विद्यार्थीलाई आत्मनिर्भर बनाउन प्रेरित गर्दै सैनामैना नमुना मावि

पञ्चेबाजा र लोक भजनको तालिम तथा उपकरण प्रदान

मेचीकाली संवाददाता

९ फाल्गुन २०८१, शुक्रबार
32 shares

अमृत गिरी
सैनामैना। रुपन्देहीको सैनामैनामा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले विद्यार्थीलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै नवीन कार्यक्रम सुरु गरेको छ । विद्यार्थीलाई आत्मनिर्भर र व्यवसायिक रुपमा सक्षम बनाउने उद्देश्यले लोक भजन र पञ्चेबाजाको तालिम दिँदै आवश्यक उपकरणसमेत उपलब्ध गराएको छ ।

पहिलो चरणमा भजन समूह र पञ्चेबाजा समूह तयार पारेर व्यवसायिक रुपमै खटाउन उपकरण समेत उपलव्ध गराइएको छ । यसरी तालिम र उपकरण पाएका विद्यार्थीको समूहले स्कूल समयका अतिरिक्त व्यवसायिक रुपमै भजन गाउने र पञ्चेबाजा बजाउन सक्नेछन् भने स्कुल तहपछि पेशाकै रुपमा अपनाउन पनि सक्नेगरि अवधारणा बनाइएको विद्यालयका प्रअ नेत्रलाल पुरीले बताए ।

विद्यालयले पहिलो चरणमा आन्तरिक स्रोतबाट दुई लाख रुपैयाँ लगानी गरेर बाजा खरिद गरी विषयविज्ञका शिक्षक र प्रशिक्षकमार्फत विशेष तालिम उपलव्ध गराइएको प्रअ पुरीले बताए । प्रअ पुरीले भने,‘हामीले विद्यार्थीलाई सांस्कृतिक विधामा दक्ष बनाउँदै उनीहरूको आत्मनिर्भरता बढाउने प्रयास गर्दैछौँ ं। यस कार्यक्रमले उनीहरूलाई भविष्यमा कडा प्रतिस्पर्धाभित्र आफ्नो स्थायित्व कायम राख्न मद्दत पु¥याउने छ ।’

ढोलकी, टेम्को, सनई, दमाह, कर्नाल, नर्सिङ, झ्याली, खैजडी, मादल, मजुरालगायतका वाद्यवादनका सामग्रीहरु विद्यार्थीका तालिमप्राप्त समूहलाई उपलब्ध गराइएको छ ।

पहिलो चरणमा ३० जना विद्यार्थीलाई भजन र पञ्चेबाजा बजाउने तालिम उपलब्ध गराइएको कार्यक्रम संयोजक तथा विषय शिक्षक सुष्मा सिनालले जानकारी दिइन् । विद्यार्थीहरूलाई परम्परागत संगीतको सीप सिक्नका साथै, आवश्यक सामग्री पनि प्रदान गरी अब्बल र व्यवासायिक समूह बनाउने कोसिसअनुरुप नयाँ कार्यक्रम सुरु गरिएको संयोजक सिनालले बताइन् ।
यसबाट विद्यार्थीहरूले स्कुल समयको अतिरिक्त आफ्नो सीपलाई व्यवसायिक रुपमै प्रयोग गर्न सक्नेछन् । तालिमका माध्यमबाट विद्यार्थीहरूलाई केवल परम्परागत सांस्कृतिक विधा सिकाइने मात्र नभई उनीहरूलाई बाद्यबाजनका सामग्री पनि उपलब्ध गराइने छ । यसले विद्यार्थीहरूलाई स्कुलको समयबाहेक आफ्नो सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्ने अवसर प्रदान गर्नेछ ।
विद्यालयका प्रधानाध्यापक पुरीका अनुसार कक्षा ७ देखि माथिका विद्यार्थीलाई रुचि, परम्परागत पेशामा लगाव र अभिरुचिका आधारमा यस कार्यक्रमका लागि छनौट गरिएको हो । यो कार्यक्रम विद्यार्थीहरूको सिर्जनात्मकता र परम्परागत कला र संस्कृतिमा रुचि वृद्धिका लागि महत्वपूर्ण कदम रहेको यस क्षेत्रका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठले प्रशंसा गरे ।

