प्रेमको शक्ति: सकारात्मकताको मार्ग

प्रेम शान्तिको स्रोत हो, ऊर्जाको केन्द्र हो र सकारात्मकताको मूल स्रोत हो

मेचीकाली संवाददाता

२ फाल्गुन २०८१, शुक्रबार
636 shares

अमृत गिरी
निन्दक, विरोध, पूर्वाग्रह, लोभ, क्रोध र हिंसालाई प्रेमका माध्यमबाट जित्न सकिन्छ । प्रेमकै माध्यमबाट सकारात्मकता पनि आर्जन गर्न सकिन्छ । प्रेमलाई बुद्धले पनि महत्व दिएर देशाना दिनुभएका कुरा सुनिँदै आएको पाइन्छ । बुद्धले प्रमे, करुणा र परिवर्तनशीलतालाई महत्व दिएको उहाँका उपदेशहरुमा पाइन्छ ।

आजको युगमा प्रेम केवल व्यक्तिगत सम्बन्धको सीमामा बाँधिनु हुन्न । प्रेमको वास्तविक अर्थ व्यापक छ । प्रेम शान्तिको स्रोत हो, ऊर्जाको केन्द्र हो र सकारात्मकताको मूल स्रोत हो । तर, वर्तमान समाजमा प्रेमको वास्तविक परिभाषा विकृत भइरहेको छ । प्रेमको स्थानमा घृणा, ईष्र्या र नकारात्मकता बढ्दै गइरहेको छ । यसलाई सकारात्मकतामा बदल्न जरुरी भएको छ । आजका जस्ता यि दिवसलाई पश्चिमाहरुको र उनीहरुले बनाएका आडम्बरी धर्मको नाममा जोडेर होइन बुद्ध जन्मिएको ठाउँको मौलिक अवसरका रुपमा हामीले नै विकास गर्न सकिन्छ ।

एकोहोरो आलोचना गर्ने, तथ्यहीन विषयका आधारमा विरोध मात्रै गरिरहने, विरोधका लागि विरोध नै गर्ने गलत प्रवृत्तिले समाजलाई विषाक्त बनाइरहेको छ, सद्भावमा चुनौती थपिएको छ । अहिले त अझ संवेदनशील विषयमै मजाक गरेर, अनेक प्रकारका प्रविधिको दुरुपयोग गरेर सद्भाव विथोल्ने समेत दुस्प्रयास र कोसिस जारी छन् । यसले सिंगो समाजलाई नै हानी पु¥याउँछ । सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकले त्यस्तै खराब तत्वलाई नियमन गर्ने विश्वास गरिएको छ । यसतर्फ सचेत नागरिकले विशेष ध्यान दिनुपर्ने छ ।

मानिस जन्मजात प्रेमिल हुन्छ । ऊ स्नेह, करुणा र दयाले भरिएको प्राणी हो ।
हामी त अझ बुद्ध जन्मेको पवित्र भूमिका नागरिक । हामीमा त करुणा, माया र सकारात्मकता भरिपूर्ण हुनुपर्ने हो । तर, त्यस्तो देखिएको, भोगिएको छैन । समाजमा शान्ति, समृद्धि र उन्नति बढाउन सकारात्मक सोंचको विकास गर्नैपर्छ । जब मायामा, प्रेममा, करुणामा समेत नकारात्मकता मिसाइन्छ, तब समाजमा तनाव, हिंसा र अलगाव उत्पन्न हुन्छ । एकप्रकारको भाँडभैलो निम्तिन्छ । प्रेम नै सबै मानव सम्बन्धको आधार हो । प्रेम बिना समाजको अस्तित्व कल्पना गर्न पनि सकिन्न ।

हिजोआज सामाजिक सञ्जाल, झुटा अपेक्षाहरू र प्रविधिको दुरुपयोगले प्रेमलाई विकृत बनाउन थालेका छन् । जताततै नकारात्मक फैलाउन थालेको पाइन्छ । प्रणय दिवस जस्ता अवसरहरूलाई गलत तरिकाले व्याख्या गरी प्रेमलाई केवल शारीरिक आकर्षणमा सीमित गर्ने गरिन्छ । यस्ता प्रवृत्तिले प्रेमको वास्तविक सौन्दर्यलाई धूमिल बनाइरहेको छ । अपराध र हिंसाका दुस्चक्रसमेत बढाइरहेको छ । आजको समाजमा प्रेमको सही अर्थ बिर्सिंदै गएको छ । साँचो प्रेम सहानुभूति, समझदारी र एकअर्काप्रति आदरभावको आधारमा टिक्छ ।

प्रेम कुनै स्वार्थ वा व्यक्तिगत इच्छापूर्ति गर्ने साधन होइन भनेर बुझाउने र बुझ्नुपर्नेछ । मानवता, मित्रता र सहानुभूतिलाई प्रबद्र्धन गर्नेगरि सकारात्मक उर्जाको विकास गर्नुपर्नेछ । सत् चरित्रले समाज, परिवार र राष्ट्रलाई समेत जोड्ने पुलको काम गर्छ । घृणा, निन्दा र नकारात्मकताबाट मुक्त भएर प्रेमलाई उन्नत बनाऔं । प्रेम साँचो अर्थमा आत्मिक सम्बद्धता हो, जसले सम्पूर्ण समाजलाई उज्यालो बनाउँछ । प्रेमलाई दीर्घकालीन सम्बन्ध, विश्वास र सद्भाव निर्माण गर्ने साधन बनाऔं ।

