एयरपोर्टले जगाउन सकेन लुम्बिनीको पर्यटनमा आशा

मेचीकाली संवाददाता

२५ फाल्गुन २०८१, आईतवार
21 shares

बुटवल । अन्तर्राष्ट्रिय विमानस्थल, सहज नाका र उद्योग÷पर्यटकीय ‘हव’ रूपमा विकास भएको रूपन्देहीमा पछिल्लो ५÷६ वर्षमा अबौं लगानीमा आधा दर्जन पाँचतारे होटल सञ्चालनमा आए । तिलोत्तमामा टाइगर प्यालेस, भैरहवामा सिद्धार्थ भिलासा, लुम्बिनीमा पवन प्यालेस, होटल कासाई र छपियामा लुम्बिनी प्यालेस रिर्सोट सञ्चालनमा आएका छन् । बुटवलको ‘सिफ्रोन सिके’ सञ्चालनको तयारीमा छ भने, भैरहवाको अर्को बुद्वचोकस्थित एसियन इन्टरनेसनल रिजेन्सी निर्माणको चरणमा छ । ड्रिमल्याण्ड गोल्ड रिर्सोट, बुद्ध रेडिसन होटल, होटल नान्स, मौर्य होटल लगायत अहिले ‘फोर स्टार लेबल’ का होटलको संख्या पनि जिल्लामा डेढ दर्जन पुगेको छ ।

व्यवसायीले ‘स्टार लेबल’ का होटलमा पनि लगानी थपेर तीनदेखि चारतारेसम्म बनाइरहेका छन् । कुनै बेला उद्योग र उद्योगको धुवाँको मुस्लो देखिने बुटवल भैरहवा ‘सिक्स लेन’ र भैरहवा लुम्बिनी ‘फोर लेन’ सडकको दायाँ–बायाँ अहिले विशाल भवनमा सेवा उद्योगका रूपमा स्थापित होटलले भरिभराउ देखिन्छ । समृद्धिको आससहित ४० अर्ब रूपैयाँ खर्चेर बनेको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रमा पर्यटकको आवागमन वृद्धि हुने लक्ष्यसहित निजी क्षेत्रले ठूलो धनराशी होटल क्षेत्रमा लगानी गरेका हुन् । विमानस्थल सञ्चालनमा आएको झण्डै तीन वर्ष पुग्दा समेत अपेक्षाकृत रूपमा एयरपोर्ट सञ्चालनमा आउन नसक्दा विमानस्थल लक्षित होटल अफ्टयारोमा परेका छन् ।

आर्थिक मन्दी र कोरोना महामारीले थला परेको पर्यटकको संख्या पनि वृद्धि उकालो लागेको छैन । लुम्बिनीमा अहिले आन्तरिक र बाह्य पर्यटकको संख्या वार्षिक १२ लाख छ । यसलाई विश्लेशण गर्दा मासिक १ लाख पर्यटक लुम्बिनी आए पनि होटलमा बस्ने पर्यटकको संख्या नगन्य छ । लुम्बिनीमा रात बिताउने पर्यटकको संख्या एक लाख पुग्न पनि कठित छ । ‘पर्यटक लक्षित तारे होटलको भैरहवा लुम्बिनीमा धेरै थपिएका छन्’ सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी) भन्छन, ‘यस क्षेत्रमा अबौं लगानी होटलमा भए पनि होटलले सञ्चालन खर्च उठान समेत धौ–धौ छ । यहाँका होटलको अकुपेशन अहिले ४० प्रतिशत मात्र छ ।’ ‘विमानस्थल लक्षित गरेर यहाँ ठूला होटल खुलेको हुन, राज्यले एयरपोर्टलाई काठमाण्डौंको हैसियतमा सञ्चालन गर्नपर्छ होइन भने, यहाँ टुरिजम क्षेत्रमा हायल कायलको अवस्था आउनेवाला छ’ श्रेष्ठले थपे ।

