

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई जीवन्त बनाउन आपसी मतभेदहरुलाई त्यागेर अगाडि बढ्नु पर्ने बताएका छन् । कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागको आयोजनामा सोमबारबाट भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घघाटन गदै सभापती देउवाले पार्टी भित्र अनेकन किसिममका मतभेदहरु रहेको बताउदै आपसी छलफल, कुराकानी र मेलमिलाप बाट पार्टीलाई जीवन्त बनाउने बताए ।
प्रशिक्षण कार्यक्रमले पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल गरिने बताउँदै पार्टीलाई आगामी निर्वाचनमा अझ सशक्त पार्टी बनाउन सहयोग पुग्ने बताए । कांग्रेसलाई पहिलो पार्टीको रुपमा अगाडि बढाइराख्न सबैको एकता आवश्यक रहेको देउवाले बताए । अस्थिर सरकारको अन्त्यका लागि एमाले र कांग्रेस मिलेर बहुमतको सरकार बनेको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली र आफूबिच सरकार सञ्चालन विषयमा सम्झौता भए पनि दुई तिहाइको सरकार बने पनि पूर्णरुपमा बहुमत नपुगेको उनको भनाइ थियो । उनले गठबन्धनको सरकारलाई सबैले एकताबद्ध रुपमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । उनले सरकारमा अन्य पार्टीहरु पनि समावेश रहेको उल्लेख गर्दै प्रजातन्त्रमा प्रतिस्पर्धी पार्टी पनि आवश्यक रहेको बताए ।
कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका सभापति तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काले सोमबार र मंगलबार सञ्चालन हुने प्रशिक्षणमा मुुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशीक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका क्षेत्रीय सभापति र उपसभापति गरेर ३ सय ३० जनाको सहभागिता रहेको जानकारी दिए । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल गरिनेछ ।
प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला, प्रदेश र संघीय प्रतिनिधिको सहभागिता रहनेछ । कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकास शर्मा पनि सोमबार कार्यक्रममा सहभागी हुन आएका थिए । गृहमन्त्री रमेश लेखकसमेत आउने कार्यक्रम रहेको छ । कांग्रेस नेता शेखर कोइराला, मिनेन्द्र रिजाल शनिवारदेखि रुपन्देहीमै छन् । दुई दिने कार्यक्रममा कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधारलगायत उपलब्धी, संविधान र मुलुकको बिकासका लागि कांगे्रसले खेल्नुपर्ने भूमिका, आगामी महाधिवेशन, क्रियाशील सदस्य, आम निर्वाचन गरी विभिन्न ६ वटा विषयमा प्रस्तुती रहनेछन् ।
साथै सहभागीले आफ्नो क्षेत्रका अनुभव आदानप्रदान गर्नुका साथै वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिने र सरकारमा सहभागी दुईजना मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको पार्टी उपसभापति खड्काले जानकारी दिए । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरिरहेको छ ।