम (लव वा एफेक्सन्) को संज्ञा दिइन्छ । स्नायुविज्ञानका अनुसार प्रेमका तीन चरणहरु हुन्छन् । बासना (लस्ट), आकर्षण (अट्राक्सन) तथा आसक्ति (अटेचमेन्ट) । प्रेमको पहिलो चरणमा व्यक्ति विपरित लिंगीप्रति शारीरिकरुपमा आकर्षित हुन्छ । पुरुषमा टेस्टोस्टेरोन हार्मोनले तथा महिलामा एस्ट्रोजिन हार्मोनले लस्ट पैदा गराउँछ । लस्ट मानिसमा मात्र होइन, हरेक प्रजातिहरुमा देखापर्छ, यही लस्टका कारण नै उनीहरु सेक्स साथीको खोजीमा हुन्छन् । लस्टको चरणमा एडे«नालाइन तथा नोरपाइनफेरिन जस्ता हार्मोन्स शरीरमा फैलिन्छन्, तीव्र इच्छाका साथ । एडे«नालाइन तथा नोरपाइनफेरिनले मुटुको चाल बढाउँछ, हत्केलामा पसिना निकाल्छ । मस्तिष्क रसायन डोपामाइनले एयुफेरिया (उमंग) को अनुभव गराउँछ ।
दोस्रो चरणमा व्यक्ति प्रेमी वा प्रेमीका प्रति मोहित हुन्छ । आफ्नो लभरलाई सधैं साथमा चाहन्छ । यो अवस्थामा मुटुको चाल बढ्न सक्दछ, हत्केलामा पसिना निस्कन सक्दछ । व्यक्तिमा उमंग, स्पूmर्ति तथा उत्तेजनाको अनुभव हुन्छ । नोरपाइनफेरिन, डोपामाइन तथा सेरोटोनिनले यस्तो अनुभव पैदा गराउँछन् ।
प्रेमको तेस्रो चरणमा व्यक्ति लभरप्रति यति आसक्त हुन्छ कि सँगसँगै रहनाका लागि बिबाह गर्छ, छोरीछोरीहरु जन्माउँछ । मस्तिष्क रसायन्स अक्सिटोसिन तथा भ्यासोप्रेसिनले यस्तो स्थिति सृजना गर्छन् । यस स्थितिमा व्यक्तिले अनौठो आनन्द, स्वस्थ तथा सुरक्षाको अनुभव गर्छ । अक्सिटोसिनको नकारात्मक भुमिका पनि रहन सक्दछ जसका कारण व्यक्ति शंकालु तथा इष्र्यालु पनि हुन सक्दछ । तर, सम्बन्धको ४÷५ वर्षपछि मस्तिष्क रसायन डोपापाइन घट्न थाल्छ, जसले गर्दा व्यक्तिमा लभरप्रतिको आर्कषण घट्न सक्दछ । यस्तो स्थिति बढ्दै गएमा सम्बन्धमा दरार आउन सक्दछ । सम्बन्धलाई अटुट् राख्न समाजिक मान्यता, संस्कृति तथा व्यक्तिको विवेकले पनि महत्वपूर्ण भमिका खेल्दछ ।
प्रेममा व्यक्तिले मित्रता, सहानुभूति तथा सहयोगको प्रवृत्ति देखाउँछ । प्रेमले मानिसको मनमस्तिष्कमा मात्र होइन, सम्पूर्ण शरीरमा ठूलो प्रभाव पार्छ । प्रेम भावनाले शरीरमा इण्डोर्फिन, सेरोटोनीन तथा इम्युनोग्लोबुलिन जस्ता मस्तिष्क रसायनहरू, जसले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा ठूलो भुमिका निभाउँछन्, निस्कासन गर्दछ । सकारात्मक प्रेमको विचारले खुसीका रसायनहरू निस्कासन गर्दछ जबकि नकारात्मक विचारले हाम्रो इम्युनिटीलाई नै कमजोर पार्दछ, जसले गर्दा रोगहरूले आक्रमण गर्दछन् । त्यसैले ठोकुवा नै गर्न सकिन्छ, मानिसको रोगका लागि प्रेम चिकित्सा भन्दा ठूलो चिकित्सा यो जगतमा अर्को छैन । वास्तवमा प्रेम हरेक रोगको औषधि हो । प्रत्येक रोगको उपचार हो । यो मनोविज्ञान हरेक चिकित्सकहरूले बुझ्नुपर्छ र बिरामीहरूलाई प्रेम र विश्वासको क्याप्सुलमा औषधि हालेर दिनुपर्छ । तब जस्तोसुकै घातक रोग पनि निको हुन सक्दछ ।
हो, प्रेम सकारात्मक भावना हो । तर, प्रेममा विघ्न–वाधा तथा अड्चन आइप¥यो भने प्रेम स्वयं एक समस्या बन्छ । यसले मानिसमा क्रोध, व्यथा(डिस्टे«स) तथा उदासी जस्ता नकारात्मक भावना निम्ताउँछ । उदासी (सैड्नेस एण्ड डिप्रेसन), यस्तो सांवेगिक प्रतिक्रिया हो, जो प्रिय मानिस बिछोड हँुदा तथा प्रिय वस्तु हराउँदा उत्पन्न हुने गर्छ । जब यस्तो उदासीको संवेग ज्यादै तीब्र हुन्छ, त्यसलाई शोक वा विषाद (ग्रिफ) भनिन्छ । यदि शोक अवधि धेरै लम्बियो भने जीवनको चारैतिर अध्यारो छाउँछ । मानिस जिउँदो लास जस्तो भएर बाँचेको हुन्छ । यसलाई कडाखालको अवसाद (क्लिनिकल डिप्रेसन) भनिन्छ र आधुनिक समाजमा डिप्रेसन आत्महत्याको एक प्रमुख कारणको रूपमा गनिन्छ ।