अध्यक्ष श्रेष्ठका अनुसार रुपन्देहीमा होटलको क्षेत्रमा ६० अर्ब लगानी पुगेको छ । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनी प्रदेशबासी सिधै अन्तर्राष्ट्रिय बजारसम्म जोड्न पाइने भन्दै खुसी थिए । तर, प्रदेशबासीको त्यो खुसी प्रभावकारी नभएपछि हराएको छ । पर्यटन व्यवसायी, निजी क्षेत्र र यस क्षेत्रका उद्योगी÷व्यवसायी प्रधानमन्त्री, मन्त्री, प्रमुख दलका नेताहरु यस क्षेत्रमा आउँदा विमानस्थलमा पुगेर फुलफेजमा एयरपोर्ट सञ्चालनको लागि ‘हारगुहार’ गरिरहेका छन् ।

सरकारले प्रभावकारी रूपमा विमानस्थल सञ्चालनको योजना अघि सार्न नसक्दा पर्यटन क्षेत्रमा ठूलो संकट आइपरेको छ । अफ्टयारो परिस्थितले केही व्यवसायी पलायन भइसकेका छन भने, केही होटलहरु बैकले लिलामी गरिसकेको अवस्था छ । शान्तिभूमि लुम्बिनी सबैभन्दा बढी अपेक्षा गरेको पर्यटनका श्रोत भारत र चिनिया मुलुकका हुन् । तर, पछिल्लो समय पर्याप्त पर्यटक भित्रिने अपेक्षा गरिएका तिनै मुलुकबाटै पाहुना नआएपछि पर्यटन क्षेत्र यो उकासिन नसकेको व्यावसायीले बताउँदै आएका छन् । विमानस्थल अपेक्षा अनुसार सञ्चालनमा नआएपछि र अनुमान गरे अनुसार पर्यटक नभित्रिएपछि धेरै लगानी जोखिममा रहेको व्यवसायीहरु बताउँछन् । पाँचतारे होटल पवन प्यालेसका सञ्चालक पवन हलुवाई अपेक्षा अनुसार आगन्तुक नभएपछि निराश छन् । ‘भैरहवाबाट उडने जहाज खाली छैनन’ हलुवाइ भन्छन, ‘यहीँ अवस्था रहिरहे हामी पनि बिदेश भाग्नुपर्ने बाध्यता छ । राज्यले हाम्रो आवाजलाई सुन्दैन । सातामा ४/५ वटा उडानले केही हुँदैन ।’ अहिले भैरहवा विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय हवाई कम्पनीलाई सरकारले छुट दिएको छ ।

यात्रु र मौषमको कारण देखाउदै भैरहवा विभिन्न एयरलाइन्स कम्पनीहरुले प्रभावकारी उडान गरेका छैनन । अहिले जजिरा, थाई, फलाइ दुबई र नेपाल एयरलाइन्सले उडान गरेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी बताउँछन । बदलिदो परिस्थितिसँगै त्रिभुवन विमानस्थलसँगै गौतमबुद्ध एयरपोर्टलाई पनि समान रुपमा सञ्चालन गर्ने दायित्व राज्यको हो । लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले एयरपोर्ट चल्ने नचल्ने हल्लाले पर्यटन क्षेत्र जहाँको त्यहीँ रहेको बताउँछन । ‘सुरुमा मजदुर गए, त्यसपछि विद्यार्थी बिदेशिए अब उद्योगी/व्यवसायीको अवस्था आइलागेको छ’ उनी भन्छन, ‘राज्य एउटा/दुई वटा प्लेन आएर केही हुँदैन । विस्तृत रुपमा एयरपोर्ट सञ्चालनको भिजन आवश्यक छ । टुरिस्ट साइडलाई विकास कसरी गर्ने भारतको कुम्भमेलाबाट राज्यले सिकोस ।’ भगवान गौतम बुद्धको जन्मस्थल विश्व प्रसिद्ध लुम्बिनी क्षेत्र चलायमान छैन । त्यसमध्ये १५० भन्दा बढी स्तरीय होटल सञ्चालनमा छन ।