

– भेप तस्करी गर्ने विरुद्द मुद्दा दायर
– सय वटाको बील बनाएर २६ सय ढुवानी
– एउटै मुद्दामा १ करोड २५ लाख भन्दा धेरै जरिवाना र विगो
– तस्करका नयाँ नयाँ कडी पत्ता लगाउँदै अनुसन्धानकर्ताहरु
अमृत गिरी
बुटवल। अवैद्य सामानको ओसार पसार र तस्करीमा संलग्नको जरासम्मकै नेटवर्क खोजिरहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले तस्करीको अर्को समूहविरुद्ध मुद्दा दायर गरेको छ । अवैद्य भेप तस्करी गरेको कसूरमा काठमाण्डौंको डाइमण्ड इन्टरनेशनलका प्रोप्राइटर सुमन पराजुली समेत ४ जना विरुद्द उच्च अदालत तुलसीपुर, बुटवल इजलाशमा अभियोग पत्र दायर गरेको छ । उनीहरुविरुद्ध विगो र जरिवानासहित १ करोड २५ लाख ४३ हजार ३ सय ५२ रुपैयाँ र कैद सजायँको माग दाबी गर्दै मुद्दा दायर गरिएको राजस्व विभागले बिहिबार प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।
जश्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवल रुपन्देही मार्फत भेपको अवैध कारोवार गरी राजश्व चुहावट गरेको कसुर सम्बन्धमा अनुसन्धान सम्पन्न गरी अभियोग पत्र दायर गरेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिएका छन् ।
‘उक्त संस्थाको विल प्रयोग गरेको देखाइ तशनिम जनरल स्टोर नेपालगंज, बाँकेंलाइ बेचेको देखाइ एक सय वटाको विल बनाएर दुई हजार ६ सय भेप भेरी ढुवानी सेवाको साधन प्रयोग गरी नेपालगंज पठाउने र त्यहाँबाट महंगोमा वेच्नको लागि भारत तर्फ तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ’ राजस्व अनुसन्धान विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘किन्ने र बेच्ने फर्महरुका तर्फबाट फर्मवालालाइ मुख्य प्रतिवादि बनाइएको छ । उनीहरुलाइ राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी ऐ.ऐ. ऐनको दफा ४ को खण्ड (ख), (छ), (झ) बमोजिमको कसुर गरेकाले निज प्रतिवादीहरु सुमन पराजुली र तनिम जनरल स्टोरका हसिमुन जोलाहलाई ६२ लाख ७१ हजार ६ सय ७६ रुपैयाँ विगो कायम गरी ऐ. ऐ. ऐनको दफा २३ (१) बमोजिम मालबस्तु (विगो) जफत हुन तथा विगो बमोजिमको जनही ६२ लाख ७१ हजार ६ सय ७६ रुपैयाँ जरिवाना हुन र ऐ.ऐनको दफा २३(१)(क) बमोजिम हदै सम्मको कैद सजाय हुन मागदावी लिई उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा अभियोगपत्र दायर गरिएको’ विभागले जारी गरेको विज्ञप्तिमा खुलाइएको छ ।
तस्करीमा सघाउनेलाई पनि मुद्दा दायर
साथै सोही मुद्दामा प्रतिवादीहरु डाइमण्ड इन्टरनेशनलका तर्फबाट तस्करीमा सघाउने रोजन न्यौपाने र तशनिम जनरल स्टोर नेपालगंज, बाकेंका तर्फबाट कारोबारी सनाउल्ला अंसारीले उक्त मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीको सहयोगी भएर फर्म तथा विलहरुको समेत दुरुपयोग गर्दै राजस्व चुहावटको कसूरको मतियारको भूमिका निर्वाह गरेको देखिँदा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (३) बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय र मुख्य प्रतिवादीलाई हुने जरिवानाको आधा जरिवानाले जनही रु.३१ लाख ३५ हजार ८ सय ३८ रुपैयाँ मागदावी लिई उक्त अभियोगपत्र दायर भएको अनुसन्धान कार्यालयको विज्ञप्तिमा छ ।
यो पनि पढ्नुहोस्
राजस्व छलीका कनेक्सन खोज्दै अनुसन्धान कार्यालय
मुख्य प्रतिवादि बनाइएका पराजुली र जोलाहलाइ पटक पटक पत्राचार गरी सम्पर्क गर्न खोज्दा समेत सम्पर्कमा नआएको र हालसम्म पनि फरार रहेको छन भने कारोवारमा संलग्न ‘मतियार’हरु भने करिव ९० दिन देखि हिरासतमा राखि अनुसन्धान गरिएको विभागको दाबी छ । उनीहरुबीच पटक–पटक दोहोरो–तेहोरो सम्पर्क भएको तथा अधिकारिक कारोवारको अभिलेख नभेटिएको तथा बेच्नेले कहिबाट खरिद गरेको स्रोत समेत प्रस्तुत गर्न सकेको अवस्था रहको कार्यालयले जनाएको छ ।
विगत देखि भेप कारोवार, तस्करी र ओसारपसार बाक्लिएको र यसैको श्रृङखाको रुपमा राजस्व अनुसन्धान विभागबाट एक लाख भन्दा बढि भेप विभिन्न ठाँउबाट वरामद गरी कारवाही भइरहेको विभागको तथ्यांकमा छ । भेप तस्करीमा अनुचित तथा गैरकानुनी फाइदा धेरै रहेको कारण यसमा अकर्षण बढेको हुन सक्ने अनुसन्धानकर्ताको आशंका छ । तस्करहरुले प्रयोग गर्ने नयाँ नयाँ तरिकाका बारेमा पनि अनुसन्धान कर्ताले मेसो पाइसकेको दाबी गरेका छन् ।
कानूनी प्रक्रिया पुरा गरी भन्सार गरेर ल्याउन पाउने भए पनि ४० प्रतिशत भन्सार, ४० प्रतिशत अन्तशुल्क र १३ प्रतिशत मुल्य अभिबृद्धि कर गरी ९३ प्रतिशत कर लाग्ने र खरिद मुल्यको झन्डै दोब्बर मुल्य पर्ने भएकोले पनि कर छलि गर्ने तर्फ तस्करहरु जोखिम उठाउन थालेको अनुसन्धानमा संलग्न एक अधिकारीको आँकलन छ । कर प्रशासनमा विभिन्न प्रकारका भेपलाइ कर संवेदनशिल वस्तुका रुपमा लिने गरिएको छ । राजस्व अनुसन्धान कार्यालयले यसअघि ब्राण्डेड रक्सीका नक्कली ढक्कनसहित पक्राउ परेकालाई पनि तीन करोड भन्दा धेरै विगो र जरिवाना माग दावी गरि मुद्दा दायर गरेको थियो । भने केही महिनाअघि मात्रै करोडौं विगो र जरिवाना माग दाबी गरि कपडाको तस्करी गर्नेविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।