उनले प्रदेश सरकारमार्फत पनि यसप्रकारका नौला र अनुकरणीय कार्यक्रममा आवश्यक सहयोग तथा सहकार्यको नीति ल्याउन लगाइने बताउँदै शिक्षालाई सीप, रुचि र क्षमतासँग जोडेर व्यवहारिक बनाउनु नै अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।
विद्यालयको ५१ औं वार्षिकोत्सव समारोहका अवसरमा व्यवसायिक रुपमै तालिम लिएका विद्यार्थीहरुले लोक भजन र पञ्चेबाजा बजाएर नृत्यसमेत प्रदर्शन गरेका थिए । सैनामैना नमुना माविले विद्यार्थीलाई आत्मनिर्भरतामा उत्प्रेरित गर्नेगरी नौलो र उदाहरणीय कार्यक्रम सुरु गरेको भन्दै सैनामैना नगरपालिका प्रमुख फणेन्द्रप्रसाद शर्माले नगरपालिकाबाट पनि आवश्यक सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाए ।

यो विद्यालय अहिले रुपन्देही जिल्लामा एक अव्बल सामुदायिक विद्यालयको रूपमा परिचित छ, जहाँ लगभग २,७०० विद्यार्थी अध्ययनरत छन् । यो विद्यालयले नगरमै पहिलो अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र ‘आइएसओ सर्टिफिकेट’ प्राप्त गरेको छ । यहाँ विज्ञान, व्यवस्थापन र हस्पिटालिटी म्यानेजमेन्ट जस्ता प्रमुख शैक्षिक कार्यक्रम पनि सञ्चालन भइरहेको र विद्यार्थीको चाँप अनुसारका कक्षाकोठाको अभाव रेहेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालले स्थानीय, प्रदेश र संघीय गरी तीनै तहमा आवश्यक सहयोगका लागि प्रस्तावना पेश भएको बताए ।

सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयको यो पहलले विद्यार्थीहरूलाई केवल अध्ययनमा मात्र नभई परम्परागत कला र व्यवसायिक सीपमा पनि दक्ष बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने यसक्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक अगुवा, सामाजिक संघसंस्थाका प्रतिनिधि र अभिभावकहरुले पनि प्रसंशा गरेका छन् । ५१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित भव्य समारोहमा विद्यार्थीले कलात्मक प्रस्तुति प्रदर्शन गरेका थिए । विद्यालयका शिक्षिका र शिक्षकहरूको निरन्तर प्रयास र सहकार्यले विद्यालयलाई नयाँ पंक्ति र आत्मनिर्भरता सँग जोड्ने नयाँ दिशा दिने विद्यालयका सल्लाहकार समितिका संयोजक खुशीराम चौधरीको भनाइ छ ।

सैनामैना पर्रोहा परमेश्वर नमुना माविले सुरु गरेको यस कार्यक्रमले परम्परागत कला र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई आत्मनिर्भर बनाउने प्रेरणा दिने नगरपालिका शिक्षा विकास समितिकी प्रमुख राधा बञ्जाडेको विश्वास छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा स्थानीय नागरिक अगुवाहरु हेमन्त थापा, प्रेमलाल भुसाल, धनबहादुर विक, राजबहादुर क्षेत्री, रामप्रसाद पौडेल, शिक्षकहरु हरिप्रसाद पौडेल, लक्षमण आचार्यलगायतले बोल्दै विद्यालयको सराहनीय कार्यक्रमको प्रशंसा गरे ।

लोक भजन र पञ्चेबाजालाई व्यवसायिक बनाउने प्रक्रिया भनेको केवल परम्परागत कला विधाको बचाऊ मात्र होइन, यसको माध्यमबाट आर्थिक अवसर र सांस्कृतिक परंपराको जीवित राख्ने चुनौतीको सामना गर्नु रहेको उनीहरुको भनाइ थियो ।