बुटवलमा फागुन २६ र २७ मा ‘बिजनेस कस्टमर समिट’ हुने

मेचीकाली संवाददाता

२३ फाल्गुन २०८१, शुक्रबार
127 shares

बुटवल । क्यान महासंघ रूपन्देहीले बुटवलमा बिजनेस कस्टमर समिट–२०२५ (बीटुसी समिट) आयोजना गर्ने भएको छ । क्यान महासंघ रूपन्देहीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी फागुन २६ र २७ गते बीटुसी समिट आयोजना गर्न लागिएको जानकारी गराएको छ ।

विश्व बजारमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँनयाँ प्रविधिका बारेमा जानकारी गराउने उद्देश्यले समिट आयोजना गरिएको क्यान महासंघ रूपन्देहीका अध्यक्ष जीवन अधिकारीले बताए । आइटी अध्ययन गरिरहेका विद्यार्थी आइटीकै व्यवसाय गर्ने व्यवसायी, स्थानीय तहका प्रमुख तथा उपप्रमुख र उद्योगी व्यवसायीहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको उनले बताए । ‘नयाँ टेक्नोलोजी बुझाउने र आइटी क्षेत्रमा चासो राख्ने लक्षित समूहलाई सहभागी गराउने लक्ष्यसहित तयारी गरेका छौँ ।’ उनले भने ।

विगतमा क्यान इन्फोटेक आयोजना गर्दै आएकोमा अहिले नयाँखालको कार्यक्रम ल्याएको कार्यक्रम संयोजक तथा रुपन्देहीका वरिष्ठ उपाध्यक्ष विरबहादुर क्षेत्रीले बताए । अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा विश्व बजारका नयाँनयाँ प्रविधिको विषयमा जानकारी दिने मुख्य उद्देश्य रहेको उनले बताए ।

क्यान महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका पूर्वअध्यक्ष नारायणप्रसाद श्रेष्ठले नयाँ प्रविधि के हो भन्ने विषयमा नयाँ कन्सेप्ट लिएर कार्यक्रम गर्न लागेकोले सबैलाई सहभागिताका लागि आग्रह गरे । क्यान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नारायण खनालले प्रदेशका १२ वटै जिल्लामा आइटीसम्बन्धी कार्यक्रम गर्नेगरी तयारी गरिएको बताए । क्यान महासंघ रुपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईले मेलामा २८ वटा प्रदर्शनी स्थल रहने बताए । जसमा हार्डवेर, सेल्स, पावर सोलुसन र सफ्ट्वेर कम्पनीहरु रहनेछन् । दुईदिनसम्म सञ्चालन हुने मेलामा ५ हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए ।