पिपुल्स केयरको सहजीकरणमा मनाइयो महिला दिवस

मेचीकाली संवाददाता

२५ फाल्गुन २०८१, आईतवार
41 shares

बुटवल । ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई भव्यताका पूर्वक सम्पन्न गरिएको छ । गैडहवा गाउँपालिका वडा नम्बर ८ को आयोजना र पिपुल्स केयर कन्सल्टेन्सी रूपन्देहीको सहजीकरणमा विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व गर्ने ११० जना महिलाहरुलाई नेतृत्व विकास, सकारात्मक सोच र समूह व्यवस्थापन सीप सन्दर्भमा अभिमुखीकरण गर्नुका साथै श्रमिक महिलाहरुको श्रमलाई सम्मानपूर्वक मूल्यमा रुपान्तरण गर्नुपर्ने विषयमा सहजीकरण गरिएको थियो । उक्त सहजीकरण कार्यक्रमको प्रशिक्षकको रुपमा मुकुन्द ज्ञवाली माधव सापकोटा र सरस्वती आचार्य रहेका थिए ।

सकारात्मक सोचसहित जीवन उत्प्रेरणाका विविध विषयहरूमा सहजीकरण केन्द्रित गरिएको थियो। जस मार्फत सम्पूर्ण सहभागीहरु कार्यक्रममा उत्साहित ढंगले सक्रियतापूर्वक सहभागी भएका थिए। वडा नम्बर ८ का वडा अध्यक्ष भुवन बहादुर राणाको अध्यक्षतामा र वडा सदस्यहरु सहित वडा सचिवको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सहजीकरणले आफूहरूलाई जीवन बुझ्न र सामाजिक विकास तथा समृद्धिका लागि सकारात्मक सोचसहितको नेतृत्व लिन उत्प्रेरित गरेको सहभागीहरुले बताएका छन् । सहजीकरण पश्चात विभिन्न प्लेकार्ड सहित र्याली समेत गरिएको थियो । वडा नम्बर ८ का वडा अध्यक्ष भुवनबहादुर राणाले वडाले महिलाहरूको विकासका निम्ति निरन्तर क्षमता अभिवृद्धिका क्रियाकलापहरू सञ्चालन गरिरहेको बताए । साथै वडाबाट सम्पन्न हुने कार्यक्रमहरूमा कार्यक्रम बनाउँदा र त्यसको कार्यान्वयन गर्दा सकारात्मक सुझाव प्रदान गर्न र काममा सामूहिक रुपमा रचनात्मक सहयोग पुर्याउन कार्यक्रममा उपस्थित महिलाहरुलाई आग्रह गरे । अभिमुखीकरण कार्यक्रममा वडा सचिव दीपक मरासिनीले स्वागत मन्तव्य राखेका थिए ।