विशेष भुर्तेल बने बाह्रौंं दीप गायन तारा

मेचीकाली संवाददाता

५ फाल्गुन २०८१, सोमबार
34 shares

बुटवल । बाह्रौंं संस्करणको दीप गायन तारा विशेष भुर्तेल बनेका छन् । उनले प्रारम्भिक चरणबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका १९ जना प्रतियोगीहरुलाई पछि पार्दै दीप गायन तारा बन्न सफल भएका हुन् । भुर्तेल ग्रीन प्लान्ट बोर्डिङ सेकेन्डरी स्कुलका छात्र हुन् । उपाधिसँगै उनले नगद ३० हजार शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बुटवल सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कुलले हरेक वर्ष गीत सङ्गीतको क्षेत्रमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको छ । यस्तै प्रतियोगितामा इन्टलेक्च्युअल एकेडेमीकी निहारिका ढुङ्गाना द्वितीय, सन मोडल इङलिस बोर्डिङ स्कुलकी दीक्षा पुन तृतीय, बुद्ध दिप इङलिस बोर्डिङ स्कुलकी शान्ति गुरुङ र कान्ति माविकी कृष्टिना खनालले सान्त्वना स्थान प्राप्त गरे । प्रतियागितामा द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने दुई जनाले दुई÷दुई हजारका साथ शिल्ड, मेडल र प्रमाण पत्र पाए ।

प्रतियोगिताको छनोट चरणमा गत माघ २५ गते रुपन्देहीका सरकारी र निजी विद्यालयका कक्षा १० सम्म अध्ययन गर्ने ३१ जना प्रतियोगीहरूले बिना ट्रयाक र दोस्रो चरणमा ट्रयाकसहित गीत प्रस्तुत गरेका थिए । उक्त प्रतिस्पर्धाबाट २० जनाप्रतियोगीहरू अन्तिम प्रतिस्पर्धाका निम्ति छनोट भएका थिए । प्रतियोगिताको फाइनल चरणमा प्रतियोगीले ट्रयाकसहित एउटा राष्ट्रिय गीत र एउटा स्वेच्छिक गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले दीप गायन तारा प्रतियोगिता जिल्लाकै नमुना कार्यक्रम रहेको बताइन् । राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले दीप बोर्डिङले राष्ट्रिय कलाकार जन्माउने प्लेटफर्म तयार गरेको बताए । बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टीकाराम पन्थीले दीप बोर्डिङले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुको गायन प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको बताए । अभिभावक महासंघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले दीपले गुणस्तरीय शिक्षा, प्रतिभा पहिचान, संस्कार र संस्कृतियुक्त शिक्षामा महत्वपूर्ण कार्य गर्दै आइरहको बताए ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले दीप गायन ताराले हरेक वर्ष उत्कृष्ट कलाकारहरु उत्पादन गर्न सफल भएको बताए । ती विद्यार्थीहरु हाल राष्ट्रिय कलाकारिताका क्षेत्रमा स्थापित भइसकेको उनको भनाइ थियो । साथै विद्यार्थीको सर्वाङ्गीण विकाससँगै विद्यार्थीको प्रतिभा उजागर गर्न विद्यालयले विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको उनले बताए ।
कार्यक्रममा विद्यालयका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजु, उपाध्यक्ष उमाकान्त चापागाई, उपप्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रकुमार शाक्य, कार्यक्रम संयोजक श्याम बस्याललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरुले गुरुवन्दना, गणेशवन्दना, स्वागत गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षकत्रय पुरुषोत्तम पाण्डेय, विजय सापकोटा र विपिन ढकालले संयुक्त रूपमा गरेका थिए ।

प्रतियोगिताबाट यसअघि अस्मिता चापागाईं, प्रिया भण्डारी, अक्सर अली, जुना गुरुङ, नवीन परियार, दिप्सन श्रेष्ठ, वर्षा परियार, सक्सेस पाण्डे, कुशल आचार्य, विवेक पंगेनी र रिदिमा सिङ्जाली दीप गायन तारा बनिसकेका छन् ।