

अमृत गिरी
बुटवल, फागुन २५ । मुलुकभरका सडकहरुमा दैनिकजसो मोटरसाइकल र स्कुटरको दुर्घटना भएर जनधनको क्षति भएका दर्दनाक समाचार छिनछिनमै आउने गरेका छन् । यस्तो क्रम केही समययता बढिरहेको छ । प्रहरीका तथ्याङ्कले पनि यस्तै दर्दनाक तथ्य चित्रण गर्छ र स्थिति गम्भीर रहेको दर्शाउँछ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार सवारी दुर्घटनाहरुमध्ये ६५ प्रतिशतभन्दा धेरै त यस्तै मोटरसाइकल र स्कुटरबाट हुने गरेका छन् ।
खराब सडक संरचना, प्रष्ट र उपयोगी ट्राफिक संकेतहरूको अभाव र उचित मर्मतसम्भार नहुँदा दुर्घटनाको जोखिम दिनदिनै बढिरहेको छ भने अटेरी र नियम नमान्ने प्रवृत्तिले क्षति बढाइरहेको छ । मोटरसाइकल र स्कुटरको प्रयोग जति बढिरहेको छ उति नै दुर्घटना पनि । हाल देशभर करिब ५० लाखभन्दा बढी मोटरसाइकल दर्ता भएको तथ्याङ्क छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख श्याम खत्रीका अनुसार लुम्बिनी प्रदेशमा दुईपांग्रे सवारीको प्रयोग र दुर्घटना दुवै बढिरहेको छ । यिनै दुर्घटनालाई लक्षित गरेर न्यूनीकरणका लागि विशेष सचेतनाका कक्षा र अटेरी गर्नेलाई कानुनी कारबाही भइरहेको एसपी खत्री बताउँछन् ।

स्कुल तहबाटै सचेत बनाऔं: बढिरहेको दुर्घटनालाई लक्षित गरी विद्यालय तहमा सचेतनाका कक्षा लिँदै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका डिएसपी मधुसुदन न्यौपाने । उक्त कार्यालयले प्रदेशका १२ वटै जिल्लालाई लक्षित गरेर सचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ ।
लुम्बिनी प्रदेशमा ३२ महिनामा २६०६ दुर्घटना ६९९ जनाको मृत्यु, २७२५ घाइते
लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो दुई आव र चालू आवको माघ मसान्तसम्मको अवधिमा मात्रै २६०६ मोटरसाइकल दुर्घटना भएका छन् । ती दुर्घटनामा ६९९ जनाको मृत्यु भएको छ । दुर्घटनाहरुमा २७२५ जनाको घाइते भएका छन् । यो प्रहरीमा भएको तथ्याङ्क हो । यो अवधिमा सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएका छन् । रुपन्देहीमा मात्रै यो अवधिमा ६९० दुर्घटना भएका छन् भने ती दुर्घटनाहरुबाट १९९ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी मधुसुदन न्यौपानेले कार्यालयमार्फत उपलब्ध गराएको तथ्याङ्कमा रुपन्देहीमा ०७९/०८० मा मात्रै १९९ दुर्घटना भई ७५ जनाको मृत्यु भयो भने २०० जना घाइते भएका छन् । अघिल्लो आवमा २२४ दुर्घटना, ७६ जनाको मृत्यु र २३९ जना घाइते भएका छन् । यो आवको माघ मसान्तसम्म मात्रै २६७ दुर्घटना भए । यो अवधिमा ४८ जनाको मृत्यु र ३०० जना घाइते भएको प्रहरीको तथ्यांकमा छ ।

यही अवधिमा दाङमा १५७ दुर्घटना, ३५ जनाको मृत्यु र १७४ घाइते भए । यस्तै बाँकेमा १६२ दुर्घटनामा ३१ जनाको मृत्यु र १८० जना घाइते भए । नवलपरासी (बसुप) मा १३१ दुर्घटनामा २९ जनाको मृत्यु र १३९ जना घाइते भए । कपिलवस्तुमा १४० दुर्घटनामा २३ जनाको मृत्यु र १४४ जना घाइते भएको प्रहरीको तथ्यांक छ । बर्दियामा १३४ दुर्घटनामा १४ जनाको मृत्यु र १३१ जना घाइते भए । पाल्पामा ५, प्युठानमा ४, गुल्मीमा २, रोल्पामा २ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।
यसअघि आव ०७९/८० मा रुपन्देही पछि बाँकेमा धेरै मृत्यु भएको छ । त्यहाँ ९७ दुर्घटनामा ३६ जनाको मृत्यु र ८४ जना घाइते भएका छन् । यसैगरी कपिलवस्तुमा ७७ दुर्घटनामा ३५ जनाको मृत्यु, ७३ जना घाइते भए । दाङमा ११६ दुर्घटनामा ३२ जनाको मृत्यु र १४२ जना घाइते भए । नवलपरासीमा ५४ दुर्घटनामा २२ जनाको मृत्यु र ५३ जना घाइते भए भने, बर्दियामा ५४ दुर्घटनामा १८ जनाको मृत्यु, ८४ जना घाइते भए । पाल्पामा २४ दुर्घटनामा ११ जनाको मृत्यु र २२ जना घाइते भएका थिए ।

