पुर्कोटैमा चल्यो बतास: सामाजिक परिवेशको मौलिक गीत

मेचीकाली संवाददाता

१६ फाल्गुन २०८१, शुक्रबार
99 shares

अमृत गिरी

बुटवल । यतिबेला गाउँमा युवा विहीनको अवस्था छ । हरेकजसो परिवारबाट कोही न कोही विदेशिएका, परिवार खण्डित भएका, घरमा ज्येष्ठ नागरिक मात्रै रहेका त्यहीँ पनि विरामी परेको बेलामा उस्तै अवस्थाका अर्का छिमेकी गुहार्नुपर्ने अवस्था छ ।
छोरा विदेशिएपछि बुहारीले नातिनातिना च्याँपेर सहर बजारमा झरेका, गाउँको घरमा बिरामी बाबाआमाको स्याहार सुस्याहारमा कोही नभएका अझ एकल अबस्थामा रहेकी बुढी आमाको हालत त झन दयनीय रहेका तिता यथार्थलाई गीतका शब्द र उस्तै दृष्यबाट जीवन्त रुपमा उतार्ने कोसिस गरेका छन् गायक, सर्जक, अभियन्ता, युटुबर तथा सञ्चारकर्मी कमल यात्रीले ।
गुल्मीको पुर्कोटका स्थायी बासिन्दा कमलले गाउँकै अर्की कलाकार, गायीका ‘भुरुङ’संगै मिलेर ‘पुर्कोटैमा चल्यो बतास’ बोलको गीत बजारमा ल्याएका छन् । गीतका शब्द र त्यसलाई दृश्यमा उतार्न प्रयोग गरिएका पात्र, परिवेश, स्थान र भूमिका एकदमै मौलिक छ ।

शुक्रबार सार्वजनिक भएको गीतको संगीत प्रेमीहरू बीचमा चर्चा भइरहेको छ । यो गीत नेपाली ग्रामीण जीवनका विविध आयामलाई उजागर गर्दै सामाजिक असमानता, परिवारको संघर्ष र संस्कृतिको संरक्षणको महत्वमा सन्देश दिन्छ ।
गीतका शब्दहरू ग्रामीण भेषभूषामा लुक्न खोजेका पीडाहरू र गाउँका चिन्हहरूलाई चित्रित गर्छन् । गीतमा भनिएको छ, ‘भन्छेउ आमा रुन ता रैछैन, थाहा छ तिम्रो साहारा कै छैन’, जसले महिलाको भूमिका र कष्टलाई उजागर गर्दछ । गीतमा देखाइएको छ कि परदेश गएर पैसा कमाउन खोज्ने छोरोले आफ्नो आमालाई बिर्सन्छ, र गाउँमा बाँचिरहेका वृद्ध मानिसहरूको अवस्था कति कष्टकर छ ।

कमल यात्री र ‘भुरुङ’ले यस गीतमा नेपाली समाजका असमानताका पक्षहरूलाई कलात्मक रूपले प्रस्तुत गरेका छन् । गीतका शब्दहरूमा ग्रामीण परिवेशका समस्याहरू–अर्थतन्त्र, परम्परा र परिवारका सम्बन्धहरूको आघातलाई ठोस रूपमा प्रस्तुत गरिएको छ ।
गीतले ग्रामीण संस्कृतिका महत्वलाई पनि उजागर गर्छ, जहाँ ‘पुर्कोटैमा चल्यो बतास’ शब्दको माध्यमबाट गाउँका पहाडी इलाकाका ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यका साथै समाजका उतारचढावलाई परख गरिएको छ ।

‘गाउँको अवस्थालाई टपक्क टिपेर मौलिकताकै रुपमा प्रस्तुत गरेको साह्रै राम्रो रचना रहेछ’ नेपाल पत्रकार महासंघ लुम्बिनीका पूर्व महासचिव बिक्रम खड्का भन्छन् ‘गीतका शब्द र यसका दृष्यहरु एकदमै मौलिक रहेछन् ।’ खड्का आवद्ध रहेको यसक्षेत्रको प्रतिष्ठित स्वास्थ्य संस्था बुटवल हस्पिटल प्रालिमा पनि यो गीतको केही अंश छायाँकन भएको छ ।
गाउँमा बिरामी परेकी एकल आमालाई कसैले उक्त हस्पिटल सम्म ल्याएर आइसीयूमै लगेर उपचार गराउँछन् र विदेशमा रहेका छोरालाई खबर गर्छन् । बुहारी भने बिरामी सासुको मतलबै नगरी सहरमा टिकटक र सामाजिक सञ्जालमा रमाएको दृष्य छ ।

कमल यात्रीको यो मौलिक गीत नेपाली सांस्कृतिक धरोहरलाई जीवित राख्दै भविष्यका पुस्ताका लागि एक सन्देश दिनका लागि सृजित गरिएको गुल्मीका नागरिक अगुवा त्रैलोक्यप्रताप सेनको प्रतिक्रिया छ । गीतका गायक कमल यात्री र गायिका भुरुङले यस गीतमार्फत समाजलाई सकारात्मक सन्देश दिन चाहेको देखिएको उनले बताए । गीतको माध्यमबाट मानिसहरूलाई सामाजिक असमानता र ग्रामीण समस्यामा अझ सचेत बनाउने उद्देश्य देखिएको सेनको भनाइ छ ।

यस गीतको प्रचारप्रसारले नेपाली संगीत र संस्कृतिको संरक्षणमा ठूलो योगदान पु¥याउने सर्जक यात्रीको दाबी छ । गीतमा गाउँले जीवन र पारिवारिक सम्बन्धहरूको गहिरो चित्रण गर्दै महिलाहरूको संघर्ष र उनको जीवनका कठिनाइहरूलाई उजागर गरेको उनको भनाइ छ । गीतले समर्पण, मेहनत र आत्मनिर्भरता जस्ता महत्वपूर्ण विषयहरूमा प्रकाश पार्ने कोसिस गरिएको यात्रीले बताए ।

यस्ता छन् गीतका शब्द

भन्छेउ आमा रुन ता रैछैन
थाहा छ तिम्रो साहारा कै छैन
जुन दिन बाउले बनाएको घर ढल्यो
त्यै दिन बाट पित्रीको मन जल्यो
लैना भैंसी हल गोरु बान्ने गोठ
भत्किएसी आमालाई पर्यो चोट
छोरो परदेस साहुको रिण पैसाले
ब्वारी सहर फेसन र बैंसले
देको अर्नी पोट्कामा ल्याएर
पालीन् सन्तान आधी पेट खाएर
हुने खाने कमाउने भए पछि
गाँउ बिर्सिय सहरमा गए पछि
बुढेसकालमा न साथमा छोरा छोरी
पानी दिनी कै छैन बिचरी
ठुलो पाटो ढाक्यो बनमाराले
रजाँई गरे बादर र साह्राले
छिमेकिलाई खेतारो बनार
आइसीयूमा हर्लेक्स रअनार
पिरले माईलियां झ्याप भएर हिन्छीन रे
कोदो बेज्दै टुंकुला किन्छीन रे

भिडियो हेर्नुहोस्