दयालु, अहिंसक र सत्यनिष्ठ बनौं
हामी बुद्ध जन्मस्थलका नागरिकहरु । यसैपनि हामीमा करुणा, अहिंसा, प्रेम र सकारात्मकता भरिपूर्ण हुनुपर्ने हो । मानिसलाई मात्रै होइन प्रेम त प्रकृत्तिलाई, प्राणीलाई, समस्त जगतलाई गर्नुपर्छ, आफ्नै मनदेखि सकारात्मक सोंच राख्नुपर्छ भन्ने बुद्धको उपदेशलाई हरेकले आत्मसात गर्नुपर्नेछ ।
२६ सय वर्ष पहिले नै बुद्धले माया (प्रेम), करुणा (दया) र सकारात्मक चिन्तनलाई जीवनको सार मान्नुहुन्थ्यो । जतिबेला न कुनै प्रविधि थियो, न कुनै साधन स्रोतहरु थिए, न कुनै नेट इन्टरनेट र किताबहरु नै थिए । न कुनै स्कुल कलेजहरु थिए । त्यसबेला नै यस्तो सोंच राख्ने महामानव जन्मिएको यस धर्तीका हामी प्राणीहरु आज साधन स्रोत र प्रविधिले भरिपूर्ण त छौं तर हामीमा सकारात्मकता छैन, हामीमा करुणा हराउँदै गएको छ ।
मायाका शन्दर्भमा बुद्धका उपदेशका केही सार ः

माया (मैत्री)
निःस्वार्थ प्रेम, जसमा कुनै आशक्ति वा व्यक्तिगत स्वार्थ हुँदैन । सबै प्राणीप्रति समान र शुद्ध प्रेमभाव राख्नुपर्छ । प्रेमभावले नै नकारात्मकतालाई जित्न सकिन्छ । मैत्री भनेको सबैप्रति मायालु र दयालु भावना राख्नु हो । यसले व्यक्तिगत र सामाजिक सम्बन्धहरूमा सुधार ल्याउन मद्दत गर्छ ।

करुणा
आफुलाई पर्दा मात्रै छटपटाउने होइन । अरूको पीडामा सहानुभूति राख्ने र तिनलाई दुःखबाट मुक्त गर्ने प्रयास गर्ने भावनाको विकास गर्नुपर्नेछ । केवल सहानुभूति होइन, पीडितलाई सहयोग गर्ने सक्रिय भावनाको विकास हरेकमा हुनुपर्छ ।

अनित्यता अर्थात् परिवर्तनशीलता
बौद्ध दर्शनले संसारमा सबै कुरा परिवर्तनशील छन् भन्ने सिद्धान्तलाई बुझाउँछ । यसले व्यक्तिलाई आसक्ति र दुःखबाट मुक्त हुन मद्दत गर्छ । अनित्यतालाई बुझेर व्यक्तिलाई जीवनका उतार–चढावलाई स्वीकार गर्न सजिलो हुन्छ र मानसिक स्थिरता कायम राख्न सकिन्छ ।

सकारात्मक चिन्तन (सम्यक् संकल्प)
दयालु, अहिंसक र सत्यनिष्ठ विचार राख्नु । लोभ, द्वेष र मोह त्यागेर मानसिक शुद्धता प्राप्त गर्नु । बुद्धले माया, करुणा र सकारात्मक चिन्तनलाई आठायमि मार्ग (अष्टाङ्गिक मार्ग) को अभिन्न हिस्सा मान्नुभएको छ ।
बुद्धले तथ्यका आधारका सत्य स्थापित गर्ने र आत्मनिर्भतारको विकास गर्नुपर्छ भनेर मुख्य जोड दिएको उहाँका उपदेशहरुमा पाइन्छ । उहाँका देशानाहरुमा पनि यिनै विषय प्रधान छन् ।
बौद्ध धर्म–दर्शनले मान्ने चार आर्यसत्य र प्रतीत्यसमुत्पाद विशिष्ट दार्शनिक मान्यता हुन् । चार आर्यसत्यभित्रकै अष्टांगिक मार्गमा बौद्धहरू प्रवृत्त हुनुपर्छ । आर्य अष्टांगिक मार्ग भनेको सम्यक् रूपमा वचन, कर्म, व्यायाम, स्मृति, समाधि, संकल्प र दृष्टि राख्नु हो ।

बुद्धले प्रदान गरेका ८४,००० धर्मदेशना (धम्म) को सार संक्षेपमा ‘चत्वारि आर्यसत्य’ (चार आर्यसत्य) र आर्य अष्टाङ्गिक मार्गमा समेट्न सकिन्छ । यी उपदेशहरू सम्पूर्ण मानव जीवनका समस्याहरूको समाधान दिन्छन् ।
बुद्धका ८४,००० (८२ हजार बुद्धका र २ हजार बुद्धले स्वीकार गरेका) उपदेशहरूको सार जीवनका दुःखहरूलाई चिन्ने, यसको कारण पत्ता लगाउने, त्यसलाई हटाउने उपाय अपनाउने र सही मार्ग (अष्टाङ्गिक मार्ग) अनुसरण गरेर शान्ति तथा निर्वाण प्राप्त गर्नेमा आधारित छ ।

बुद्धका उपदेशहरू आजको समयमा पनि उत्तिकै सान्दर्भिक छन् । यदि हामी यी सिद्धान्तहरू जीवनमा लागू गर्न सक्यौं भने व्यक्तिगत शान्ति र सामाजिक सद्भाव प्राप्त गर्न सकिन्छ । माया, करुणा र सकारात्मकता अंगालौं, नकाराम्कता चिरौं ।