सिद्धार्थ राजमार्ग डेडीकेटीड डबल लेनमा स्तरोन्नति हुन्छ: पूर्वमन्त्री अर्याल

मेचीकाली संवाददाता

२२ फाल्गुन २०८१, बिहीबार
172 shares

मुक्ति न्यौपाने

वालिङ । नेकपा (एमाले) की सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले सिद्धार्थ राजमार्ग डेडिकेटीड डबल लेनमा स्तरोन्नति हुने बताएकी छन् । यसका लागि आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुने र निर्माणको काम सुरु हुने उनले बताइन् । बुधबार स्याङ्जाको वालिङमा प्रथम पिंकसिटी महोत्सवको उद्घाटन गर्दै पूर्व मन्त्री अर्यालले आव २०७७/०७८ को बजेटमा १४ अर्ब बजेट विनियोजित भएपनि सरकार परिर्वतनसंँगै कटौती भएको र वर्तमान सरकारले यो विषयलाई प्राथमिकता दिएर पुनः सम्बोधन गर्ने बताइन् ।

बाँकी रहेका अधुरा कामलाई सम्पन्न गर्नका लागि वर्तमान सरकार अगाडि बढेको उनले बताईन । साथै पूर्वमन्त्री अर्यालले देश समृद्ध हुनको लागि पहिला गाउँ र नगर समृद्ध हुन आवश्यक रहेको बताउदै , भाषणमा मात्रै समृद्धि सीमित हुन नसक्ने यस क्षेत्रका राजनीतिक दल तथा व्यापारी व्यवसायीलाई नेतृत्व गर्ने संस्थाहरुले साझा छलफल गरी सोही अनुसारको योजनाका साथ अगाडि बढ्न उनको सुझाव छ ।

वालिङ चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्सवमा कृषि प्रदर्शनी, अन्तर पालिका भलिवल, स्थानीय कला संस्कृति, शैक्षिक प्रदर्शनी, पशुपंक्षी प्रदर्शनी, जैविक विविधता प्रदर्शनी, लोक दोहोरी प्रस्तुति, पर्यटकीय तथा धार्मिक क्षेत्रको फोटो प्रदर्शनी, काव्य गोष्ठी, प्रचारात्मक टिकटक प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रमलगायत विभिन्न संघ संस्था एवं कार्यालयका क्रियाकलापसहितका गतिविधिहरु प्रस्तुत गरिएको छ ।

महोत्सव अवधिको गतिविधि टिकटक मार्फत प्रचारप्रसार गर्ने, चेम्बरलाई ट्याग गर्नेलाई लाईक र भ्युजको आधारमा विजेता, उपविजेता छनोट गरीने वालिङ चेम्बर अफ कमर्सका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक प्रकाश न्यौपानेले बताए ।

महोत्सव उदघाटन कार्यक्रममा पूर्व मन्त्री सरस्वती तिवारी, एमाले जिल्ला अध्यक्ष पारस गैह्रे, नेपाली कांग्रेसका तर्फबाट केदार काफ्ले, जनमोर्चाका राजेन्द्र गैह्रे ,गायतले आआफनो भनाई राखेका थिए । वालिङ खेल मैदानमा सुरु भएको महोत्सव चैत ३ गतेसम्म सञ्चालन हुनेछ ।