रोल्पामा ८ दुर्घटनामा ५ जनाको मृत्यु र ३ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा छ । उक्त आवमा प्युठानमा १५ दुर्घटनामा ४ जनाको मृत्यु, अर्घाखाँचीमा ११ दुर्घटनामा ३ जनाको मृत्यु र गुल्मीमा १ जनाको मृत्यु भएको छ । अघिल्लो आव ०८०/८१ मा रुपन्देही पछि दाङमा १७२ दुर्घटनामा ५८ जनाको मृत्यु र १५८ घाइते भए । कपिलवस्तुमा १४६ दुर्घटनामा ३८ जनाको मृत्यु र १४४ जना घाइते भए । बाँकेमा १२० दुर्घटनामा ३१ जनाको मृत्यु र ११९ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा छ ।
नवलपरासी (बसुप) मा ७९ दुर्घटनामा २३ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् । बर्दियामा ६० दुर्घटनामा १५ जनाको मृत्यु र ६८ जना घाइते भएका छन् । पाल्पामा ८, प्युठानमा ५, अर्घाखाँचीमा ४, गुल्मीमा ३, रोल्पामा २ र रुकुममा १ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको तथ्याङ्कमा उल्लेख छ ।
धेरैजसो दुर्घटनामा चालक र पछाडि बस्ने यात्रुले हेलमेट नलगाउने वा गुणस्तरहीन हेलमेट प्रयोग गर्ने गरेका छन् । यसले टाउकोमा गम्भीर चोट लाग्ने सम्भावना बढाउँछ । उपत्यकामा गरिएको एक अध्ययनले १८ देखि २५ वर्ष उमेर समूहका युवामा टाउकोमा गहिरो चोट लाग्ने गरेको देखाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी, बुटवलका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक न्यौपानेको भनाइ छ । डिएसपी न्यौपानेले उद्दारमा जाँदा र दुर्घटनाको प्रकृति हेर्दा अधिकांश किशोर उमेर समूहका र तीब्र गतिका कारण क्षतिहुनेगरी दुर्घटना भइरहेको पाइएको बताए ।

सार्वजनिक यातायात र सडक पूर्वाधारको सुधार गर
बुटवल–सालझण्डी खण्डमा धेरै दुर्घटना हुने गरेको पाइएको छ । यही खण्डमा सार्वजनिक यातायातका साधनको चाँप ज्यादा छ भने तिनै साधनले नियम नमान्ने प्रवृत्ति पनि धेरै छ ।
गुडिरहेको गाडी एक्कासी बिचमै रोकेर यात्रु चढाउने, यात्रु ओराल्ने गर्छन् । त्यसको पछिपछि गुडेका गाडी कि त त्यसैमा ठोक्किन पुग्छन् कि त ओभरटेक गर्दा उताबाट आएका र पछिपछि गएका कुनै साधनसँग जुध्न पुग्छन् । यसरी भइरहेका छन् धेरै दुर्घटना । सार्वजनिक यातायातलाई प्रभावकारी, सुरक्षित र भरपर्दो बनाउन सकेमा मोटरसाइकलको अत्यधिक प्रयोग कम गर्न सकिन्छ, जसले दुर्घटना न्यूनीकरणमा मद्दत पु¥याउँछ । विडम्बना हामीकहाँ त्यस्तो अवस्था सिर्जना हुन सकिरहेको छैन । अर्कोतर्फ हाम्रा सडकहरु चौतर्फी अतिक्रमण्मा छन् । सडक पूर्वाधारको सुधारमा बल्लतल्ल चासो गएपनि काम प्रभावकारी हुन सकिरहेको छैन । एउटा राजमार्ग बनेको ६२ वर्षपछि मात्रै विस्तार गर्न सुरु भएको छ भने ग्रामीण सडकको त बेहाल नै छ । साथै भएका सडकमा पनि सडक संकेत, जेब्रा क्रसिङ, ट्राफिक लाइटको प्रभावकारी व्यवस्थापन हुन सकिरहेको छैन ।