नेपाली समाजमा प्रेमीप्रेमिकाको प्रेमको बाधक भनेको नै जातपात र धन हो । त्यसो त शिक्षा पनि कहिलेकाहीं प्रेममा बाधक बन्ने गर्छ । अल्लारे प्रेमले पनि धेरै युवा–युवतीको जीवनमा समस्या पैदा गर्छ । किनकि अल्लारे बैंसमा धेरै युवा–युवतीले प्रेमलाई केवल यौन तृष्णाको प्यास बुझाउने माध्यम ठान्छन् र यस्तै प्रेममा रमाउन चाहन्छन् । तर ढिलोचाँडो यस्तो उन्मत्त कामुक प्रेमले मानिसहरूको जीवनमा धेरै समस्याहरू निम्ताउँछ । असुरक्षित यौन सम्र्पकबाट थुप्रै समस्याहरू देखा पर्छन् । मानिसहरू एचआइभी–एड्सको शिकार समेत हुने गर्छन् ।
हरेक सामान्य मानिसले जीवनमा प्रेम चाहन्छन्, मिलन चाहन्छन्, आनन्द र खुसी चाहन्छन् । मानिसका लगि प्रेम एक जैविक, मनोवैज्ञानिक तथा सामाजिक आवश्यकता हो र भूमण्डलीकरणको यो समयमा भ्यालेटाइन डे अर्थात् प्रणय दिवस त्यो आवश्यकता पूर्तिको एक अवसर पनि हो । यसर्थ युवा–युवतीले प्रणय दिवसका दिनमा उत्सव मनाउनु तथा एक–अर्कालाई प्रेम प्रस्ताव राख्नु कुनै अनौठो कुरा होइन । तर, दुःखको कुरा के भने प्रणय दिवसका दिनमा सक्कली भन्दा पनि नक्कली प्रेमको अनेकौं रुपरंग देख्न पाइन्छ, अधिकांश यस्ता प्रेमहरू प्रेमीप्रेमीकाको हृदयबाट ननिस्किएर यौन उन्मत्त हुन्छन् ।
हो, यौन प्राकृतिक कुरा हो । हरेक सामान्य मानिसमा यौन चाहना हुने गर्छ । अधिकांश मनोवैज्ञानिक तथा यौन विशेषज्ञहरू यस कुरामा सहमत छन् कि मानिसमा यौन भावना जन्मदेखि नै एक ऊर्जाको रुपमा मौजुत हुन्छ । यस्तो यौन ऊर्जा युवाकालमा निकै बलवती हुने गर्छ । विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणका अनुसार युवाहरूमा यौनसम्बन्धी आर्कषण निकै तीब्र हुन्छ ।
यौन भावना आफैमा खराब होइन, निर्मल प्रेमपूर्ण अंगालोको यौन क्रिडाले मानिसलाई परम आनन्दित बनाउँदछ । स्त्री–पुरुष, दुवैलाई स्वर्गीय सुख दिलाउँछ । वास्तवमा उध्र्वगामी अर्थात् धनात्मक दिशाको यौन एक ऊर्जा हो, असीमित शक्ति हो । त्यसैले भन्न सकिन्छ, उध्र्वगामी प्रेम र यौन भावानाले नै मानिस शक्ति दिन्छ, मनमस्तिष्कलाई अपार ऊर्जा दिन्छ र नै मानिस महान् बन्दछ ।
इतिहास साक्षी छ, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू उच्च यौनशक्तिले परिपूर्ण थिए, तर उनीहरू कहिल्यै यौन–उन्मादको शिकार भएनन् । बरु उनीहरूले त्यो उच्च यौन–शक्तिलाई ऊध्र्वगामी ऊर्जामा रूपान्तरण गरी लाभार्थी भए । यो मनोविज्ञानलाई लहड र फैसनका रुपमा प्रणय दिवस मनाउन चाहनेहरूले बुझ्नुपर्छ र प्रणय दिवसलाई यौन दिवसको रुपमा होइन कि प्रेमको पवित्र दिनका रुपमा मनाउनुपर्छ । होइन भने प्रणय दिवस व्यवहारमा भोग दिवस सावित हुने छ ।
अतः प्रेम बिना मानिसको जीवन असंभव छ । प्रेम बिना मानिस बाँच्नै सक्दैन । अरु कुरो छोडौं मानिसको शरीरका अंगप्रत्यंगहरूले पनि बेला–बेलामा प्रेम खोज्छन् । शरीरका कुनै अंग दुखेको छ भने यो यसकारणले गर्दा हो कि त्यहाँका जीव कोषहरूले प्रेम खोजिरहेका छन् । त्यसैले त्यो अंगमा ध्यान दिने र प्रेमपूर्वक त्यो अंगलाई स्पर्श गर्ने हो भने तुरुन्तै राहत महसुस हुन्छ । हुन पनि प्रेममा अदभूत शक्ति छ । प्रेमले जस्तोसुकै निर्दयीको मन जित्न सकिन्छ । शत्रुलाई पनि मित्र बनाउन सकिन्छ । त्यसैले त प्रसिद्ध लेखक एम्मेट फाक्स्ले भनेका छन्ः ‘यदि तिमीले पर्याप्त प्रेम गर्न मात्र सक्यौ भने तिमी संसारको सबैभन्दा शक्तिशाली व्यक्ति बन्नेछौ ।’ (लेखक साइकोथेरापिष्ट हुन् ।)